• अनन्तकुमार लाल दास

राष्ट्र निर्माणमा शिक्षाको सबैभन्दा बढी महत्व रहेको कुरा कसैसँग लुकेको छैन । जस्तो शिक्षा व्यवस्था हुन्छ, जस्तो शिक्षा नीति हुन्छ, जस्तो शिक्षण पद्धति हुन्छ विद्यार्थी त्यस्तै बन्छन् । जस्तो विद्यार्थी हुन्छ, त्यस्तै समाज बन्छ र जस्तो समाज बन्छ त्यस्तै राष्ट्रको स्वरूप निर्धारण हुन्छ किनभने आजका केटाकेटी नै भोलिका व्यवस्थापक, इन्जिनीयर, डाक्टर, अध्यापक, व्यापारी, व्यवसायी, वकील, जज, प्रशासनिक अधिकारी, लेखक आदि हुन् । यिनीहरू जस्तो हुन्छन् राष्ट्र पनि त्यस्तै बन्छ ।

शिक्षाको प्रमुख आधार शिक्षक हुन् । शिक्षकको पद समाजमा सधैं पूजनीय रहेको छ । कोही उनलाई गुरु भन्छन् त कोही शिक्षक, कोही आचार्य भन्छन् भने कोही अध्यापक वा टीचर भन्छन् । यी सबै शब्दले एउटा यस्तो व्यक्तिको चित्रण गर्दछ जसको काम सबैलाई ज्ञान प्रदान गर्नु हो, सिकाउनु हो र कुनै पनि देश वा राष्ट्रको भविष्य निर्माण गर्नु हो । यसरी के भन्न सकिन्छ भने शिक्षक विद्यार्थीको व्यक्तित्व निर्माता मात्र नभई राष्ट्र निर्माता पनि हो । कुनै पनि राष्ट्रको मूर्तरूप त्यस देशको नागरिकमा निहित हुन्छ । यस कारण कुनै पनि राष्ट्रको विकासमा त्यस देशको भविष्य तयार गर्ने शिक्षकहरूको भूमिका महत्वपूर्ण हुन्छ । एउटा शिक्षक आफ्नो जीवनको अन्तिम समयसम्म पथ प्रदर्शकको भूमिका निर्वाह गर्दछ ।

जस्तोसुकै शिक्षा प्रणाली भए तापनि त्यसको प्रभावकारिता र सफलता त्यस प्रणालीमा संलग्न शिक्षकहरूको कार्य माथि निर्भर हुन्छ । शिक्षाबाट समाजले जुन इच्छा, आकाङ्क्षा र उद्देश्यपूर्तिको चाहना राखेको हुन्छ त्यो शिक्षकमाथि नै निर्भर रहन्छ । यसर्थ शिक्षकहरूको दायित्व समाज र राष्ट्रको इच्छा र आकाङ्क्षा पूर्ति गर्नु पनि हो । एउटा दक्ष शिक्षक आफ्नो शिक्षण शैलीबाट विद्यार्थीहरूमा राष्ट्रियताको भावना विकसित गर्न सक्छ । राष्ट्रियताको भावनाले एकातिर विद्यार्थीहरूलाई राष्ट्रभक्त र आदर्श नागरिक बनाउँछ त्यहीं अर्कोतिर राष्ट्रिय एकताको विकास पनि गर्दछ । यसर्थ नेपालको भविष्य विद्यालयहरूको कक्षामा निर्धारित भइरहेको छ भन्नु अतिशयोक्ति हुने छैन । यस तथ्यले शिक्षकहरूको भूमिका निश्चित गर्दछ ।

हिटलरले जर्मनीलाई तानाशाह र उग्रराष्ट्र बनाउनको लागि शिक्षामा परिवर्तन गरेको कुराको साक्षी इतिहास छ । इटलीमा मुसोलिनीले पनि यस्तै गरेका थिए । रूस र चीनमा साम्यवादप्रति जुन श्रद्धा र गहिरो निष्ठा भेटिन्छ त्यो पनि शिक्षाकै देन हो । दोस्रो विश्वयुद्ध पछि बर्बाद भएको जापानका सम्राट्ले जापानको पुनः निर्माणको लागि सम्पूर्ण शक्ति यस्तो शिक्षाको उत्थानमा लगाउन भनेका थिए जुन शिक्षाले चरित्रवान, देशभक्त, निष्ठावान र इमानदार नागरिक उत्पादन गर्न सकोस् । वास्तवमा यस्तै भयो र आज जापान हाम्रो लागि उदाहरण बनेको छ जहाँ एउटा रिटायर्ड वृद्ध व्यक्ति पनि देशको लागि धेरै परिश्रम गर्दछ । घरमैं बसीबसी केही न केही गरिरहन्छ । ब्रिटेनका एक भूतपूर्व प्रधानमन्त्रीले संसद्मा भनेका थिए–“राष्ट्रको भाग्य त्यहाँको शिक्षामा निर्भर छ ।” परिणामस्वरूप आज ब्रिटेन एउटा विकसित र सफल राष्ट्रको रूपमा हामी सबैको सामु उभिएको छ । अमेरिका एउटा सफल, सशक्त, विकसित र सर्वशक्तिमान राष्ट्र हो । यसको कारण पनि त्यहाँको शिक्षा व्यवस्था हो । विश्वका धेरै विद्यार्थी त्यहाँ पढ्न लालायित रहन्छन् । यसको कारण पनि त्यहाँको उत्कृष्ट शिक्षा व्यवस्था नै हो ।

दोस्रो जनान्दोलन पछि हामीले सुखी र समृद्ध नेपालको परिकल्पना गरेका थियौं । हामीले असमानता, अन्याय, उचनीच, भेदभाव र शोषणविहीन समाजको स्थापना गरेर सामाजिक, राजनीतिक र आर्थिकरूपले प्रगति गर्ने कल्पना गरेका थियौं तर हाम्रो आशा, अपेक्षा र आकाङ्क्षा हालसम्म साकार हुन सकेको छैन । हामीले कस्तो लोकतान्त्रिक गणतन्त्र नेपाल बनाउन खोजिरहेका छौं ? लोकतन्त्रिक नेपालमा कस्तो गाउँ र त्यहाँ बसोवास गर्ने गाउँलेहरूलाई पलायन हुनबाट जोगाउन के योजना बनाउन खोजेका हौं ? लोकतान्त्रिक नेपालमा हरेक ठाउँको समानुपातिक विकासका लागि सङ्घीय सरकार गठन गरियो तर राजनीति, अर्थनीति र प्रशासनको मिलेमतोमा भ्रष्टाचार, अपराध, कामचोरी बढ्दै गयो र समाजको चेतना मूच्र्छित भयो र मानिस लुप्त हुन थाले । आज आवश्यकता छ समाजबाट लुप्त हुँदै गएको चेतना जगाउने र भौंतारिएका मानिसको खोजी गर्ने ।

जीवित, जाग्रत र ज्वलन्त समाजको रचना कलकारखाना, ठूल्ठूला भवन, लामो सडक र पुल निर्माणले नभई व्यक्ति निर्माणबाट सम्भव हुन्छ । व्यक्ति–निर्माण बेगर सुखी र समृद्ध नेपालको परिकल्पना दिवास्वप्न नै हुन्छ । एउटा निष्ठावान, कर्तव्यनिष्ठ, समर्पित शिक्षकले नै व्यक्ति निर्माण गर्न सक्छ अर्थात् उसमा ज्ञान हासिल गर्ने भोक जाग्रत गर्न सक्छ । शिक्षक सम्पूर्ण शिक्षा व्यवस्थाको मेरुदण्ड हो । उसको आचार–विचार, संस्कार, चिन्तन, चरित्र, पोशाक र ज्ञानको प्रभाव पहिले विद्यार्थीमाथि, त्यसपछि समाजमाथि र अन्त्यमा सम्पूर्ण राष्ट्रमाथि पर्दछ । एउटा शिक्षकको प्रभाव अन्तहीन हुन्छ र जीवनपर्यन्त चलिरहन्छ ।

शिक्षा यस्तो प्रक्रिया हो जसमा केटाकेटीहरूको आन्तरिक गुणको विकास हुन्छ । तर आधुनिक युगमा आन्तरिक शक्तिको विकाससँगै बाह्य व्यक्तित्वको पनि विकास अति आवश्यक भएकोले शिक्षक यस कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । यसका साथै शिक्षकले नै व्यक्तिलाई समाजको आदर्श, मूल्य र मान्यतासँग परिचय गराउँछ । समाजप्रति व्यक्तिको कर्तव्य र अधिकारको सदुपयोग कसरी गर्ने भन्ने कुरो सिकाउँछ । यसैगरी विद्यार्थीमा भएको मूल प्रवृत्तिलाई शुद्ध गर्ने काम पनि शिक्षकले नै गर्छ । अर्थात् उनीहरूको मार्गनिर्देशन र नियन्त्रण गर्ने काम पनि शिक्षकले नै गर्दछ । शिक्षकले विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउनको लागि विभिन्न विषय र व्यवसायबारे जानकारी प्रदान गर्दछ । यसबाहेक शिक्षकको महŒवपूर्ण भूमिका विद्यार्थीहरूको चरित्र निर्माण हो ।

शिक्षकको सबैभन्दा ठूलो काम आफ्नो शिक्षाद्वारा विद्यार्थीहरूमा आदर्श नागरिकको गुण प्रवाहित गर्नु हो किनभने आदर्श नागरिकले नै आदर्श राष्ट्रको निर्माणमा सशक्त भूमिका निर्वाह गर्न सक्छ । एउटा सीपयुक्त शिक्षकले विद्यार्थीहरूलाई आफ्नो संस्कृति र राष्ट्रिय गौरवसँग परिचय गराउँछ तर आज शिक्षाको व्यवसायीकरण र बाजारीकरण भएको छ । यो देशको लागि सबैभन्दा ठूलो चुनौती पनि हो । पहिले नेपालमा शिक्षा व्यवसाय थिएन । वर्तमानमा के अनुभव गरिएको छ भने हामी शिक्षा त हासिल गरिरहेका छौं तर पहिले पढाइएका पाठहरू बिर्संदै गएका छौं । यसको मूल कारण हाम्रो देशको शिक्षा नीति हो । दोस्रो जनान्दोलन पछि शिक्षामा जुन आमूल परिवर्तनको अपेक्षा गरिएको थियो त्यो हालसम्म पनि हुन सकेको छैन । शिक्षाको क्षेत्रमा आज पनि हामी भ्रममा बाँचिरहेका छौं । यस कारण वर्तमान शिक्षामा न नेपाली संस्कारको बोध छ, न नैतिकतासम्बन्धी जीवनमूल्यकै । त्यही शिक्षा सार्थक हुन्छ, जसले देशको लागि चरित्रवान समाज र सकारात्मक सोच निर्माण गर्न सकोस् ।

यस कारण शिक्षकहरूले बुझ्नुपर्ने कुरो के हो भने विद्यार्थीहरूलाई कस्तो शिक्षा दिने ? शिक्षकहरूले के पनि बुझ्नुपर्छ भने ५० विद्यार्थी भएको कक्षामा १०० आँखाले शिक्षकलाई विभिन्न कोणबाट नियालिरहेका हुन्छन् । तपाईंको पोशाक, तपाईंको विचार, तपाईंको पढाउने तरीका, उनीहरूप्रति तपाईंको व्यवहार आदि राम्ररी अनुभव गरिरहेका हुन्छन् । यस कारण शिक्षकले पढाउने विषयलाई सहज, सरल, सुरुचिपूर्ण, सर्वग्राह्य र आनन्ददायक बनाएर विद्यार्थीहरूलाई पाठ समाप्त भएको थाहा नहुँदै याद पनि भइहालोस् । शिक्षकले पाठ्यवस्तु पढाउनुका साथै उनीहरूमा नैतिक र चारित्रिक गुणको विकास, देशप्रेम, अनुशासन, सर्वधर्म समभाव, विविधतामा एकता र वसुधैव कुटुम्बकम्को भावना पनि विकसित गर्ने प्रयास गर्नुपर्छ । यस कारण शिक्षकको कर्तव्य प्रारम्भदेखि नै विद्यार्थीहरूको जग बलियो बनाउनुको साथै सुन्दर, सभ्य समाजको निर्माण गर्ने भूमिका निर्वाह गर्नु हो ।

त्यसैले जब अभिभावक सन्तानको कापी लिएर गलत जवाफ सच्याउन खोज्छ अनि सन्तानले उसको हात समातेर भन्छ “बुवा यो नकाट्नुस्, मेरो मैडम/सरले लेख्नुभएको छ ।” कस्तो गजबको विश्वास र गहिरो आस्था विद्यार्थीको मनमा आफ्नो सर/मैडमप्रति हुन्छ । तर जब त्यही विद्यार्थी ठूलो हुन्छ र उसलाई जब सबै कुरा थाहा हुन्छ तब उही विद्यार्थी शिक्षकको विरोधी हुन पुग्छ र शिक्षकलाई वेतनभोगी वा न्गष्मभ को विकल्प मान्न थाल्छ । यस्ता कुरामा शिक्षकले गम्भीरतापूर्वक विचार गर्नुपर्छ । आत्मचिन्तन, आत्मविश्लेषण र आत्ममन्थन गरेर यस्तो ठोस निर्णय लिनुपर्छ जसबाट उसप्रतिको आस्था, सम्मान र विश्वासमा सङ्कट उत्पन्न नहोस् । यस प्रकार शिक्षक एउटा सुसभ्य, शान्तिपूर्ण राष्ट्र र विश्व निर्माता हो । एउटा शिक्षकले आफ्ना सबै विद्यार्थीलाई सुन्दर र सुरक्षित भविष्य दिनको लागि तथा विश्वमा शान्ति र एकता स्थापित गर्नका लागि उनीहरूको कलिलो मन र मस्तिष्कमा नेपाली संस्कृति र सभ्यताको रूपमा ‘वसुधैव कुटुम्बकम्’रूपी विचारको बीजारोपण गर्नुपर्छ । शिक्षा अनमोल र मूल्यवान हुन्छ र वर्तमान पुस्ता देशको भविष्य हो । शिक्षकले जस्तो संस्कार युवा पुस्तालाई दिन्छ त्यस्तै देशको चरित्र निर्माण हुन्छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here