- अनन्तकुमार लाल दास
विद्यार्थीहरूको चौतर्फी विकास विद्यालय र अभिभावकहरूको साझा विषय हो । प्रत्येक विद्यालयको पूँजी भनेको त्यस विद्यालयको प्रभावकारिता हो भने अभिभावकको पाटोबाट हेर्दा उसको सन्ततिको उज्ज्वल भविष्य हो । यस अर्थमा विद्यालयको लागि अभिभावकको सहयोग कसरी बढी भन्दा बढी हासिल गर्ने भन्ने कुराले महत्व राख्छ भने अभिभावकहरूको लागि उसको सन्तानको समग्र विकासमा विद्यालयसँग कसरी सहकार्य गर्ने भन्ने कुरा महत्वपूर्ण हो । यसरी आफ्नो सन्तानको भविष्य निर्माण गर्न विद्यालयलाई सुम्पिएपछि त्यहाँबाट हासिल हुने सेवालाई कसरी गुणात्मक उपलब्धिमा परिणत गर्ने प्रश्न नै प्रमुख हो । जसरी एउटा राम्रो विद्यालय सधैं अभिभावकसँग सहकार्य गर्न सचेष्ट हुन्छ त्यसैगरि एउटा सचेत अभिभावकले विद्यालयको क्रियाकलापबाट सन्तानले चाहेजस्तो सिकाइको अवसर प्राप्त गरिरहेको छ कि छैन भन्ने कुरा सधैं चिन्तनमनन गरिरहेको हुन्छ । यसरी विद्यार्थीहरूको सिकाइ सन्दर्भमा विद्यालय र अभिभावक दुवैको सहकार्य महत्वपूर्ण रहेको प्रस्ट हुन्छ ।
प्रस्तुत आलेखमा विद्यार्थीहरूको चौतर्फी विकास र उनीहरूको पढाइमा बाधा पुर्याउने तत्वको खोजी गर्ने र सोको लागि विद्यालय र अभिभावकको भूमिका के हुने भन्ने कुरामाथि छलफल गर्ने जमर्को गरिएको छ । वर्तमान सन्दर्भमा विद्यार्थीको पढाइमा आन्तरिक र बाह्य दुवै तत्वहरूले बाधा पुर्याएको देखिन्छ । आन्तरिक तत्व अन्तर्गत विद्यार्थी स्वयं, उसका शिक्षक र विद्यालयले बाधा पुर्याएको हुन्छ भने बाह्य तत्व अन्तर्गत विद्यार्थीको परिवार र समाजको वातावरणले बाधा पुर्याएको देखिन्छ । विद्यार्थीहरूसँग सम्बन्धित आन्तरिक अवरोधमा पहिलो विद्यार्थीको बानी, उसले गर्ने व्यवहार, उसको विद्यालयप्रति बुझाइ र सोचाइ, साथै उसको शारीरिक कमजोरी र भावनात्मक समस्या पर्दछ । विद्यार्थीको व्यवहारमा देखापर्ने समस्या अन्तर्गत पढाइमा ध्यान नदिने, लिखावट राम्रो नहुने, सधैं विद्यालय नआउने, गृहकार्य नगर्ने, गृहकार्य चोरेर गर्ने वा अभिभावकले गरिदिने, कक्षाकार्यमा लापरवाही गर्ने, शैक्षिक अन्तक्र्रियामा सामेल नहुने, पढाइप्रति समर्पित नहुने, किताब, कापी आदि नल्याउने पर्दछ । त्यस्तै गैरशैक्षिक समस्या अन्तर्गत सफा सुग्घर भई नआउने, समयको ख्याल नगर्ने, नैतिकरूपले कमजोर, शिक्षकले भनेको कुरा नटेर्ने, अनुशासन भङ्ग गर्ने, अरूलाई धाकधम्की देखाउनेजस्ता समस्याहरू पर्दछ ।
यसैगरी एउटा शोधले के देखाएको छ भने परिवारको सामाजिक–आर्थिक अवस्था अनुसार सिकाइ उपलब्धि फरक हुन्छ । अर्थात् विद्यार्थी जस्तो परिवेशबाट आउँछ नतीजा त्यस्तै हुन्छ । पारिवारसँग सम्बन्धित समस्याहरूमध्ये पहिलो– परिवारका सदस्यहरू शिक्षित नहुनु हो, किनभने त्यहाँ शिक्षा प्राथमिकतामा पर्दैन । यससँगै विद्यार्थी र विद्यालयलाई चाहिएको बेला सहयोग उपलब्ध हुँदैन । परिणामस्वरूप विद्यार्थीहरू शैक्षिक कार्यक्रममा समावेश हुनबाट वञ्चित हुन्छन् । दोस्रो परिवारका सदस्यहरूबीच आपसी तालमेल नहुनुले विद्यार्थीहरूको सोच नकारात्मक बन्न सक्छ । पारिवारिक वातावरण अशान्त भएमा, पढाइमा उनीहरूले चाहिएको बेला सहयोग हासिल गर्न सकिरहेका हुँदैनन् । तेस्रो बढी माया, बढी अपेक्षा र बढी बचावको प्रयास, विद्यार्थीको क्षमताभन्दा बढी पारिवारिक दबाव र हस्तक्षेप, विद्यार्थीले भनेको सबैथोक पूरा गर्ने, उसको तुलना साथीहरूसँग गर्ने र स्वयं चाहना अनुरूप आफूलाई परिर्तन नगर्ने बानी पर्दछ ।
यसैगरी परिवारका सदस्यहरूको व्यस्त जीवन शैलीले पनि विद्यार्थीहरूको पढाइमा बाधा पुर्याउने काम गर्दछ, किनभने जसको लागि परिश्रम गरिन्छ त्यसलाई नै हेला गर्ने अर्थात् समय अभावका कारण पारिवारिक पृष्ठभूमि, संस्कृति र संस्कारबारे कुराकानी गर्ने समय नहुने र अर्कोतिर व्यस्त भएको कारणले सन्तानले केही भन्न खोजेमा ध्यान नदिने उनीहरूको लागि सबैभन्दा ठूलो बाधक तत्व हो । यसैगरी परिवारमा आर्थिक अभाव भएपछि जहिले पनि त्यही कुरा गर्ने तर आर्थिक अभाव कसरी न्यून गर्न सकिन्छ भनेर अग्रसरता नलिने वा चिन्तनमनन न गर्ने, अर्थोपार्जनका नयाँ तरीकाहरू नखोज्ने र सन्तानलाई ढाँट्ने र हप्काउने बढी हुने गरेको अनुभवले देखाएको छ । परिवार सँगसँगै वातावरण सम्बन्धित समस्याहरू जस्तै– छिमेकीहरू शिक्षाप्रति चेतनशील वा जागरुक नहुनु, छिमेकी साथीहरू समस्याग्रस्त हुनु, सञ्चारका साधनहरू जस्तै मोबाइल, टेलिभिजनको दुरुपयोग गर्नु, विद्यालय र घरबीचको दूरीले समेत विद्यार्थीहरूको पढाइमा बाधा पु¥याउने काम गर्छ भने घरबाट विद्यालय र विद्यालयबाट घरबीचको समयमाथि ध्यान नदिने र छड्के जाँच नगर्नाले पनि विद्यार्थीहरू दिग्भ्रमित हुने सम्भावना बढी हुन्छ ।
अब प्रश्न के उठ्छ भने यी यावत् समस्याको निराकरण कसरी गर्ने ? यसमा अभिभावक र विद्यालयको भूमिका के हुने ? सबैभन्दा पहिले अभिभावकहरूले छोराछोरीहरूको धारणामा परिवर्तन ल्याउने प्रयास गर्नुपर्छ । विद्यालयबाट घर फर्केपछि खाजा खाने बेला उसले के–के गृहकार्य पाएको छ सोध्ने, उसलाई के खाँचो छ सोध्ने । रातिको खाना सन्तानसँगै बसेर खाने र उसको शिक्षक, साथी, स्कूलबारे कुरा गर्ने । विद्यार्थीलाई आफ्नो संस्कार र संस्कृतिबारे जानकारी गराउने । साथीहरू वा छिमेकीसँग उसको तुलना नगर्ने । ऊ कुनबेला कहाँ जान्छ भन्ने कुरामाथि ध्यान दिने । शिक्षकहरूको सम्पर्कमा बस्ने । उसले घरमा गर्ने क्रियाकलापबारे विद्यालयलाई जानकारी गराउने र उसको प्रगतिबारे जानकारी लिने । यसबाहेक उसले गृहकार्य गरेको छ कि छैन ? कापीकिताबमा जिल्द लागेको छ कि छैन ? पोशाक सफा छ कि मैलो छ ? चाँडै उठ्ने वा बेलुका सुत्ने बानी छ कि छैन ? उपलब्ध खाना र खाजा राम्ररी खान्छ कि खाँदैन ? सरसफाइमा ध्यान दिन्छ कि दिंदैन ? जस्ता कुरामा ध्यान दिनुपर्छ । यसैगरी विद्यालय र घरबीच विद्यार्थीको पटके जाँच गर्ने । विद्यार्थीहरूलाई हप्काउनुको साटो काउन्सिलिङ गर्ने । विद्यालय आउँदा विषयगत शिक्षकहरूसँग भेट गर्ने बानी विकास गर्ने । विद्यार्थीहरू विद्यालयमा अनुपस्थित हुँदा वा बाहिर लिएर जाँदा पूर्व स्वीकृति लिने । विद्यालय नियमको पालना स्वयं र विद्यार्र्थीलाई पनि पालन गर्न प्रेरित गर्दा विद्यार्थीहरूको सिकाइमा अपेक्षित उपलब्धि हासिल गर्न सकिन्छ ।
अभिभावकले मात्र होइन, विद्यालयले गर्ने प्रयास, उसका रणनीति र समग्र अभ्यासले पनि विद्यार्थीहरूको सिकाइ उपलब्धिमा फरक पार्छ भन्ने निष्कर्ष धेरै अध्ययनले देखाएको छ । किन कुनै विद्यालय अन्य विद्यालयभन्दा सफल हुन्छ ? त्यस्तो विद्यालयले के–के गर्दोरहेछ ? एक अध्ययन अनुसार स्पष्ट दूरदृष्टिले विद्यालयको प्राथमिकतालाई निर्धारण गर्दोरहेछ भने विद्यालय परिवारका हरेक सदस्यलाई साझा उद्देश्यमा आबद्ध हुन पनि सहयोग गर्दछ । राम्रो विद्यालयले विद्यार्थीहरूको पठनपाठनमा बाधा पुग्न सक्ने सम्भावना धेरै हदसम्म सीमित गर्छ र उनीहरूको सामान्य सफलताबाट सन्तुष्ट हुँदैन । यसले शिक्षक, विद्यार्थी र अभिभावकलाई समेत थप परिश्रम गर्ने ऊर्जा र प्रेरणा दिन्छ । यस्ता विद्यालयको हरेक निर्णयको केन्द्रमा पढाइमा सुधार रहने गरेको देखिन्छ । यस कार्यमा प्रधानाध्यापक र विद्यालय व्यवस्थापकको भूमिका अति महत्वपूर्ण हुन्छ । यस्ता विद्यालयको प्रगतिको रहस्य खोज्दै जाँदा विद्यार्थी उपलब्धिको निरन्तर मूल्याङ्कन र पढाउने तरीकामा निरन्तर सुधारको प्रयास भेटिन्छ । यस्ता विद्यालयहरू परिवारसँग कसिलो सम्बन्ध स्थापना गर्न प्रयासरत रहन्छन् । यसर्थ परिवारको सहयोग आफै प्राप्त होला भनेर बस्नुको साटो विद्यालयको तर्फबाट निरन्तर प्रयत्नशील रहनुले विद्यालयलाई अन्य विद्यालयभन्दा पृथक र विशेष बनाउँछ ।
एउटा राम्रो विद्यालयले अभिभावक शिक्षाको लागि समय–समयमा अभिभावक बैठक गरी विद्यार्थीहरूको आनीबानी र समग्र विकासबारे छलफल गर्नुको साथै व्यक्तिगत भेटघाटसमेत गर्छन् । विद्यार्थीहरूको सबल, दुर्बल र व्यवहारगत पक्षहरूबारे अभिभावकलाई नियमित सूचना दिएर उपयुक्त उपायको खोजी गर्छन्/गराउँछन् । विद्यालयहरूले अभिभावकलाई स्वयंसेवी अर्थात् स्रोत व्यक्तिको रूपमा प्रयोग गर्न सक्यो भने विद्यालयको धेरै समस्याहरू–जस्तै शुल्क सम्बन्धी समस्या, पूर्वाधारसम्बन्धी समस्या, स्थानीय सीप सिकाउनेजस्ता गैरशैक्षिक सेवा सजिलै हासिल गर्न सकिन्छ । यसका लागि स्थानीय परिवेश अनुसार कुन प्रकारको सेवा लिने हो सोको लेखाजोखा र प्रयास विद्यालयले गर्नुपर्छ । यसैगरी लामो बिदाको बेला विद्यार्थीहरूकोे पढाइमा निरन्तरता कायम राख्न विद्यालयले अभिभावकको सहयोग लिन सक्छ । यस सम्बन्धमा कस्तो सहयोग लिनेबारे विद्यालयले अभिभावकलाई प्रस्ट रूपमा जानकारी गराउनुपर्ने हुन्छ । यस्ता क्रियाकलापले विद्यार्थीहरूको विद्यालयप्रतिको बुझाइमा सकारात्मक सहयोग पुग्छ ।
अन्त्यमा विद्यार्थीहरूको समग्र विकासमा विद्यालय र अभिभावक दुवैको भूमिका महत्वपूर्ण रहेकोमा कुनै शङ्का छैन । यी दुवैले आआफ्नै योजना अनुसार हिंड्नुभन्दा पनि एक आपसमा सहकार्य गरेर विद्यार्थीहरूको शैक्षिक र व्यक्तिगत विकासमा सकारात्मक योगदान पुर्याउन सक्छन् । सँगसँगै पढेलेखेका अभिभावकले मात्र हैन नपढेलेखेका अभिभावकले पनि विद्यार्थीको चौतर्फी विकासको उद्देश्यमा सघाउन सक्ने स्पष्ट छ । यसको लागि विद्यालयको तर्फबाट सचेष्ट प्रयास हुनैपर्छ ।