- सञ्जय मित्र
रिक्सा चालक सहज भइसकेका छन् । मैले जानकारी गराइसकेको छु कि म जहाँ पुग्छु सम्भव भएसम्म लोकल कुरो जान्न खोज्छु । स्थानीय खानेकुरा पनि खान खोज्छु । स्थानीय विशिष्टता बुझ्न खोज्छु । यसपूर्व पनि विभिन्न समयमा बनारस दुईपटक घुमिसकेको छु । बनारसको विभिन्न नाम रहेका छन् ।
उनी भन्छन् – यो काशी हो । यसलाई वाराणसी पनि भनिन्छ तर यसलाई बनारस भनेर पनि चिनिन्छ । वरुणा र अस्सी नदीको सङ्गमले वाराणसी बनेको पहिले नै बताइसकेको छु । यहाँ कुनै बखत बनारस नामको राजाले शासन गरेका थिए । उनै बनारस राजाको नामबाट यस बस्तीको नाम बनारस रहन गएको हो ।
घनश्यामको जवाफ अत्यन्त सहज छ । स्वाभाविक जस्तो लाग्छ । पढेलेखेको जस्तो मानिसले दिने जस्तो संयमित जवाफ दिंदा आफूलाई एक छिन सन्तुष्ट लाग्नु स्वाभाविक हो । जब म बनारस राजाको नाम सुन्छु तब मलाई राजा जनकको नामको सम्झना हुन्छ । जनकबाट नै जनकपुर बनेको हो । राजा विशालको नामबाट वैशाली । अनि सुकदेव साहको नामबाट सुकदेव चोक नयाँ बजार नै हो रौतहटमा पनि । असम्भव जस्तो लाग्दैन ।
”अनि काशी चाहिं कसरी रहन गएको होला ?”
“काशी एउटा प्राचीन नगरी हो । यहाँ भगवान् विश्वनाथको रूपमा भगवान् शिवको पूजा आदिकालदेखि हुँदै आएको छ । यसैसित सम्बन्धित होला, तर मलाई वास्तवमा त्यत्ति जानकारी छैन । काशी कसरी रहन गएको हो भन्ने विषयमा मलाई खासै जानकारी छैन ।”
काशी विश्वकै प्राचीन नगरहरूमध्ये एक हो । गङ्गा र अस्सी नदीको सङ्गमस्थलमा गङ्गा नदीको पश्चिम किनारमा बसेको यो नगर हिन्दू धर्मावलम्बीका लागि पवित्र नगरहरूमध्ये एक हो । हिन्दू धर्मावलम्बीले उत्तरवाहिनी नदीलाई निकै पवित्र मान्दछन् । करीब चार माइलसम्म उत्तरवाहिनी बनेको गङ्गाको पश्चिमी किनारको यस नगरलाई भगवान् विष्णुले बसाएको मान्यता रहेको छ । पछि शिवले आफ्नो निवासको लागि विष्णुसित लिएका थिए रे । यस्ता मान्यता वा किंवदन्तीहरूको भर पर्ने हो भने काशी नगरलाई काश नामक राजाले बसाएका थिए रे । कतिपयले यो पनि अनुमान लगाउँछन् कि यहाँ कामना गरेको पाइने भएकोले कामनालाई काश भनिएको र आफ्नोबारे काश (कामना) गर्ने ठाउँ नै कालान्तरमा काशी कहलिन गएको हो ।
काशीबारे ऋग्वेद, अथर्ववेद तथा हरिवंश पुराणलगायत अनेक प्राचीन ग्रन्थमा उल्लेख पाइने भएकोले यो नगर वैदिक कालभन्दा पहिलेको हो भन्ने स्पष्ट हुन्छ ।
ज्ञात इतिहासभन्दा पनि धेरै पुरानो नगर भएको हुनाले यसबारे धेरै अनुमान हुनु वा धेरै किसिमका भनाइहरू प्रचलनमा आउनु स्वाभाविक हो । मेरो रुचि पनि यस्ता कुराहरूमा रहने भएकोले कहिलेकाहीं यस विषयमा सर्वसाधारणलाई सोध्ने गरेको छु । यसभन्दा पहिलेका यात्राहरूमा पनि मौका पाउनासाथ मैले लोकल कुरा जान्ने प्रयास गरेको छु । कतिपयले बताउन चाहन्छन् चाख लिएर र कतिपयलाई चाहिं प्रश्न नै सुनेर फाल्तु कुरो जस्तो लागेको अनुभव गरेको छु । जानकारी त जहाँबाट लिंदा पनि हुन्छ । जसरी घनश्याम दास केवटबाट केही राम्रा जानकारी पाएको छु ।
बनारस गल्ली र साँढेको लागि पनि प्रसिद्ध छ । गल्लीहरू त पर्याप्त छन् तर साँढे भने निकै कम देखिन्छन् सडकमा । भिडभाड भने निकै छ । रिक्सा चलाउन अत्यन्त कुशल घनश्याम आफ्नो कर्मलाई अगाडि बढाइरहेका छन् । केही बेरदेखि व्यस्त बनारसलाई नियाल्दै अगाडि बढिरहेका छौं । एक्कासि सोध्न पुग्छु – “तपाईंलाई यस नगरलाई कुन नामले बोलाएको राम्रो लाग्छ ?”
मेरो प्रश्न सुन्दै नसुनेको जस्तो गर्छन् तर अरुचिपूर्वक भने जवाफ दिन्छन् – “जुन नामले चिने पनि शहर यही हो । मलाई सबै नाम उत्तिकै प्यारो छ । नयाँ मानिसहरूले केवल बनारस भन्दछन् । भन्न सजिलो छ बनारस ।” गन्तव्य नआएको भए शायद अझै केही भन्थे कि ?
मेरो प्रश्नले आजित भएर होला वा गन्तव्य साँच्चीकै नजीक आएर होला रिक्सा रोक्दै उनी भन्दछन् –“अब यहाँबाट अगाडि जाँदैन । यहीं ओर्लनु पर्छ ।” उनी रिक्सा रोकेपछि अलिकति आशङ्काको दृष्टिले हेर्दै ओर्लन्छौं । अरू रिक्सा पनि आएर रोक्दै यात्रुहरू ओर्लिदै छन् । सोध्छु “मन्दिर कति टाढा छ ?” किशुन सरले भाडा तिर्छन् रिक्साको । पैसा हातमा लिंदै उनी भन्छन् – “यही नजीकै छ । यहाँबाट अलिकति अगाडि बढेर दाहिनेतिर लाग्नुस् मन्दिर आइहाल्छ ।” रिक्सा चालकले देखाएको बाटो नै मूल बाटो हो । मोटरसाइकलहरू हिंडिरहेका छन्, मानिसहरूको बाक्लै आवतजावत छ । भीडमा हामी पनि हराउँछौं । अगाडि बढ्छौं । बिस्तारै हिंड्दै जाँदा करीब पन्ध्र मिनेटपछि बल्ल मन्दिरको गेट आइपुग्छ ।
करीब सवा एक घण्टामा दर्शन हुन्छ बाबा विश्वनाथको । भनिन्छ विश्वमाथि शासन गर्ने शिवको स्वरूप काशीमा छ । जताततै जाम र सडकलाई वनवे बनाइदिंदा निकै अप्ठ्यारो हुन्छ ।
दिउँसोको करीब दुई बजेको छ । यत्ति बेलासम्म चिया पनि खाइएको छैन । भोकले अब पेटमा युद्ध गरिरहेको छ । हामी सबै खानाको खोजीमा लाग्छौं । बाटो काट्दै गर्दा एउटा सानो बोर्डमा आँखा पुग्छ । शुद्ध शाकाहारी खाना पाइने लेखिएको हुन्छ । हामी सबै उतै लम्कन्छौं ।
मित्रनगर, गरुडा–४, रौतहट