• सञ्जय मित्र

कुरो फल्ने सबैभन्दा मलिलो माटो मन हो । मनमा फल्छ । जिब्रोले बोल्छ । वास्तवमा मनको कुरो मुखले खोल्छ । कहिलेकाहीं छातीको पीडा पनि खोक्छ । बोलीले अरूलाई ठोक्छ । अरूलाई घोच्छ । बोलीले आँसु पुच्छ । पराई पुज्छ ।

बोलीमा तेल दलेर बोल्ने हो भने चिल्लो बोली निस्कन्छ । कतिपयले नौनी दलेको चिप्लने चिल्ले बोली बोलेको सुन्नुभएकै होला । एउटाको चिप्ले बोलीमा चिप्लेटी खेलेर म तीन बल्ड्याङ लडेको थिएँ । ऊ यही चिल्लो बोलीको चिप्लेटी खेल्दै चिल्ला कारमा आफूलाई चिल्याउन र अरूलाई जिल्याउन भ्याएको छ ।

चिनी घोलियो भने गुलियो बोली हुन्छ । बोली सिद्धान्तमा चिल्लोभन्दा गुलियो राम्रो मानिन्छ । यद्यपि आजभोलि धेरैलाई चिनीरोग लागेर हो कि गुलियो बोली निकाल्नेको सङ्ख्या बढेको छ । बरु चिल्लोले चिल्याउला तर गुलियोमा भुलियो भनिन्छ । गुलियोमा कमिला त झुम्मिन्छ भने मानिसलाई किन नलट्याउला । अझ कसैले तरुनीको बोली गुलियो भन्यो भने त त्यसले तमाशा नै हुन्छ । एक त गुलियो बोली, त्यसमाथि मृदु मुस्कान र थोरै कर्के आँखा भइदियो भने बोलीले चारचाँद लगाउन बेर लाग्दैन । गुलियो बोलीमा अलिकति अङ्ग्रेजी मिसाइदिनुस्, हाई क्लासको विदेशी दारूभन्दा बढ्ता मात दिने हुन जान्छ । जहाँ मात लाग्छ, त्यहाँ बात पनि लाग्छ । बात लाग्नु राम्रो त होइन नि !

कोही बोलीमा खुर्सानी दल्ने गर्छन् । बोलीले कतै छोयो कि पोल्यो । बरु कागको बोली मीठो होला तर जिब्रोमा तरबार बाँधेर बोलेको बोलीले मुटु नै काट्छ । जिब्रोमा छुरी लगाएर बोलेको बोली सुन्दा कपडालाई केही छुँदैन, शरीरको छालालाई केही हुँदैन तर भित्र भने मनलाई काँक्रो चिरेजस्तै चिर्दछ । काँक्रोको रगत हुँदैन, बाहिर निस्कँदैन ।

बोल्नेको पीठो बोल्छ, नबोल्नेको चामल पनि बिक्दैन भनेर बोलीको महिमा गान गरिएको आदिकालदेखि नै हो । यसैगरी, बोलीमा लोली मिलाउन जानियो कि दुनियाँ आफ्नै ठानियो भन्दा हुन्छ भनेर त्यत्तिकै उखान नचलेको होला । कसैको बोलीमा बोली मिलाउँदै जाऊ र उसको प्राणप्रियभन्दा पनि मनप्रिय बन्दै जाऊ ।

कसैको बोली टर्रो हुन्छ । कसैको खरो हुन्छ । कतिपयले खरो बोली राम्रो हुन्छ भन्छन् । खरो बोली बोल्नेलाई कसैले मन पराउँदैन । त्यसैले पनि भनिएको हो– सत्य तीतो हुन्छ । तीतो बोली र तीते करेला निकै कमलाई मन पर्छ । तीते करेलाको भाउ चिनीरोगले गर्दा बढेको हो । कुनै रोग लागेको छैन भने तीतो बोली कसैलाई मन पर्र्दैन । हो, तीतो बोली सुन्ने रोग लागेका मानिसलाई भने गुलियो बोलीले लोभ्याउन सक्दैन । उसले तीतो बोली नसुनेसम्म पेटको पानी पच्दैन । कस्तो अचम्म, पेटको पानी पचाउन कानले तीतो बोली सुन्नुपर्छ ।

आयुर्वेदमा हर्रो, बर्रो र टर्रोको खूब महत्व पाइन्छ भने बोलीवेदमा टर्रो, खरो र दरोको पनि धेरै महत्व रहेको छ । जस्तोसुकै खराब वा कमसल कुरा किन नहोस्, दरो गरी राख्ने गुण छ भने मानिस तपाईंकै कायल हुन्छ । तपाईंकै कुरा सुनेर घायल हुन्छन् । माहुरी फूलमा झुम्मिएजस्तै तपाईंका कुरा सुन्न चारैतिरबाट झुम्मिन्छन् ।

ठूलोको बोली लुलो हुन्छ । ठूलो भएर लुलो बोल्दा कसैले सुन्दैन । राम्रो बोली पनि लुलो बन्दा शहरको सधैं बग्ने कुलो बन्न पुग्छ तर कुलोको कुरो पनि दरो गरी राख्ने हो भने ठूलो हुन्छ । हो, बोली ठूलो होस् कि लुलो बोल्नेमाथि पनि भर पर्छ । बोल्ने तरीका र ठाउँ मिलेन भने आफ्नै बोली भिलेन बन्न पुग्छ । बोल्न पनि ठाउँ न ठहर रहर गरेर हुँदैन । सपनामा बर्बराउनेलाई कसैले मन पराएको छ ?

बोल्ने रोग लागेको मानिसलाई रोगको क्षमतासम्म नबोली सुख हुँदैन । चिलाउने रोग लागेको मानिसलाई जहाँ पायो त्यहीं र जस्तो मौका पायो त्यस्तै कन्याएको देख्नुभएकै होला । हात खाली भयो कि कन्याउन शुरू । कतिपयले नाक कोट्याउन थाल्छन् । कहाँ बसेको छ, त्यसको ठेकान नराखी सबैभन्दा महत्वपूर्ण नाक कोट्याउनलाई दिन थाल्छन् । कतिपयले के भन्छन् भने अपान वायु कतिखेर निस्कन्छ भन्ने ठेगान नभएजस्तै कतिखेर के बोल्ने भन्ने कसरी पूर्वाभास हुनु ? र अहिले बोल्न आएको बोली भोलिको लागि साँचेर राख्न पनि त सकिंदैन ।

बोली बचत बैंक हुँदो हो त हामी सबैभन्दा बढी बचत गर्ने थियौं । हाम्रो देश गरीब हुने थिएन । बोलीवेदमा स्पष्टसित के लेखिएको छ भने– जसलाई केही आउँदैन, उसलाई बोल्न पक्कै आउँछ । हो, बोल्न पाए भने जे पनि बोल्ने बानीलाई हाम्रो समाजले त्यत्तिकै अनुमति दिएको छैन । तपाईंले कामको कुरो गर्नुभयो भने मुख फुलाउनेहरूलाई देख्नुभएको होला । जो कामको कुरो गर्दा मुख फुलाउँछ नि, बोल्न नपाएर अड्केको हो । बोल्न पाउँदा कति सन्चो हुन्छ ? मुख गन्हाएको उपचार चिकित्सकले गर्लान् तर बोल्न नपाएर वा कुनै तरीकाले मुख फुलाएको उपचार सम्भव छैन । यो त कुनै एक्स–रेले पनि देखाउँदैन र कुनै दबाइले काम पनि गर्दैन । बोल्न नपाएर मुख फुलाउनु कला पनि हो । यस कला वा रोगको सुन्दर सङ्गम मुख फुलाइको रहस्यबारे कुनै दिन एउटा सिद्धान्त प्रतिपादन होला तर हाललाई समाजले निकास खोजेको छ– जो जथाभावी बोल्छ, उसलाई नरोकौं । तपाईंलाई मन पर्दैन भने भनिदिनोस्– पागल । यसपछि जो जति र जे जति गाँठी कुरो गरे पनि वा खाँटी कुरो गरे पनि पागल भनिदिनोस्, कुरै सकिन्छ ।

बोल्न पाएपछि अरू के चाहियो ? यसमा बोलीको सर्वोच्चता झल्किन्छ ।

उसो त बोली मुखबाट नै निस्कने हो तर बुझ्नेले बुझ पचाएन भने बोली धेरै प्रकारले निस्केको बुझ्न सकिन्छ । आँखाको बोली कसैले बुझ्छ, कसैले बुझ्दैन । आँखा सन्काएर, आँखा चम्किलो पारेर, अनुहार धमिलो पारेर पनि कोही केही बोलिरहेको हुन्छ, आफ्नो मनभित्रको भाव खोलिरहेको हुन्छ । त्यो कला जान्न सक्यो भने धरतीमैं इन्द्रसभा जम्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here