• अनन्तकुमार लाल दास

नीतेश धेरै ज्ञानी विद्यार्थी थियो । ऊ सधैं आफ्नो कक्षामा सबैभन्दा राम्रो गर्दै आएको थियो तर कक्षा नौमा आएर उसको परीक्षाफल बिग्रन थाल्यो । यसबाट नीतेश मात्र हैन उसका आमाबुवा, शिक्षक तथा साथीहरूलाई पनि धेरै आश्चर्य लागेको छ । आखिर नीतेशको परीक्षाफल किन खराब भयो, कसैले पनि बुझ्न सकिरहेको थिएन । वास्तविकता त के छ भने नीतेशको जीवनको सबैभन्दा महत्वपूर्ण समय नजीक छ । अर्थात् उसको माध्यमिक शिक्षा परीक्षा (SEE) नजीक आउँदै छ । यस स्थितिमा राम्रो परीक्षफलको आसले सबैलाई परेशान पार्नु स्वाभाविक हो ।

नीतेशको परीक्षाफल किन बिग्रियो, के तपाई कुनै अनुमान गर्न सक्नुहुन्छ ? वास्तवमा नीतेश जहिले पनि पढ्न बस्छ, उसको मनभित्र अनेकौं सवाल उठ्न थाल्छन् । ऊ कहिले विद्यालयसँग जोडिएको कुरा सोच्न थाल्छ भने कहिले उसलाई नयाँ भिडियो गेमको सम्झना हुन थाल्छ । कहिले फेसबूकमा साथीहरूसँग गफ हाँक्न थाल्छ त कहिल्यै टेलिभिजनमा प्रसारण हुने थरीथरीका कार्यक्रमको सम्झना हुन्छ । यसरी नीतेश पढाइमा ध्यान केन्द्रित गर्न सकिरहेको थिएन । यसै कारणले यसपालि उसको परीक्षाफल खराब भयो । हुनत यस्तो परेशानी नीतेशको मात्र नभई उसका धेरै साथीहरूको पनि हुन सक्दछ ।

आखिर किन हुन्छ पढाइप्रति ध्यान भङ्ग ? भनिन्छ मन धेरै चञ्चल हुन्छ । मनमा धेरै कुरा अनायास आउने र जाने गरेको कुरा तपाईंहरूले पनि अनुभव गर्नु नै भएको होला । यस्तो परिस्थितिमा कुनै पनि कुरा वा विषयमाथि ध्यान एकाग्र गर्न अति कठिन हुन्छ । तपाईं अहिले विद्यालयमा पढ्दै हुनुहुन्छ । यस कारण तपाईंको मनमा पनि धेरै प्रश्नहरू, खासगरी पढ्ने बेला उठ्ने नै गरेको होला । जस्तै, विद्यालयमा फलानोले किन यस्तो कुरा भन्यो ? शिक्षकले किन सबै विद्यार्थीहरूलाई हप्काउनुभयो ? मैंसँग  शिक्षकले धेरै प्रश्न किन सोध्नुहुन्छ ? साथीले लिएको भिडियो गेम कति राम्रो छ ? हिजो टेलिभिजनमा देखाइएको सिरियलमा कसले हत्या गरेको होला ? आजको क्रिकेट मैच हेर्नै पर्छ । आमा कुन बेला निदाउनुहुन्छ र म मोबाइल हेर्ने मौका पाउँछु ? यस्ता अनेकौं कुरा पढ्ने बेला विद्यार्थीहरूको मस्तिष्कमा उठ्ने गरेको अनुभव विद्यार्थीहरूको रहेको छ ।

शिक्षाविद् र बाल मनोवैज्ञानिकहरूले पढाइमा ध्यान केन्द्रित नगर्न सक्नुको पछाडि तपाईंको उमेर पनि एउटा कारण रहेको देखाएका छन् । वास्तवमा उनीहरूले भनेका छन्–“सातदेखि चौध वर्षको उमेर समूहका केटाकेटीहरूको मस्तिष्क बाह्य कुराबाट प्रभावित हुने मस्तिष्क हुन्छ । अर्थात् यस उमेर समूहका केटाकेटीहरू माथि कुनै पनि कुराको असर धेरै चाँडो र बढी हुने गर्दछ । यस कारण उनीहरूलाई पढ्ने बेला ध्यान केन्द्रित गर्न कठिनाई हुन्छ ।” हुनत ध्यान भङ्ग हुने अनेकौं कारण पनि छन् । जस्तै पढाइको गलत तरीका, सही दिनचर्या नहुनु, सन्तुलित आहार, बाह्य क्रियाकलाप अर्थात् खेलकूदमा भाग नलिनु, मोबाइललाई नै प्रिय साथी बनाउनु आदि ।

वैज्ञानिक सर आइजेक न्यूटनले एकपटक भनेका थिए–“यदि कसैले मसँग मेरो सफलताको रहस्य सोध्दछ भने उसलाई आफ्नो ध्यान एकत्र गर्न सल्लाह दिन्छु ।” न्यूटनले यस्तो भन्नु उनको ध्यान–शक्ति हो, जसको परिणाम आज विश्व समक्ष छ । यदि न्यूटनले आफ्नो ध्यान कुनै काममा केन्द्रित गर्न सक्छन् भने तपाईंको किन सक्नुहुन्न ? तर यो तपाईंकोे बलियो आत्मबलले मात्र सम्भव हुन्छ । ध्यान केन्द्रित गर्ने शक्ति हासिल गर्नका लागि तपाईंको आत्मबल अर्थात् ‘इच्छाशक्ति’ को बढी भूमिका हुने कुरा विशेषज्ञहरूको ठहर छ । यस कारण ध्यान केन्द्रित गर्नको लागि जति पनि उपाय छन्, ती तपाईंको इच्छाशक्ति बलियो भयो भने मात्र सफल हुन्छ ।

अब प्रश्न उठ्छ पढाइमा ध्यान केन्द्रित गर्नका लागि के–के गनुपर्छ ? यसका लागि सबैभन्दा पहिले आफ्नो खाजा वा खानामा काब्रोहाइड्रेट्स, प्रोटिन र फाइबरयुक्त, जस्तै–रोटी, फलको जूस, हरियो सागसब्जी आदि बढी मात्रामा लिनुपर्छ । यसका साथै साइक्लिङ, स्वीमिङ वा जगिङ गर्नाले पनि तपाईको आत्मबल र एकाग्रतामा वृद्धि हुन्छ । गहिरो निद्रा र नियमित सन्तुलित कार्यतालिका अनुसार काम गरे पनि पढाइमा ध्यान केन्द्रित गर्न सघाउ पुग्छ । पढाइ गरिराखेको बेला केही खाने इच्छा, साथीलाई फोन गर्ने चाहना, टेलिभिजनको कुनै सिरियल हेर्ने चाहनाजस्ता आकर्षण त्याग्नु नै बेस हुनेछ ।

ध्यान केन्द्रित गर्नु अर्थात् एकाग्रताको अर्थ विषयमाथि पूर्ण ध्यान दिनु हो । यदि तपाई एकाग्रताको मार्गमा आउने व्यवधानहरूसँग बच्न चाहनुहुन्छ भने तपाईंलाई धेरै ठूलो काम पनि गर्नुपर्दैन । सजिलै यो क्षमता विकसित गर्न सकिन्छ । सर्वप्रथम किताबलाई उल्टो गरेर शब्दहरूमाथि औंला राखेर पढ्ने अभ्यास गर्नुपर्छ । प्रारम्भमा यसरी पढ्न अलिकति गार्हो हुन्छ तर लगातारको अभ्यासपछि सजिलै पढ्न सकिन्छ । यसरी पढ्दा चञ्चल मन मस्तिष्कको नियन्त्रणमा हुनुको साथै सजिलै पढाइमा ध्यान केन्द्रित गर्न सकिन्छ ।  

पढाइमा ध्यान केन्द्रित गर्नको लागि अर्को सरल उपाय विपश्यना साधनाले दिएको छ । तपाईंलाई मात्र आफ्नो ध्यान अरू कुराबाट हटाएर दिनहुँ एउटा खाास समयमा सास लिने र छाड्ने प्रक्रिया दसदेखि पन्ध्र मिनेटसम्म चलाउनुपर्छ । अर्को शब्दमा श्वास अवलोकनका लागि नाकको पहरेदारी गर्ने हो अर्थात् नाकको कुन प्वालबाट श्वास भित्र गइरहेको छ र कुन प्वालबाट बाहिर निस्किरहेको छ अवलोकन गर्नुपर्छ । यसका लागि कुनै विशेष मुद्राको आवश्यकता पर्दैन । कहीं बसेर वा सुतेर पनि सासमाथि ध्यान लगाउन सकिन्छ । केही दिनको अभ्यास मात्रले तपाईंभित्र एउटा नयाँ ऊर्जा र प्रसन्नताको अनुभूति हुनेछ । यस प्रक्रियाको अवलोकनले रीस, राग, द्वेष र मनको चञ्चलता अन्त्य हुनुको साथै तपाईंको ध्यान शतप्रतिशत पढाइमा केन्द्रित हुनेछ । यो विधि विद्यार्थीहरूका लागि अति सजिलो छ ।

ब्रह्माकुमारी राजयोग केन्द्रद्वारा बताइएको मस्तिष्कलाई शान्त राख्ने प्रविधिबाट पनि पढाइमा ध्यान केन्द्रित गर्न सकिन्छ । यसका लागि निधारको केन्द्रमा त्यस वस्तुको कल्पना गर्नुपर्छ जसले तपाईंलाई प्रेरणा प्रदान गर्दछ । त्यसपछि “म शान्त छु, म हरेकसँग प्रेम गर्दछु, म खुशी छु” जस्ता वाक्य प्रत्येक दिन पटक–पटक दोहोर्याउनुपर्छ । यसले तपाईंको मस्तिष्कलाई शान्त राख्न मदत पुर्याउँछ किनभने एउटा शान्त मस्तिष्कले मात्र विषयमाथि ध्यान केन्द्रित गर्न सक्छ र नकारात्मक विचार र बानीबाट छुटकारा पाउन मदत पुर्याउँछ ।

यसबाहेक एउटा शान्त कोठामा बलिरहेको मैनबत्ती भन्दा केही दूरीमा बसेर सयदेखि एकसम्म उल्टो गन्ती गन्नुहोस् । गन्ती भङ्ग भएमा पुनः शुरू देखि प्रारम्भ गर्नुहोस् । यसो गर्नाले पनि तपाईं आफ्नो विचारलाई एक ठाउँमा राख्न सफल हुनुहुन्छ किनभने एकाग्रताको वास्तविक अर्थ आफ्नो सम्पूर्ण ध्यानलाई एउटा निश्चित समयका लागि कुनै खास विषयमा लगाउनु हो । यसको लागि के ध्यान राख्नुपर्छ भने एउटा विषय एक घण्टाभन्दा बढी नपढ्नुहोस् । यदि पढ्नु नै परे बीचमा एउटा सानो ब्रेक लिनु वा एक गिलास पानी खानु राम्रो हुन्छ ।

विद्यार्थीहरूले राति सुत्न जाँदा एकछिन आफ्नो मस्तिष्कमा चलिरहेको सबै विचारलाई सुत्नुपूर्व बाहिर निकाल्ने कोशिश गर्नुपर्छ । यसबाट एकातर्फ तपाईंलाई मीठो निद्रा आउँछ भने अर्कोतिर तपाईंमा ध्यान केन्द्रित गर्ने शक्ति पनि बढ्छ । बिहान उठेर तुरून्त काममा लाग्नुभन्दा एकछिन बिछौनामैं बस्नुपर्छ । अध्ययन गर्दा किताबमा रेखा कोर्नुको साटो कापीमा छाडिएको मार्जिनमा उक्त महत्वपूर्ण कुरा नोट गर्नुपर्छ । एकपटक पढिसकेपछि त्यसमा भएका कुराहरूलाई कापीमा लेखिएको नोटको आधारमा दोहो¥याउनुपर्छ । यसरी नियमित अध्ययन र परिश्रमले पढाइमा सुधार ल्याउन सकिन्छ किनभने सफलता आत्मविश्वास र लगातार परिश्रमको परिणाम हो ।

यसबाहेक पढ्नको लागि उचित ठाउँ जहाँ मोबाइल, टेलिभिजन, कम्युटर आदि नहोस्स रोज्नुपर्छ र त्यहाँ पढाइ र सोसँग सम्बन्धित सबै सामग्री हुनुपर्छ । ध्यान केन्द्रित गर्ने लक्ष्य निर्धारण गरेर त्यसलाई एउटा चुनौतीको रूपमा स्वीकार गर्नुपर्छ र स्वयंलाई प्रेरित गरिराख्नुपर्छ । कुनै पनि कुरा पढ्दा विचलित नभई धैर्यतापूर्वक पढ्नुपर्छ । मनमा जहिले पनि सकारात्मक विचार खेलाउनुपर्छ र पूर्ण निद्रा लिनुपर्छ । परिणामबाट ध्यान हटाएर कर्ममाथि ध्यान केन्द्रित गर्ने प्रयास गर्नुपर्छ । आमाबुवा कसरी खुशी हुन्छन् भन्ने मात्र सोच्नुपर्छ । कुनै पनि कुरा दोहोर्याउनको लागि अन्तिम क्षणको प्रतीक्षा गर्नु कहिल्यै पनि राम्रो हुँदैन ।

बेकनले भनेका थिए–“बुद्धिमान मानिसलाई जति अवसर प्राप्त हुन्छ त्यसभन्दा बढी उसले स्वयं उत्पन्न गर्छ ।” त्यसकारण तपाईं कसरी पढाइमा आफ्नो ध्यान केन्द्रित गर्नुहुन्छ त्यो तपाईंमाथि निर्भर छ । मनोविज्ञानहरूले के भनेका छन् भने हाम्रो मस्तिष्कले हाम्रो शरीरलाई नियन्त्रित गर्दछ । यस कारण मस्तिष्कलाई स्वस्थ राख्नु हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ । यदि तपाई आफ्नो पढाइप्रति सन्तुष्ट हुनुहुन्न भने ती कुराहरूलाई दोहोर्याएर केही फाइदा छैन । एउटा नयाँ लक्ष्य लिएर अगाडि बढ्नुहोस् । सधैं नयाँ–नयाँ कुरा, अनुभव र खुशीका लागि आफ्नो मस्तिष्कमा ठाउँ बनाउनुहोस् । हरेक मानिसमा एकाग्रताको क्षमता बेग्लाबेग्लै हुन्छ तर सही तरीकाले ध्यान केन्द्रित गर्ने योग्यताले मानिस अवश्य सफल हुन्छ । तपाईंमा त्यो शक्ति छ जसको सदुपयोगबाट तपाईं निश्चय आफ्नो जीवनलाई एउटा नयाँ दिशा प्रदान गर्न सक्नुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here