- विश्वराज अधिकारी
प्रधानमन्त्री पुष्पकमल दहालले हालै गरेको मन्त्रिमण्डल विस्तारमा हाम्रो जिल्लाबाट निर्वाचित सांसद रमेश रिजाल पनि परेका छन् । रिजालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको रूपमा शपथ लिइसकेका छन् । यो स्तम्भकार पनि पर्सावासी भएकोले रिजाल मन्त्री भएकोमा हर्षित भएको त छ नै, रिजालले आफ्नो कार्यकालमा यस जिल्लाको लागि केही विशेष कार्यक्रमहरू ल्याउने छन् भनी आशावादी पनि भएको छ । सत्ताका लागि गरिने गठनबन्धनले रिजाललाई कति दिनसम्म मन्त्री भएर काम गर्ने दिने हो त्यो यथार्थलाई अहिले एकातिर पन्छ्याएर राखौं ।
विकसित देशहरूमा नेता एवं उच्च प्रशासक (प्रधानमन्त्री, मन्त्री) हरूले आफ्नो एवं आफ्नो कार्यसँग सम्बन्धित क्षेत्रका जानकार एवं विज्ञहरूले लेखेका विभिन्न किसिमका सामाग्री एवं आलेखहरू अध्ययन गर्छन् । त्यति मात्र होइन, उनीहरू शिक्षित र अध्ययनशील पनि हुन्छन् । तर हाम्रो देशका नेताहरूमा त्यस किसिमले अध्ययन गर्ने परिपाटी बसिसकेको छैन । नेताहरूको अधिकांश समय सत्ता राजनीतिको लागि प्रयोग हुने दाउपेचको निर्माण एवं प्रयोगमा बित्ने गरेको हामीसँग दुःखद तथ्य छ । आशा छ मन्त्रीजी, तपाईंले त्यो परिपाटी भत्काउनुहुनेछ । आफ्नो चुनाव क्षेत्रका विज्ञ एवं जानकारहरूले के भन्दैछन्, के लेख्दैछन्, त्यस उपर ध्यान दिनुहुनेछ । यस्तो आग्रह गर्ने यो स्तम्भकार सम्बन्धित क्षेत्रको विज्ञ हो भन्न खोजेको भने होइन । यो स्तम्भकार निवेदक मात्र हो । मात्र आफ्नो विचार तपाईंसमक्ष राख्दैछ ।
मन्त्रीजी, तपाईंलाई थाहा नै छ अहिले हाम्रो देशको आर्थिक स्थिति जर्जर हुन पुगेको छ । खासगरी तपाईंंले जिम्मेवारी पाएका क्षेत्रहरू उद्योग, वाणिज्य, आपूर्ति चिन्तनीय स्थितिमा छ । नेपालबाट विदेशतर्फ हुने निर्यातको सङ्ख्या र परिमाण दुवै उल्लेखनीय किसिमले वृद्धि गर्न सकिएको छैन । हाम्रो व्यापार बूढो गोरुजस्तो भएको छ, उठ्न सकिरहेको छैन । उद्योगको त कुरै न नगरौं ।
तपाइ‘ स्वयंले नै पनि अनुभव गरेको देखेको कुरा हो, वीरगंज कुनै समयमा नेपालको आर्थिक राजधानी थियो । वीरगंज नेपालको व्यापारद्वार थियो, औद्योगिक नगरी थियो । वीरगंजमा चिनी कारखाना, कृषि औजार कारखाना, मोजा कारखाना, स्टिल कारखाना, कटन मिल, चुरोट कारखाना, सलाई कारखाना, बिस्कुट कारखाना, कत्थामिल थियो । समिल, राइस मिलहरू थिए । धान चामलको व्यापार गर्ने वीरगंजमा दर्जनौं ठूला व्यापारी थिए । वीरगंजले मात्र तत्कालीन धान चामल निर्यात कम्पनीको माध्यमबाट हजारौं क्विन्टल धान, चामल भारत, बङ्गलादेश, मरिसस तर्फ निर्यात गर्दथ्यो ।
ती उद्योगहरू कहाँ गए ? किन गए ? कसरी गए ? यसबारे कहिले पनि विस्तृत अध्ययन भएन । कारण पत्ता लगाउने काम भएन । उल्टो नेपालतर्फ हुने आपूर्तिको परिमाण बढ्दै गयो । देश विदेश गएर, ज्यानको बाजी लगाएर, रगत पसिना बगाएर ल्याएको कमाइले चल्ने भयो । ‘रेमिट्यान्स’ नआएमा देशको अर्थतन्त्र धराशायी हुने स्थिति भयो । कृषिको त झनै स्थिति दयनीय छ ।
विगतमा के भयो त्यो कुरा अब छाडि दिउँ, वर्तमानको कुरा गरौं ।
तपाईं समग्र राष्ट्रको उद्योग, वाणिज्य र आपूर्ति क्षेत्रको कायापलट गर्नुहोस् । देशको आर्थिक स्थितिमा सुधार ल्याउनुहोस् । उद्योग क्षेत्रको विस्तार गर्नुहोस् । आपूर्ति कम गरेर निर्यात वृद्धि गर्नेतर्फ लाग्नुहोस् । उपरोक्त कार्यहरू तत्काल गर्नुहोस् भन्न खोजेको पनि होइन ।
भन्न के खोजेको हो भने तपाईंको कार्यकालमा कमसे कम यस्तो वाणिज्य एवं आपूर्ति नीति निर्माण गर्नुहोस् जसले गर्दा पर्सा जिल्ला तरकारी र फलफूल उत्पादनमा आत्मनिर्भर हुन सकोस् । अन्डा, माछा र मासु उत्पादनमा आत्म निर्भर हुन सकोस् । तरकारी, फलफूल, मासु, माछा, अन्डा आदि भारतबाट ठूलो परिमाणमा आयात गर्ने स्थिति अन्त्य होस् ।
कृषि मन्त्रालयसँग सहकार्य गर्नुहोस् । कम ब्याजदरमा कृषकहरूलाई कृषि ऋण उपलब्ध गराउने व्यवस्था मिलाउनुहोस् । कृषि मल, बीउ आदिको उपलब्धता सहज पार्नुहोस् । सिंहदरबार होइन, बढी समय पर्सा जिल्लाका गाउँहरूतिर बिताउनुहोस् । पर्सा जिल्लामा एक दुईवटा कृषक–सम्मेलनको आयोजना गर्नुहोस् र कृषकहरूले के के समस्या बेहोरिरहेका छन् ती कुराहरू बुझ्नुहोस् । कृषि क्षेत्रमा के के समस्या छन् र तिनको समाधान कसरी गर्न सकिन्छ भन्नेबारे कृषकहरूसँग राय लिनुहोस् । कृषि विज्ञानमा मास्टर र पिएचडी गरेका, तर माटो भने कहिले नछोएका विज्ञहरूभन्दा नित्य माटोसँग खेल्ने सामान्य कृषकहरूलाई कृषिका समस्या र समाधानबारे राम्रो जानकारी हुन्छ । कृषकहरूले कृषिबारे राम्रो जानकारी राखेका हुन्छन् ।
अर्थ मन्त्रालयसँग समन्वय गर्नुहोस् र कृषकहरूलाई कम ब्याजदरमा र दीर्घकालका लागि कसरी कृषि–ऋण उपलब्ध गराउन सकिन्छ, त्यसबारे अर्थ मन्त्रालयका विज्ञहरूसँग परामर्श लिनुहोस् । कृषकहरूलाई दिइने ऋणको बीमा पनि गर्न सकिन्छ । त्यस्ता उपायको खोजी गर्नुपर्छ ।
कृषकहरूले कृषि–ऋण लिएर उक्त ऋण कृषि कार्यमा उपयोग गरेका छन् कि छैनन् भनी थाहा पाउन स्वयंले पनि निरीक्षण गर्नुहोस् । कृषकहरूको घर दैलौमा पुग्नुहोस् उनीहरूको समस्या कुनै सहायकमार्फत होइन, स्वयंले सुन्नुहोस् ।
कृषकहरूले लगाउने बालीको बीमा कसरी गर्न सकिन्छ भन्ने उपाय पत्ता लगाउन कृषि मन्त्रालयका विज्ञहरूलाई भन्नुहोस् । कृषकहरूको बालीको बीमा गर्ने व्यवस्था भएमा खराब मौसमबाट हुने बालीको क्षति–मारबाट कृषकहरूलाई जोगाउन सकिन्छ ।
पर्सा जिल्लाका कृषकहरूले उत्पादन गरेका वस्तुहरू पर्सा जिल्लाभित्र नै खपत हुने स्थिति हुनु राम्रो हो । यदि त्यस्तो नभएमा उनीहरूले उत्पादन गरेका वस्तु बिक्री गर्न बाह्य बजारको खोजी गर्नुपर्ने हुन्छ । बाह्य बजारको खोजी गर्नुपर्ने स्थिति आएमा, आफ्नै पहलमा बाह्य बजार खोज्ने कार्य गर्नुहोस् । आफ्ना संयन्त्रहरूको प्रयोग बाह्य बजार खोज्न प्रयोग गर्नुहोस् ।
बढी समय मन्त्री क्वाटर र सिंहदरबारमा आसेपासेहरूसँग घेरिएर बस्नुभयो भने अर्को चुनाव तपाईंको लागि प्रतिकूल हुन सक्छ तर बढी समय पर्सा जिल्लाका गाउँहरूमा कृषक, व्यापारी, उद्योगपति र आपूर्तिकर्ताहरूसँग बिताउनु भयो भने अर्को चुनावमा तपाईंको विजय पुनः निश्चित हुनेछ । तपाईंका कामहरूले मतदाताहरूलाई तपाईंलाई भोट दिन बाध्य पार्नेछ ।
सधैं र बढी काठमाडौं (केन्द्र) मा बस्ने परम्पराको अन्त्य गर्नुहोस् । आफ्नो कार्य क्षेत्र वीरगंज र पोखरियालाई बनाएर आफ्ना कार्यहरू जिल्लामा नै केन्द्रित गर्नुहोस् । विकासको पुरानो मोडेल (केन्द्रमा बसेर निर्देशन दिने) परिवर्तन गर्नुहFेस् ।
आफ्नो वरिपरि केवल कार्यकर्ता मात्र होइन, विज्ञहरू पनि राख्नुहोस् । उनीहरूसँग नियमित सल्लाह माग्नुहोस् । उनीहरूलाई पनि गृह–कार्य दिनुहोस् र गृह–कार्य गरे–गरेनन् त्यस उपर निगरानी राख्नुहोस् ।
तपाईंको कार्यकालमा केवल पर्सा जिल्लालाई एक ‘पाइलट प्रोजेक्ट’ को रूपमा लिनुहोस् । त्यस्तो गर्न सकिन्छ । तपाईंका योजनाहरूले पर्सा जिल्लामा सफलता पायो/पाएन त्यसको मूल्याङ्कन गर्नुहोस् । पर्सा जिल्लालाई तरकारी, फलफूल, माछा, मासु, अन्डा उत्पादनमा आत्मनिर्भर तुल्याउन सकिने सम्भावनाको परीक्षण त्यस किसिमको पाइलट प्रोजेक्टको प्रयोगबाट पनि थाहा पाउन सकिन्छ ।
रिजालजी, तपाईं मन्त्री भएको खुशी रोक्न सकिनँ र त्यो खुशीलाई यस किसिमबाट अक्षरको रूपमा व्यक्त गरें । हामीलाई आशा होइन, विश्वास छ, तपाईं मन्त्री भएको समय पर्सा जिल्लाले कृषि, उद्योग, वाणिज्यको क्षेत्रमा अवश्य पनि केही सुधार भएको देख्नेछ । अनि तपाईं हाम्रा लागि एक अविस्मरणीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्नुहुनेछ ।
एकै व्यक्ति पटकपटक र दर्जनौंपटक मन्त्री भएका छन् । सदा केवल शक्ति र सत्ताको लागि दौडेका छन् । आफ्नो चुनाव क्षेत्र र समग्र राष्ट्रको आर्थिक विकासमा भने ध्यान दिएका छैनन् । राजनीति आरम्भ गरेको छ महीनाभित्र मन्त्री भएका छन् । तर तपाईंले लामो समय राजनीतिमा बिताउनुभएको छ । राजनीतिमा लागेको चार दशकपछि बल्ल मन्त्री हुनुभएको छ । यसबाट के प्रस्ट हुन्छ भने तपाईं सत्ताको दौडमा खासै लाग्नुभएको छैन । जिल्लाको विकासलाई महत्व दिनुभएको छ । यस कारणले पनि तपाईं समक्ष आफ्ना विचार राख्न मन लाग्यो ।
मन्त्रीजी, तपाईंको कार्यकाल सुखद र सफल होस् ।