• अनन्तकुमार लाल दास

प्रत्येक अभिभावकको चाहना उसको सन्तान पढाइलेखाइमा योग्य बनोस् भन्ने हुन्छ । यसका लागि आफ्नो सामथ्र्यले भ्याएसम्म लगानी गर्न पनि उनीहरू तयार हुन्छन् । राम्रा विद्यालयमा अत्यधिक शुल्क तिरेर सन्तानलाई पढाउन चाहन्छन् । साथै घरमा निजी शिक्षकको व्यवस्था गरेर सन्तानको पढाइमा ठूलो व्ययभार बोक्न पछि हट्दैनन् र अपेक्षा राख्छन् उनको सन्तान अरूभन्दा अग्रस्थानमा आओस् । धेरैजसो अभिभावकको दृष्टिमा महँगो विद्यालय र महँगो शिक्षकको ट्युशन नै उत्तम पढाइको मापदण्ड हो । आखिर किन यी सबै सुविधाका बावजूद विद्यार्थीहरू राम्ररी लेखपढ गर्न सकिरहेका छैनन् ? के यी सबै सुविधा उपलब्ध गराइदिएपछि अभिभावक आफ्ना जिम्मेवारीबाट मुक्त हुन्छन् त ?

अभिभावकहरूको यो सोच कदापि सही र उचित होइन । घरमा राखेको शिक्षकले यदि विद्यार्थीहरूको आत्मविश्वास जगाइदिन्छ भने त्यस्ता शिक्षकको प्रशंसा गर्नुपर्दछ । तर परिस्थिति ठीक विपरीत छ, किनभने गृह शिक्षकलाई हटाई दिंदा विद्यार्थी केही गर्न सकिरहेको हुँदैन । यसैगरी धेरैजसो विद्यालय विद्यार्थीहरूलाई अत्यधिक गृहकार्य दिएर आफ्नो कर्तव्य पूरा भएको ठान्ने गर्दछन् । यस कारण सचेत अभिभावकहरूले समय–समयमा शिक्षकहरू र विद्यालयसँग सम्पर्क गरिरहनु नितान्त आवश्यक छ ।

कतिपय अभिभावकहरूको के पनि गुनासो रहन्छ भने गृह शिक्षकले विद्यार्थीहरूको गृहकार्य पूरा गराएर आफ्नो दायित्व पूरा भएको सम्झन्छन् तर विद्यार्थीहरूलाई गृहकार्य आफैं गर्नुपर्छ भनी प्रोत्साहन दिंदैनन् । यस कुराले गृह शिक्षकको उक्त परिवारबाट सधैं ट्युशन फी असुल्ने प्रवृत्ति रहन्छ । त्यसैले सचेत अभिभावकले सधैं गृह शिक्षक र विद्यालयको अनुगमन गरिराख्नुपर्छ । यदि अभिभावकले स्वयं पनि पढाउने गर्छन् भने विद्यार्थीहरूलाई अरूमाथि आश्रित बनाउनु राम्रो होइन । यसबाट विद्यार्थीभित्र रहेको क्षमता र ऊर्जा विस्तारै पलायन हुँदै जान्छ । कहिलेकाहीं अप्ठेरो परेको ठाउँमा सुझाव दिनु आवश्यक हुन्छ तर यसको अर्थ सधैं अरूको मुख ताक्ने बानी लगाउनु राम्रो होइन ।

यस कारण शिक्षक वा अभिभावकले सकभर आफैं समस्याको समाधान खोज्ने अभ्यास गराउनुपर्छ जसले विद्यार्थीमा आत्मनिर्भरताको भावना विकसित हुन्छ । पढाइमा आत्मनिर्भरताको भावना जागृत हुनु ठूलो उपलब्धि हो, किनभने परनिर्भर व्यक्ति कहिल्यै पनि एक्लै हिंड्ने आँट गर्दैन । यस कारण विद्यार्थीले गरेको प्रयासलाई हौसला र प्रोत्साहन प्रदान गर्दै थप सहयोग र निर्देशन दिनु विद्यार्थीहरूको पढाइप्रतिको आत्मनिर्भरताको सर्वोत्तम उपाय हो ।

एकपटक साथीको घरमा बसिराख्दा उनको छोरोले गृहकार्य गरिदिन पटक–पटक बुवालाई अनुरोध गरेको हेरेर मैले सोधें–“यी सबै त विद्यालयमा पनि सिकाउने गरिन्छ नि । तिमीले विद्यालयमा किन नसिकेको ?” साथीको छोरोले जवाफ फर्कायो–“जब बुवाले मलाई घरमैं सिकाउनुहुन्छ भने स्कूलमा किन सिक्नुप¥यो ? यो सुनेर म छक्क परें । केही सोचे र भनें–“उसो भए अबदेखि तिमी आफ्नै कक्षाका सर–मिसले पढाएको ध्यान दिएर सुन र आफैं प्रश्नहरू हल गर्ने प्रयास गर । कुनै समस्या भए मात्र बुवासँग सोध्नु र बुवाले तिमीलाई कक्षामा प्रयास गर्दागर्दै नबुझेका कुराहरू मात्र सिकाइदिनुहुन्छ ।” धेरै दिनपछि मैले साथीलाई सोधें–“के अहिले पनि छोरोको बानी त्यस्तै छ ?” “होइन, अब उसको बानीमा सुधार आइसकेको छ । आजभोलि कक्षामैं ध्यान दिन थालेको छ र शिक्षकहरूसँग पनि अन्तक्र्रिया गर्न थालेको छ”–साथीले हाँस्दै जवाफ दिए । यो एउटा सामान्य उदाहरण मात्र हो । कतिपय घरमा आमाबुवा नै पढेका हुँदैनन् र घरमा कोही पनि पढाउने नभएकोले पनि ऊ कक्षामा ध्यान दिएर नपढ्ने हुन सक्छ । यस्तो अवस्थामा पनि अभिभावकहरूले विचार पु¥याउनु आवश्यक हुन्छ । यस कारण विद्यार्थीलाई ट्युशन पढाउनु पैmशन अथवा क्षमताको प्रदर्शन मात्र नभई अति आवश्यक परेको अवस्थाबाहेक निकै सोचविचार गर्र्नु आवश्यक हुन्छ ।

अर्को ध्यान दिनुपर्ने कुरो के हो भने पढाउने बेला विद्यार्थीहरूप्रति अनावश्यक रिस पोख्नु नकारात्मक पक्ष हो । उनीहरूले नबुझेको अवस्थामा गाली गर्नुको सट्टा आफ्नो पढाउने तरीकामा विचार पु¥याउनुपर्दछ । कहीं आफ्नै कमजोरीले त उनीहरू बुझिरहेका छैनन् ? यस सन्दर्भमा हामीले सधैं के ध्यान राख्नुपर्छ भने प्रत्येक विद्यार्थीको मानसिक स्थिति एकनासको  हुँदैन । यस कारण सबैलाई एकै ढङ्गले बुझाउने तरीका पर्याप्त हुँदैन । यसका लागि शिक्षक स्वयं अप–टू–डेट हुनैपर्छ । अर्को कुरो विद्यार्थीलाई पढाउँदा सधैं के ध्यान राख्नुपर्छ भने पढाउने बेला उनीहरू खुशी र उत्साहपूर्ण ढङ्गले पढ्ने गरून् ।

धेरैजसो अभिभावकले–“मेरो छोरो बदमाश भयो, यसलाई बेस्सरी नपिटी भएन । सरहरूले पनि कक्षामा कहिल्यै कुट्नुहुन्न । त्यसैले घरमा कसैको कुरा टेर्दन”–जस्ता शिकायत लिएर आउँछन् । अभिभावकहरूका आफ्नै किसिमको भनाइसँग धेरैपटक एउटा शिक्षकको रूपमा साक्षात्कार गर्नुपरेको छ । त्यस्ता अभिभावकहरू आफ्नो विद्यार्थीले ध्यान दिएर पढोस् भन्ने चाहना त राख्छन् तर त्यसका लागि प्रयोग गरिएको विधि नितान्त गलत हुन्छ । पिटेर पढाउने वा जबरदस्ती कक्षामा अनुशासनका लागि प्रयोग गरिने दण्डले विद्यार्थीहरू चुप लागेर किताब खोली पढेजस्तो त गर्छन् तर उनको दिमागमा उपेक्षाले जन्माएको तनाव रुमलिरहेको हुन्छ । यस कारण पढाइका लागि भयमुक्त वातावरण निर्माण गर्नु अति आवश्यक हुन्छ ।

यस कारण पढाइमा ध्यान दिने अभिभावक वा शिक्षकले सबैभन्दा पहिले के सोच्नुपर्छ भने पढाइको बेला सोको लागि उपयुक्त वातावरण कसरी निर्माण गर्ने ? अपमानजनक शब्द वा छडीको भयबेगर पढाइको वातावरण कसरी तयार गर्ने ? कतिपय अवस्थामा कुनै विषयको कुनै पाठ पढ्दापढ्दै अरुचिकर लाग्न सक्छ । त्यस्ता पाठलाई कसरी रुचिकर बनाउने ? कुनै कथा वा हाँसोको प्रसङ्ग जोडेर कसरी पढाउने ? यसरी त्यस्ता पाठहरूलाई रुचिकर बनाएर पढाइयो भने सजिलै चाहिएजति उपलब्धि हासिल गर्न सकिन्छ भन्ने कुरो लामो अनुभवले देखाएको छ ।

अहिलेको युग सञ्चारको युग हो । सञ्चारका विभिन्न माध्यमहरूले पनि विद्यार्थीहरूलाई जिज्ञासु बनाएको छ । उनीहरूले थाहा पाउन खोजेका नयाँ–नयाँ विषयहरूमा धेरै प्रश्न र अडकलबाजी गर्दछन् । यसबाट के प्रस्ट हुन्छ भने अहिलेका विद्यार्थीहरूलाई परम्परागत तरीकाले पढाएर सन्तुष्ट पार्न सकिंदैन किनभने त्यस्ता प्रश्नहरू कहिले काहीं अप्ठेरो महसूस गर्ने पनि हुन सक्छ । यस कारण विद्यार्थीलाई हप्काएर चुप लगाउनु भन्दा शिक्षक वा अभिभावकमा पनि पढ्ने वा सञ्चारको प्रयोग गर्ने बानी बसाल्नु नितान्त आवश्यक छ । यसरी गरे मात्र विद्यार्थीहरूको प्रश्नको तर्कपूर्ण जवाफ दिन सकिन्छ । कतिपय प्रश्नका जवाफ दिन अप्ठेरो हुन्छ, त्यसमा यो भन्न सकिन्छ कि तिमी अलि ठूलो भएपछि योभन्दा बढी कुरा थाहा पाउने छौ ।

कहिलेकाहीं छडी वा अन्य तरीकाले विद्यार्थीहरूको जिज्ञासा जबरदस्ती दमन गर्न खोजियो भने सो विद्यार्थी अभिभावक वा शिक्षकसँग विद्रोही बन्ने मार्ग रोज्न पुग्दछ र कहिलेकाहीं लोभ देखाउँदा बढी मेहनेत गरेर पढ्ने कार्य पनि गर्दछन् । तर के ध्यान दिनुपर्छ भने यो उसको बानी नबनोस् । यसरी सन्तानको शिक्षाप्रति अभिभावक वा शिक्षकले एक पक्षमा मात्र नभई अन्य पक्षमा पनि दृष्टि पु¥याउनुपर्ने हुन्छ । यहाँ के स्मरण गर्नुुपर्ने हुन्छ भने विद्यार्थीहरूले गरेको कार्यको समय–समयमा निरीक्षण गर्नुको अर्थ उसको पछाडि लाग्नु होइन । त्यसैले समयानुसार उसको कापी किताब पल्टाएर हेर्नुपर्छ । समय–समयमा शिक्षकहरूद्वारा पनि विद्यार्थीहरूको झोला, कापी, किताब निरीक्षण गरिराख्नुपर्छ । तर उनीहरूसँग कुनै त्रुटि भएको छ भने अविलम्ब भनिहाल्नु जरूरी हैन । कहिलेकाहीं प्रधानाध्यापकसँग भेटघाट र विद्यालयका अन्य शिक्षकहरूसँग विद्यार्थी सम्बन्धमा जानकारी लिनु विद्यार्थीका लागि हितकर हुन्छ । यसरी गर्दा विद्यार्थीहरूलाई नकारात्मकताबाट सजिलै जोगाउन सकिन्छ ।

आजभोलिका अधिकांश अभिभावक वा शिक्षक विद्यार्थीप्रति त्यति सकारात्मक र सन्तुष्ट देखिंदैनन् । शिक्षण पेशामा संलग्नहरूलाई कहिलेकाहीं “ट्युशनको धन्धा गर्ने वा व्यापार गर्ने पक्ष” भनेर पनि आरोप लाग्ने गरेको छ । यो प्रहार कुनै एक शिक्षकमाथि नभई यस पेशामा संलग्न सबैको आत्मसम्मानमा ठेस पु¥याउने आरोप हो । यस कारण यस पेशामा संलग्न सबैले यसप्रति गम्भीर हुनु आवश्यक छ । यस पेशामा संलग्न सबैले आफ्नो काम यदि सन्तोषपूर्ण ढङ्गले गर्छन् भने कुनै पनि विद्यार्थी, अभिभावक वा समाजले कसैको व्यक्तिगत नाम लिएर उपेक्षापूर्ण दृष्टिले हर्दैन । अभिभावक वा समाजले पनि ध्यान राख्नुपर्ने कुरो के हो भने विद्यार्थीको अगाडि कुनै शिक्षकको सम्बन्धमा नकारात्मक कुरा न गरून् किनभने विद्यार्थीहरूको मनोमस्तिष्कमा शिक्षकहरूप्रति सम्मानको भावना जागृत भयो भने मात्र हाम्रा विद्यार्थीहरू पढाइको क्षेत्रमा अत्यधिक सफलता हासिल गर्न सक्छन् ।

यसै सन्दर्भमा केही कुराहरू स्वयं अध्यापन कार्यमा संलग्न पक्षसँग के भन्न चाहन्छु भने शिक्षकहरूको सन्तान पनि कुनै न कुनै विद्यालयमा अध्ययन गर्ने गर्दछन् र त्यस विद्यालयका सम्बन्धमा धेरैजसो शिक्षकहरूले के भन्ने गरेको पाइएको छ भने त्यस विद्यालयमा विद्यार्थीहरूको पढाइप्रति एकदमै ध्यान दिइन्न । उनीहरूको गृहकार्य पनि राम्ररी जाँच्ने गरिन्न । फलानो विद्यालयले त शिक्षालाई व्यापार नै बनाएको छ । तर जुन विद्यालयमा आफू कार्यरत छौं त्यहाँ पनि त तपाईंजस्तै कसैको सन्तान उज्ज्वल भविष्यको चाहना बोकी भर्ना भएका छन् । हुन सक्छ ती विद्यार्थीका अभिभावकहरू पनि तपाईं कार्यरत विद्यालय र त्यहाँको पढाइ सम्बन्धमा त्यस्तै टीका–टिप्पणी गर्दा होऊन् ! यस विषयमा यदि प्रत्येक शिक्षण पेशामा संलग्न पक्षले आत्मचिन्तन गरेर व्यावहारिक आन्दोलनको रूपमा प्रयोग गर्ने–गराउने हो भने शिक्षा क्षेत्रमा ठूलो क्रान्ति ल्याउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here