काठमाडौं, १२ कात्तिक/रासस
विश्व पक्षाघात दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन विश्वभर पक्षाघात दिवस मनाउने गरिएकोले नेपालमा पनि यस अवसरमा विभिन्न कार्यक्रम गरी दिवस मनाइयो ।
जटिल शारीरिक अवस्थाको रूपमा रहेको पक्षाघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा पोषक तŒवको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ ।
यसलाई नै पक्षाघात भनिन्छ । समयमैं यसको उपचार नगरे मस्तिष्क सधैंका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुन सक्छ ।
नेपाल पक्षाघात सङ्घका अध्यक्ष डा राजु पौडेल पक्षाघातको उपचारका लागि सङ्घले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालीम प्रदान गर्नाका साथै उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्ड तय गर्दै आएको बताउँछन् ।
उक्त सङ्घले जर्मनीको युनिभर्सिटी हस्पिटल हाइडलबर्गको सहयोगमा नेपाल पक्षाघात परियोजनासँग सहकार्य गरी काम गर्दै आएको छ । सन् २०१७ मा स्थापना भएको सङ्घले नेपालको पक्षाघातको वर्तमान अवस्था र त्यसको उपचारका लागि गरिने उपायको खोजी गर्दै आएको छ ।
यस्तै जिआइजेड, विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थासँग सहकार्य गरेर नेपालको पक्षाघातसम्बन्धी गाइडलाइन तय गर्ने काम गर्दै आएको उक्त सङ्घले पक्षाघातसम्बन्धी निर्देशिका चाँडै निर्माण गरी सरकारलाई हस्तान्तरण गर्ने जनाएको छ ।
देशभरका १५ अस्पतालको पक्षाघातको अवस्था सूचीकरण गर्ने, बिरामीको अवस्थाबारे जानकारी राख्नेलगायत काम पनि सङ्घले गर्दै आएको छ ।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत वरिष्ठ न्यूरोलोजिस्टसमेत रहेका डा पौडेल पक्षाघात भएकामध्ये एक तिहाईले अकालमा ज्यान गुमाउनुपरेको भन्दै यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिन्छन् । “विश्वमा हरेक चारजनामा एक जनालाई र छ सेकेन्डमा एकजनालाई पक्षाघातको सम्भावना रहेको हुन्छ, यसबाट सजग हुनुपर्छ”–उनको भनाइ छ ।
नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा पक्षाघातको दर बढी भएकोले सरकारले समयमैं ध्यान दिनु जरूरी रहेकोमा डा पौडेल जोड दिन्छन् । नेपालमा अहिले पक्षाघात भएकामध्ये १० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क छ ।
उनका अनुसार उच्च रक्तचाप, मधुमेह, मोटोपन, धूमपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गडबड हुँदा पक्षाघातको सम्भावना हुने भएकोले त्यसप्रति सतर्क रहनुपर्छ ।
सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लरबराउनु, हातखुट्टा लुलो हुनु पक्षाघातको लक्षण भएको र यस्ता लक्षण देखिए साढे चार घण्टाभित्रै अस्पताल पुग्न सकेमात्र उपचार सम्भव हुने डा पौडेल बताउँछन् ।
पक्षाघात हुँदा शरीरमा रगत जम्ने भएकोले रगत पातलो बनाउने औषधि प्रयोग गरेर बिरामीको उपचार गर्नुपर्ने र यसका अलावा बिरामीलाई फिजियोथेरापी गर्नुपर्ने हुन्छ ।
नेपालमा भौगोलिक विकटता, सीमित स्रोतसाधन र दक्ष जनशक्तिको अभावका कारण पक्षाघातको उपचार चुनौतीपूर्ण हुँदै गएको छ । समयमैं रोग पहिचान गरेर उपचार गर्न सके उपचार सम्भव रहेको डा पौडेल बताउँछन् ।
नेपाल पक्षाघात सङ्घले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीलगायत विभिन्न अस्पतालसँग सहकार्य गरेरअक्टोबर १९ मा विभिन्न कार्यक्रम आयोजना गरी विश्व पक्षाघात दिवस मनाइरहेको छ ।
यसै अवसरमा आजै काठमाडौं महाराजगंज चोकदेखि सामाखुशीसम्म पदयात्रा गरिएको थियो ।