नेपालीमा प्रसिद्ध उखान छ–ताप्के ताते पो, बिंड तातेर के हुन्छ ? आज नेपाल चुनावमय बनेको छ । चुनावको रहलपहल उत्कर्षमा पुगेको छ । चुनाव त हुन्छ, तर के चुनावमा उठेका उम्मेदवारहरू जितेर पदमा पुगेपछि उनीहरूले सार्थक क्रियाकलाप देखाउन सक्छन् ? आज देश सङ्घीयतामा गएको छ । देश सानै भए पनि विशाल सङ्ख्यामा राजनीतिक दलहरू खुलेका छन् । र भनिरहनुपर्दैन यतिका दल खुल्नुको पछाडि देश र जनताको हित होइन, दलका नेताहरूको स्वार्थपूर्ति हो । आजसम्मको चुनाव नतीजाले यही देखाएको छ । यो कुरा राजनीतिक दलहरूका शीर्ष नेता, देशको बौद्धिक क्षेत्र र जनता सबैले बुझेका छन् । त्यसैले बारम्बार बहस हुने गरेको छ, नयाँ अनुहार जिताउनुप¥यो । तर पार्टीहरूले ती मात्र अनुहार अगाडि सार्ने गरेको पाइन्छ, जो नितान्त पुरानो छ, किनकि दलहरूलाई यो विश्वास छ कि पुरानाहरू नै जित्छन् । दलहरूले नयाँ अनुहार नदिएपछि मतदाताले के गर्ने ? दलीय व्यवस्था भएको र चुनाव पनि दलीयताको आधारमा हुने हुँदा एक्लो व्यक्तिको दाल गल्दैन ।
पार्टीबेगर चुनाव जित्न सम्भव हुँदैन । र पार्टीले मतदाताले चाहेको उम्मेदवार दिंदैन । यस्तोमा परिवर्तन चाहने व्यक्तिका लागि स्वतन्त्र उम्मेदवारीबाहेक अरू बाटो नै के छ ? बितेको स्थानीय निर्वाचनमा केही महŒवपूर्ण ठाउँमा स्वतन्त्र उम्मेदवारहरूले जितेपछि लगत्तै आएको संसदीय र प्रादेशिक चुनावमा, त्यसैले स्वतन्त्र उम्मेदवारहरूको भेल आएको छ । तर यो भेल भनेको बिंड हो, ताप्केको बिंड । ताप्के भनेको मतदाता हो । परिवर्तनका लागि जनता नतातेसम्म केही हुँदैन । नयाँ अनुहारको कामना मतदाताले जति गरे पनि नेताहरू नमरुन्जेल पद छाड्दैनन् । नयाँ अनुहार उनका शीर्षस्थताका लागि जोखिम हो । त्यसैले जनतालाई, मतदातालाई, पार्टीका आफ्नै कार्यकर्तालाई रनभुल्लमा पारेर चुनावी गठबन्धन गर्न पुगेका छन् । धेरै पार्टी मिलेर गठबन्धन बनाई एकले अर्काविरुद्ध उम्मेदवारी नदिने र सबै मिलेर एउटालाई भोट दिने हुँदा शीर्ष नेताहरूको विजय पक्का बन्छ । यसरी नेपालमा कहिले पनि परिवर्तन आउन पाउँदैन । व्यक्ति परिवर्तन नभएसम्म, न शासन व्यवस्थामा परिवर्तन हुन्छ, न देशले काँचुली नै फेर्न सक्छ । शीर्ष नेताहरूको यस स्याल प्रवृत्तिको तोड मात्र र एकमात्र मतदाताले दिन सक्छ । स्वतन्त्र उम्मेदवारी जनताको त्यस्तै प्रतिक्रियाको आस हो । तर जनता तातेको छैन । जनता व्यवस्था परिवर्तन गर्न जस्तोसुकै बलिदान दिन तत्पर हुन्छ, तर व्यक्ति परिवर्तनप्रति उसको प्रतिक्रिया सदैव यथास्थिर रहने गरेको छ ।
त्यसैले आज संसदीय व्यवस्थाको विकल्प साम्यवादी व्यवस्थाको सरकार भन्न थालिएको छ । केही उग्र साम्यवादी त्यसतर्फ लाग्छन् तर सत्ताको चासनीमा उनीहरू लहसिन्छन् । के एमाले, के माओवादी सबै लुते छन्, अरूको सहाराबेगर उठ्न सक्दैनन् । आफू सक्षम बन्ने आँट छैन । रह्यो संसद्वादी नेपाली काङ्ग्रेस, उसका शीर्ष नेताहरू पनि आफैंमा सक्षम छैनन् । उनीहरूलाई आफू जित्नु छ, आफ्नो भरियाहरूलाई जिताउनु छ, अनि त जतिजति अलोकप्रिय बन्दै जान्छन्, चुनाव जित्ने विभिन्न रणनीति खोज्छन् । चुनाव लड्न गठबन्धन गर्छन्, कार्यकर्तालाई घाँडो बनाई पार्टी भाँड्छन् । यद्यपि स्वतन्त्र उम्मेदवारहरू जिते पनि सशक्त सरकार बनाउन सक्दैनन् । तर एकपटक मतदाताले सरकार बनाउने ल्याकतको सङ्ख्यामा स्वतन्त्रहरूलाई जितायो भने ताप्के तात्छ । अनि पार्टीहरूको चेत खुल्छ र विकासरूपी सेल पाक्छ ।