- कुमारबन्धु रुपाखेती
हामी केटाकेटी हुँदा बुढापाकाहरूले ‘मुरकट्टा’ भूतको होनी–अनहोनी किस्सा सुनाइरहन्थे । उतिबेला टाउको नभएको, जीउ मात्र भएको भूतलाई मुरकट्टा भन्दथे रे । कसैले कहिल्यै नदेखे पनि त्यतिखेरको जनजिब्रोमा आश्चर्यजनकरूपमा मुरकट्टा अर्थात् टाउकोविहीन भूतको चर्चा परिचर्चा भइरहन्थ्यो । उतिबेलाको काल्पनिक र डरलाग्दो मुरकट्टालाई कसैले नदेखे पनि २०७९ को आम निर्वाचनले हामीलाई मुरकट्टा अथर्Fत् टाउको नभएको राजनैतिक दल छ भन्ने सन्देश दिएको छ । जसपाको टाउको उपेन्द्र यादव, लोसपाको राजेन्द्र महतो र राप्रपाका सर्वेसर्वा कमल थापालाई मतदाताहरूले पराजित गरेर मुरकट्टा अर्थात् टाउको नभएको दलमा परिणत गरिदिएका छन् । यिनीहरूको पराजय यिनको पार्टीका लागि ‘धड से सर अलग’ जस्तै भएको छ । यिनले अब सदनमा होइन सडकमा तर्साउन सक्छन् ।
अचेल त वास्तविकरूपमा थरीथरीका मुरकट्टाहरू हाम्रो सामु उपस्थित छन्, सदन बाहिर र सदनभित्र पनि । सत्तामा पुग्न उत्तर दक्षिण फर्केर आफ्नो सर कलम गराउनेहरू पनि हाम्रा लागि मुरकट्टा नै हुन् । सडकभन्दा सदनमा मुरकट्टा चतुर र खतरनाक बुझिन्छन् । एकताका सदनमा यस्तै मुरकट्टाहरूको जमातले पहिलो संविधानसभाबाट संविधान बनाउन दिएनन् र दोस्रोपटक निर्मित र बहुचर्चित संविधान २०७२ लाई समेत विवादको कठघरामा उभ्याइदिए । अहिले पनि नाम मात्रको टाउको भएका यी दलहरूले आरम्भदेखि नै खलबली मचाउन थालेका छन् । आधुनिक भाषामा मगज (दिमाग) भएर पनि उचित सोच्न नसक्नेलाई गोबर गणेश भनिन्छ तर यिनीहरू वास्तवमा गोबर गणेश नभएर मुरकट्टा नै हुन् । किनभने मुरकट्टाहरूले आफ्नो मात्रै भलो सोच्छन् । ‘ये खण्डहर भी कभी इमारत थी’ भन्ने अवस्थामा पुगेका काङ्ग्रेस, एमाले र माओवादीहरू अहिले पद र कुर्सीका लागि देशी विदेशीको मुरकट्टा बन्न तम्तयार भएर बसेको बुझिन्छ ।
‘देह में न लत्ता, चल कलकत्ता’ भनेजस्तै ठूला दलहरूलाई प्रधानमन्त्री नै चाहिएको छ । अब सौ बिमार, एक अनार भएपछि मुरकट्टाहरू जन्मिने नै भए । सदन र सडक दुवैतिर मुरकट्टाहरूको बिगबिगी भएपछि नेपाली जनताको कन्तविजोग कसले रोक्न सक्छ र १ अचेल त जनता बलिया भए, दरबार बलियो हुन्छको सट्टा विदेशीको चाकडी गरे, कुर्सीमा पकड हुन्छ भन्ने मुरकट्टा सोच हावी छ ।
हामीले बाल्यकालमा सुनेको काल्पनिक मुरकट्टाले प्रत्यक्षरूपमा कसैको हानि नोक्सानी गरेको नदेखिए पनि नेपाली राजनीतिमा हुर्कंदै गएको मुरकट्टाको जमातले मुलुकमा ठूलै हानि–नोक्सानी गर्ने सङ्केतहरू देखिंदै आएको छ । यिनीहरूको अदृश्य चलखेलले गर्दा मुलुक आत्मनिर्भरबाट परनिर्भर र अरूमा आश्रित हुँदै गएको छ । मुरकट्टाहरूकै बिगबिगीले गर्दा जनता विदेश पलायन हुने, रोजगारमूलक कलकारखाना बन्द हुने क्रम बढ्दो छ । देशमा यस्तै अवस्था बहाल रहने हो भने यहाँ मुरकट्टाहरू मात्रै रहने जिउँदा मानिस सधैं भय, त्रासको वातावरण बाँच्नुपर्ने अवस्था कसैले रोक्न सक्दैन, निश्चित छ ।