अमलेखगंज (बारा), २४ मङ्सिर/रासस
नेपाल आयल निगमले बाराको अमलेखगंजमा पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारण गृह (टङ्की) निर्माण गर्ने तयारी थालेको छ ।
विसं २०७६ भदौ २४ गते भारतको मोतिहारीदेखि नेपालको बारा जिल्लाको अमलेखगंजसम्म ६९ किलोमिटर, “मल्टी पाइप लाइन’ विस्तार गरेर डिजेल ल्याउन शुरू गरेको निगमले पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारण गृह निर्माण गर्ने तयारी थालेको हो ।
पाइपलाइन विस्तार भएको ६९ किलोमिटर क्षेत्रमध्ये भारतमा ३३ र नेपालमा ३६ किलोमिटर भूभाग पर्दछ । उक्त पाइपलाइन विस्तारका लागि भारतीय आयल निगमले रु दुई अर्ब भारतीय रुपैंयँ खर्च गरेको थियो ।
एउटै पाइपलाइनबाट पेट्रोल, डिजेल र मट्टीतेल ल्याउन मिल्ने भएपनि भण्डारणका लागि छुट्टै भण्डारण गृह नहुँदा पेट्रोल र मटीतेल पाइपलाइनबाट ल्याउन समस्या भएको थियो । अमलेखगंजमा पेट्रोल र मटीतेलको लागि भण्डारण गृह नहुँदा पाइपलाइनको उपयोग ५० प्रतिशतभन्दा कम भएको छ ।
अमलेखगंजमा हाल डिजेल भण्डारणका लागि दुई लाख ४५ हजार लिटरका टङ्की, एकक ४१ लाख तथा अर्को ३९ लाख लिटरको ट्यङ्की रहेको छ । उक्त क्षेत्रबाट हाल एकैपटक २१ गाडीले डिजेल भर्न पाउँछन् । पाइपलाइनमार्फत भारतको मोतिहारीदेखि अमलेखगंजसम्म डिजेल ल्याउँदा निगमको वार्षिक रु दुई अर्ब रकम बचत हुँदै आएको छ ।
नेपाल आयल निगम अमलेखगंजका प्रमुख इन्जिनीयर प्रदीपकुमार यादव पेट्रोल र मटीतेल ल्याउनका लागि आयल निगमले छुट्टै भण्डारण गृह बनाउन शुरू गर्न लागेको बताउँछन् । “पेट्रोल भण्डारण गृह निर्माण गर्नका लागि हामीले भारतीय निर्माण व्यवसायी कम्पनी र भारतीय आयल निगमका प्रतिनिधिसँग निरन्तर छलफल गरिरहेका छौं,” उनी भन्छन् ।
निगमले पेट्रोलको भण्डारण गृह निर्माणका लागि मङ्सिर २३ (हिजो) मात्र भारतीय निर्माण कम्पनी र भारतीय आयल निगम पटनाका प्रमुखसँग भेटेर छलफल गरेको छ ।
पाइपलाइन बनाएर पूर्णरूपमा प्रयोग गर्नका लागि पेट्रोल भण्डारण गृह बनाउन लागिएको इन्जिनीयर यादवको भनाइ छ । उनले सन् २०२४ को जनवरीसम्म पेट्रोल भण्डारण गृह सम्पन्न गर्ने गरी काम अगाडि बढाउन लागिएको बताए ।
डिजेलका लागि भारत सरकारको अनुदानमा भण्डारण गृह निर्माण गरिदिए पनि पेट्रोल भण्डारणका लागि भने नेपाल आफैंले भण्डारण गृह बनाउन लागेको हो । त्यसका लागि एक अर्ब ५४ करोड भारतीय रुपैयाँ लाग्ने निगमले जनाएको छ । यस्तै, भारतले पनि अनुदानस्वरूप ८० करोड भारतीय रुपैयाँमा छुट्टै पेट्रोल टङ्की निर्माण गरिदिने भएको छ ।
अमलेखगंजमा पेट्रोल भण्डारण गृह निर्माण भएसँगै नेपाल आयल निगमको मासिक १२ देखि १५ करोड तथा वार्षिक रु एक अर्ब ५० करोड रकम बचत हुनेछ । हाल अमलेखगंज डिपोबाट डिजेल तथा पेट्रोल सङ्घीय राजधानी काठमाडौंसहित पोखरा, भैरहवा, चितवन, विराटनगरलगायतका क्षेत्रमा जाने गरेको छ ।
निगमका अमलेखगंज प्रमुख यादव भारतको मोतीहारीदेखि नेपालको सर्लाहीसम्म ग्याँसपाइपसमेत विस्तार गर्नेबारे परामर्श भइरहेको बताउँछन् । रु १२ अर्बको लागतमा ग्याँस पाइप तथा स्टोरेजको काम हुने उनको भनाइ छ । नेपालबाट हाल ग्याँस ढुवानी गर्दा वार्षिक रु छ अर्ब खर्च हुँदै आएको छ ।
निगम अमलेखगंजका मेकानिकल इन्जिनीयर प्रशान्त भट्टराई निगमको अमलेखगंज डिपोबाट देशको ७० प्रतिशत भूभागमा पेट्रोल, डिजेल तथा मटी तेल जाने गरेको बताउँछन् । “अमलेखगंज डिपोबाट दैनिक ६० लाख लिटर डिजेल तथा २० लाख लिटर पेट्रोल वितरण हुँदै आएको छ,” उनी भन्छन्, “यो परियोजना सञ्चालनमा आएपछि नेपाल–भारतको रक्सौल नाकामा देखिने जामको समस्या हट्नुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता हटेर जाने विश्वास निगमले लिएको छ ।”