- अनन्तकुमार लाल दास
जब दुई भिन्न–भिन्न जातिको मिलन हुन्छ, एउटा नयाँ र विचित्र परिस्थिति उत्पन्न हुन्छ । अन्तर्घुलनको त्यस क्षणमा न कसैले पारस्परिक जीवनको दृष्टिकोण बुझ्छन्, न एक अर्काको भाषा नै । न उनीहरूको वेशभूषामा समानता हुन्छ, न उनीहरूको रीतिरिवाजमा । उनीहरूको न खानपानमा समानता हुन्छ, न आचारविचारमा । तर एक अर्काको सम्पर्कमा आएपछि उनीहरू एक अर्काको संस्कृति र सभ्यतासँग परिचित हुन्छन् । यसरी एक जातिको अर्का जातिमाथि प्रभाव पर्न थाल्छ । यो प्रभाव जीवनको हरेक क्षेत्र–जस्तै भाषा, वेशभूषा, खानपान, काम गर्ने तरीका आदिमा पर्न थाल्छ । कुन जाति माथि कसको बढी प्रभाव परेको छ यो पछि थाहा लाग्दछ । यसमा जुन जातिको जीत हुन्छ त्यस जातिको बढी प्रभाव हारेको जातिमाथि पर्छ । यहाँ हार्नुको अर्थ कसैको अस्तित्व स्वीकार गर्नु पनि हो । यस अवस्थामा हामी जितेको जातिको हरेक कुरामा “हो–हो” भन्न थाल्छौं ।
सगरमाथाको देश नेपाल संस्कृति, संस्कार र परम्परामा धनी थियो र रहेको छ । यहाँको प्राकृतिक सौन्दर्यताले जसलाई पनि लोभ्याउँछ । सञ्चारको प्रगतिले बिस्तारै विदेशीहरू नेपाल आउन थाले । हुनत पृथ्वीनारायण शाहले एकीकरण अभियानको थालनी गर्दा अङ्ग्रेजहरू छिमेकी मुलुक भारतमा आफ्नो जरा गाड्न सफल भइसकेका थिए । उनीहरू चीसो ठाउँबाट आएका र भारत गरम प्रदेश भएको हुनाले उनीहरू चीसो ठाउँको खोजीमा थिए । त्यसबेला बाइसे र चौबीसे राज्यका केही राजा र राजकुमारहरू भारतमा शरण लिन पुगेका थिए । उनीहरूले नै नेपालबारे अङ्ग्रेजहरूलाई उचाल्न शुरू गरेका थिए । नेपाल चीसो ठाउँ र हरियो वनले भरिपूर्ण भएकै कारण सन् १८७२ मा अङ्गे्रजहरूले नेपालमाथि कब्जा गर्ने प्रयत्न गरेका थिए तर राष्ट्रभक्त र वीर नेपालीहरू सामु उनीहरूको हरेक चाल विफल भयो ।
नेपाली संस्कृतिको पृष्ठभूमिमा त्याग, तपस्या, बलिदान, सन्तोष र शान्तिको महत्वपूर्ण स्थान छ । विदेशी संस्कृतिको प्रभावले नेपाली संस्कृतिको यस आधारभूत स्तम्भको ठाउँ भोगवाद र भौतिकवादले लिन थाल्यो । आज देववाणी संस्कृत लुप्त नै भइसकेको अवस्था छ भने नेपाली र प्रान्तीय भाषा पनि बिस्तारै लुप्त हुँदै गइरहेका छन् । आज जो कोहीलाई हेर्दा अङ्ग्रेजी शिक्षा हासिल गर्न उन्मुख देखिन्छ । उनीहरूलाई के भ्रम छ भने यसबाट नै उनीहरूको उत्थान सम्भव छ । हाम्रा नेताहरूको अदूरदर्शिताले गर्दा हाम्रो देशमा ‘मालिक’ बन्ने खालको शिक्षा नीति नै छैन । माध्यमिक तहका विद्यार्थीहरूसँग सोध्दा पढाइ गर्नुको कारण राम्रो ‘जागीर’ प्राप्त गर्ने लक्ष्य रहेको बताउँछन् भने उच्च माध्यमिक तहको शिक्षा यस देशका लागि हैन, शिक्षामा लगानी गर्ने दातृ निकायहरूको लागि जनशक्ति तयार गर्न लक्ष्यित छ । यस कारण के भन्न सकिन्छ भने हाम्रो शिक्षानीतिमा युवा पलायनलाई रोक्ने क्षमता छैन । यसका लागि विदेशी शासकहरूले आफ्नो भाषा, आफ्नो विचार, आफ्नो सभ्यताको भ्रमजाल सञ्चार माध्यमहरूबाट फैलाउन थाले । परिणामस्वरूप हाम्रो खानपान, रहनसहन, आचारविचार अर्थात् जीवनको हरेक क्षेत्रमा हामीले विदेशीहरूलाई आफ्नो आदर्श बनाउन थाल्यौं । राजनैतिकरूपमा हामी अप्रत्यक्षरूपले गुलाम त छँदैछौं, सामाजिकरूपले पनि स्वस्फूर्त स्वाभिमान गुमाउन शुरू गर्यौ । परिणामतः आज नेपालीहरूको नसानसामा अङ्ग्रेजीपन भरिएको छ र हामी ‘नेपाल निर्मित अङ्ग्रेज’ भएका छौं ।
प्रत्येक देशको रहनसहन त्यस राष्ट्रको प्राकृतिक वातावरण अनुरूप हुने गर्छ तर आज हामी अधिकांश नेपाली पूर्णतया पश्चिमा प्रभावमा परेका छौं । हामी भौतिकवादको चेनले खुट्टादेखि टाउकोसम्म बाँधिएका छौं । हाम्रो जीवनको प्रमुख लक्ष्य सुखोपभोग भएको छ तर पनि आज हामी अशान्त र दुःखी छौं । हुनत जीवनलाई सुखमय बनाउने सम्पूर्ण सामग्री हाम्रो देशमा उपलब्ध छ तर पनि हाम्रो मन अज्ञात शान्तिको खोजीमा छ । समाजमा विषमता दिन प्रतिदिन बढ्दै गइरहेको छ । भोग र चाहनाको चरम प्राप्तिमा मानवीय संवेदना कता लुप्त भइसकेको छ हामीलाई थाहै छैन । यी सबै अन्तर–बाह्य अशान्तिको कुनै कारण छ भने त्यो हो पाश्चात्य आदर्शको नेपाली आदर्शमाथि प्रभाव ।
पाश्चात्य संस्कृति र आर्थिक विचारधारा अनुसार ‘मानिसको आवश्यकता जति धेरै हुन्छ उसको जीवनस्तर त्यति नै ठूलो हुन्छ’स हिन्दू चिन्तन अनुसार,“चाह मिटी, चिन्ता गई, मनुवा बेपरवाह । जिनको कछु न चाहिए, सो ही शाहंशाह ।” आज ‘Eat, Drink And Be Merry’को पाश्चात्य भोगवादी सिद्धान्तले मानिसलाई हरेक कुकर्म गर्न प्रेरित गरिरहेको छ । आज हामीलाई आफ्ना पूर्वजहरूको विचारधारामाथि चिन्तन मनन गर्न लाज लाग्छ । समय छँदै यदि हामीले यसलाई बुझ्न सकेनौं भने एक दिन पछुताउनु बाहेक केही हात लाग्ने छैन । आज नेपालीहरूको छातीभित्र न त्याग छ, न तपस्या, न दया छ, न सहानुभूति न सहयोग छ, न संवेदना नै ।
पाश्चात्य आदर्शले हामीलाई जति ज्ञान दिएको छ त्यतिकै व्यस्त पनि बनाइदिएको छ । आज हामी ‘शान्ति’को नाम मात्र सुन्छौं, त्यसलाई अनुभव गर्ने मौका पाउन सकेका छैनौं । आज कोलाहल युक्त नगरमा प्रलोभन र मनोरञ्जनका यति साधन छन् जसले हामीलाई एकान्तबाट टाढा त्यस भीडमा पु¥याइदिएको छ, जहाँ सम्झने, बुझ्ने वा चिन्तन गर्ने अवसर नै प्राप्त हुँदैन । हाम्रा पूर्वजहरू पाप गर्नबाट हच्किन्थे तर आज हामीलाई पाप र पुण्य के हो थाहै छैन । हामीले आज पुरातन नीतिशास्त्रलाई त्रुटिपूर्ण र अव्यावहारिक ठानेर पृथक नीतिशास्त्र निर्माण गर्दै गइरहेका छौं । परिणामस्वरूप हामीले अमेरिकामा बजेको घण्टी त सुन्छौं तर हाम्रै छिमेकमा पीडाले कराइरहेको मानिसको आवाज सुन्दैनौं । आज हामी धेरै मानिसको सम्पर्कमा बस्छौं तर विडम्बना, घनिष्ठता कसैसँग छैन ।
पाश्चात्य संस्कृतिको आकर्षणले गर्दा विशेष किसिमको वाक्पटुता, विशेष प्रकारको व्यवहार कुशलता, विशेष चतुराई र कृत्रिम सम्बन्ध हाम्रो विशेषता बन्न पुगेको छ जसलाई निस्सङ्कोच हामीले पाश्चात्य सभ्यताप्रदत्त वरदान भन्न सक्छौं । आज हामी यान्त्रिक युगका सुयोग्य नागरिक हौं । हाम्रा पूर्वजहरू निरक्षर भएर पनि शिक्षित तथा सुसंस्कृत थिए तर आज हामी पढेलेखेर पनि अनपढ छौं । पाश्चात्य दुष्प्रभावले गर्दा नै आज हामी विदेशिन थालेका छौं । राष्ट्र र राष्ट्रियतालाई बिर्सन थालेका छौं । हाम्रो वेशभूषा अरूलाई उद्वेलित गर्ने खालको भएको हुनाले नै दुराचारले चरम सीमा नाघिसकेको छ ।
यस कारण नयाँ नेपाल निर्माण गर्नका लागि नेपालीपनको गरिमा जीवित राख्नु वर्तमानको खाँचो हो । सबै जातजाति र देशको कल्याण आआफ्नो सभ्यता र संस्कृतिको रक्षा गर्नुमा निहित छ । यसलाई बिर्सेर समुन्नत राष्ट्रको कल्पना गर्नु निरर्थक हो किनभने आफ्नो बुवालाई नै बुवा भन्न सकिन्छ, अरूको बुवालाई आफ्नो बुवा भन्नु आमाको अपमान गर्नु हो । यस कारण गीतामा भनिएको छ, “स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः ।”