अहिलेका युवाको ढुकढुकी दक्षिण भारतकी चर्चित अभिनेत्री रश्मिका मन्दाना आज २७ वर्ष भएकी छन् । पछिल्लोपटक उनी तमिल चलचित्र वरिसुमा देखिएकी थिइन् भने उनको आगामी चलचित्र रणवीर कपूरको एनिमलमा पनि देखिने भएकी छन् । उनले आफ्नो चलचित्र क्यारियरमा एकसे एक सुपरहिट चलचित्र दिएकी छन् । सामाजिक सञ्जालमा उनको थुप्रै फ्लोवर छन् ।
रश्मिकाले एउटा अन्तर्वार्तामा आफ्नो अभिनयको सुरुआतबारे बताएकी थिइन् । ब्युटी पेजेन्ट जितेपछि उनलाई एउटा चलचित्रमा लिड अभिनेत्रीको अभिनयको लागि फोन आएको थियो । तर उनले त्यसलाई मजाक ठानेर ब्लक गरेको बताइन् । रश्मिकाले पहिलोपटक सन् २०१६ मा किरिक पार्टीमा अभिनय सुरुआत गरेकी थिइन् । यो कन्नड चलचित्रले निकै धेरै कमाइ गर्यो र उनलाई सीमा अवार्ड दिइएको थियो । त्यस्तै, सन् २०१७ मा उनले दुईवटा कन्नड चलचित्र अञ्जनी पुत्र र चमकमा अभिनय गरिन् । त्यसपछि उनले थुप्रै तेलुगु र तमिल चलचित्रमा काम गरिन् । सन् २०२२ मा उनले मैसेबल इन्डियालाई अन्तर्वार्ता दिंदै भनिन्– किरिक पार्टी चलचित्रको लागि मलाई प्रोडक्शन हाउसबाट फोन आएको थियो तर मैले प्रैङ्क कल ठानेर नम्बरलाई ब्लक गरिदिए । तर निर्माताले मेरो साथी र शिक्षकको माध्यमबाट मसँग सम्पर्क गरे । शिक्षकको मार्गदर्शनमा मैले निर्मातासँग भेटे र चलचित्रमा अभिनय गर्ने मौका पाएँ । गत वर्ष तेलुगु चलचित्र पुष्पामा उनको अभिनय सराहनीय थियो ।