• अनन्तकुमार लाल दास

दिवाली वा दीपावली वा तिहार अर्थात् ‘प्रकाशको पर्व’ उत्तरी गोलाद्र्धमा शरद् ऋतुको प्रारम्भमैं हरेक वर्ष मनाइने प्राचीन हिन्दू चाड हो । दीपावली संस्कृत भाषाबाट लिइएको शब्द हो जुन दुईवटा शब्द दीप र आवलीको संयोजनबाट बनेको हो । नेपालीमा दीपको अर्थ ‘बत्ती’ र आवलीको अर्थ ‘शृङ्खला’ अर्थात् बत्तीको लहर । यसलाई ‘दीपोत्सव’ पनि भनिन्छ । तिहार नेपालमा दशैंपछिको सबैभन्दा ठूलो चाड हो । यो चाड अँध्यारोमाथि प्रकाशको विजयलाई दर्शाउँछ । नेपालमा मनाइने यो चाड सामाजिक र धार्मिक दुवै दृष्टिले महत्वपूर्ण चाड हो । उपनिषद्मा लेखिएको छ, ‘तमसो मा ज्योतिर्गमय’ अर्थात् अँध्यारोबाट उज्यालोतर्फ जानुपर्छ । यो चाड विभिन्न ऐतिहासिक घटना, कहानी र मिथकको सम्झनामा पनि मनाउने गरिएको छ । सिख, बौद्ध र जैन धर्मका मानिस पनि यस चाडलाई बडो उल्लासका साथ मनाउने गर्दछन् ।

पुराणमा दीपकलाई सूर्यको अंशको रूपमा व्याख्या गरिएको छ । प्राणीहरूमा ऊर्जाको स्रोतको रूपमा रहेको सूर्य हिन्दू क्यालेन्डर अनुसार कार्तिक महीनामा आफ्नो स्थिति परिवर्तन गर्छ, अर्थात् मौसममा परिवर्तन हुन्छ । यससँगै अर्को मान्यता के रहेको छ भने जुन घर स्वच्छ र सफा–सुग्घर हुन्छ त्यहीं लक्ष्मीको वास र कृपा पनि हुने भएकोले यस चाडको तयारीमा मानिसहरू आआफ्नो घर र पसल सफासुग्घर पार्छन् । तिहारको बेला बाजारमा धेरै चहलपहल देखापर्छ । यस चाडमा लुगा, सुन, चाँदी, भाँडाकुँडा, मिठाई आदिको पसलमा खासै भीड देखिन्छ । यस दिन मानिसहरू लक्ष्मी–गणेशको सानो मूर्ति वा फोटो किनेर घरको मन्दिरमा सजाउँछन् । तिहारमा मानिसमा नयाँ लुगा लगाउने र एकअर्कालाई बधाई दिने चलन पनि रहेको छ । यस दिन हाम्रो घरमा सेलरोटी पनि बनाइन्छ ।

तिहार सबै धर्मका मानिस एक आपसमा मिलेर मनाउँछन् । यस दिन घरको मन्दिरमा पूजाआजा पनि गरिन्छ । तिहारको अवसरमा एकअर्काको घर जाने, मिठाई र बधाई दिने चलनले सामाजिक सद्भावमा वृद्धि हुन्छ । अहिलेको व्यस्त समयमा जहाँ कसैलाई भेट्ने, कुरा गर्ने समय हुँदैन त्यहीं यस चाडको बहानाले आपसी सम्बन्ध नवीकरण गर्ने अवसर प्राप्त हुन्छ । यसै गरी साथीभाइसँग भेटघाट, देउँसी भैलोको रमझम र मिठाईलगायत शाकाहारी परिकारको लागि तिहार विशेष महत्वको पर्वको रूपमा रहेको छ । यस प्रकार तिहार धार्मिक सहिष्णुताको प्रतीक बनेर, सामाजिक सद्भाव वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । तिहारको बेला सबैमा उमङ्ग र उत्साह देखिन्छ किनभने यो एक प्रकारले साझा चाड हो जसमा हिन्दूबाहेक अन्य धर्मका मानिस पनि  सामेल हुन्छन् । तिहारमा राम्रो विचारको उत्थान र गलत विचारको पतन हुने भएकोले यसको आध्यात्मिक महत्व पनि रहेको छ । यस चाडमा नयाँ सामान किन्नु शुभ मानिन्छ किनभने देवी लक्ष्मीलाई धन र समृद्धिको देवीको रूपमा मानिन्छ । यस कारण तिहारमा हरेक मानिस आफ्नो क्षमता अनुसार केही न केही कुरा खरीद गर्छन् । तिहारमा विशेषगरी सुनचाँदीजस्ता महँगा सामग्री बढी बिक्री हुने हुँदा यो आर्थिकरूपले पनि महŒवपूर्ण रहेको छ ।

तिहार सम्बन्धमा कैयन प्रकारका किंबदन्तीहरू पनि छन् । अन्य धर्मभन्दा हिन्दू धर्ममा तिहार मान्ने प्रचलन अलिक फरक छ । प्राचीन हिन्दू धर्मग्रन्थ रामायण अनुसार १४ वर्षको वनवासपछि राम अयोध्या फर्केको खुशीयालीमा दीपावली मनाउन थालिएको हो भने महाभारतका अनुसार १२ वर्षको वनवास र एक वर्षको गुप्तवासपछि पाण्डवहरू घर फर्किएको सम्झनामा दीपावली मनाउन थालिएको हो । नेपाल र भारतमा तिहार पाँच दिनसम्म विभिन्न नामले मनाइन्छ तर नेपालमा पाँच दिन र भारतमा एक दिन मात्र बिदा दिने चलन छ । भारतमा कहीं–कहीं भाइटीकाको दिन पनि बिदा दिने चलन छ । यसरी तिहारको पहिलो दिन ‘धनतेरस’ हुन्छ । यस दिन मानिसहरू आआफ्नो घरका लागि गच्छे अनुसार भाँडाकुँडा, झाडू, सुनचाँदी खरीद गर्छन् । यस पछाडिको कारण के हो भने धनतेरसको दिन सामग्री किनेपछि घरको आर्थिक स्थिति बलियो हुन्छ । यस दिन कागको पूजा गर्ने चलन पनि छ । कागले अन्नबालीमा लाग्ने कीरा खाइदिन्छ र यमराजको दूत पनि भएकोले कागलाई सन्देशवाहकको रूपमा मान्यता प्राप्त भएकोले कागको पूजा गरिन्छ । तिहारको दोस्रो दिन नरक चतुर्थीको रूपमा मनाइन्छ किनभने यस दिन नै भगवान् कृष्णले नरकासुरको वध गरेका थिए । यस कारण यस दिन घरबाहिर माटोको दियो जलाइन्छ । यस दिन कुकुरको पनि पूजा गर्ने चलन छ । कागपछि कुकुर यमराजको अर्को प्रिय भक्त हो । यो आज्ञापालक हुनुका साथै रक्षक, अपराधी पत्ता लगाउने, अनुसन्धान गर्ने र प्राकृतिक प्रकोपको पूर्व सूचना दिने कार्य पनि गर्ने हुनाले यसको पूजा गरिन्छ ।

तिहारको तेस्रो दिन लक्ष्मी र गाईको पूजा गरिन्छ । हिन्दूहरू गाईलाई लक्ष्मीको रूपमा मान्छन् । सुख, समृद्धि र ऐश्वर्यको अभिवृद्धिको लागि लक्ष्मीको विशेष पूजाआजा गरिन्छ । त्यसपछि आफ्नो दराज वा भण्डार आदिमा स्वस्तिक बनाउने चलन पनि छ । यस दिन, कार्तिक कृष्ण अमावस्या पर्छ र दीपावली मनाइन्छ । वर्षका महत्वपूर्ण चार रातमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ । नेपाली समाजमा यस दिन स्त्री जाति, विशेषगरी कुमारी चेलीबेटी घर–घर गई ‘भैलो’ खेलेर रमाइलो गर्छन् । यस दिन घरको आँगनमा विभिन्न प्रकारको रंगोली बनाइन्छ जसले छरछिमेकको वातावरणमा सकारात्मक ऊर्जा प्रवाह हुन्छ । यसैगरी तिहारको चौथो दिन गोवद्र्धन पूजा गरिन्छ जसलाई गोरु तिहार भनिन्छ । मान्यता अनुसार यस दिन भगवान् श्रीकृष्णले इन्द्रको क्रोधको परिणामस्वरूप भइरहेको वर्षाबाट गोकुलवासीलाई जोगाउन गोवद्र्धन पहाड आफ्नो कान्छी औंलामा उठाएको हुनाले यस दिन, खासगरी तराईमा महिलाहरू घरबाहिर गोबरको पूजा गर्छन् भने नेपालीहरूले वर्षभरि अन्न उब्जाउन हलो तानी मानिसको पालनहार गोरुको पूजा गर्दछन् भने पुरुषहरू साँझ घरदैलो कार्यक्रम अन्तर्गत देउँसी खेलेर रमाइलो गर्छन् ।

नेपालमा तिहारको अन्तिम दिन ‘भाइटीका’ वा ‘भरद्वितीया’ वा ‘भैयादूज’ र कायस्थ समाजद्वारा ‘चित्रगुप्त पूजा’को रूपमा यो पर्व विशेष उत्साहका साथ सम्पन्न गरिन्छ । यस दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान–सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा–मिष्टान्न आदि मनपर्ने कुरा खुवाउने, दिदीबहिनीलाई दक्षिणा र वस्त्र आदि दिने परम्परा छ । परापूर्वकालमा बहिनी यमुनाले यस दिन आफ्ना दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेकोले भाइटीकाको धार्मिक महŒव छ । यमपञ्चकका पाँच दिन यमराज यमुनाको घरमा वास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमली फूलको माला, दूबोको टीका, कटुस आदिले पूजा गर्दा दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, आरोग्य र दीर्घायुको कामना अन्तर्निहित छ । तिहारले एकातिर मानिस तथा जनावरबीच अन्योन्याश्रित सम्बन्धको चित्र प्रस्तुत गर्दछ भने अर्कोतिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह तथा सम्बन्ध पनि छर्लङ्ग पार्दछ । यस दिन कायस्थ जातिका मानिस कर्मको लेखाजोखा राख्ने भगवान् चित्रगुप्त र कलम–दवातको पूजा भव्यतासाथ सम्पन्न गर्छन् ।

तिहारसँग जोडिएका धेरै रोचक तथ्यहरू प्रचलित छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म वि.सं. १९६६ कार्तिक २७ गते औंसी–लक्ष्मी पूजाको दिन भएको थियो । नेपाल संवत्को प्रारम्भ यसै दिनदेखि भएको हो । भगवान् विष्णुले यस दिन हिरण्यकश्यपको वध गरेका थिए । यसै दिन समुद्र मन्थनपछि लक्ष्मी र धन्वन्तरि प्रकट भएका थिए । भारतको अमृतसरमा सिख धर्मको स्वर्ण मन्दिरको शिलान्यास यसै दिन सन् १५७७ मा गरिएको थियो । मुगल वंशका अन्तिम बादशाह बहादुर शाह जफर पनि दीपावली मनाउँथे । पञ्जाबमा जन्मेका स्वामी रामतीर्थको जन्म र मृत्यु दुवै दीपावलीको दिन भएको थियो । भारतीय संस्कृतिका जननायक महर्षि दयानन्दले यसै दिन अजमेर छेउ देहत्याग गरेका थिए । दीन–ए–इलाहीका प्रवत्र्तक मुगल सम्राट अकबरको शासनकालमा राजकोष भण्डार सामु ४० गज अग्लो बाँसमा एउटा आकाशदीप दीपावलीको दिन लगाइन्थ्यो ।

तर हिजोआज तिहारमा एकअर्काको देखासिकीले गर्दा आतिशबाजी गर्ने होड चलेर वायु प्रदूषणमा वृद्धि हुने गर्दछ । सरकारले आतिशबाजीमा रोक लगाए तापनि दीपावलीमा हुने वायु प्रदूषण र ध्वनि प्रदूषण कम भएको छैन । यसबाहेक अन्य अवसरमा पनि हुने आतिशबाजीले गर्दा ओजोनमा प्वाल बन्ने गरेको छ जुन सबैको लागि चिन्ताजनक हुन सक्छ । यसबाहेक अतिशबाजीले गर्दा कैयन ठाउँमा आगलागी पनि हुने गरेको छ भने नक्कली पटखाले गर्दा कैयनलाई घाउचोट लाग्ने समाचार तिहारको भोलिपल्ट सुन्न र पढ्न पाइन्छ । यसैगरी तिहारमा मिठाईको खपत बढी हुने गर्छ । बढी लाभांश हासिल गर्ने गोलचक्करमा हरेक पाइलामा उपभोक्तालाई ठग्ने, मिठाईमा मिसावट गर्ने, बासी मिठाई बेच्ने कारोबारमा पनि वृद्धि भएको देखिन्छ । यसतर्फ उपभोक्ता समिति र सम्बन्धित निकायको ध्यान जानुपर्छ, किनभने यस्ता मिठाईबाट उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने र मिसावट गर्ने कारोबारीहरूको हौसला वृद्धि हुने गर्दछ । दीपावलीसँग जोडिएको एउटा अर्को सदीयौंदेखि चलि आएको जुवाताश खेल्ने परम्परा हो । अर्थलाई बढी महत्व दिनेहरूले तिहारमा एउटा नराम्रो प्रवृत्तिलाई स्वीकृति दिएको जस्तो लाग्दछ । यस सन्दर्भमा एउटा लोकप्रिय लोकोक्ति के छ भने जो यस दिन जुवाताश खेल्दैन त्यो अर्को जन्ममा गदहाको रूपमा जन्मिन्छ । यस प्रकारको धारणाले दीपावलीमा क्यासिनो र स्थानीय जुवा खेलाउने घरलाई बढावा दिएर समाजमा विकृति पैmलाउने कारण बनिरहेको छ जसमा रोक लगाउनु नितान्त आवश्यक छ ।

प्रकाशको यो चाड नेपालमा मात्र हैन, विदेशमा जहाँ–जहाँ नेपाली बसोवास गरेका छन् त्यहाँ धुमधाम र भव्यताका साथ मनाइन्छ । यद्यपि विभिन्न ठाउँमा मनाइने विधिमा केही अन्तर पनि देखिएको छ । बिहान उठेपछि घरको सबै काम पुरा गरेर मानिसहरू साँझ पख आफ्नो घरको अगाडि एक लाइनमा माटोको दियो बाल्छन् र धनकी देवी लक्ष्मीको पूजा गर्छन् । तर हिजोआज माटोको दियो बाल्ने परम्पराको साटो इलेक्ट्रिक बल्ब बाल्ने चलन बढ्दै गएकोले  वातावरणमा डेंगुजस्ता लामखुट्टेहरूको प्रकोप बढिरहेको छ । यसतर्फ हामीसबैले गम्भीरतापूर्वक सोच्नुपर्ने भएको छ । यस पटकको तिहारमा हामीले प्रकृतिलाई पटखा नचलाउने उपहार दिने सङ्कल्प गर्नुपर्छ । स्थानीय सीप र उद्योगको प्रवद्र्धन गरी सानो व्यापारीलाई आर्थिकरूपले सुदृढ गर्ने प्रयास गर्नुपर्छ र सँगसँगै विद्यालयलगायत एकअर्कालाई तिहार कसरी मनाउने र प्रकृतिलाई कसरी जोगाउनेबारे जागरूक बनाउनुपर्छ । अन्त्यमा हिन्दी कविताको केही पङ्क्तिका साथ “जगमग करते आइ दीवाली/रात हुई मतवाली/शाम हुई हल्की शीतल सी/शमां ने की रखवाली” तिहारको हार्दिक मङ्गलमय शुभकामना !

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here