डेंगु रोगबाट मुलुकमा ४७ जनाको मृत्यु भइसकेको छ । मुलुकका ७७ वटै जिल्लामा पुगिसकेको डेङ्गुबाट हालसम्म ३८ हजार ९१८ जना सङ्क्रमित भएका छन् । बितेको जेठ महीनामा धरानबाट शुरू भएको मानिएको डेङ्गुले यतिबेला सबैभन्दा बढी आक्रान्त काठमाडौं उपत्यकालाई पारेको छ । रोग नियन्त्रण महाशाखा तथा इपिडिमियोेलोजी विभागका अनुसार भदौ १५ गतेसम्म दुई हजार ८२७ जना सङ्क्रमित रहेकामा असोज मसान्तसम्म आइपुग्दा यो सङ्ख्या यसरी वृद्धि भएको हो । सङ्क्रमितहरूमध्ये झन्डै पचास प्रतिशत उपत्यकाका छन् । सङ्क्रमितको सङ्ख्या बितेको छ वर्षकै उच्च मानिएको छ । डेङ्गु रोग एक प्रजातिको लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग हो । यो रोग एडिज एजिप्टाई र एडिज अल्वोपिक्ट्स जातको पोथी लामखुट्टेबाट सर्छ । जसले विशेषगरी विबान घाम झुल्कने बेला र साँझ घाम अस्ताउने बेला टोक्ने गर्छ ।

फोहरमा बस्ने र सफा पानीमा फुल पार्ने यो लामखुट्टेको विशेषता हो । यसैगरी, डेङ्गुको रोगीलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोकेमा स्वस्थ व्यक्ति पनि सङ्क्रमित हुनेछन् । यो रोग लागेमा एक्कासि टाउको दुख्ने, उच्च ज्वरो आउने, मांसपेशी दुख्नुका साथै ढाडका जोर्नीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, नाक, गिजाबाट रगत बग्ने आदि लक्षणहरू देखिने, कतिपयलाई कमजोरी महसूस भई रिङ्गटा लाग्ने र बेहोश हुने गर्दछन् । डेङ्गु लागेपछि रगतमा प्लेटलेटको सङ्ख्या तीव्ररूपमा घट्दै जाने र यो सङ्ख्या १० हजारभन्दा तल पुगे बिरामीका लागि खतरा हुन सक्ने चिकित्सकको भनाइ छ । चिकित्सकीय अध्ययनका अनुसार एक प्रकारको विषाणुबाट डेङ्गु भइसकेका व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको खण्डमा भने डेङ्गु घातक हुन्छ । यसले ठूला रोगहरूको सङ्क्रमण गराउन सक्छ । जस्तै डेङ्गुका साथै चिकनगुनिया, जिका भाइरसलगायतका रोगको सङ्क्रमण हुन सक्छ । यसो भएमा मानिसको ज्यान जान सक्छ ।

डेङ्गु भाइरसको कारण हुने रोग भएपनि यो कोरोना भाइरस, स्वाइनफ्लू वा क्षयरोग जस्तो श्वास, हावा, ¥यालबाट सर्ने रोग होइन । यस रोगको सुरुआत, सङ्क्रमणको माध्यम र घातक पनि लामखुट्टेबाटै देखियो । लामखुट्टेको बासस्थान नै नष्ट गरिदियौं भने डेङ्गुलगायत धेरैवटा रोगको सङ्क्रमणबाट बच्न सकिन्छ । हाम्रो मुलुकका सरकार र नागरिकको जाँगर हेर्दा यो सम्भव देखिंदैन । तीनै तहका सरकार गैरजिम्मेवार बने पनि नागरिकले अल्छी नगर्ने हो भने डेङ्गु रोगबाट चाहिं बच्न सकिन्छ । हरेक परिवारले आफ्नो घर र सो आसपासका क्षेत्रमा सफा पानी जम्म नदिने हो भने डेङ्गु सार्ने पोथी लामखुट्टेले फुल पार्ने ठाउँ पाउँदैन । फुल पार्ने ठाउँ नभए ऊ त्यहाँ आउँदैन र सन्तान बढाउन पनि सक्दैन । आफ्नै घरको एसी र फ्रिजबाट निस्किएको पानी समयमा सफा गर्ने जाँगर नभएका व्यक्तिहरूले घरभित्रै डेंगुको फयाक्ट्री खोली बसेका छन् । वर्षामा पानी जम्ने घरवरिपरिका खाल्डाखुल्डी पुर्ने, खाली बट्टा, खपडा, टायर वा बोतलहरू महीनामा एक दिन मात्रै सफा गरे पनि डेङ्गु भगाउन पर्याप्त हुन्छ । यति  गर्न नसके सुत्ने बेला कम्तीमा मच्छडदानी प्रयोग गर्ने हो भने पनि लामखुट्टेले टोक्न पाउँदैन । केही नसके डेङ्गु भएको बिरामीलाई मात्रै पनि मच्छडदानी प्रयोग गराएमा सङ्क्रमणको दर घट्छ । तर हामी आफ्नो दायित्व पूरा गर्दैनौं, अनि अरूको पुकार गछौं । हिन्दीमा एउटा भनाइ छ– ‘दैव दैव आलसी पुकारा ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here