काठमाडौं, २७ मङ्सिर/रासस

ज्वलन्त सामाजिक विषयमाथि सशक्त चलचित्र तयार गर्ने निर्देशकको रूपमा भारतीय निर्देशक प्रकाश झा परिचित छन् । निर्मातासँगै केही समययता अभिनेताको रूपमा समेत प्रस्तुत भएका झाले वृत्तचित्रको सन् १९७५ मा सुरुआत गरेका थिए । भारतको बिहारमा हुर्किएका झा भारतीय चलचित्र उद्योगमा आफ्नो प्रभाव छाड्न सफल भएका छन् ।

नेपालसित सीमा जोडिएको क्षेत्रमा हुर्किएका झा दोस्रोपटक नेपाल आएका हुन् । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करणमा सहभागी हुन उनी पहिलोपटक काठमाडौं आएका थिए भने दोस्रोपटक काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)मा सहभागी भएर केही दिनअघि भारत फर्किएका थिए ।

गङ्गाजल, राजनीति, आरक्षण, चक्रब्युह, सत्याग्रह जस्ता चलचित्र निर्देशन गरिसकेका झाले दर्शकले बुझ्ने भाषामा चलचित्र बनाउनुपर्ने बताए । “व्यावसायिक जोखिम कम गर्दै कलात्मक चलचित्र बनाउने कोशिश गर्नुपर्छ । चलचित्र भनेको व्यवसाय हो, त्यसैले हलसम्म आउने दर्शक तपाईंको कामबाट सन्तुष्ट हुनुपर्छ । कलात्मक अभिव्यक्तिका लागि चलचित्र बनाउने गरेका छौं भन्ने सोच छ भने त्यो भ्रम हो,” निर्देशक झाले भने, “मैले दर्शकका लागि गङ्गाजल र राजनीतिजस्तो चलचित्र बनाएको छु ।”

निर्देशक झा सुरुआती समयमैं दामुल, परिणति, मृत्युदण्डजस्ता चलचित्रले प्रशंसा बटुल्न सफल भए । तर अर्को काम गर्न आर्थिक लाभ दिन नसकेको उनीसित सम्झना छ । ती चलचित्रले उनको कामलाई चिनाउन सके पनि आम दर्शकलाई बुझ्न गा¥हो भयो । त्यही समस्या अहिले पनि भारतीय चलचित्र उद्योगमा उनले देख्छन् । कथावस्तुमा मेहनत नगरिनु यसको मुख्य कारण झा ठान्छन् ।

 “कथावस्तु छाडेर प्रोजेक्ट बनाइरहनु गलती हो,” उनले भने, “पहिला कर्पोरेट हाउसले लगानी गर्दा कथावस्तुसँगै कलाकारको चयन निर्देशकले गर्थे । अहिले हाउसले नै स्टारको समय अनुसार चलचित्रको योजना बनाइरहेका छन् । कथामा नभई स्टारमा लगानी भइरहेको छ । त्यसैले अहिले प्रोजेक्ट बनिरहेको छ,” निर्देशक झाले भने ।

आश्रम नामक वेब सिरिजमार्फत ओटिटीमा प्रवेश गरेका निर्देशक झाले चलचित्र मन्दिरकै लागि धर्म क्षेत्र र जनादेश चलचित्रमा काम गरिरहेको जानकारी दिए । “मेरो चलचित्रले कथा भन्छ । त्यसले कुनै बहस अगाडि ल्याओस् भनेर म बनाउदिनँ तर आफूलाई लागेको कथा भन्छु । मेरो शैली भने फरक छ,” निर्देशक झाले भने, “कुनै चलचित्रमा प्रेमी र प्रेमिकाको बिछोडको कारण धनी र गरीबबीचको खाडल हुन सक्छ तर मैले त्यहाँ वैचारिक द्वन्द्व र सामाजिक सभ्यतालाई देख्छु । मैले सोच्ने र बुझ्ने कथा अन्यभन्दा फरक हुन सक्छ ।”

भारतको लोकसभा निर्वाचनमा समेत सहभागिता जनाइसकेका निर्देशक झाले व्यवस्थाविरुद्धको आक्रोश चलचित्रमार्फत नै ल्याएको स्वीकारे । “मैले नेता बनेर भन्न चाहेका तथ्यलाई चलचित्रमार्फत भनेको हुन सक्छु । किनकि चलचित्रकर्मी सरकारको विपक्षीको भूमिकामा रहनुपर्छ भन्ने मेरो बुझाइ छ,” उनले भने । नेपाली चलचित्र र चलचित्रकर्मीसँग नजीक रहेका निर्देशक झाले आफ्नो आँखाले धेरै नेपाली कथा देखिरहेको बताए । यद्यपि उनी नेपाली चलचित्र निर्देशन गर्ने कुनै योजनामा भने तत्काल छैनन् । नेपाली चलचित्र निर्देशकसँग सहकार्य गर्न सक्ने विषय भने उनी नकार्दैनन् ।

 “मैले यहाँको कथा भन्न सक्दिनँ । किनकि मैले अहिलेसम्म आफ्नो ठाउँबाहेक अन्यन्त्रको कथा भनेको छैन तर नेपाली चलचित्रकर्मीसँग नजीक भएर काम गर्न सक्छु । मेरो चलचित्रप्रतिको बुझाइलाई उहाँहरूले प्रयोग गर्न सक्नुहुन्छ,” निर्देशक झाले भने, “हाम्रैझैं कथा र पटकथाको समस्या यहाँ पनि छ जस्तो लाग्छ । प्राविधिकझैं कथावस्तुमा पनि मेहनत आवश्यक छ ।” उनको टोलीले केही नेपाली विषयवस्तुमा सहकार्य गर्नेगरी काम गरिरहेको जानकारी दिए ।

नेपाली चलचित्रलाई विश्वभर लैजाने सन्दर्भलाई उनी विषयवस्तुसित जोड्छन् । “विश्वव्यापी विषयवस्तु नल्याउँदासम्म दर्शक पाउन सक्दैनौं । स्टारको सट्टा विषयवस्तुमा मेहनत गर्नुस्,” निर्देशक झाले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here