• अनन्तकुमार लाल दास

नेपाली बुद्धिजीवीवर्गमा, विद्वान्हरूको गोष्ठीमा, शैक्षिक प्रवक्ताहरूको सभामा, वक्तृत्व प्रतियोगिताहरूमा, राजनीतिबाट सन्न्यास लिएका वयोवृद्धहरूको कुरामा, उच्च तहमा आयोजित सेमिनारहरूमा, तीतो यथार्थले विक्षत प्रधानाध्यापकहरूको प्रवचनमा, देश विकासमा विद्यार्थीहरूको योगदान कुन हदसम्म, कसरी र कुन रूपमा, कुन विधिले गर्न सकिन्छ वा गर्न सकिन्न भन्ने वर्तमानको ज्वलन्त प्रश्न बनेको छ । ‘गर्न सकिन्न’ भन्ने कुरा तर्कसङ्गत हुँदैन, किनभने जुन मातृभूमिमा सबैले जन्म लिएका छन्, जसको धूलकणमा हामीले जीवन प्राप्त गरेका छौं, जसले हाम्रो अनन्त अपराध क्षमा गर्दै अमृततुल्य जल र अन्न प्रदान गरेको छ, जसले हामीमाथि यति उपकार गरेको छ जसको हामी पूर्ण बखानसम्म गर्न सक्दैनौं, त्यस देशको विकासको अधिकार केही खास वर्ग, खास जाति वा व्यक्तिलाईं मात्र उपलब्ध हुनुपर्छ भन्ने कुरा सङ्घीय शासन प्रणालीमा तर्कसङ्गत हुनै सक्दैन । नेपालजस्तो धर्मनिरपेक्ष देशमा, जहाँ सबैलाई पूर्ण धार्मिक स्वतन्त्रता प्राप्त छ, विद्यार्थीलाई राष्ट्रधर्मबाट वञ्चित राख्नु उचित पनि हुँदैन । धर्म त धर्म नै हो । यस कारण राष्ट्रधर्मको पालनामा कसैलाई कुनै प्रकारको पाबन्दी छैन । हरेक मानिसको लागि देश विकासमा योगदान गर्ने मार्ग प्रशस्त र खुला छ ।

यहाँनिर के प्रश्न उठ्छ भने वर्तमानमा विद्यार्थी जब विभिन्न गतिविधिमा अगाडि बढ्छन् भने अनुभवी विद्वान्हरूद्वारा उनीहरूको प्रतिकूल आलोचना किन गरिन्छ ? वर्तमान नेपाली समाज विद्यार्थीहरूको गतिविधिबाट क्षुब्ध किन छ ? यसको दुइवटा कारण हुन सक्छ । पहिलो देशसेवाको नाउँमा असफल राजनीतिज्ञहरूद्वारा विद्यार्थी एवं विद्यार्थी नेताहरूद्वारा गलत मार्ग प्रदर्शन वा युवा शक्तिको निहित स्वार्थपूर्ति हेतु अनुचित शोषण । राजनीति जुन बेला राजनीतिक मैदान परित्याग गरेर सरस्वतीको मन्दिरमा प्रवेश गर्छ, त्यसबेला विद्यार्थीमा सुप्रभाव होइन, दुष्प्रभाव पर्छ । जहाँ विद्यार्थीहरूको ध्यान गुरुवाणी श्रवणमा लाग्नुपर्ने हो, त्यहाँ उनीहरूको ध्यान विभिन्न विचारधारामा अल्झाउने काम गरिन्छ । उनीहरूलाई यस्तो प्रेरणा दिइन्छ जसबाट उनीहरू दिग्भ्रमित भई देशविकासको साटो देश विनाश हुने काम गर्न थाल्दछन् । यस प्रकार विद्यार्थीहरू आफ्नो कर्तव्य बिर्सेर अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्न थाल्दछन् । विकासको नाउँमा विद्यार्थीहरू आन्दोलन, हडताल र चन्दा वसुली गर्न थाल्छन् । यसले गर्दा विद्यार्थी पथभ्रष्ट
हुन्छन् भने चलाख राजनीतिज्ञहरूको स्वार्थ पूर्ति हुन थाल्छ । यसलाई देश विकास भन्ने कि देश विनाश ?

दोस्रो कारण हो–नियन्त्रणको अभाव । नियन्त्रण दुई प्रकारको हुन्छ । एउटा पर–नियन्त्रण र अर्को आत्म–नियन्त्रण । पर–नियन्त्रण भन्नाले आमाबुवा, गुरुजन र श्रेष्ठ मानिसहरूको आज्ञापालन, उनीहरूले भनेका कुरामाथि ध्यान दिनु हो भने आत्म–नियन्त्रण भन्नाले स्वयंमाथि स्वयंको अंकुश हुनु हो । आत्म–नियन्त्रण अपरिपक्वता वा विवेकशून्य अवस्थामा उत्पन्न हुने प्रश्न नै उठ्दैन । युवावस्थामा आत्मविवेक धेरै टाढा हुन्छ । आत्मविवेकको अभावमा आत्मनियन्त्रण असम्भव हुन्छ । नेपालमा राजनीतिक स्वतन्त्रतासँगै नेपाली समाजले ‘स्वतन्त्रता’ शब्दको अर्थलाई अनर्थको रूपमा प्रयोग गर्न थालेको छ । आज समाजको प्रत्येक अङ्गमा यस्तै स्वतन्त्रता यत्र, तत्र, सर्वत्र देखिन्छ । विद्यार्थी पनि यसै समाजका अङ्ग हुन् । स्वभावतः उनीहरू पनि यसको प्रभावबाट वञ्चित हुन सकेनन् र सामाजिक मूल्य र मान्यता दिनानुदिन धाराशायी हुँदै गएको छ । आचारसंहिता भ्रष्टाचारसंहितामा परिणत भइसकेको छ । यस परिवेशमा उनीहरूलाई कसले सही बाटो देखाउने, किनभने उनीहरू पनि नयाँ र गणतन्त्र नेपालका स्वतन्त्र विद्यार्थी हुन् । अध्यापक वा प्राध्यापकको आज्ञा पालन उनीहरूका लागि मानहानि हुन्छ । आमाबुवासँग पनि देशको बारे सोच्ने समय छैन । यदि कसैले कसैका सन्तानबारे भन्न खोजे पनि कसले कुरा सुन्छ र ?

एकजना विद्वान्ले सैनिकले मात्र मातृभूमिको सेवा गर्दछ भन्ने कुरा कहिल्यै सोच्नुहुन्न । किसान खेतमा, व्यापारी आफ्नो व्यापार–व्यवसायमा, डाक्टर अस्पतालमा, साहित्यकार साहित्य सृजनमा यस्तै देशको हरेक नागरिक आआफ्नो ठाउँबाट देशसेवा गरिरहेको हुन्छ । यदि प्रत्येक देशवासी आफ्नो ठाउँबाट इमान्दारीपूर्वक देशसेवा गर्दछ भने देशविकास हुन बेर लाग्दैन । यसो भन्नुको अर्थ के हो भने जसले जे काम गर्दछ यदि उसले त्यो काम एकाग्रताले गरिरहेको छ भने राष्ट्रको उन्नतिमा पूर्ण योगदान गरिरहेको ठान्नुपर्छ र यदि उसले विपरीत आचरण गरिरहेको छ भने त्यो राष्ट्रका लागि घातक साबित हुन्छ । यस कारण तपाईं आफ्नो काम गर्नुहोस् र अरूको काम अरूका लागि छाडिदिनुहोस् ।

विद्यार्थी जीवनको एकमात्र लक्ष्य विद्योपार्जन गर्नु मात्र हैन । विद्योपार्जन भन्दा पनि बढी महŒवपूर्ण काम हो चरित्र निर्माण । अध्ययनको क्षेत्रमा कुनै विद्यार्थी कुशल छ, तर चरित्रवान छैन भने कुनै पनि हालतमा देश, समाज, परिवार, स्वयं तथा आफ्नो सन्ततिका लागि लाभकारी हुन सक्दैन । यदि विद्वान्ले असल बाटो रोज्छ भने मात्र उसको विद्वता सार्थक हुन्छ अन्यथा उसले आफ्नो विद्वताको प्रयोग विनाशकारी कार्यमा मात्र प्रयोग गर्दछ । भ्रष्टाचार, धोखाधडी, चोरी, डकैती, अपहरण, हिंसा र हत्या यसैको परिणाम हो ।

राष्ट्रको सर्वाङ्गीण विकासको लागि विद्यार्थीको योगदानमा गम्भीरतापूर्वक चिन्तनमनन गरियो भने उनीहरूको सबैभन्दा महत्वपूर्ण योगदान एकनिष्ठ भाव र एकाग्र मनले विद्याध्ययन गर्नु नै हो किनभने विद्या प्राप्तिका लागि एउटा खास समय र उमेर निर्धारित गरिएको छ । यदि यस अवस्थामा एकनिष्ठताको अभाव रह्यो भने भावी जीवनमा उद्देश्यपूर्ति सर्वथा असम्भव देखिन्छ । कमजोर आधारशिलामा निर्मित भवन चिरस्थायी हुन सक्तैन । यदि कुनै विद्यार्थी आफूलाई शिष्ट, सुशिक्षित र जागरूक नागरिक बनाउन प्रयत्नशील छ वा एउटा सफल व्यवसायी बन्न, विद्वान् प्रवक्ता बन्न, कुशल वकील, योग्य डाक्टर, दक्ष कर्मचारी वा कर्मठ कलाकार बन्न चाहन्छ र लक्ष्य प्राप्त गर्न अनवरत तल्लीन भई अध्ययन गरिरहेको छ भने निश्चितरूपमा उसले देशसेवा गरिरहेको छ र देशको प्रगतिमा आफ्नो अमूल्य योगदान दिइरहेको हुन्छ, किनभने व्यष्टिले नै समष्टिको निर्माण हुन्छ ।

समाज विभिन्न एकाइहरूको समूह हो । विद्यार्थी देशको एउटा अभिन्न अङ्ग हो । विद्यार्थीहरूले इमानदारीपूर्वक गर्ने हरेक कार्यले देश, देशको चरित्र, देशको सम्मान र गौरव बढाइरहेको हुन्छ भने उसले गरेको गलत कार्यले देशको प्रतिष्ठामा आँच आउनुको साथै देशलाई पतनतर्फ ढकेल्छ । विद्यार्थीले गर्ने प्रत्येक कार्यको प्रतिच्छाया राष्ट्रको चरित्रमा स्पष्ट देख्न सकिन्छ । विद्यार्थीको प्रगति नै देशको प्रगति हो । विद्यार्थीको स्वाध्याय, चिन्तन–मनन, शिष्ट र निष्ठ बन्ने प्रयास नै देशको विकासमा उनीहरूको योगदान हो । विद्यार्थी असल छ भने देश पनि राम्रो हुन्छ । विद्यार्थी अनुशासित हुन्छ भने देश पनि अनुशासित हुन्छ । अर्थात् शान्त चित्तले शिक्षा ग्रहण गर्नेतर्फ एकाग्र हुनु देश विकासमा विद्यार्थीहरूको महत्वपूर्ण योगदान हो, किनभने उनीहरू नै देशका भावी कर्णधार हुन् ।

अध्ययनपश्चात् बचेको समयमा विद्यार्थीहरूले अशिक्षितलाई शिक्षित बनाउने कार्य गर्न सक्छन् । सार्वजनिक सभा वा गोष्ठीहरूमा भाग लिएर देशको चारित्रिक उत्कर्षमा अमूल्य योगदान दिन सक्छन् । दैवी प्रकोप भएका क्षेत्रमा विद्यार्थी समूहले धन एकत्र गरेर त्यहाँका बासिन्दाको सहायता र बाढीपीडित मानिसको प्राणरक्षा गर्न सक्छन् । स्वयंसेवकको रूपमा यस्ता क्षेत्रहरूमा गई उद्धार गर्न सक्छन् । विद्यार्थीहरूले स्वयंसेवी संस्था निर्माण गरेर पनि जनताको अहर्निश सेवा गर्न सक्छन् । यस्ता पुनीत कार्यद्वारा जनताको कल्याण हुनुका साथै उनीहरूको पथप्रदर्शन पनि गर्न सक्छन् । ग्रीष्मावकाशको लामो अवधिमा ग्रामीण क्षेत्रको उत्थानका लागि श्रमदानद्वारा सडक निर्माण, ससाना पुल निर्माण, गाउँलाई दिसामुक्त क्षेत्र बनाउन सहयोग गर्न सक्छन् । कृषिको उन्नतिका लागि किसानहरूलाई नयाँ र वैज्ञानिक साधनहरूबारे ज्ञान दिन सक्छन् । सर–सफाइ, परिवार नियोजनजस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सक्छन् । सामाजिक समस्या, कुरीति आदिसँग सम्बन्धित वृत्तचित्र वा सडक नाटकको माध्यमले जनजागरण अभियान पनि सञ्चालन गर्न सक्छन् । यसरी विद्यार्थीहरूले फुर्सदको बेला यस्ता थुप्रै काम गरी देश विकासमा आफ्नो अमूल्य योगदान दिन सक्छन् ।

इन्जिनीयरिङ र मेडिकलका विद्यार्थीहरू अवकाशको बेला गाउँमा गएर गाउँलेहरूको सेवा गर्न सक्छन् । इतिहास र राजनीतिका विद्यार्थीहरू देशको प्राचीन संस्कृति, सभ्यता, लोकतन्त्रको महत्व, मतदानको महत्व, नागरिकको अधिकार र कर्तव्य आदि विषयमा जनतालाई सुसूचित गर्न सक्छन् । राष्ट्रिय सम्पत्तिको विनाश गर्नुको साटो रक्षा गर्नु वर्तमान विद्यार्थीहरूको देश विकासमा अमूल्य योगदान हुन सक्छ किनभने आजभोलि प्रायः छापामा विद्यार्थीहरूद्वारा क्याम्पस वा विश्वविद्यालयमा तोडफोड वा बसमा आगजनीको घटना सार्वजनिक भइरहेको पाइन्छ । यस्ता क्रियाकलाप कुनै अराजक तत्वले गरिरहेको होला, तर नाम विद्यार्थीको बदनाम हुने गरेको छ । यस कारण यदि विद्यार्थीहरूले सार्वजनिक सम्पत्तिमा क्षति नपु¥याऊन् भने यो निश्चय नै देश विकासमा उनीहरूको योगदान कहलिन्छ ।

विद्यार्थी जीवन शक्तिसम्पन्न अवस्था हो । विद्यार्थी जीवनमा कार्य सम्पादनको अभूतपूर्व क्षमता हुन्छ । मन र मस्तिष्क पनि तेज हुन्छ । त्यस शक्ति र कार्य क्षमतालाई यदि सही दिशाा प्रदान गर्न सकियो भने उसको मन र शरीर दुवै सही दिशामा दगुर्न थाल्छ र यसबाट सबैलाई लाभ प्राप्त हुन्छ । तर विडम्बना के छ भने उनीहरूलाई सही मार्ग निर्देशन र पथ प्रदर्शन प्राप्त हुँदैन । अर्को के पनि वास्तविकता छ भने केही यस्ता उच्छृङ्खल तत्व हुन्छन्, जसमाथि सही पथप्रदर्शनको कुनै प्रभाव पर्दैन र उनीहरू पथ प्रदर्शन चाहँदैनन् पनि । हुनुपर्ने त के हो भने उनीहरू आफ्नो पूर्ण शक्ति र सामथ्र्यबाट देश विकासतर्फ अग्रसर होऊन् तर सात्वक मनोवृत्ति, शान्त चित्त र विवेक प्रयोग गरून् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here