क्यानडामा इच्छा मृत्यु समस्या बन्दै गइरहेको छ । यहाँ गत वर्ष सन् २०२१ मा १० हजारभन्दा बढी मानिसले इच्छामृत्युको माध्यमबाट ज्यान दिएका छन् । क्यानडामा वर्षभरि भएको कुल मृत्युमध्ये तीन प्रतिशत बढी हो । अब चार महीनापछि मार्च २०२३ मा मानसिकरूपमा बिमार मानिसले पनि कानूनन इच्छामृत्युको स्वीकृति पाउने छन् । यस अन्तर्गत नाबालिकलाई पनि इच्छामृत्युको अधिकार दिइने छ । यति ठूलो सङ्ख्यामा इच्छा मृत्यु गर्ने कारणबारे ‘द डिप प्लेसेसः ए मेमोएर अफ इलनेस एन्ड डिस्कभरी’का लेखक रोस दौतहत भन्छन्– जब वर्षभरिमा १० हजार मानिस इच्छामृत्यु गरिरहेका छन् भने इच्छामृत्युको स्वीकृति कुनै सिभिल सोसाइटीको निशानी रहने छैन, बरु यो आतङ्कको राज्य हुनेछ ।
रोसले भने– यद्यपि देशमा अधिकांश व्यक्ति इच्छामृत्युको स्वीकृतिको समर्थनमा छन् । उनीहरूको भनाइ छ गरिमासँगै जीवन जिउने र गरिमासँगै मर्न पाउने मनुष्यको अधिकार हो । एसोसिएट प्रेसकी मारिया चेंगले आफ्नो रिपोर्टमा भनेकी छन्–क्यानडामा स्वास्थ्यकर्मीहरू यस्तो व्यक्तिलाई पनि युथेनेशियाको सल्लाह दिइरहेका छन्, जुन आर्थिक तङ्गीको कारण परेशान छन् र आत्महत्याबारे सोच्छन् ।
रोस दौतहटले भने– यो स्वाभाविकरूपमा विनाशकारी विचार हो । यदि यसलाई यस्तै छाड्यौं भने आउँदा समयमा यस्तो समाज तयार हुन्छ, जहाँ मानिस मृत्युलाई राम्रो ठान्छ र यो मानवताको अन्तिम अध्याय हुनेछ ।
सन् २०१६ मा इच्छामृत्युबारे कानून बन्यो र हरेक वर्ष इच्छामृत्युको मामिला बढिरहेको छ । कुनै कारणले समस्या भोगिरहेका १८ वर्षभन्दा बढी उमेरका व्यक्तिलाई इच्छामृत्युको स्वीकृति दिइन्छ । सन् २०२१ मा २०२० को तुलनामा इच्छामृत्युको ३३ प्रतिशत बढी मामिला देखिएको छ । अब मानव अधिकार सङ्गठनले पनि क्यानडामा बढ्दो इच्छामृत्युबारे प्रश्न उठाउन थालेका छन् ।