- सञ्जय मित्र
दुनियाँलाई शिक्षा दिई अरूको प्रगतिमा रमाउने मास्टर पनि कतिपय अवस्थामा कति व्यथित हुन्छन् भन्ने कुरा बेलामौकामा मात्र प्रस्फुटित हुने रहेछ । अरूको बच्चालाई सदैव राम्रो गरोस् र राम्रो गर्न सकेमा आफूमा गर्वको पहाड उम्रिएको अनुभूति गर्ने शिक्षकभित्र पनि अनन्त पीडाहरू लुकेका हुँदारहेछन् । कहिलेकाहीं पीडाले निराशाको रूप लिएर समुद्रको छालजस्तै बनेर किनारालाई नाघेर बाहिर आउँदा छचल्किएको देखिन्छ ।
यहाँ नाम उल्लेख नगरूँ होला । पहाडका एकजना शिक्षक छन्, मधेस प्रदेशमा लामो समयदेखि कार्यरत । शिक्षाको क्षेत्रमा मान राम्रो कमाएका छन् । सबैले सम्मानको नजरले नै हेर्छन् तर कतिपयले भन्छन्– हाम्रो ठाउँमा कमाएर आफ्नो गाउँँमा लगिरहेका छन् धन ।
यस्तो आरोप सुन्नुपर्दा मनमा उनलाई अलिकति ठेस त लाग्छ नै तर फेरि चित्त बुझाउने अर्को मनले आफैंलाई सान्त्वना दिन्छ– अबुझ र अशिक्षित मानिसले जे पनि भन्छन् । चेतना दिनु त आफ्नो कामै हो ।
कोही पनि भोको पेट बस्दैन । जहाँ गए पनि पेट लिएरै जानुपर्ने हुन्छ । अझ प्रौढ मानिसले आफूसित आफ्नो परिवारलाई नै लिएर जानुपर्ने हुन्छ । परिवारदेखि आफू टाढा भएर पनि बस्न अप्ठ्यारो । फेरि बालबच्चालाई शिक्षा दिनु पनि कर्तव्य हो । जहाँ आफू बसेको हुन्छ, त्यहाँको शिक्षा त्यत्ति चित्तबुझ्दो नभए पनि विद्यालयीय शिक्षा दिलाउन बाहिर साना नानीहरूलाई पठाउनु त्यत्ति उपयुक्त हुँदैन पनि ।
पढाइमा राम्रो हुँदा ती मास्टरले अलिक ढिलो बिहे गरे । आफूभन्दा सानो अर्थात् घरमा कान्छो भाइले बरु चाँडै बिहे गरे । भाइले चाँडै बिहे गरेको भन्दा पनि उमेरमा बिहे गरेको हो । मास्टर साहेबले भने अलिकति पढ्नुपर्छ । बिहे भनेको त जहिले गर्दा नि हुन्छ । पढाइमा मास्टर डिग्री सकिंदा नसकिंदै एउटा राम्रो नोकरी पाउँछन् । नोकरी पाउँदा पनि बिहेको लागि त्यत्ति उत्साहित किन हुँदैनन् भने अलिकति व्यवस्थित हुन खोज्छन् । यसैमा तिनलाई अर्को विषयमा डिग्री गर्न मर्न लाग्छ । दुर्ई/अढाई वर्ष बितिहाल्छ । जीवनलाई यता तन्काउँदा उता पछाडि परेको र उता छोप्दा यता लुगा नपुगेको जस्तो अधुरो अपूरो हुँदै गरेको लाग्न थाल्छ ।
बिहे गर्छन् । बिहे गरेपछि तुरुन्तै जन्माउनु सन्तान । एउटा सन्तान जन्मेपछि अर्को जन्माउन अलि राम्रो ग्याप गर्न परिहाल्यो हैन भने शिक्षक वा शिक्षित मानिसले पनि जथाभावी बच्चा जन्मायो भन्ने आरोप लाग्ने डर । राम्रैसित ग्याप गर्दा पहिलेको सन्तान राम्ररी हुर्कने पनि हुन्छ । यसरी गर्दा त समय घर्किइसकेको हुने रहेछ । घर्किइसकेको समय फिर्ता गर्न कुनै पनि हालतमा नसकिने रहेछ । यसको परिणाम अहिलेको दुःखेसो के रहेको छ भने समयमा बिहे गरेको भए सन्तान पनि समयमा हुर्किने रहेछन् । करीब पचास वर्षको उमेरमा एक सन्तान माध्यमिक तहमा र अर्को सन्तान बल्ल केजीमा छन् । यस अहिलेको अवस्थाले पीडा किन दिइरहेको छ भने अहिले फ्याट्टै आफूलाई केही भइहाल्यो भने ती कलिला सन्तानको जीवन बर्बाद हुन्छ । फेरि अर्कोतिर पनि ध्यान दिंदा उनी तर्सिन्छन्– कान्छो सन्तानलाई पनि राम्ररी हुर्काउन र पढाउन आफूलाई बूढो भएर पनि खटिइरहनुपर्ने हुन्छ । यही कुरो समयमा बुझेको भए मलाई निकै बूढो भएर पनि घोटिनुपर्ने अवस्था आउने थिएन ।
घरपरिवारमा अरू दाजुभाइसित आफूलाई दाँज्छन् । सबैभन्दा गए गुज्रेको पाउँछन् । आफूभन्दा कान्छो भाइले पढाइ छाडेर गाउँँमैं बदमासी गर्न थाल्यो । चाँडै बिहे गरिहाल्यो । अहिले छोरो विदेश पढ्न गएको र उतैबाट पढ्दै कमाएर पैसो पठाइरहेको छ । ऊ अझै पनि गाउँँमा आठ/दश वटा चेन भएको ज्याकेट लगाएर हिंड्छ । गाउँटोलमा हेर्न लायकको घर बनाइसकेको छ । आफू त विनाघरको मास्टर । गाउँँमा सबैभन्दा बढी पढेलेखेको मास्टर साहेब चाडपर्वमा घर पुग्दा कोहीसित मेल नखाने एक्लो पर्दा रहेछन् ।
मास्टर साहेब भएकाले जाँडरक्सी खानुभएन, इज्जत जान्छ । जुवा तास खेल्नुभएन । अनि गाउँँमा चाडपर्वमा कोही आफूसित किन बस्थ्यो ? सबैले रमाइलो गर्नुपर्ने हुन्छ । आफू त्यो रमाइलोमा नपच्ने तर लाहुरेहरू वा कान्छो भाइको घरमा भने सधैं मान्छेको आवतजावत भइरहने । सबैसित पच्ने । गाउँको एकलकाँटे हुन पुग्ने मास्टर साहेब आफ्ना चिचिला सन्तान लिएर कतै जानुपर्दा अरूको अगाडि लाज मान्नुपर्ने अवस्था भइसकेको छ । न धन कमाउन सकियो, न त समयमा सन्तानलाई नै हुर्काउन सकियो ।
धन र सन्तानमा गर्व गर्ने समाजमा यी दुवैमा पछाडि पर्दा समाजले खासै महत्व दिने रहेनछ । उनी आफ्नो भोगाइलाई कहिलेकाहीं साथीहरूसित साट्छन् । कहिले अनुहारमा भएभरको पीडाले नीलो आकाशलाई कालो बादलले छपक्कै छोपेको निराशा पस्कन्छन् त कहिले अनुहारभरि रगतले रातो पारेर आक्रोशपूर्ण पछुतोको भुङ्ग्रोमा आफूलाई पोलेको देखाउँछन् । अनि भन्छन्– मैले आफूलाई आदर्श जीवन भएको मानिसको रूपमा उभ्याउन खोजेको थिएँ । सोचेको जस्तो आदर्श जीवन छ पनि मेरो तर यसको मूल्य समाजमा छैन, मिति सिद्धिएको मानिसको रूपमा मलाई समाजले बुझ्न थालेको छ । जीवनमा केही गर्न नसक्ने असफल मानिसको रूपमा दाजुभाइ तथा समाजको बीचमा आफूलाई म पाउन थालेको छु । समाजले पनि यही रूपमा मलाई देखेको छ भन्ने दुःखेसो छ मास्टर साहबको ।
चाडपर्वमा बालदौंतरीहरूले सजिलै हजारौं रुपियाँ खर्च गर्छन् । आफू भने फजुल खर्च गर्नुहुँदैन भन्ने आदर्श त छाट्छु तर मेरो आदर्श गाउँँमा काम लाग्ने हुँदैन । दौंतरीहरूले कन्जुस भन्छन् । म साँच्चै मास्टरको जात लाहुरे र गाउँँकै भएपनि नेताहरू भइसकेकाहरूसित कसरी सक्नु ? वास्तवमा आफ्नो खल्ती देख्छु । अड्कल्छु कि अझै यत्ति काम गर्नै बाँकी छ । अनि आफैंलाई धिक्कार्छु । बेकारको काममा फसिएछ ।
शिक्षा दिनुपर्ने रहेछ तर कतिपय शिक्षा लिइरहनुपर्ने पनि रहेछ । ती मास्टर साहेब अहिले भविष्य अनुमान गरेर भन्छन्– अब बूढो हुन खोज्दैछु तर लागिरहेछ म बूढोले आफ्ना सन्तानप्रति न्याय पनि गर्न सक्दिनँ । र अर्को डर यो पनि छ कि म जति बूढो हुन्छु सन्तानको इच्छालाई सम्मान गर्न मैले अझ बढी परिश्रम गर्नुपर्ने हुन्छ ताकि उनीहरूलाई इच्छानुसार पढाउन सकियोस् । अनि कसरी सन्तुलन हुन्छ आफ्नो जीवनमा । मैले कहिले सुख पाएँ ? कहिले सुख पाउँछु ? अनि सन्तुष्टि ? अरूलाई देखेर होइन आफूलाई मात्र देखेर पनि हुन सकिने ठाउँ रहेको देख्दिनँ । बाहिरबाट हेर्दा एउटा कुरो होला, म आफूलाई नै कहिलेकाहीं आत्मरतिमा रमाएको पाउँछु । यही आत्मरति नै मेरो सन्तोष बन्छ ।
सबैले सान्त्वना दिन्छन्– यत्तिको प्रगति छ ।
उनी निराशा प्रकट गर्छन्– प्रगतिको तुलना सापेक्षतामा हुनुपर्छ निरपेक्ष होइन । मेरा दौंतरीहरू कहाँ छन्, समकक्षीहरू के गरिरहेका छन्, के के गरिसकेका छन् । कस्तो जीवनयापन गर्दैछन्, के सोचिरहेका छन्, तिनका सन्तान र सामाजिक अवस्थाको वर्तमान र भविष्य कस्तो छ ? तुलनाका आधारहरू यी हुन् । भर्खर जन्मिंदै गरेको मानिससित मेरो तुलना गर्ने हो भने उनको जति लामो जीवन आफ्नो अब छैन । अनि कसरी होला ?
तर जब सन्तोषको बादल अनुहारमा हुन्छ, तब उनी आफैं भन्छन्– जीवन आफ्नो हो । आफूले सोचेको जस्तो जीवन बाँच्न पाइएको छ । कसैको हस्तक्षेप छैन । कसैको दबाब छैन । खासै तनाव छैन । बाँच्दै गएको छु । आफैंमा खुशी हुनुपर्छ । खुशीको पनि आफ्नै क्षेत्र हुन्छ । सबैको सबै चाहना पूरा नहोला । सङ्घर्ष भने गरिरहेको छु र गरिरहन्छु आउँदा दिनहरूमा पनि ।