• विश्वराज अधिकारी

सन् २०१९ मा विश्वभरि फैलिएको कोभिड–१९ ले विश्व अर्थ व्यवस्थालाई नराम्ररी प्रभावित गर्यो । विश्वका गरीब देशहरू मात्र होइन अमेरिका, क्यानाडा, जर्मनी, फ्रान्सजस्ता धनी देशहरू पनि यसबाट नराम्ररि प्रभावित भए । विश्वका सबै मुलुकका उत्पादन र वितरण व्यवस्था नराम्ररी प्रभावित भयो । सन् २०२१ को मध्यमा आएर धेरै राष्ट्र कोभिडको विस्तार रोक्न सफल भए तर पनि विश्व अर्थ व्यवस्थाले गति लिन सकेन । कोभिड–१९ को प्रभावबाट रूग्ण भएको विश्व अर्थ व्यवस्था रूस–युक्रेन युद्धको कारणले पुनः भुमरीमा पर्यो । सन् २०२२ को फेब्रुअरीमा प्रारम्भ भएको रूस–युक्रेन युद्धले विश्व अर्थ व्यवस्थामा ठूलो र अकल्पनीय हलचल ल्याइदिएको छ ।

रूस–युक्रेन युद्धले संसारभरि मुख्यतः दुई कुरा– इन्धनको मूल्य र आपूर्ति व्यवस्था अनिश्चत पारिदियो । खासगरी युरोपभरि, इन्धनको मूल्यमा ठूलो वृद्धि भयो र आपूर्ति व्यवस्था पनि अनियमित हुन पुग्यो । इन्धनको मूल्यमा भएको उच्च वृद्धिले गर्दा कच्चा पदार्थको मूल्य एवं आपूर्ति र तयारी वस्तुको मूल्य र आपूर्ति पनि प्रभावित भयो । यसरी रूस–युक्रेन युद्धले विश्वभरि वस्तुहरूको मूल्य वृद्धि हुने स्थिति सृजना गर्यो भने आपूर्ति व्यवस्थालाई पनि अनिश्चित र अनियमित पारिदियो । रूस–युक्रेन युद्धले गर्दा नै विश्व अर्थ व्यवस्था पुनः सुस्त हुन पुग्यो ।

रूस–युक्रेन युद्धले गर्दा विश्व अर्थ व्यवस्थामा सन् २०२१ मा ६.०, सन् २०२२ मा ३.२ वृद्धि भयो भने सन् २०२३ मा २.७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । विश्व अर्थ व्यवस्थाको गतिमा सुस्तताको क्रम जारी रहने देखिएको छ ।

रूस–युक्रेन युद्ध रोकिएन भने विश्व अर्थ व्यवस्थमा झनै ठूलो सङ्कट आउने स्थिति छ । नेपालजस्तो इन्धन र आपूर्तिका लागि अन्य राष्ट्र (भारत र चीन) को निगाहमा चल्नुपर्ने राष्ट्रले रूस–युक्रेन युद्धप्रति थप सचेत हुनुपर्ने स्थिति सृजना भएको छ । तर नेपालका नेताहरू केवल पद (प्रम, राष्ट्रपति आदि) को ‘लिगलिगे दौड’ मा कुदेकाकुदै छन् । राष्ट्रको आर्थिक स्थितिको उनीहरूमा रत्ति चिन्ता देखिएको छैन ।

रूस–युक्रेन युद्ध यस्तो जटिल स्थितिमा छ कि युद्धरत कुनै एक पक्ष पराजित नभएसम्म रोकिने स्थिति छैन । विडम्बना १ युद्धरत कुनै एक पक्ष पराजित हुने स्थिति पनि छैन । युक्रेन आकारमा सानो र गोलाबारूदको हिसाबले कमजोर रहे तापनि उसलाई पैसा र हातहतियारले सहयोग गर्ने अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, क्यानाडाजस्ता शक्तिशाली राष्ट्रको निरन्तर साथ छ । त्यस्तै स्थिति रूसतिर पनि छ । रूस आफै शक्तिशाली त छ नै, इरान, क्युबा, भेनेजुएलाको प्रत्यक्ष र चीनको अप्रत्यक्ष सहयोगले उसलाई झनै शक्तिशाली तुल्याएको छ ररूसको मनोबल उच्च पारिदिएको छ ।

खासमा भन्ने हो भने अहिले तेस्रो विश्व युद्धको स्थिति छ । अहिले विश्व, रूस र युक्रेनको पक्षगरी दुई समूहमा विभाजित छ । रूस आफैं शक्तिशाली छ भने युक्रेनलाई महाशक्ति राष्ट्र अमेरिकाको साथ छ । स्थिति यस्तो हुन पुगेको छ कि यो युद्ध समाप्त हुने कतै लक्षण देखिंदैन । यी दुई राष्ट्रको युद्धको चपेटामा परेर विश्व अर्थ व्यवस्था लड्ने अवस्थामा पुगेको छ । रूस–युक्रेन युद्धले यदि तेस्रो विश्व युद्धको रूप लिएमा विश्व अर्थ व्यवस्थाको स्थिति कस्तो हुने हो अनुमानसम्म गर्न पनि कठिन छ ।

युक्रेनको स्थिति पनि बलियो छ किनभने युक्रेनलाई विश्वका अनेक शक्तिशाली राष्ट्रहरूको सहयोग प्राप्त छ । तर रूस भने एक्लै लडिरहेको छ, उसलाई अन्य राष्ट्रहरूको केवल नैतिक समर्थन मात्र प्राप्त छ । आफ्नै आर्थिक स्थिति सङ्कटमा रहेको इरानले रूसलाई के नै सहयोग गर्न सक्छ ? त्यसकारण अनुमान गर्नेहरूले के भन्दैछन् भने अनवरत युद्धले गर्दा रूसको अर्थतन्त्र ज्यादै कमजोर भएर र त्यहाँका नागरिक युद्धदेखि दिक्दार भएर रूसलाई नै विखण्डित पार्नेछन् । तर यो तर्कमा दम देखिंदैन । अर्कोतिर रूस कमजोर नभएसम्म युद्ध रोकिने छाँट देखिंदैन । युक्रेन झनै बलियो हुँदै गएको छस हातहतियार, पैसाको हिसाबले । यो आलेख लेखिरहँदा, अहिलेसम्म केवल नैतिक समर्थन र सहयोग गर्ने जर्मनी, युक्रेनलाई दर्जनौं आधुनिक टैंक पठाउने निर्णयमा पुगेको छ । केही दिनभित्रै जर्मन टैंकहरू युक्रेन पुग्नेछ । पोलैन्डले पनि युक्रेनतर्फ टैंकहरू पठाउँदै छ ।

विश्व अर्थ व्यवस्थालाई केवल रूस–युक्रेन युद्धले मात्र सुस्त र अनिश्चत पारेको छैन, अन्य कारक तत्व पनि छ, जसले विश्व अर्थ व्यवस्थालई अनिश्चित र सुस्त पार्न अप्रत्यक्ष तर महत्वपूर्ण भूमिका खेलेको छ ।

सन् २०१९ मा फैलिएको कोभिड– १९ ले विश्व श्रम–बजारलाई नराम्ररी प्रभावित पार्यो । श्रमिकहरू कामका लागि एक स्थानबाट अर्को स्थान सजिलै जाने स्थितिलाई हल्लाइ दियो । अनेक जाँचपछि मात्र कुनै देशले अन्य मुलुकबाट आउनेहरूलाई देशभित्र छिर्न र काम गर्न दिए । आवागमन सुस्त भयो जसले गर्दा श्रम आपूर्ति अकल्पनीय ढङ्गले प्रभावित भयो । अमेरिकालगायत विश्वका अनेक राष्ट्रले श्रम आपूर्तिमा समस्या भोग्नुपर्यो । अहिले कोभिड–१९ को विस्तार रोकिए पनि केही राष्ट्रले श्रमिक आवागमन सहज पारे पनि, विश्वमा श्रमिकहरूको आपूर्ति सहज हुन सकेको छैन । श्रम आपूर्तिमा आएको असहजताले पनि विश्व अर्थ व्यवस्था सुस्त बनाइरहेको छ ।

केही राष्ट्रहरूमा अहिले पनि कोभिड १९ को प्रभाव रोकिएको छैन । केही हप्ता पहिलेसम्म पनि चीनले कोभिड–१९ को विस्तार रोक्न देशभरि नै कडा निगरानी र नियन्त्रण घोषणा गरेको थियो । चीनभरि आवागमनामा ठूलो नियन्त्रण थियो । तर राष्ट्रिय अर्थ व्यवस्थामा आएको ठूलो सुस्तता र चीनी जनताको विरोधका कारण चिनियाँ सरकार त्यो नियन्त्रण फुकुआ गर्न बाध्य भएको छ । चीनको त्यो स्थितिले पनि विश्व अर्थ व्यवस्थालाई सुस्त पार्न ठूलो योगदान पुर्ययो । चीनलाई आजभोलि ‘संसारको गोदाम’ भन्ने गरिन्छ । अर्थात् त्यो गोदामबाट विश्वभरि वस्तु आपूर्ति हुन्छ ।

अहिलेसम्म पनि विभिन्न देशहरूमा कोभिड–१९ नियन्त्रण गर्न नसकिएको स्थितिले विश्व अर्थ व्यवस्थालाई माथि उक्लिन दिइरहेको छैन ।

कार्यस्थलमा कोभिड फैलिने भयले विश्वभरि सक्रिय जनशक्ति लामो समयसम्म घरमैं बस्यो । ठूलो सङ्ख्यामा मानिस कार्य स्थल पुगेनन् । कार्य गरेनन् । त्यो स्थितिले मानिसमा कामप्रति जाँगर र रूचि दुवै मर्यो । अहिले कोभिड नियन्त्रणमा रहे तापनि मानिसमा काम गर्ने पहिलेजस्तो इच्छा छैन । ठूलो सङ्ख्यामा व्यक्तिहरू काम गर्न इच्छुक छैनन् । केही काम नगरेर घरमैं बस्न खोजिरहेका छन् । यस्तो स्थितिले गर्दा विश्वका केही देशले श्रम आपूर्ति समस्या बेहोर्नुपरेको छ । यसरी कामदारमा आएको मनोवैज्ञानिक परिवर्तन (काम गर्न मन नलाग्ने) ले पनि विश्व अर्थ व्यवस्थालाई सुस्त पारिहेको छ, तर नेदेखिनेगरी ।

विश्व अर्थ व्यवस्थालाई सुस्त पार्न एउटा अर्को तत्व पनि सक्रियरूपमा लागेको छ । त्यो हो बजारप्रति मानिसमा रहेको भय । बजारप्रति रहेको भयले गर्दा लगानीकर्ताहरू व्यापार, व्यवसायमा लगानी गर्न अनिइच्छुक देखिएका छन् । भोलिका दिनमा बजारको स्थिति (माग र आपूर्ति) के होला ? आफूले गरेको लागानी डुब्ने हो कि ? रूस–युक्रेन युद्धले कस्तो मोड लिने हो ? कोभिड पुनः रक्तबीज जस्तो देखिने हो कि ? यस किसिमका भयले गर्दा लगानीकर्ताहरू पनि लगानी गर्न हच्किरहेका छन् । 

मानिसमा बचत गर्ने प्रवृत्ति बढ्नु राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थतन्त्रको लागि राम्रो होइन । जतिजति मानिस र परिवारले बढी खर्च गर्छ सोही अनुरूप अर्थतन्त्रले गति लिन्छ । तर अहिले खर्च गर्न सक्ने व्यक्ति र परिवार पनि भोलि के होला भनेर हात खोलेर खर्च गरिरहेका छैनन्, उल्टो बचत गरिरहेका छन् । उनीहरूको यस्तो बचत गर्ने बानीले गर्दा कुल माग (बिक्री) प्रभावित हुन पुगेको छ । अर्थात् ठूलो परिमाणमा बिक्री हुन सकिरहेको छैन । ठूलो परिमाणमा आपूर्ति हुन सकिरहेको छैन । ठूलो परिमाणमा उत्पादन हुन सकिरहेको छैन । यसरी भोलिका दिनमा के होला भन्ने व्यक्तिहरू भित्र रहेको भयले बचत गर्न बाध्य पारिरहेको छ । व्यक्ति र परिवारमा उदाएको भयले, यसरी विश्व अर्थ व्यवस्थालाई सुस्त पारिरहेको छ । कोभिड–१९ र रूस–युक्रेन युद्धले मानिसको मनमा भय सृजना गरिदिएको छ, आम उपभोक्ताहरूको मनमा पनि ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here