–भूमिराज पिठातोली
बझाङ, २४ कात्तिक /रासस
बुङ्गल नगरपालिका–३ का जनक बोहरा सिलदेवी मेलाका लागि हप्ता दिन नै सदरमुकाम चैनपुर बसे । फर्कने बेलामा कोसेलीका लागि भन्दै उनले निरन्तर स्याउ खोजे, त्यसमा पनि साइपालमैं फलेको । दिनमा एकपटक बजार डुलिरहे । घर जान लागेकै दिन संयोगवश मल्लो बजारमा एक बोरा साइपाले स्याउ भेटे र सबै खरीद गरेर घरतर्फ लागे ।
“उहाँले लगातार साइपालकै स्याउ किन खोज्नुभयो ?” धेरैको मनमा प्रश्न उब्जन सक्छ । बोहरालाई साइपाल बसेको लामो अनुभव छ । दशैं तिहारको समयबाहेक उनी साइपालमैं बस्छन् । घर आउँदा विशेषगरी उनको कोसेली नै स्याउ हुन्छ । उनका छिमेकीले समेत साइपाले स्याउको स्वाद चाखेका छन् । बोहोरा घर आउन लागेको थाहा पाएपछि साइपाले स्याउकै माग हुन्छ ।
बजारमा जतिसुकै स्याउ आए पनि साइपालको जस्तो मीठो अन्त नहुने भन्दै चैनपुर आएको मौकामा स्याउ खोजेको उनले बताए । उनले भने–“बजारमा धेरै प्रकारको स्याउ आउँछ । हाम्रै बझाङमा पनि विभिन्न क्षेत्रको स्याउ पर्याप्त हुन्छ तर, स्वादिलो भने साइपालकै हुन्छ ।” “बुङ्गलको स्याउको लोकप्रियता पनि कम छैन”–उनले भने–“साइपालको स्याउ धेरैजसो धेरैपटक खाएको हुँदा बुंली (बुङ्गली) स्याउको स्वादै लाग्दैन । स्याउ खानुप¥यो भने साइपालेकै याद आउँछ ।”
साइपालको स्याउले बजार पाए दिनमैं लाखौंको बिक्री हुने उनले अनुमान गरे । “साइपाले स्याउको बजार टाढा भएर मात्रै हो । नत्र यो स्याउ तराईसम्म पुग्ने हो भने दैनिक दशौं क्विन्टल बिक्री हुनथ्यो ।” उनी भन्छन् ।
खप्तडछान्ना गाउँँपालिका–५ का कुलप्रसाद जोशी पनि साइपालको स्याउ सम्झनेबित्तिकै मुख रसाउने बताउँछन् । साइपालका विभिन्न वडामा स्याउ सिजनमा नै धेरैपटक गएको हुँदा साइपाले स्याउ जतिको मीठो अन्य ठाउँको नलाग्ने उनले बताए । “म जतिपटक साइपाल गएँ, त्यतिपटक एक/एक झोला साइपाले स्याउ ल्याएँ ।” चीसोका कारण साइपालमा स्याउ मीठो हुने गरेको उनले बताए ।
“साइपालको स्याउ सबैका लागि “डाँडापारि सुन छ”, भनेजस्तै छ”–उनले भने–“तर, खच्चरमा ढुवानी गरेर सदरमुकामसम्म ल्याएको स्याउ संसारभर उत्पादन हुने स्याउसँग दाँज्ने हो भने पनि उत्कृष्ट पर्न सक्छ ।” साइपालको स्याउको स्वाद चाख्नेले कहिल्यै नबिर्सिने उनले बताए । “पछिल्लो दुई वर्ष भने साइपालबाटै एक/दुई झोला स्याउ खच्चरबाट मगाएँ”–उनले भने–“साइपालको स्याउ आयातितभन्दा सस्तो पनि मीठो पनि ।” भारत तथा अन्य जिल्लाबाट आउने स्याउभन्दा रु २०/३० सस्तो पर्ने उनले बताए ।
साइपालमा स्याउ उत्पादन बढ्दै गएको छ । शुरूमा आफैंलाई खान लगाउने कृषक अहिले व्यावसायिक खेती गर्न थालेका छन् । साइपाल गाउँँपालिकाका निवर्तमान अध्यक्ष राजेन्द्र धामीले मात्रै सयौं बोट स्याउ लगाएका छन् । “शुरूमा खानका लागि दुर्ई बोट लगाएको थिएँ । अहिले चार/पाँच सय बोट लगाएको छु । पन्ध्र/बीसवटा बोट त फल्न लागिसके”–उनले भने ।
धामीका अनुसार साइपालमा स्याउ ब्लक क्षेत्र भनेर कृषकले हजारौं बिरुवा रोपेका छन् । “उत्पादन पनि भइरहेको छ तर, बजार नपाउँदा सस्तोमैं गाउँँमा बिक्री गरिरहेका छौं”–उनले भने । गाउँँमा रु ६०/७० मैं बिक्री गर्ने गरेको उनले बताए । “स्याउ ढुवानी गर्न निकै कठिन छ”–उनले भने–“बिरुवा रोपेको तीन वर्षमैं फल्न शुरू भइसक्यो । बिक्रीका लागि बजार ल्याउन बाटो छैन । बोकेर सम्भव नै हुँदैन । थोरैथोरै सामान बोकेर फर्कने खच्चरमा पठाइरहेका छौं । हिउँ परेपछि खच्चर ढुवानी पनि बन्द हुन्छ ।”
साइपालमा राजेन्द्र धामीजस्तै एक दर्जन किसानले स्याउ फलाउन शुरू गरेका छन् । वडा नम्बर ४ को धुली, गजेरा, धलौन, लातडी, ज्यापी, सोगौली, सैनगाउँँ र गजेरा, वडा नम्बर ५ को तिउना, पलौडी, काकरकोटमा स्याउको उत्पादन फस्टाउँदै गएको गाउँँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जोशीले बताए ।
जोशीका अनुसार कृषि शाखाबाट लिएर स्याउको बिरुवाहरू कृषकले बढी रोप्न थालेका छन् । “कतिपयले उत्पादन गरेर बिक्रीसमेत गर्न थालिसके । कृषकले उत्पादन गरेको स्याउको बजारीकरणका लागि ढुवानी गर्न पालिकाले बजेट छुट्याएको छ । ढुवानीको लागि पैसा पर्दैन । कृषकले उत्पादन गरे निकै फाइदा हुन्छ”–उनले भने ।
यता कृषि ज्ञान केन्द्रले पनि साइपालमा स्याउ उत्पादन गर्नका लागि रु १५ लाख अनुदान दिएको बताएको छ । कृषि ज्ञान केन्द्र बझाड्ढा प्रमुख टेकबहादुर विष्टले उच्च घनत्व स्याउ संरक्षणका लागि साइपालमा १५ लाख दिएको बताए । उनले भने–“बझाड्ढा विभिन्न ठाउँमा स्याउको सम्भावना भए पनि साइपालमा चीसो हुने हुँदा हामीले बढी जोड दिएका छौं । त्यसैले साइपालमा फल्ने स्याउ बजारको रोजाइमा पनि पर्न थालेको हो ।”
विष्टले स्याउका लागि सबैभन्दा चीसो ठाउँ भयो भने स्याउ स्वादिष्ट हुने बताए । “चीसो ठाउँको उत्पादन स्वादिष्ट पनि हुन्छ, बजार पनि पाउँछ । त्यसैले हाम्रो पहिलो रोजाइ पनि बर्सेनि हिमपात हुने क्षेत्र साइपाल परेको हो । अन्य पालिकामा पनि केन्द्रले सहयोग गर्दै आएको छ ।”
विष्टका अनुसार बझाङमा सबैभन्दा बढी स्याउ साइपाल, थलारा, खप्तडछान्ना, तल्कोट तथा बुङ्गलको सिरानीमा उत्पादन हुने गरेको छ । अन्य पालिकामा पनि स्याउको उत्पादन बढ्दै गएको उनले बताए । यो सिजनमा मात्रै बझाङबाट डेढ सय मेट्रिक टन स्याउ निर्यात भएको विष्टले बताए । “विभिन्न पालिकाबाट करीब डेढ सय मेट्रिक टन स्याउ निर्यात भएको छ भने जिल्लामैं दुर्ई/तीन मेट्रिक टन बराबर खपत भएको अनुमान गरेका छौं”–उनले भने । जिल्लामैं प्रतिकिलो रु सयमा बिक्री हुने स्याउ तराईंका जिल्लासम्म पुग्दा रु डेढदेखि दुर्ई सयसम्म बिक्री हुने गरेको उनले बताए ।
स्याउ बोकेरै कृषक
खप्तडछान्ना गाउँपालिका–६ पुजारीगाउँका डबलबहादुर खड्का उमेरले ७० वर्ष कटिसकेका छन् । उनी युवा उमेरदेखि नै भारतको सिम्ला पहाडमा सिजन अनुसार धेरैपटक स्याउ बोक्न गए । आफ्नै भूमिजस्तो ठाउँमा पर्याप्त स्याउ फलेको देखेपछि डेढ दशक अघि नै उनले खालिगडामा करीब पाँच सय बिरुवा रोपे ।
“अहिलेको जस्तो अनुदान केही थिएन”–खड्काले भने–“सिम्ला पहाडमा स्याउ बोकेर कमाएको पैसाले नै स्याउका बिरुवा खरीद गरें र आठ/नौ फिटको अन्तरमा खाल्डो खन्दै रोपें । त्यसले तीन वर्षमै फल दिन थाल्यो । अहिले त्यसैबाट वार्षिक रु पाँच लाख बराबर आम्दानी भइरहेको छ ।” खड्काको स्याउबारीमा अहिले ५० क्विन्टलको हाराहारी स्याउ फल्छ । बैतडीमा तालीम लिएर स्याउ खेती गरेका खड्काले व्यावसायिकरूपमा खेती गर्न थालेको दशकपछि मात्रै छान्नामा अन्य कृषकले व्यावसायिक स्याउ उत्पादन गर्न थालेको उनले बताए । “मैले शुरूमा खालिगडामा स्याउ रोप्न जाँदा अन्न उत्पादन हुने जमीनमा स्याउ लगाएर जङ्गल बनाउन थाल्यो भन्नेहरू तीन/चार वर्षदेखि नै स्याउ माग्न थाले । पछि मेरै सल्लाह अनुसार धेरैले स्याउ खेती गरेका छन्”–उनले भने ।