४५ वर्षीय सफ्टवेयर व्यवसायी ब्रायन जन्सनको फिटनेश १८ वर्षको युवकजस्तो भएको छ। चिकित्सकका अनुसार जन्सनको मुटु अब ३७ वर्षको युवाजस्तो, छाला २८ वर्षको युवकजस्तो भएको छ भने उनको फोक्सो १८ वर्षको केटाजस्तो र पाचनशक्ति १७ वर्षको उमेरजस्तो भएको छ।

जन्सनको जैविक उमेर घटाउने यात्रा अहिले पनि जारी छ। उनी आफ्नो शरीरको सबै अङ्ग १८ वर्षको जैविक उमेरजस्तो होस् भन्ने चाहन्छन्, यसको लागि उनले करीब २६ करोड खर्च गरिसकेका छन्। ३० जना चिकित्सकले एक वर्षदेखि उनको जैविक उमेर घटाउने काम गरिरहेका छन्, यसको नाम हो– प्रोजेक्ट ब्लुप्रिन्ट। चिकित्सकको टीमको नेतृत्व गर्ने २९ वर्षीय फिजिशियन ओलीभर जोलमैनले जन्सनको शरीर जाँच गर्दै उनको खानपान र व्यायाम तय गरेका छन्। जन्सनको दैनिकी बिहान ५ बजे सप्लिमेन्ट लिएर शुरू हुन्छ। उनलाई लाइकोपिन, जिङ्क र मेटफर्मिन औषधि दिइन्छ। दिमागको विकासको लागि लिथियम दिइन्छ। उनलाई केवल विगन फूड (विनाडेयरी उत्पादन भएको शाकाहारी खाना) दिइन्छ। उनलाई प्रतिदिन १८७७ क्यालोरी दिइन्छ।

जन्सन हरेक दिन एक घण्टा कसरत गर्छन्, जसमा हाइ इन्टेसिटीको तीनवटा सत्र हुन्छ। उनलाई ब्लु लाइट रोक्नको लागि सुत्नुभन्दा दुई घण्टा पहिले चश्मा लगाइन्छ। उनको सुत्ने–उठ्ने समय पूर्ण निश्चित छ। चिकित्सकले हरेक दिन उनको वजन, बिएमआइ, बडी फैट, ग्लुकोजको मात्रा, मुटुको ढुकढुकी र अक्सिजनको स्तर नाप्छन्। महीनामा थुप्रैपटक उनको रगत र पिसाबको जाँच हुन्छ।

एमआरआई, अल्ट्रासाउन्ड र कोलोनोस्कोपी पनि हरेक महीना लिइन्छ। डा जोलमैन भन्छन्–म खेलाडी र हलिउड कलाकारको पनि उपचार गर्छु तर कोही पनि ब्रायनसरह समर्पित छैनन्। उनले आफ्नो पूरै जैविक उमेर ५ वर्ष कम गरेका छन्। म सन् २०३० सम्म यो साबित गर्न चाहन्छु कि बायोस्टैटिस्टिक्सको माध्यमले शरीरको ७८ अङ्गको जैविक उमेर २५ प्रतिशतसम्म कम गर्न सकिन्छ।

बिहान २४० मिलिलिटर पानीको साथ क्लोरेला पाउडर, अमिनो कम्प्लेक्स, क्रिएटिनजस्ता सप्लिमेन्ट दिइन्छ। दिउँसो उमालेको तीन सय ग्राम कालो दाल, २५० ग्राम ब्रोकाउली, १५० ग्राम काउली, ५० ग्राम च्याउ दिइन्छ।

यस प्रक्रियामा एकपटक जन्सनको ज्यान खतरामा परेको थियो। उनको फैट तीन प्रतिशतभन्दा कम भएपछि मुटुले लगभग काम गर्न बन्द गरेको थियो तर चिकित्सकले समयमैं उपचार गरे। उनको अनुहारमा दर्दनाक सियो घोपियो, जसले युवा कोशिकाको निर्माण होस्। उनलाई एउटा विशेष प्रकारको तापमा राखिन्छ। उनलाई जिन थेरापी गर्ने योजना पनि छ।  – प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here