• बैधनाथ श्रमजीवी

भर्खरै धार्मिक पर्वहरू दशैं, तिहार र छठ सकेका छन् । यी पर्वहरू हामी केको लागि मनायौं यसबारेमा धेरैजना अनभिज्ञ नै छौं । दशैंलाई विजयादशमी पनि भनिन्छ । यसर्थ केही कुरा जितिएको थियो र त्यसैको सम्झनामा यो पर्व मनाउँदै आएका छौं । हामी भन्ने कुरा सबैले सजिलै बुझ्छन् नै । तर त्यो के कुरा हो, जसको खुशियाली मनाउन राज्यद्वारा नै दर्जनौं खसीबोकाको बलि चढाएर, लामो सार्वजनिक बिदा गरेर तथा सरकारी कर्मचारीलाई एक महीना बराबरको तलबसमेत दिएर यो पर्व मनाउने गरिन्छ ?

के पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामा मल्लहरू माथि विजय गर्दा वा गोर्खा राज्यले नेपालको एकीकरण सम्पन्न गर्दा रातो टीका जमरा लगाएर यो पर्व मनाउन थालेको हो ? अथवा इतिहासको कालखण्डमा मङ्गोलियन सभ्यताको सर्वनाश गरेर आर्यन सभ्यता बलजफ्ती लादेको खुशियालीमा हो ? वा मातृसत्तात्मक समाज जबरजस्ती भत्काएर पुरुषको सत्ता लादेको खुशियालीमा हो ? के हो ? यीमध्ये कुनै एक हो अथवा अरू नै कुनै ठूलो घटना हो ? यस कुराको जानकारीबेगर जिजुबाजेले श्राद्ध गर्दा बिरालो बाँधेको हुनाले खनातिले पनि बाँध्दै आएको मात्रै हो ? यसबारेमा विस्तृत अध्ययन आवश्यक छ र तद्नुसार चाडपर्वमा सुधार वा परिवर्तन गर्न जरुरी छ । यही कुरा दीपावली अर्थात् तिहारमा पनि लागू हुन्छ । के को खुशियालीमा देशैंभर करोडौं दीप प्रज्वलन गर्ने ? हिन्दू धर्मशास्त्रमा भनिएको राक्षस को थिए ?

आर्यहरूले छल, बल, कलद्वारा पराजित गरेको मङ्गोलियनहरूलाई नै शत्रुतावश राक्षस भनेको हो कि ? होइन भने सीताको स्वयंवरमा हिन्दू धर्मशास्त्रमा भनिएको राक्षस देश लङ्काका राजा रावणलाई विवाहको लागि किन बोलाइएको हो ?

यी सबै कुराको बहस अबको पुस्ताले थाल्न जरुरी छ ।

छठ पर्व खासगरी मधेसी समुदायका हिन्दू धर्मावलम्बीहरूको पर्व हो । यस पर्वमा मुख्यरूपमा सूर्यको पूजा उपासना गरिंदै आएको छ । हाम्रा चाडपर्वहरूमा यस पर्वलाई अन्य पर्वभन्दा अलि कडा विधि–विधान भएको पर्वको रूपमा बर्तालुहरूले लिने गरेको पाइन्छ । यसमा जूठो चोखोको ख्याल राख्न थोरै पनि लापरवाही भएमा छठी मईया रिसाएर श्राप दिनेछिन्, जसले छालाको रङ्ग सेतो हुने रोग तथा कुष्ठरोग जस्ता अनेकौं रोग लाग्दछ भन्ने मान्यता रहँदै आएको छ । त्यसैले यो पर्वमा चाहिने भाँडाकँुडा र वस्तुको बन्दोबस्त एक महीनाअगाडिदेखि नै गर्न थालिन्छ ।

यो पर्वमा पहिलो दिन (चतुर्थी) अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय भनिन्छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिने गरिन्छ ।

यो पर्व गर्दा सन्तानप्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास छ ।

छठको पहिलो दिन (चतुर्थी)देखि नै व्रतालुले भोजनमा माछामासु, लसुन, प्याज, कोदो, मसुरको दाललगायत परित्याग गरी व्रत बस्छन् । पर्वको दोस्रो दिन (पञ्चमी) खरना गरिन्छ, जसलाई पापको क्षय पनि भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पीठोबाट तयार पारिएको झोलले भूमि लिपेर व्रतालु दिनभरि पानीसमेत नखाइ व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई गुडबाट तयार गरिएको खीर चढाइ पछि प्रसादको रूपमा खान्छन् ।

खरनापछि अर्थात् दोस्रो दिनपछि छठको पूर्ण व्रत लिइन्छ ।

तेस्रो दिन (षष्ठी) गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट विभिन्न गुलिया खाद्य सामग्री बनाइन्छ । सोही दिन अन्नबाहेक फलफूल, ठेकुवा, भुसवा, खजुरी, पेरुकिया तथा मूला, गाजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँँदै निर्धारित जलाशयसम्म पुग्छन् । परिकारहरू जलाशयको किनारमा राख्नुपूर्व त्यो ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँचपटक भुइँमा सुतेर साष्टाङ्ग दण्डवत् गर्छन् । त्यो ठाउँमा पहिले नै तान्त्रिक पद्धति अनुरूप अरिपन चित्र कोरेका हुन्छन् । त्यसपछि व्रतालुले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म पानीमैं उभिरहन्छन् । यस क्रममा व्रतालुले दुवै हत्केलामा पिठार (चामलको पीठोको ढोल), सिन्दुरलगायर अक्षता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी सूर्यलाई अर्पण गर्छन् ।

पर्वको चौथो अर्थात् अन्तिम दिन यो पर्व समाप्त गरिन्छ । यस दिन एकाबिहानै व्रतालुहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याइ प्रातःकालीन सूर्यलाई अघ्र्य दिन्छन् । अघ्र्य सम्पन्न भएपछि व्रतालुले छठघाटमैं सूर्य पुराण अर्थात् छठ व्रतको कथा सुन्ने र सुनाउने परम्परा रहेको छ ।

वैदिक साहित्यको मुख्य सार सूर्य उपासना नै हो । वेदमा सूर्यलाई ऐश्वर्य र ऋग्वेदमा सबै देवताको स्रोत, महाभारतमा सम्पूर्ण जगत्का प्राणीसित सम्बद्ध भएको बताइएको छ । सृष्टिका सबै जीव र वनस्पति सूर्यको तापबाट बाँचेका छन् । त्यस्तै, सूर्याेपनिषद्मा ब्रह्मा, विष्णु र रुद्र भनिएको छ । महाभारतमा धर्मराज युधिष्ठिर सूर्य स्तवन गर्दै सूर्यलाई ब्रह्मा, विष्णु र रुद्रका अतिरिक्त इन्द्र, प्रजापति, अग्नि, मनु, प्रभु, चराचर जगत्का पालनकर्ता र मोक्षदाताको रूपमा वर्णन गरिएको छ ।

ऐतरेय ब्राह्मण उपनिषद्मा सूर्यको उत्पत्ति सन्दर्भमा सूर्यलाई पार्थिव अन्तरिक्ष एवं दिव्य अग्निको पिण्ड भएको उल्लेख गर्दै अग्निमा सोमको आहुतिबाट सूर्यको उत्पत्ति भएको भनिएको छ ।

अथर्ववेदमा खुट्टा, जोर्नी, तिघ्रा, काँध, मस्तक, कपाल तथा मुटुसम्बन्धी रोगहरूको उपचार उदीयमान सूर्य किरणद्वारा निस्तेज गरिने उल्लेख गरिएको छ । सूर्यद्वारा चर्मरोगसम्बन्धी रोगको अचूक उपचार गर्नुका साथै दुसाध्य कुष्ठरोगको मुक्ति पाउनका लागि कैयौं प्राचीन साहित्यमा उपचार प्रसङ्ग पाइन्छ ।

सूर्यको पूजा गर्नु भनेको प्रकृतिमैत्री हुनु हो । छठ पर्व हजारौं वर्षदेखि मनाउँदै आइएको भएपनि आजको यक्ष प्रश्न हो ? के वर्तमानको आधुनिक मानव समाज प्रकृतिमैत्री बन्न सकेको छ ?

हामी सबैलाई थाहा छ, मानव समाज जङ्गली युग, दास युग, सामन्ती युग र पूँजीवादी युग पार गरेर वैज्ञानिक समाजवादी युगमा आइपुगेको छ । यसबीचमा पूँजीवादले आधुनिक मानव समाजलाई विकासका थुप्रै अवसर उपलब्ध गराएको छ । हामीले देखेका प्रायः सबै वैज्ञानिक आविष्कार पूँजीवादले नै गरेको हो । पूँजीवाद एकाधिकार पूँजीवाद हुँदै दलाल पूँजीवादसम्म आइपुग्दा सबैभन्दा ठूलो क्षति प्रकृतिलाई पूँजीवादले नै गरेको कुरा बिर्सनुहुँदैन । मानव समाजलाई विकास र समृद्धिको शिखरमा दलाल पूँजीवादी व्यवस्थाले पु¥याउन सफल भएपनि उसले एउटा निश्चित वर्गलाई मात्रै समृद्ध बनायो । यतिबेला संसारको असी प्रतिशत पूँजी केवल पन्ध्र प्रतिशत मानिसको हातमा केन्द्रित छ । गरीबीको कुरा गर्ने हो भने अहिले पनि संसारमा एक करोड मानिस भोकै रात काट्छन् । प्रकृतिको यतिधेरै दोहन पहिले कहिल्यै भएको थिएन ।

दलाल पूँजीवादी व्यवस्थासँग प्रकृतिलाई समृद्ध पार्ने तथा सम्पूर्ण मानव समाजलाई सुखी र समृद्ध बनाउने कुनै योजना नै छैन । अतः वैज्ञानिक समाजवादबाट मात्रै सही रूपमा प्रकृतिमैत्री हुन सकिन्छ । जुन दिन मानव समाज प्रकृतिमैत्री बन्ने राजनीतिक, आर्थिक र सांस्कृतिक अवस्था तयार हुनेछ, त्यो दिन बल्ल सूर्यलाई सम्मान गरेको ठहरिन्छ ।

जेहोस्, चाडपर्व मानिसहरूलाई एक ठाउँमा भेला भई खुशियाली साटासाट गर्ने महŒवपूर्ण माध्यम रहेको भएपनि वर्गीय समाजभित्र थोरै मानिस सबै प्रकारका स्रोत साधनबाट सम्पन्न रहेका छन् । धेरै मानिस बेरोजगारी, चरम गरीबी, सामाजिक विभेद (जातपात तथा छुवाछूत) जस्तो मानवद्वारा सृजित खासगरी सत्ताद्वारा शोषित, पीडित ठूलो जनसङ्ख्यालाई जहिले पनि चाडपर्व दशाकै रूपमा आउने भएकोले सबैभन्दा पहिले शोषणविहीन, भेदभावविहीन, असमानताले भरिएको होइन बरु समानतासहितको समाजवादी समाज निर्माण गरेर सम्पूर्ण देशवासी खुशी हुने वैज्ञानिक संस्कृति निर्माण गरेर अगाडि बढ्न आजको आवश्यकता र युगको माग हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here