राधेश्याम पटेल, वीरगंज, ६ कात्तिक/
आर्थिक नगरी वीरगंजलाई यतिबेला झकिझकाउ गर्ने काम भइरहेको छ । आदर्शनगर ग्रीनसिटी वीरगंजको संयोजनमा वीरगंजको मुटु मानिने आदर्शनगर क्षेत्रलाई झिलिमिली पारिएको छ । करीब पाँच सय मिटर लम्बाइको सडकलाई निकै आकर्षण किसिमले सजाएर दीपावलीको रातमा मेला आयोजना गर्ने कार्यक्रम रहेको ग्रीनसिटीका अध्यक्ष जयप्रकाश खेतानले बताए । करीब रु साढे तीन लाखको खर्चमा सो क्षेत्रलाई झिलीमिली पारिएको र मेलामा स्ट्रीट फूड स्टल, सांस्कृतिक कार्यक्रमको लागि स्टेज, सेल्फी स्टेनलगायतको तयारी पूरा गरिएको छ ।
पहिले वीरगंजबाट दीपावलीको दिन सौराहा, पोखरा, काठमाडौं जाने प्रचलनलाई भङ्ग गर्न करीब चार वर्षदेखि मेला लगाउने काम भइरहेको छ । व्यवस्थित वीरगंजका संयोजक दिलीपराज कार्कीले यस्तो कार्यक्रमले वीरगंजका अन्य वडाले पाठ सिकेर आआफ्नो वडामा चाडपर्वको अवसरमा सांस्कृतिक कार्यक्रम गर्ने तथा मेला लगाउनेतर्फ सोच्नुपर्ने बताए । वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाईंले वीरगंजको मेलामा मधेसका स्थानीय परिकार र संस्कृति झल्काउने फोटोको प्रदर्शनीको व्यवस्था गरे मेलाको आकर्षण अझै बढ्ने बताए । केही वर्षदेखि दीपावलीको दिन मकवानपुर, बारा, रौतहट तथा भारतका सीमावर्ती शहरबाट मेला हेर्न पर्यटकहरू आउन थालेकामा यो वीरगंजको लागि शुभ सङ्केत भएको रजनीश सर्राफले बताए ।
किनमेल गर्नेको भीडभाड बढ्यो
तिहार अर्थात् दीपावली हिजोदेखि शुरू भएसँगै मधेसका बजारमा लक्ष्मीपूजाको लागि किनमेल गर्नेहरूको चहलपहल बढेको छ । मधेसमा दीपावली र छठ पर्व निकै धूमधामका साथ मनाउने गरिन्छ । यसै क्रममा वीरगंजको बजारमा दीपावली र छठ पर्वका लागि चाहिने सरसामान किनमेल गर्नेहरूको चहलपहल बढेको हो । वीरगंजको बजारमा अहिले झिलीमिली बत्ती, माटोको दियो र कलश, लक्ष्मी देवीको मूर्ति र तस्वीर, फूलमाला, पूजन सामग्रीलगायतका पसलहरूमा भीडभाड बढेको देखिन्छ । हिजो धनतेरसको दिन सुनचाँदीका गरगहना, धातुका भाँडाबर्तन किन्दा शुभ हुने मान्यता रहिआएकोले सुनचाँदी र भाँडाका पसलहरूमा ग्राहकहरूको भीडभाड बढेको थियो । दीपावलीमा मिठाइ र फलफूलको बिक्री बढेको पसलेहरूले बताएका छन् ।