- सञ्जय मित्र
आफूले सोचेको जस्तो बाँच्न पाएको जीवन नै सुखी हुन्छ । हुनत अरूको नजरमा जीवनको मूल्याङ्कन गर्ने परिपाटी छ । जीवनलाई कसरी सुखमय बनाउने र जीवनलाई कसरी सुखानुभूतिपूर्ण बाँच्नयोग्य बनाउने भन्ने विषयवस्तु नै फरक हुन् । फरक तरीकाले बाँच्नु पनि जीवन हो ।
जीवनको समय धेरै लामो हुँदैन तर जति हुन्छ, त्यत्तिलाई कसरी गुणस्तरीय बनाएर बाँच्ने भन्ने कुरो स्वयम् व्यक्तिमा निर्भर हुन्छ । कसलाई के कुराले सुखी राख्छ र कसलाई के कुराले दुःखी बनाउँछ भन्ने कुरा पनि व्यक्तिमा नै निर्भर रहन्छ । एउटै कुरो कसैलाई त्याग हुन सक्छ भने कसैलाई प्राप्ति हुन सक्छ । एउटै कुरोको विश्लेषण गर्ने दृष्टिकोण पनि फरक हुन सक्छ । भगवान् गौतम बुद्धको जीवनलाई पनि विश्लेषण गर्नेको आधारमा सुखमय वा दुःखमय बनाएको पाइन्छ । तर सबैले सुखमय भन्ने गरेको जस्तो भगवान् गौतम बुद्धले जीवन बाँच्न पाएका थिए कि थिएनन् ? यही जिज्ञासाको खोजीमा यो आलेख तयार हुन पुगेको छ ।
बाल्यकालदेखि नै गम्भीर प्रकृतिका र चिन्तनशील स्वभावका सिद्धार्थ गौतमले गृहत्यागको सुख प्राप्त गर्नुभन्दा पूर्वसम्म हामी सर्वसाधारणले भन्ने गरेको सुखमय जीवन व्यतीत गरेका थिए । हामी सर्वसाधारणले भन्ने गरेको सुखमय जीवन भन्नुको अर्थ हो कि खासै कुनै बाधा व्यवधान नभई आनन्दले दिन कटाउनु ।
सिद्धार्थ गौतम राजाका छोरा थिए । राजा शुद्धोधनले असित मुनिको भविष्यवाणीलाई चाहेर पनि बिर्सिन सकेका थिएनन् । कुनै पनि हालतमा सिद्धार्थलाई महाराजा बनाउन चाहन्थे । असित मुनिको भविष्यवाणी थियो– या त सम्राट बन्छ, या त योगी । कुनै पनि हालतमा योगी नबनोस् भन्ने चाहना थियो पिता शुद्धोधनको ।
जब यशोधराको स्वयंवरमा उपस्थित राजकुमार तथा सामन्त राजपुत्रहरूको बीचमा कुनै प्रतिस्पर्धा नै नगराइ राजकुमारी यशोधराले सिद्धार्थ गौतमलाई मन पराइन्, तब विरोध भयो । स्वयंवरमा त कुनै प्रतिस्पर्धा हुनुपर्ने सामान्य नियम हो । स्वयंवर नै नगराएर यत्तिकै विवाह गरेको भए हुन्थ्यो । स्वयंवर बोलाएर अनि यत्तिकै कसैलाई वरण गर्नु भनेको बाँकीको अपमान गर्नु हो भन्ने अथ्र्याइएपछि धनुर्विद्याको परीक्षण गर्ने निष्कर्षमा पुगेर प्रतिस्पर्धाको आयोजन हुन्छ । पहिले त सिद्धार्थ यस प्रतिस्पर्धामा भाग लिन चाहँदैनन् तर सारथिले सम्झाउँदै भन्दछन्– तपाईंको चित्त महान् छ तर यशोधराको सम्मानको कुरा पनि त छ । सबैको बीचमा तपाईंलाई वरण गर्न चाहेकी यशोधराको मन कस्तो हुन्छ, जब तपाईं धनुर्विद्याको प्रतिस्पर्धामा सहभागी बन्नुहुन्न ।
सिद्धार्थ उत्तम साबित भए । शारीरिक बलमा पनि सिद्धार्थ कमजोर छँदै थिएनन् । विवाहको समयमा दुनियाँले सिद्धार्थको बुद्धि, शारीरिक बल तथा धनुबाण चलाउने र अन्य हतियारकला देख्न पाए । प्रतिभाविहीन भनी ठानेका कतिपय राज्यका राजा, राजकुमार, करद राज्यका प्रमुख, उत्तराधिकारी तथा सामन्त, मन्त्री र राज्यका अन्य गन्यमान्य पुरोहित, मन्त्रीहरू सिद्धार्थको अन्तर्मुखी व्यक्तित्वभित्र लुकेको विराट प्रतिभालाई देखेर आश्चर्यचकित भएका थिए । आफ्नै आँखाले नदेखेका भए कसैले भनेको भरमा सिद्धार्थको प्रदर्शनबारे सम्भवतः कसैले पत्याउँदैनथे । अचम्भित र विस्मित भएपछि यशोधराको चयनमाथि कसैले दोहो¥याएर प्रश्न गर्ने साहस गर्न सकेनन् वा सबै उम्मेदवार पराजित भए । यशोधरा विजयी भइन् । सिद्धार्थ गौतमले यशोधरालाई विजयको उत्साह दिए । यशोधरा र सिद्धार्थको विवाहले सबैभन्दा बढी खुशी पिता शुद्धोधन र यशोधरा थिए ।
विवाहोपरान्त जीवनलाई अझ बढी सुखमय बनाउन सिद्धार्थका पिता शुद्धोधनले सबै प्रयत्न गरे । अनेक सेविका तथा गणिका नियुक्त गरे । निरन्तर गीत, नृत्य तथा मनोरञ्जनका अन्य व्यवस्थापन गरे । साथै गर्मी, वर्षा र जाडोका लागि अलग–अलग सुविधायुक्त भवन नै बनाउन लगाए । वसन्त ऋतुको लागि बनाइएको विशेष भवनको नाम रम्या, ग्रीष्म ऋतुको लागि बनाइएको विशेष महलको नाम सुरम्या र वर्षा ऋतुको लागि बनाइएको विशेष भवनको नाम सुधा थियो । ऋतु अनुसारको सुविधा तथा सुख र आनन्दको अनुभूति हुने महलको निर्माण गराउनुमा पनि पिता शुद्धोधनको उद्देश्य यो थियो कि पुत्र सिद्धार्थलाई कुनै पनि मौसममा आनन्दबाहेक केही पनि प्राप्त नहोओस् । प्रासादभन्दा बाहिर कुनै पनि मौसममा निस्कन नपरोस् । मौसम अनुसारको विभिन्न फल तथा फूलका बोटहरू लगाइएका थिए, ताकि बाहिर जान नपरोस् ।
सिद्धार्थ गौतमको अगाडि सांसारिक सुखभोगका सबै अवसर प्रायोजित थिए । स्रोतहरूले के भन्छन् भने सिद्धार्थको विवाह १६ वर्षको उमेरमा र गृहत्याग २९ वर्षको उमेरमा भएको हो । विवाहदेखि गृहत्यागसम्म १६ देखि २९ वर्षको बीचको १२–१३ वर्षको उमेर समयमा सिद्धार्थमा आएको वैचारिक परिपक्वताले उनलाई भगवान् गौतम बुद्ध बनाउन सकेको हो । निस्सन्देह सिद्धार्थ गौतम यस एक युगको अवधिमा हामी सर्वसाधारणले भन्ने गरेको सांसारिक सुखभोग गरेका छन् । आनन्दमय जीवन व्यतीत गरेका छन् । सामान्यतया उनलाई बाहिर निस्कने अवसर हुँदैनथ्यो । अवसर हुँदैनथ्यो भन्दा पनि आवश्यकता पर्दैनथ्यो । सिद्धार्थको हुकुमलाई राजा शुद्धोधनले हरेक हालतमा त्यहीं घरमा नै पूरा गर्ने गर्दथे । तर पनि निकै लामो समय एकै ठाउँमा एकै किसिमले बस्न पाउँदा जसकसैलाई पनि त्यसभन्दा बाहिरको दुनियाँ हेर्न पाउने लालसा जाग्नु स्वाभाविक हो ।
यशोधरा र सिद्धार्थको सन्तानका रूपमा राहुलले जन्म लिए । बच्चा त रुन्छ कहिलेकाहीं । यहाँनेर बच्चा जन्मनु तथा रुनु पनि महत्वपूर्ण विषय हुन् । सिद्धार्थ गौतमलाई ऋतु अनुसारको राजप्रासादभन्दा बाहिर गएर मनलाई बहलाउनुपर्ने आवश्यकताबोधका कारक तत्व पनि हुन सक्छन् । सिद्धार्थ जब रथमा सवार भएर बाहिर निस्कन्छन्, तब दुनियाँलाई फरक किसिमले अनुभव गर्छन् । अनि उनका अगाडि उभिन्छन्, तीन प्रश्न । जुन तीन प्रश्नको उत्तरको खोजीमा सिद्धार्थ गौतम भगवान् बुद्ध बन्छन् भनेर भनिन्छ ।
जब मानिसको मनमा एकपछि अर्को प्रश्नले आक्रमण गर्न थाल्छन्, तब मानिस शान्त बस्न सक्दैन । अशान्त मनलाई शान्त बनाउन उत्तरको खोजी त गर्नुपर्छ नै । कसैले दिएको उत्तरले यदि चित्त बुझ्दैन भने उत्तरको खोजी आफैंले गर्नुपर्छ । सिद्धार्थ गौतमको हकमा यो पूरापूर लागू भएको छ । उनको मनमा उठेका तीन प्रश्न र ती तीन प्रश्नका अन्य सहायक प्रश्नहरूको जवाफ तत्कालीन शास्त्र, नीतिज्ञ तथा पुरोहितहरूले दिन सकेनन् र खोजीमा निस्किए ।
प्रश्नहरूको उत्तरको खोजीको दृढता मनमा आउनुपूर्वसम्म सिद्धार्थ गौतम केही मनोद्वन्द्वसहित सांसारिक सुखभोगमा थिए । हो, केही वर्ष सिद्धार्थ गौतम हामी सर्वसाधारण मानिसले भन्ने गरेको शब्दावलीमा उच्च किसिमको राजसी सुखभोग गर्दै सुखमय जीवन व्यतीत गरेका थिए । सिद्धार्थ गौतमको सुखमय जीवन गृहत्यागको लागि शक्तिसञ्चय गर्ने अवसरको रूपमा पनि देखिएको छ । सिद्धार्थ गौतमले गृहत्याग गरेपछि जुन कठिन तपस्या गरेर ज्ञान प्राप्त गर्ने महान् उपलब्धि हासिल गरे, सिद्धार्थको दृष्टिकोणबाट ती सबै पनि परम सुखदायी जीवन रहेको स्पष्ट हुन्छ ।