जनकपुरधाम, २९ पुस/रासस
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालय प्राङ्गणमा आज आयोजित समारोहमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष उनले पथ तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । मुख्यमन्त्री यादवले भोजपुरी भाषामा शपथ लिएका थिए ।
मुख्यमन्त्री यादवको सिफारिशमा नियुक्त तीनजना विनाविभागीयमन्त्रीले पनि आजै पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । नवनियुक्त तीनजना मन्त्री नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टी (जसपा)का सञ्जय यादव र जनमत पार्टीका वसन्तप्रसाद कुशवाहाले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।
सत्ता गठबन्धन दल र दुई सदस्यसहित ६३ जनाको समर्थनमा बुधवार मुख्यमन्त्रीमा नियुक्त भएका यादवलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि समर्थन गर्ने तयारी गरेको जनाइएको छ । नौ सदस्य रहेको लोसपाले समर्थन गरेमा उनलाई ७२ सदस्यको समर्थन हुनेछ ।
शपथग्रहण समारोहमा जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, जसपा प्रतिनिधिसभा संसदीय दलका नेता रामसहायप्रसाद यादव, नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङलगायत नेता तथा सरकारी अधिकारीको सहभागिता थियो ।