• विश्वराज अधिकारी

आर्थिक भ्रष्टाचारले देशको अर्थतन्त्रलाई धमिराले झैं खान्छ । देशलाई गरीब बनाउँछ । देश र जनतालाई गरीबीको कुचक्रबाट कहिल्यै बाहिर आउन दिंदैन । र आर्थिक भ्रष्टाचार अति भएको देशमा गरीबी स्थायी समस्या हुन पुग्दछ ।

आर्थिक भ्रष्टाचारले कुनै पनि राष्ट्रमा मुख्यगरी तीन किसिमका समस्या ल्याउँछ– पहिलोः आर्थिक भ्रष्टाचार हुने राष्ट्रमा कर्मचारीतन्त्र आर्थिक भ्रष्टाचारमा लिप्त हुने भएकोले कुनै पनि सेवाग्राहीको काम समयमा हुन पाउँदैन र यो कारणले गर्दा सेवाग्राहीले कार्य गर्दा लाग्ने कार्य–खर्चमा व्यापक वृद्धि हुन पुग्छ । दोस्रोः आर्थिक भ्रष्टाचारमा लिप्त हुनेहरूले आफ्नो उद्देश्य (घूस लिने) पूरा नभएसम्म  सेवाग्राहीको काम नगर्ने हुनाले कतिपय (घूस नपाएको) अवस्थामा सेवाग्राहीको नियमपूर्वक हुने काम पनि हुन पाउँदैन । कामै रोकिन्छ । तेस्रोः भ्रष्टाचारमा लिप्त हुनेहरूले आफ्नो उद्देश्य (घूस लिने) पूरा नभएसम्म सेवाग्राहीको काम नगर्ने, काम गर्न आलटाल गर्ने हुनाले कतिपय अवस्थामा गर्न थालेको काम दिक्क भएर, बीचमा चटक्कै छाडेर, सेवाग्राही हिंड्छन् ।

आर्थिक भ्रष्टाचारले कुनै पनि राष्ट्रको आर्थिक विकासको गति सुस्त पार्ने वा आर्थिक विकास अवरुद्ध गर्ने भएकोले यसलाई नियन्त्रण गर्न आवश्यक हुन्छ । आर्थिक भ्रष्टाचारलाई निम्न किसिमले नियन्त्रण गर्न वा कम पार्न सकिन्छ ।

–नैतिक शिक्षामा जोड तथा इमानदार संस्कृतिको विकास

–कारोबारको भुक्तानी चेकमा

–कम मूल्यका नोट निष्कासन

नैतिक शिक्षामा जोड तथा इमानदार संस्कृतिको विकास

आर्थिक भ्रष्टाचार रोक्नका लागि नैतिक शैक्षिकमा जोड दिन आवश्यक छ । विद्यालयहरूमा पठनपाठन हुने पुस्तकहरूमा नैतिक शिक्षासम्बन्धी सामग्री समावेश गरेर वालाबलिकाहरूमा सानो उमेरदेखि नै भ्रष्टाचार गर्नु अनैतिक कार्य हो भन्ने भावना विकसित गर्न सकिन्छ । यस्तो गर्न सके वालबालिकाहरूलाई बाल्यकालदेखि नै आर्थिक भ्रष्टाचार विरोधी तुल्याएर इमानदार संस्कृतिको विकास गर्न सकिन्छ । शिक्षा र संस्कृतिले नै मानिसलाई इमानदार हुन बाध्य पारेमा आर्थिक भ्रष्टाचार स्वतः कम वा समाप्त भएर जान्छ । नेपालमा बालबालिकाहरूलाई सानै उमेरदेखि भ्रष्टाचार विरोधी शिक्षा दिन आवश्यक छ । समाजले भ्रष्टाचार निन्दनीय कार्य हो भन्न आवश्यक छ । 

डेनमार्क, न्यु जिल्यान्ड, फिनल्यान्ड, सिंगापुर, स्वीडेन, नर्वे, स्वीट्जरल्यान्ड, निदरल्यान्ड्स, जर्मनी, लग्जेम्बर्ग, अस्ट्रिया यस्ता राष्ट्र हुन्, जहाँ व्यक्तिलाई इमानदार हुन् समाजले नै प्रोत्साहित र नियन्त्रित गर्छ । देशमा प्रचलित नियम कानूनभन्दा संस्कृतिले व्यक्तिलाई आर्थिक भ्रष्टार नगर्न उत्प्रेरित गर्छ । समाजमा नैतिकता उच्च स्तरमा रहेको हुनाले व्यक्तिहरू स्वयं नै, भ्रष्टाचार गर्नुलाई अपराध मान्दछन् । विश्वमा आर्थिक भ्रष्टाचार सर्वाधिक कम हुने राष्ट्रहरूमा पहिलो, दोस्रो र तेस्रो क्रमशः डेनमार्क, न्यु जिल्यान्ड, फिनल्यान्ड पर्दछ । यी देशका नागरिकको नैतिकताको स्तर उच्च भएकोले नै त्यहाँ भ्रष्टाचार कम भएको हो ।

आर्थिक भ्रष्टाचार नियन्त्रण नियम, कानून, दण्ड र सजायले भन्दा पनि नागरिकमा नैतिकताको विकास गरेर गर्न सकिन्छ ।

जुन देशका बहुसङ्ख्यक नागरिकमा इमानदारीको कामी हुन्छ त्यस देशमा आर्थिक भ्रष्टाचार उच्च स्तरमा हुन्छ । नागरिकमा इमानदारीको कमी र समाजले नै आर्थिक भ्रष्टाचार गर्न उत्प्रेरित गर्ने  राष्ट्रमा आर्थिक भ्रष्टाचार उच्च स्तरमा हुन्छ । दक्षिणी सुडान, सिरिया, सोमालिया, भेनेज्युएला, येमेन, उत्तर कोरिया, अफगानिस्तान, लिबिया, इक्वोटोरिएल ग्युनी, तुर्कमेनिस्तानजस्ता राष्ट्रहरू विश्वका सर्वाधिक आर्थिक भ्रष्टाचार हुने राष्ट्रको श्रेणीमा पर्दछन् । विश्वमा सर्वाधिक आर्थिक भ्रष्ट्राचार हुने पहिलो, दोस्रो र तेस्रो राष्ट्रमा क्रमशः दक्षिणी सुडान, सिरिया र सोमालिया पर्दछ । यी राष्ट्रहरूमा आर्थिक भ्रष्टाचार रोक्न नियम, कानून छन् । दण्ड र सजायको व्यवस्था पनि छ तैपनि आर्थिक भ्रष्टाचार रोकिएको छैन किनभने समाजमा इमानदारीको स्तर न्यून छ । बहुसङ्ख्यक व्यक्ति आर्थिक भ्रष्टाचारमा लिप्त छन् । नेपाली समाजमा पनि इमानदारिताको निकै अभाव छ । बहुसङ्ख्यक व्यक्ति भ्रष्टाचारमा लिप्त छन् । धेरै व्यक्तिले भ्रष्टाचारको घोर विरोध गर्छन् तर आफू भ्रष्टाचारमा लिप्त रहन्छन् ।

कारोबारको भुक्तानी चेकमा

सम्भव भएसम्म सबै, नभए सकेजति (कारोबारको) भुक्तानी चेकमा गरेर पनि आर्थिक भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ । हरेक भुक्तानी चेकमा गर्दा कुन व्यक्तिलाई, के कार्यको लागि, कति रुपियाँ, कुन मितिमा, कुन बैंक खाताबाट, कोद्वारा भुक्तान गरियो भन्ने कुराको अभिलेख स्वतः रहन जाने हुनाले भ्रष्टाचार गर्ने नियतका साथ गरिएको कारोबार र स्वाभाविक कारोबार सजिलै छुट्याउन सकिन्छ । र यदि कसैले भ्रष्टाचार गर्ने नियतका साथ भुक्तानी दिएको वा लिएको छ भने सो कुरा सजिलै थाहा पाउन सकिन्छ । चेकबाट भुक्तानी गर्दा उपरोक्त अनियमित कार्यहरू गर्न नसकिने हुनाले सरकारी, अर्धसरकारी, गैरसरकारीलगायत व्यक्तिगतरूपमंै पनि लेनदेनको क्रममा भुक्तानी गर्दा भुक्तानी व्यवस्था चेकबाट हुनुपर्ने नियम हुनासाथ आर्थिक भ्रष्टाचार कम हुन पुग्छ ।

नेपालको सन्दर्भमा सरकारी, अर्ध सरकारी, सङ्घ–संस्थालगायत सम्भव भएसम्मको स्थितिमा, व्यक्ति व्यक्तिबीच पनि, चेकद्वारा भुक्तानी लिने दिने व्यवस्था भएमा उच्चस्तरमा आर्थिक भ्रष्टाचार कम पार्न सकिन्छ । धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । नेपालमा बैंकिड्ढो राम्रो विकास भएकोले चेकद्वारा लेनदेन हुनु व्यवस्था लागू गर्न सकिन्छ ।  

कम मूल्यका नोट निष्कासन

आर्थिक भ्रष्टाचार नियन्त्रण गर्ने अर्को, तर सर्वाधिक महत्वपूर्ण तरीका कम मूल्यको नोट निष्कासन गर्नु हो । आर्थिक भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले नै विकसित राष्ट्रका केन्द्रीय बैंकहरूले कम मूल्यका नोट निष्कासन गर्दछन् । केन्द्रीय बैंकहरूले १, ५, १०, २०, ५० र १०० मूल्यका नोटहरू निष्कासन गरेका हुन्छन्, ५००, १००० वा उच्च मूल्यका नोट निष्कासन गर्दैनन् । ५००, १००० वा उच्च मूल्यका नोट निष्कासन गर्नाले आर्थिक भ्रष्टाचार गर्नेहरूलाई सजिलो हुन्छ । जति बढी मूल्यका नोट प्रचलनमा रहन्छ सोही अनुरूप भ्रष्टाचारीहरूलाई भुक्तानी लिन वा दिन वा कारोबार गर्न सजिलो हुन्छ । तर केवल कम मूल्यका जस्तै ५०, १०० का नोट मात्र प्रचलनमा रहेमा भ्रष्टाचारीहरूले घूस लिन वा दिन त्यस्ता नोट ठूलो परिमाणमा बोक्नुपर्ने हुन्छ । घुस लिने वा दिने व्यक्तिले ठूलो परिमाणमा नोट बोक्नुपर्ने बाध्यताले गर्दा पनि भ्रष्टाचारीहरू घूस लिन र दिन (असजिलो भएर) दुरुत्साहित हुन्छन्, किनभने ठूलो परिमाणमा नोट बोकेको बाहिरबाट सजिलै देख्न सकिन्छ । उदाहरणका लागि कुनै एकजना भ्रष्टाचारीले अर्को भ्रष्टाचारीलाई रु एक करोड घूस दिनुछ भने दिने व्यक्तिले नोटहरू बोरामा राख्नुपर्ने हुन्छ । कसैले बोरा नोट राखेर दियो भने सहजै देख्न सकिन्छ । यसविपरीत उच्च मूल्यका नोट प्रचलनमा रहँदा एउटा सानो पोकोमा राखेर करोडौं रुपियाँ (घूस) दिन र लिन सकिन्छ । 

आर्थिक भ्रष्टाचार नियम, कानूनद्वारा नियन्त्रण गर्न सकिन्छ तर प्रभाकारी रूपमा भने नियन्त्रण गर्न सकिंदैन । प्रभावकारीरूपमा नियन्त्रण गर्नका लागि यस्तो किसिमको प्रणाली स्थापना गर्नुपर्छ कि प्रणालीले नै घूस लिने–दिने कार्यलाई नियन्त्रण गरोस् । चेकद्वारा भुक्तानी हुने व्यवस्था गर्नु, कम मूल्यका नोटहरू केन्द्रीय बैंकले निष्कासन गर्नु जस्ता कार्य भनेको भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी प्रणालीको स्थापना गर्नु हो । यस्ता अन्य प्रणालीको स्थापना गरेर आर्थिक भ्रष्टाचार कम गर्न सकिन्छ । नेपालमा पनि यस्ता प्रणाली स्थापना गर्न सकिन्छ ।

आर्थिक भ्रष्टाचार नियन्त्रण गर्ने सर्वाधिक प्रभावकारी व्यवस्था असल शिक्षा र संस्कृतिद्वारा जनजनमा चेतनाको विकास गर्नु हो । घूस लिने वा दिने कार्य निन्दनीय र घोर अपराध हो भनी प्रत्येक नागरिकमा बोध हुनु हो । यस्तो गर्न अब ढिलो गर्नुहुँदैनस भ्रष्टाचार नियन्त्रण गर्ने हो भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here