प्रस, वीरगंज, ७ मङ्सिर/
पर्सा जिल्लामा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । आठवटै क्षेत्रका उम्मेदवारको मतपरिणाम सार्वजनिक भएको छ ।
मङ्सिर ५ गतेदेखि भएको मतगणनामा दोस्रो दिन तीनजना उम्मेदवारको मतपरिणाम सार्वजनिक भएको थियो । पर्सा क्षेत्र नं २ (१)बाट नेपाली काङ्ग्रेसका श्याम पटेल, ४ (१) बाट शङ्कर चौधरी र ४ (२) बाट जसपाका सिंहासन साह कलवार निर्वाचित भएका थिए ।
बुधवार बाँकी पाँचवटै प्रदेशसभा सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । पर्सा क्ष्Fेत्र नं १ (१) बाट माओवादी केन्द्रका रहबर अन्सारी विजयी भएका छन् । सात हजार ८१७ मत ल्याएर उनी विजयी भएका हुन् भने उनका निकटम प्रतिद्वन्द्वी एमालेका विचारी यादवले पाँच हजार ५१९ मत ल्याए ।
यसपटक जितेका रहबर अन्सारी यसअघि २०७४ को चुनावमा प्रदेशसभा सदस्यमा तेस्रो नम्बरमा थिए । त्यति बेला जसपाबाट जितेका जन्नत अन्सारी यसपटकको चुनावमा स्वतन्त्र उम्मेदवार थिए र उनी तेस्रो भए । जन्नत जितेको बेलामा तेस्रो भएका रहबर एक हजार ८९९ मतले पराजित भएका थिए भने अहिले उनले निकटतम प्रतिद्वन्द्वी यादवलाई दुई हजार २८८ मतान्तरले विजयी भए ।
यसैगरी, क्षेत्र नं १ (२)बाट लालबाबूराउत गद्दी सात हजार ५४५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकाका रामनारायण कुर्मीले छ हजार २९२ मत ल्याए । मुख्यमन्त्रीसमेत रहेका गद्दीले कुर्मीलाई एक हजार २५३ मतान्तरले पराजित गरेका छन् ।
क्षेत्र नं २ (२)बाट लोसपाका रमेश कुर्मी विजयी भए । गत चुनावमा पनि उनी जितेका थिए । यसपटक उनले नौ हजार ४७१ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार रूपेशमान सिंहले छ हजार ८३४ मत ल्याए । कुर्मीले सिंहलाई दुई हजार ६३७ मतान्तरले पराजित गरेका छन् । यसअघि उनले २०७४ को चुनावमा नेकाका रामरूप कुर्मीलाई दुई हजार ३४ मतान्तरले पराजित गरेका थिए ।
पर्सा क्षेत्र नं ३ (१)बाट स्वतन्त्र उम्मेदवार प्रमोद जयसवाल सात हजार ३८१ मत ल्याएर विजयी भए । उनका निटकटम प्रतिद्वन्द्वी एमालेका अब्दुल रहिम अन्सारीले पाँच हजार ९०० मत ल्याए । जयसवाल सखुवाप्रसौनी गापाका पूर्वअध्यक्ष प्रदीप जयसवालका सहोदर भाइ हुन् । जसपाबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले यसअघि जितेका अन्सारीलाई एक हजार ३५१ मतान्तरले पराजित गरेका छन् । अन्सारी जसपा परित्याग गरी हालै मात्र एमाले प्रवेश गरी उम्मेदवार बनेका थिए ।
पर्सा क्षेत्र नं ३ (२)मा नेकाका जनार्दनसिंह क्षत्री १० हजार १७२ मत ल्याए विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी डा मधु गुप्ताले सात ४९६ मत ल्याइन् । २०७४ को चुनावमा सिंह ९७ मतान्तरले जसपाका तत्कालीन उम्मेदवार प्रह्लाद गिरीसँग पराजित भएका थिए । यो चुनावमा उनले दुई हजार ६७६ मतान्तरले निकटतम प्रतिद्वन्द्वी डा गुप्तालाई पराजित गरे भने तेस्रो भएका हाल नेकपा (एकीकृत समाजवादी)का प्रह्लाद गिरीभन्दा तीन हजार ६६९ बढी मत ल्याएर जितेका छन् ।