• सञ्जय मित्र

डा. शालिग्राम शर्मा आफैंमा एक युग हुन् । ८७ वर्षको उमेरमा कर्मशील व्यक्तित्व हुन् । डा. शर्मा अहिले झन् सक्रिय छन् । पहिले पनि साहित्य सिर्जना गर्ने तथा चिकित्सीय कर्ममा जुटिरहने डा. शर्मा अहिले पनि दुवै कर्मलाई एकसाथ अगाडि बढाइरहेका छन् ।

वि.स. १९९३ कात्तिक बडादशैंको दिन पिता रामनाथ शर्मा र माता रेवतीदेवी शर्माको कोखबाट लमजुङ जिल्लाको भोर्लेटारमा जन्मेका डा. शर्मा रौतहटको चन्द्रनिगाहपुरका स्थायी बासिन्दा हुन् । लामो समयदेखि बिरामीको उपचार गर्दै आएका साहित्यकार डा. शर्माले पिता र माताको नाममा राम–रेवती प्रतिष्ठान चन्द्रनिगाहपुर, रौतहट स्थापना गरेका छन् । यसै प्रतिष्ठानले साहित्यकार डा. शर्माको ‘देहात तापेर आयुर्वेद’ कृति प्रकाशन गरेको छ । यो कृतिको पहिलो संस्करण २०७८ मा दोस्रो संस्करण २०७९ असोजमा प्रकाशित भएको छ । यो संस्मरण सङ्ग्रह हो र यसमा नियात्राहरू पनि समेटिएका छन् । अधिकांश शीर्षकले नै विषयवस्तु कस्तो छ भनेर अनुमान लगाउन सजिलो भएको छ । कृतिमा अन्तर्वार्ता, अनुभूतिको पोयो, उपेक्षाको एउटा पोयो, उल्लेख्य उपादान, ॐ शेषायै नमः, करपात्रीजीको पाठशाला, कश्मीरी उडान, काशी, जर्नेलको थप्पड, जे भयो राम्रै भयो, धनुषाधाम परिक्रमा, प्रेम झा, परमतृप्तिका पाइलाहरू, पुना परिक्रमा, बलबहादुरको कोर्रा, बहिर्गमन, बालापन, बाह्र वर्षपछि, बोक्सी, यात्रा बराहक्षेत्रको, राजगीर, वैद्याङ्गीको वीणा, सन्तुष्टिको रूमानी तरङ्ग, सम्झना भोपालको, सारनाथ, त्रासदी भुसाहा काण्डको, गजाधर सोतीको पाश्र्वछायामा र अन्तिम बिसाउनी गरी २८ रचना सङ्कलित छन् ।

शीर्षकहरू हेर्दा नै उमेरको यो पडावमा आएर जीवनयात्राको मूल्याङ्कन गरेकोजस्तो देखिन्छ । यो एउटा पाटो हो तर सतासी वर्षको उमेरमा यसरी सम्झना गरेर लेख्नु चानचुने कुरो होइन । यसले दुई कुरालाई प्रत्यक्ष सङ्केत गर्दछ : पहिलो त स्मरणशक्ति बलियो छ जसले बाल्यकालदेखिका कुराहरू सम्झनामा सँगेटेको छ । दोस्रो लेख्नलाई त्यो जाँगर छ जसले अभिव्यक्ति कलालाई पछ्याइरहेको छ ।

धेरैको सोच छ साहित्य अनुत्पादक क्षेत्र हो । कतिपयले मुखले नबनाए पनि कर्ममा भने यसलाई त्यही भन्ने गरेका छन् तर डा. शर्माको सिर्जनाले जीवनका लागि अनेक शिक्षा र जानकारीहरू दिन्छ, जसले यस कृतिको अध्ययनमा लागेको समय सार्थक बनाएको हुन्छ । वास्तवमा मानिसले कसैको कृति पढ्ने किन ? कृतिले धेरैलाई आकर्षित गर्न नसकिरहेको वर्तमानमा यस कृतिले एक वर्षमा दुई संस्करण निकाल्न पाउनु नै वास्तवमा सर्वसाधारणसित जोडिन सक्ने सामथ्र्य राखेको कारणले हो ।

माथि नै सङ्केत गरिएजस्तो यसमा दुई प्रकृतिका रचना छन् । बढी रचना छन् संस्मरण । संस्मरणहरू आफ्नै परिवेशका छन् । यस कृतिमा धेरै रचना चन्द्रनिगाहपुर र विश्रामपुरको सेरोफेरोमा रचिएको छ । लमजुङबाट विश्रामपुर बसाइँ सर्दाको बाल्यकालको संस्मरण कुनै काल्पनिक कथाभन्दा कम रोचक छैन । विश्रामपुर मूल केन्द्र यसै कारण बन्न पुगेको छ यस कृतिको । आयुर्वेद विज्ञानमा स्नातक पढ्न अन्तर्वार्ता दिंदाको अवस्थाबाट शुरू भएको यो कृतिमा बाल्यकालका सम्झना पनि छन् र आयुर्वेदमा स्नातक गरी घर फर्केपछि चिकित्सा सेवा शुरू गर्दादेखिका अनेक स्मृतिहरू पनि छन् । पढ्दै गर्दाका केही भ्रमण, केही अनुभूति र केही सुन्दर याद यस कृतिका गहना बनेका छन् । कृतिकार डा. शर्माले चिकित्सकीय पेशाबाट सन्तुष्ट हुनुपर्दाका विभिन्न अवस्था सम्झेका छन् । कसरी कठिन समयमा उपचार गर्दा अविश्वसनीय सेवा दिन पुगिए छ भन्ने कहालीलाग्दा स्मृतिहरू यसमा सङ्कलित छन् ।

दोस्रोथरी रचना नियात्रा हुन् । नियात्रामा भ्रमण गर्दाका अनुभव र अनुभूति मात्र होइन, जुन ठाउँमा भ्रमण गरिएको छ, उक्त ठाउँबारे पर्याप्त जानकारी प्रस्तुत गरिएको छ । जुन जुन ठाउँको नियात्रा रहेका छन्, शीर्षकमैं आएका छन् । यात्राको तारतम्य कसरी मिल्यो, यात्रामा को–को थिए, कसरी पुगियो, के–के देखियो, कुन कुरा बुझियो, त्यस ठाउँसित सम्बन्धित तथ्यहरू के–के छन्, कसरी विशिष्ट छन् भन्ने कुरो नियात्रा पढ्दा जानकारी पाइन्छ । साँच्चीकै एउटा नियात्रा पढेपछि अर्को नियात्रा पढ्न उत्सुकता जाग्छ । नियात्राहरू रोचक मात्र होइनन्, जानकारीमूलक छन् । जिज्ञासामूलक छन् । उत्सुकता प्रदान गर्ने किसिमका छन् र जिज्ञासा तथा उत्सकुतालाई शान्त पार्ने किसिमका छन् । सही अर्थमा नियात्राहरू साँच्चीकै ज्ञानवद्र्धक छन् ।

यस कृतिको महत्व दुई किसिमले रहेको छ । पहिलो त यो साहित्यिक कृति हो । रौतहटमा साहित्यिक कृति कमै प्रकाशित हुन्छन् । केही साहित्यकार छन्, जो रौतहटको हुँ भनेर कतै देखाउन चाहँदैनन् । रौतहटको परिवेशलाई सम्भव भएसम्म नकारात्मक देखाउन चाहन्छन् तर यो कृतिमा रौतहटको धरतीसित अनन्त प्रेम देखाइएको छ । नेपाली साहित्यमा रौतहटसित सम्बन्धित यत्तिका संस्मरण शायद कुनै कृतिमा परेको होला । यो साहित्यिक कृति भएकोले यसले साहित्यिक पाठकलाई रौतहटको चिनारी दिन सफल छ । रौतहटलाई चिनाउँदा यसले कतै रौतहटमाथि अन्याय गरेको देखिंदैन ।

यसको अर्को मूल्य आयुर्वेदप्रति आकर्षण जगाउन सक्नुमा छ । गाउँघरमैं रहेका वनस्पतिहरूमा अनेक औषधीय गुण छन् । उपचार पद्धतिमा कहिलेकाहीं गाउँघरमा प्रचलनमा रहेका परम्परागत तरीकाले पनि अविश्वसनीय र अकल्पनीय काम गर्दो रहेछ । उपचार गर्दा कहिलेकाहीं आफूमाथि विश्वास नहुँदा ईश्वरको भरोसा गर्नुपर्ने रहेछ । अकल्पनीय सफलता पाउँदा ईश्वरलाई धन्यवाद दिनु स्वाभाविक हो । बिरामीको नजरमा कहिलेकाहीं भगवान भइदिन्छन् चिकित्सक । कतिपयलाई सोझै मेरो र मेरो परिवारको लागि फलानाको हातमा जस छ भन्ने मनोविज्ञान हुन्छ र यस किसिमको मनोविज्ञानले काम गरेको पनि हुन्छ ।

 ‘देहात तापेर आयुर्वेद’ एउटा पठनीय कृति हो । यसलाई पढेर सबै उमेरका मानिसले लाभ लिन सक्छन् । बढी प्रेरणादायी त ज्येष्ठ नागरिकलाई रहेको छ यो कृति । ८४ को उमेर कटेपछि वास्तवमा यस कृतिको लेखन गरिएको छ । जीवनको सार यस कारण यस कृतिले दिनेछ कि अन्य सबै क्षेत्रमा जे जति गरे पनि दुनियाँले सम्झिन्छन् कि सम्झिंदैनन् तर साहित्यिक कृति प्रकाशन गर्न सकेमा यसले दुनियाँमा सम्झिनयोग्य बनाइराख्छ भन्ने यथार्थ झल्काउँछ । यस कृतिका कृतिकार डा. शर्माले आफ्ना मातापिताको नाममा संस्था स्थापना गरेका छन् र चार लाख रुपियाँ अक्षयकोष स्थापना गरी साहित्यकारलाई सम्मान गर्ने शुरूआत पनि गरेका छन् । जीवनको उत्तराद्र्धमा आएर वार्धक्यले अचेट्दा पनि अत्यन्त सक्रिय भएका छन् साहित्य सिर्जनामा । यसको उदाहरण यो पनि छ कि डा. शर्माको ‘देहात तापेर आयुर्वेद’पछि अर्को संस्मरण पनि बजारमा आइसकेको छ ।

डा. शर्माको उज्ज्वल साहित्यिक जीवनको कामना गर्दै अझ स्तरीय साहित्यिक प्रकाशन होस् भन्ने शुभाकाङ्क्षा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here