कुखुराको मासुमा प्रोटिन, भिटामिन र मिनरल पाइन्छन् । तर कुखुराको मासुबाट हाम्रो शरीरमा प्रतिरोधक क्षमता कम हुन सक्छ वा एन्टिबायोटिक औषधिको असर निकै सुस्त हुने दिल्लीको इन्द्रप्रस्थ अपोलो हस्पिटलका वरिष्ठ सङ्क्रामक रोग विशेषज्ञ डा जतिन आहुजा भन्छन् । उनले भने– यो कुरा सही हो कि कुखुराको मासु खानेहरूको न केवल प्रतिरोधक क्षमता कम हुन्छ, बरु उपचारको दौरान एन्टिबायोटिक औषधि पनि असरहीन साबित हुन थालेको छ । हो, यसको प्रभाव हरेक व्यक्तिमा भिन्दाभिन्दै हुन सक्छ, कसैमा बढी र कसैमा कम ।
उनले भने– पोल्ट्री फार्म सञ्चालकहरू कुखुरालाई राम्रो बनाउन खानाका साथ अत्यधिक मात्रामा एन्टिबायोटिक औषधि पनि दिन्छन् । अधिकांश पोल्ट्री फार्म सञ्चालकलाई यसबारे जानकारी हुँदैन कि एन्टिबायोटिक औषधि कुखुरालाई कति मात्रामा दिनुपर्छ, अनुमानको भरमा खुवाउँछन् र यसको नकारात्मक असर कुखुरामाथि पर्छ ।
यस प्रकार कुखुराको शरीरमा प्रचुर मात्रामा एन्टिबायोटिक जम्मा हुन्छ र हृष्टपुष्ट देखिने कुखुरालाई बजारमा बिक्रीको लागि पठाइन्छ । बजारबाट किनेको मासु हाम्रो शरीरमा पुग्छ, कुखुराको शरीरमा रहेको एन्टिबायोटिक मान्छेको शरीरमा प्रवेश गर्छ र हाम्रो शरीरमा स्थान बनाउँछ । मान्छेको शरीर यी एन्टिबायोटिकको अम्मली बन्न पुग्छ, त्यसपछि कुनै कारणले बिरामी भएपछि उपचारमा दिइने एन्टिबायोटिक औषधिले रोगीको शरीरमा सजिलै असर गर्न सक्दैन । चिकित्सकले एन्टिबायोटिकको हाई डोज दिन्छन्, जसले गर्दा मान्छेको शरीरमा अलग नकारात्मक असर देखिन्छ ।
कुखुराबाट मानिसमा एन्टिबायोटिक पुग्ने स्थितिलाई मेडिकल भाषामा एएमआर अर्थात् एन्टिमाइक्रोबियल रेजिस्टेन्स भनिन्छ । विश्व स्वास्थ्य सङ्गठन अनुसार मनुष्यमा सङ्क्रमण रोक्न वा त्यसको उपचारको लागि एन्टिमाइक्रोबियलको प्रयोग एन्टिबायोटिक्स, एन्टिभाइरल, एन्टिफङ्गल र एन्टिपैरासिटिक्सको रूपमा गरिन्छ । लाइभस्टकमा एन्टिबायोटिकको प्रयोगबाट उत्पन्न यस स्थितिको कारण एएमआर दुनियाको १० सबैभन्दा ठूला स्वास्थ्य खतरामध्ये एउटा बनेको छ ।