• अनन्तकुमार लाल दास

आज हरेक क्षेत्रमा कडा प्रतिस्पर्धा छ । यस कारण जुनसुकै परीक्षाले विद्यार्थीहरूमा उत्तेजना र तनाव हुनु स्वाभाविक हो, किनभने यसको प्रमुख कारण असफल हुने भय हो । यदि कुनै विद्यार्थीलाई आफ्नो लक्ष्य र स्वयंको कमी–कमजोरीबारे थाहा छ भने उसले सफलता हासिल गर्न केही विशेष क्षमता र तरीका अख्तियार गर्छ, जसले उसलाई राम्रो परिणाम दिलाउन मदत पु¥याउँछ । यस आलेखमार्फत परीक्षासँग सम्बन्धित यिनै कुराहरू विद्यार्थीमाझ छलफल गर्न खोजिएको हो ।

असफलताको सम्बन्ध अपमानसँग हुन्छ र कोही पनि अपमानित हुन चाहँदैन । यसको सकारात्मक पक्ष के हो भने विद्यार्थीहरूमा उत्तेजना र तनाव देखापर्नु एक प्रकारले राम्रो पनि हो, किनभने यसले उनीहरूलाई बढी परिश्रम गर्ने प्रेरणा दिन्छ । तर यसको नकारात्मक पक्ष के हो भने यसबाट उनीहरूमा कैयौं स्वास्थ्यसम्बन्धी समस्या देखापर्छ–जस्तै, टाउको र पेट दुख्नु, निद्रा र भोक नलाग्नु आदि । परिणामस्वरूप उनीहरूको स्मरण शक्ति क्षीण हुन थाल्छ ।

परीक्षाको उत्तेजना र तनाव हटाउने एउटै उपाय हो आत्मविश्वासमा वृद्धि । यो अनुशासन र राम्रो तयारीबाट मात्र प्राप्त हुन सक्छ । आत्मविश्वास वृद्धि गर्ने अर्को तरीका नियमित विषयगत अभ्यास गर्नु पनि हो । यसका लागि किताबी कीडा मात्र पनि बन्नुहुन्न । उत्तेजना र तानावबाट बच्नका लागि विद्यार्थीहरूले अनेक प्रकारका गतिविधिमा शामिल हुनुपर्छ साथै बीचबीचमा आराम पनि गर्नुपर्छ । यसको लागि विद्यार्थीहरूले सुव्यवस्थित र सन्तुलित दैनिक कार्यतालिका र आहारतालिका बनाउनु नितान्त आवश्यक हुन्छ । कहिलेकाहीं हतारमा तनावबाट मुक्ति पाउनका लागि विद्यार्थीहरूले केही औखति पनि लिन्छन् जुन केही क्षणका लागि लाभदायक भए तापनि पटक–पटकको सेवनले यसको लत बस्ने सम्भावना बढी भएकोले विद्यार्थीको हकमा उचित हुँदैन ।

विद्यार्थीहरूले आत्मविश्वास गुमाउनुको अर्को कारण साथीहरूसँग आफ्नो तुलना गर्नु पनि हो । प्रायः परीक्षा पूर्व के देखिएको छ भने विद्यार्थीहरू आफ्नो क्षमतालाई ध्यानमा नराखी साथीहरूको लहलहैमा लाग्न थाल्छन् र साथीहरूको कुरा सुनेर आफ्नो तयारीप्रति शङ्का–उपशङ्का गर्न थाल्छन् । यस परिवेशको शिकार हुनबाट जोगिनुपर्छ र आफ्नो सम्पूर्ण ध्यान तयारीमा मात्र केन्द्रित गर्नुपर्छ । यदि कुनै समस्या छ भने अभिभावक वा शिक्षहरूसँग सल्लाह लिनुपर्छ ।

परीक्षासम्बन्धी भयको पछाडि अभिभावक, विद्यालय, शिक्षक, सञ्चार र स्वयं विद्यार्थी पनि दोषी छन् । अभिभावकहरूको विद्यार्थीबाट क्षमताभन्दा बढी अङ्कको चाहना, परीक्षा सम्बन्धमा विद्यालयद्वारा विद्यार्थीहरूलाई मार्ग निर्देशनको अभाव, सञ्चारद्वारा परीक्षा सम्बन्धमा गलत समाचार सम्प्रेषण, शिक्षकले विद्यार्थीलाई ट्युशनमुखी बनाउन कक्षामा राम्ररी नपढाइदिने र स्वयं विद्यार्थीद्वारा नियमित कक्षामा उपस्थित नहुने र नबुझेका कुरा शिक्षकहरूसित नसोध्ने आदि प्रवृत्तिले पनि विद्यार्थीहरूलाई भयभीत बनाइराखेको हुन्छ । भय निदानको कुनै ओखति छैन । आफूमा विश्वास हुनु, आलोचनालाई नकारात्मकरूपमा नलिनु, ‘राम्रो गर्न सक्छु’ भन्ने विश्वास राख्नुले पनि परीक्षाको भयलाई मत्थर पार्न सकिन्छ ।

प्रत्येक वर्ष परीक्षार्थीहरूको सङ्ख्यामा वृद्धिले गर्दा विद्यार्थीहरूको आवश्यकता परिपूर्ति गर्ने नाउँमा अनेक किसिमका धन्धा चलेका छन् । यस कारण आफ्नो परिस्थितिलाई ध्यानमा राखी के बुझ्नु आवश्यक छ भने के यस्ता मदतले परीक्षामा राम्रो परिणाम हासिल हुन सक्छ ? हुनत यस क्षेत्रको मुख्य उद्देश्य नै परीक्षाको लागि तयार गर्नु हो तर त्यस्तो मदत लिनुपूर्व त्यसलाई बुझ्न पनि त्यति नै आवश्यक छ ।

परीक्षाको बेला विभिन्न प्रकाशनबाट प्रकाशित गेसपेपरहरूले पनि विद्यार्थीहरूको तयारीलाई भ्रममा पार्ने काम गरेको मेरो अनुभव रहेको छ । किनभने विद्यार्थीहरूले पहिले गरेको तयारीको अनुगमन नगर्दा गर्दै हतारमा गेसपेपरको भरमा नयाँ तयारी थालनी गर्दछन् । परिणामस्वरूप परीक्षापूर्व विद्यार्थीहरूको मनोविज्ञानलाई राम्ररी बुझेका व्यापारीहरूको गेसपेपरको बजार फस्टाउँछ । उनीहरू त मालामाल हुन्छन्, तर हरेक वर्षको उत्तीर्णाङ्क प्रतिशतले विद्यार्थीहरू कङ्गाल हुने गरेको कुरा प्रमाणित गरेको छ ।

परीक्षाको तयारी गर्ने क्रममा आउने समस्याको समाधान तत्काल गर्नुपर्दछ । कुनै पनि समस्याको समाधान ‘भोलि’ माथि टार्नु उचित हुँदैन । यसले गर्दा परीक्षामा अल्मलिने सम्भावना बढी हुन्छ । जसरी पाकेको फसल काट्नुपूर्व आएको हुरीबतासले वा समयानुसार मलजलको अभावले बाली सखाफ पार्न सक्छ त्यसैगरी विद्यार्थीहरूको मनोविज्ञान र सन्तुलित आहारप्रतिको लापरवाहीले गर्दा पनि सालभरि अभिभावकले गरेको लगानी खेर जान सक्दछ । त्यसैले विद्यार्थीहरूलाई हतोत्साहित गर्ने कार्य कुनै पक्षले गर्नुहुन्न भन्ने कुरामा सबै पक्ष सचेत हुनैपर्छ ।

परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई बढी ऊर्जा आवश्यक पर्दछ । यस कारण विद्यार्थीहरूले शारीरिक व्यायाम–बिहान घुम्ने, मेडिटेशन वा श्वाससँग सम्बन्धित योग गर्नुपर्छ । बढी मसला भएको खाना खानुहुँदैन । हरियो सागसब्जी र फलफूल खानु र सूर्योदयपूर्व जाग्नु विद्यार्थीहरूका लागि बढी लाभदायक हुन्छ ।

यसबाहेक तपाईंलाई सहयोग गर्ने स्रोत को–को र के–के हुन सक्छ, त्यसबारे पत्ता लगाउनुपर्छ । के–के गर्ने हो, त्यसको सूची तयार गर्नुपर्छ । बिहान कसरी अध्ययन गर्ने, बेलुका के–के गर्ने, विश्राम कुन बेला गर्ने, कति समयलाई कुन काम गर्ने आदि, तालिका बनाएर अध्ययन कक्ष्Fमा झुन्ड्याउनुपर्छ । यस प्रकार भोलिका लागि तयार भई सुत्नुपर्छ ।

हुनत विद्यालय वा क्याम्पसमा एउटा निश्चित पाठ्यक्रम अनुसार पढाइ हुने गर्छ तर परीक्षाको लागि खास दक्षता प्रदान गर्न विद्यालय र क्याम्पसले सकिरहेका छैनन् । यस कमीलाई पूरा गर्न सानो होस् वा ठूलो सबै ठाउँमा कोचिङ्ग केन्द्रहरू खुलेका छन् । तर आजभोलि यो एउटा व्यापारको रूपमा विकसित हुँदै गएको छ । यस कारण त्यसबारे राम्ररी बुझ्नु आवश्यक छ, अन्यथा पैसा र समय दुवै खेर जाने सम्भावना रहन्छ ।

वर्तमानमा इन्टरनेट, सूचना र ज्ञानको असीमित स्रोतको रूपमा देखा परेको छ । जोसँग आफ्नो क्म्प्युटर छैन, उसले पनि साइबर कैफेमा गई यसबाट लाभ उठाउन सक्छ । यस कारण यी साइटहरू– धधध।जयधतयकतगमथ।अयm, धधध।mबतजनययमष्भक।अयm, धधध।ाचभभ।भम।लभत, धधध।धयचमिधष्मभभिबचल।अयm, धधध।धष्अपष्उभमष्ब।अयm, धधध।बििभहउभचतक।अयm को पनि सहायता लिन सकिन्छ । परीक्षामा सफलता हासिल गर्न कुनै पनि सहयोगले लाभ हुन्छ तर स्वाध्ययन र कडा परिश्रम चाहिं निर्विकल्प छ । यस कारण सहयोग त लिनोस् तर त्यसमाथि निर्भर चाहिं नहुनुहोस् ।

परीक्षाको तयारी गर्दा अध्ययनपश्चात् बचेको खाली समयको सदुपयोग बुद्धिमानी साथ गर्नुपर्छ । यस समयलाई तयार गरिएको नोट्सहरूको अध्ययनमा बिताउनुपर्छ । नबुझेका कुरा सोध्नुपर्छ । चौबीस घण्टामा भएका गलती संशोधन गर्न खर्च गर्नुपर्छ । कक्षामा पढाइएका विषयका प्रमुख शब्दहरूको तल रेखा तान्न बिताउनुपर्छ । यस समयलाई आफ्नो क्रियाकलापको समीक्षा गर्न खर्च गर्नुपर्छ । आफ्नो समयल अझ कति राम्ररी प्रयोग गर्ने भन्ने सम्बन्धमा मापदण्ड तयार गर्न व्यतीत गर्नुपर्छ । यो तपाईंमाथि निर्भर छ कि खाली समयको उपयोग कसरी गर्नुहुन्छ, किनभने परीक्षामा राम्रो अङ्क हासिल गर्न समयलाई वशमा गर्नु नितान्त आवश्यक छ ।

परीक्षाको तयारी गर्ने क्रममा दुईवटा कठिन विषयको बीचमा एउटा सजिलो विषय पढ्नुपर्छ । कठिन लाग्ने विषयको पुनरावृत्ति गर्न अप्ठेरो भइरहेको छ भने त्यसलाई बुँदागतरूपमा वर्गीकृत गरेर पढ्दा सजिलो हुन्छ । दिनभरि पढेको विषय राति सुत्ने बेला एकपटक सरसर्ती सम्झने अभ्यास गर्दा  बिर्सने बानी सुधार्न सकिन्छ । जुन पाठ आज पढ्न शुरू गरियो त्यसलाई आजै समाप्त गर्ने कोशिश गर्नुपर्छ । कहिलेकाहीं आफूलाई सजिलो लाग्ने विषय बढी पढ्ने र कठिन विषयमा कम ध्यान दिंदा गलत परिणाम हात लाग्छ, यो भनेको आफ्नो खुट्टामा आपैंm बन्चरो हान्नुजस्तै हो ।

हुनत त यस्तो कुनै सटीक फर्मूला छैन, जसबाट सजिलै परीक्षामा राम्रो परिणाम हासिल हुन सकोस्, तर माथि उल्लिखित थुप्रै ससाना यस्ता कुरा छन् जसको नियमितताले सफलता सजिलै हासिल हुन सक्छ । कहिलेकाहीं तपाईंले सोचेको जस्तो सफलता हासिल न पनि हुन सक्दछ, तर तपाईंलाई निराश हुने आवश्यकता छैन । त्यहीं कहिलेकाहीं बढी आत्मविश्वासले पनि तपाईंलाई असफलताको सामना गर्नुपर्ने स्थिति सृजना हुन सक्दछ । यदि तपाईं असफलता स्वीकार गर्नुहुन्न भने कहिले पनि असफल हुन सक्नुहुन्न । यस कारण सधैं नयाँ कुरा राम्रो तरीकाले गर्ने बानी बसाल्नुहोस् । तपाईं परीक्षामा कुन ग्रेड हासिल गर्न चाहनुहुन्छ, यो तपाईंमाथि निर्भर छ किनभने परीक्षामा सफलता वा असफलताको जिम्मेवार तपाईं स्वयं हुनुहुन्छ । यदि तपाईमा जित्ने भावना छ भने कसैले तपाईंलाई हराउन सक्दैन । परीक्षाको तयारी भनेको क्रिकेटको त्यो तेज बल हो, जसलाई बैटले हलुका छुँदा छक्का नै हुन्छ तर अल्मलियो भने बोल्ड हुने सम्भावना बढी हुन्छ । सोच्नुहोस् के गर्दा बेस हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here