- सञ्जय मित्र
अविस्मरणीय हुन कुनै विशेष संयोग हुनुपर्ने रहेछ । विशेष संयोग एक्कासि पनि हुन सक्छ वा नियोजित । जीवनको स्वाभाविक गतिमा भइरहने अनन्त संयोगमध्ये कुनै दीर्घकालीन भइहाल्छ । भाषासेवी उमाशङ्कर द्विवेदी दधीचिसित भेटको यस्तै संयोग मेरो स्मृतिमा रहेको छ ।
दधीचिसित मेरो धेरै भेटघाट भएको सम्झना छैन । एउटा कार्यक्रममा दश दिनको लागि सँगै संयोगले परेका थियौं ।
भाषा र साहित्यमा लाग्नेहरूबीच भौतिक भेटघाट नभए पनि साहित्य सिर्जनाको माध्यमले भने चिनजान भइरहेको हुन्छ । एकले अर्कालाई चिनिरहेका हुँदारहेछन् । दधीचिसित मेरो यही अवस्था भएको देखिन्छ ।
बाराको कलैयास्थित शैक्षिक तालीम केन्द्रमा एउटा तालीम थियो । तालीममा पर्सा, बारा र रौतहटका सहभागी थिए । तालीम थियो मातृभाषा शिक्षणसम्बन्धी । पर्सा र बाराका सबै सहभागी निस्सन्देह भोजपुरी भाषाका थिए भने रौतहटका पनि तीनजना भोजपुरी भाषाकै थिए । एक हिसाबले भोजपुरी भाषालाई कसरी शिक्षण गर्न सकिन्छ भन्ने मूल विषय थियो तर रौतहटलाई समेत समेट्नु परेपछि बज्जिकालाई पनि स्थान दिनुपर्यो । कार्यक्रम मातृभाषा शिक्षक प्रशिक्षक प्रशिक्षण थियो । यसैले रोस्टर प्रशिक्षण तयार पार्न शिक्षक तथा भाषासेवीलाई निम्त्याइएको थियो, दश दिनको लागि ।
रौतहटबाट तत्कालीन दुई स्रोतव्यक्ति विपिनबिहारी सिंह र विन्देश्वरप्रसाद साहसँगै मपनि सहभागी भएको थिएँ । कार्यक्रमको आरम्भको दिन पहिलो सत्रमा जब परिचयात्मक कार्यक्रम शुरू भयो, तब लाग्न थाल्यो कि कागको बीचमा बकुल्लो हुन आइएछु तर पनि सन्तुष्टि कुन कुरामा थियो भने बज्जिका भाषाको प्रथम प्रशिक्षक बन्ने औपचारिक सहभागिता थियो ।
अF, परिचयात्मक कार्यक्रममा मातृभाषा त अनिवार्य भन्नुपर्ने थियो साथमा आफूले गरिरहेको सेवा वा कार्यको पनि अत्यन्त संक्षेपमा परिचय दिनुपर्ने थियो । सबैले आफ्नो क्षेत्रको परिचय दिंदै गए । मैले पनि परिचय दिएँ तथा बज्जिका भाषाको सेवामा आफू लागिरहेको बताएँ । मेरा अग्रजद्वय सिंह र साहले भने बज्जिकाको कुरो आउँदा आफ्नो मातृभाषा बज्जिका भएको सगर्व बताउने तर जब यससित सम्बन्धित केही प्राविधिक कुरो आउँथ्यो तब मलाई अगाडि सार्नुहुन्थ्यो । तालीमभरि नै यही क्रम चलिरह्यो ।
पहिलो सत्रमै महसूस भयो, बज्जिकाको उपस्थिति धेरैलाई दुखेको छ । तालीम शुरू भयो, चल्न थाल्यो । जब खाजा खाने समय भयो तब घोचपेच शुरू हुन थाल्यो । बज्जिकालाई भाषा होइन, भोजपुरीको एउटा हाँगो वा केही पनि होइन भन्ने जस्ता प्रहारहरू भइरह । रौतहटबाट भोजपुरीको प्रशिक्षक बन्न गएकाहरूले आफूलाई भोजपुरीभाषी बताइरहँदा सबैको हाँसोको पात्र बन्दथे, किनभने भोजपुरीमा बोल्न सक्दैनथे । बज्जिका भाषामा बोलेर भोजपुरीभाषी भन्दा भोजपुरीभाषी स्वयंले पनि उपहास गरेको देखिएको थियो ।
मैले दधीचिको नाम धेरै पत्रपत्रिकाहरूमा पढेको थिएँ । सधैं प्रतीक दैनिकमा पनि आउँथ्यो । वीरगंजका साहित्यिक कार्यक्रममा दधीचिको उपस्थितिका समाचारहरू पनि पढ्न पाइरहन्थें । खाजा खाने टिफिनमा यस्तै जिस्क्याइको क्रममा दधीचिबाट प्रश्न आयो– बज्जिकाको महाकवि को ?
प्रत्युत्तरमा मैले प्रश्न नै तेस्याएँ – तपाईंहरू जसलाई अहिले भोजपुरीको महाकवि भन्नुहुन्छ, उहाँभन्दा पहिलेको महाकवि को ? अर्थात् जसलाई आदिकवि भन्नुहुन्छ, उहाँभन्दा पहिलेको आदिकवि को ?
दधीचिजी फेरि जिस्क्याउँदै– उसो भए बज्जिकाको न त महाकवि, न त आदिकवि ?
मान्ने आधार वा दर्शन नै नभईकन दुई/चार जनाको झुन्डले जे भनिदियो पनि हुने भयो– मैले दर्शन छाँटे ।
कि तपाईंलाई थाहा छैन ? – अलिक कडा प्रहार ममाथि थियो कसैको । मचाहिं चिन्दिनथें । उपहासपूर्ण भनाइले अलिकति रिस उठ्नु स्वाभाविक हो । यद्यपि अलिकति हप्काउने पाराले दधीचिजीले रोक्नुभयो त्यसरी भन्नेलाई । तर मैले पनि अलिक जङ्गिएरै बोलें– मलाई भोजपुरी, हिन्दी, मैथिली, अङ्ग्रेजी सबैका महाकवि र आदिकविको नाम थाहा छ । नेपाली भाषाका महाकवि र आदिकविसमेत अन्य भाषाका आदिकवि र महाकविका बारेमा दुई/चार मिनेट बोल्न सक्छु । तर मलाई यति अवश्य ज्ञान छ कि यत्तिका भोजपुरीका कथित सङ्कुचित मानसिकताका विद्वान्हरूलाई बज्जिकाको बारेमा शून्य ज्ञान छ । जसलाई बज्जिकाको बारेमा पढ्नु छ, मेरो कक्षामा आएर पढ्नुहोला । दुई/चार वर्ष म पढाउन सक्छु ।
दधीचिजीले मलाई रोक्नुभयो । मैले आदर गरेको थिएँ । उनको जिस्क्याइमा रहेको प्रेम र विद्वता थियो । मैले फेरि पनि बोल्न चाहें । दधीचिजीले रोक्दारोक्दै बम्कें– मलाई भोजपुरीको बारेमा थाहा छ । के तपाईंहरूलाई भोजपुरीको बारेमा थाहा छ ? आउनुस्, आजको बाँकी कक्षालाई स्थगित गरी भोजपुरी भाषाकै विषयमा बहस गरौं । म प्रत्याभूति दिन्छु, तपाईंजस्ता ज्ञानीभन्दा म अज्ञानीलाई भोजपुरीको बारेमा धेरै थाहा छ । तर तपाईं बज्जिकाको अगाडि मूर्ख साबित हुनुहुन्छ अहिले । म फेरि पनि ग्यारेन्टीका साथ भन्छु तपाईंलाई म जति भोजपुरीको बारेमा थाहै छैन । अनि बज्जिकाको बारेमा प्रश्न गर्ने ? त्यो पनि उपहासपूर्ण ? जसले मलाई प्रश्न सोधेका थिए, म उनैतिर केन्द्रित थिएँ ।
यत्ति भन्दाभन्दै म उठिसकेको थिएँ । दधीचिजी पनि उठ्दै मलाई सम्झाउनुभयो– तपाईंबाट यस किसिमको अपेक्षा गर्न सकिंदैन । तपाईं नरिसाउनुहोस् । यसरी रिसाउँदा तपाईंकै मान घट्छ ।
मैले सविनय उनलाई भनें– म बालबालिकालाई जस्तै सम्झाइदिन सक्छु । आफ्नो स्तरमा आएर तर्क गरून् । प्रश्न गरून् । छलफल गरून् । यहाँ त आफूलाई केहीं आउँदैन र अरूलाई चाहिं जिस्क्याउने मानिस नै बलियो ।
गरमागरम बहस चलिरहेकै थियो । मलाई राम्ररी चिन्ने एकजना प्रशिक्षकज्यू आइपुग्नुभयो । उहाँ पनि भोजपुरीभाषी नै हुनुहुन्थ्यो । उहाँले कुरो बुझेपछि मलाई प्रश्न सोध्नेतिर फर्केर भन्नुभयो– तपाईंले चिन्नुहुन्न । दधीचिजीले चिन्नुहुन्छ । नचिन्नेलाई यसरी जिस्क्याउनुहुन्न । तपाईंले आफ्नो अज्ञानता देखाउनुभयो तर उत्तर पाउनुभएन । म उहाँलाई राम्ररी चिन्दछु, भाषाको विषयमा उहाँलाई नसोधेकै राम्रो ।
कार्यक्रम शुरू भयो । प्रशिक्षक प्रशिक्षक कार्यक्रम थियो । मलाई बज्जिकाको बारेमा बोल्नलाई सबैतिरबाट भनियो । मैले करीब बीस मिनेटजति धाराप्रवाह बज्जिकाको बारेमा भनें । त्यसैमा एकदम लुकाएर महाकवि, महाकाव्य र आदिकवि, आदिकाव्यबारे भनें । मैले यहीं कुरालाई मात्र अमूर्त रूपमा भनेको थिएँ, बाँकी सबै कुरा मूर्त रूपमा बोलेको थिएँ । मैले बोलुन्जेल सबै शान्त थिए, केवल शान्त । सोही दिन अन्तिम सत्र सकिएपछि दधीचिजीले मलाई सोध्नुभयो– बज्जिका महाकवि र आदिकविबारे कहाँ जानकारी पाइन्छ ?
उनले मलाई एक्लै पारेर जिज्ञासा राख्नुभएको थियो । मैले उहाँलाई भनें– रक्सौलबाट प्रकाशित बज्जिकाञ्चल पत्रिकामा । यो पत्रिका धेरै पहिले बन्द भइसकेको थियो ।
विस्मित हुँदै उहाँले सोध्नुभयो– रक्सौलबाट बज्जिकाञ्चल नामको पत्रिका प्रकाशन भएको छ ?
मैले भनें– यसबारेमा मैले तपाईंलाई बताउनुपर्दा मलाई लज्जाबोध हुन्छ । तपाईं आफैं पनि भाषा साहित्यको गहिरो अध्येता । यो कुरो सही हो । यसभन्दा बढी अलिकति आफैं पनि बुझ्नुहोला ।
हामी कार्यक्रमको अन्तिम दिनसम्म निकै सौहाद्र्र रह्यौं । जहाँ भोजपुरीको कुनै आधिकारिकताको सवाल आउँथ्यो, तहाँ दधीचिजीको कुरो आधिकारिक हुन्थ्यो । बज्जिकामा चाहिं मेरो हुन्थ्यो ।
सँगै चिया खाने, खाजा खाने भइरहन्थ्यो । धेरै समय सँगै हामी एकै ठाउँमा बस्थ्यौं । समूह विभाजन हुँदा म बज्जिकाको प्रतिनिधित्व गर्थें । भोजपुरीको प्रतिनिधित्व गर्ने धेरै भइहाल्थे । भाषा र साहित्यको बारेमा पनि हामीबीच छलफल चल्थ्यो । पूर्वीय साहित्य र दर्शनमा दधीचिको पकड भएको कुरो सबैले बुझेकै थिए । प्रशिक्षणको समापनको दिन मैले नै सोधें– रक्सौलबाट प्रकाशनको कुरो बुझ्नुभयो ?
हो, रहेछ तर निकै पहिले बन्द भइसकेको छ ।
अनि मैले उहाँलाई बज्जिकाको आदिकवि र महाकविको नाम पनि बताएँ । अनि भनें– योगदानको बारेमा अलिकति यहाँले पनि सोधखोज गर्नुहोला ।