• राकेश अधिकारी

मुख्य चाडपर्वहरू सकिए पनि अर्काे चाड आउन थालेको छ । त्यो हो प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव । पाटी, पौवा, चौतारा, हाटबजारदेखि चियापसलमा चुनावी चर्चा परिचर्चा भइरहेका छन् । जनताले महँगीका कारण सकेसम्म विधि पूरा गरी चाडपर्व मनाएको छ भने अर्काेतिर नेताहरू चुनावको प्रचारप्रसारमा चाडपर्व नभनी लागिपरेका छन् । त्यसैले चुनाव साँच्चिकै आएकै हो त ?

चुनाव कसका लागि आएको हो त ? नेताहरूलाई वा जनतालाई जो अहोरात्र खटिरहेको भएपनि आफ्नो परिवारको पालनपोषण गर्न सकिरहेको छैन । पक्कै पनि चुनाव नेताहरूको लागि मात्र आएको देखिन्छ । नेताहरू पाँच वर्षे नवीकरणको लागि जनताकहाँ धाइरहेका देखिन्छन् । चुनावको लागि मत माग्न आउँदा न उनीहरूसँग कुनै प्रस्ट आर्थिक, सामाजिक विकासका स्पष्ट खाका देखिन्छ, न त उनीहरूले विश्वासका साथ गएको पाँच वर्षमा गरेका कामको व्याख्या गर्न सकेका छन् । मानौं, सबैलाई पद र प्रतिष्ठा नै चाहिएको छ । त्यसैले टिकट नपाएको झोंकमा पार्टी परिवर्तन गरी वा स्वतन्त्र उम्मेदवार भएका छन् । आजको समयमा पनि कतिपयले जनतालाई सस्तोमा तौलिरहेका छन्, जनतालाई पैसा दिएपछि त मत पनि हाम्रै हुन जान्छ र हामीले सजिलैसँग जीत हासिल गर्न सक्छौं तथा पाँच वर्षसम्म जनतामाथि शासन गर्छौं भन्ने सोचमा छन् ।

यदि हामीमाझ सही अर्थमा चुनाव आएको हो भने हामीले जससँग राम्रो उद्देश्य छ, सामाजिक र आर्थिक उन्नतिको ठोस खाका छ, त्यस्तालाई आफ्नो मत दिनुपर्दछ । देशलाई पुनः खाडलमा जान दिनबाट बचाउन सक्नुपर्दछ किनकि हाम्रो जस्तो देशले धेरै चुनावको भार सहन सक्दैन । सरकारी तथ्याङ्क अनुसार चुनावमा रु ३४ अर्ब खर्च हुन्छ । यो सरकारी खर्च मात्र हो, अन्य उम्मेदवारहरूको पनि जोड्ने हो भने यो ५० अर्बभन्दा माथि हुन जान्छ । तसर्थ हामीले हाम्रालाई होइन राम्रालाई आफनो अमूल्य मत दिनुपर्दछ । अन्यथा भविष्यमा दुःखको बाटोमा हिंड्नुपर्नेछ । हरेक सूचकाङ्क तलतिर जाने हुन्छ र सन्ततिले हामीलाई कालान्तरमा धिक्कार्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here