• अनन्तकुमार लाल दास

निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । हामी जति चेतनशील हुन्छौं, निर्वाचन त्यतिकै निष्पक्ष र स्वच्छ हुन्छ । निर्वाचनको महŒव नबुझ्दा हामी आफ्नो भविष्य खेर फाल्छौं किनभने निर्वाचनमा जित्नका लागि साम, दण्ड र भेद सबै प्रयोग गरिन्छ । अर्कोतिर धेरै मानिस निर्वाचनताका आफ्नै घरमा रमाएर बस्छन् र निर्वाचनमा भाग लिंदैनन् । हरेक निर्वाचनमा २० देखि ४० प्रतिशत मान्छे आफ्नो मत प्रयोग गर्दैनन् । प्रयोग गर्नेमध्ये पनि धेरै मानिस पैसाको लोभमा, जातिगत लहलहैमा, मीठोमसिनो खानेकुरा खाएर अयोग्यलाई मत दिएको हामी सबैको सामु छर्लङ्ग छ । खासगरी चतुर नेताहरू जोश भएको तर होश नभएको युवा जमातलाई भड्काएर गलत मानिसलाई भोट खसाल्न लगाउँछन् । कोही त निर्वाचन प्रक्रिया नबुझिकनै भोट खसाल्छन् र यस्तो भोट बदर हुने सम्भावना बढी हुन्छ । यावत् कुराले गर्दा हामीले नरुचाएको उम्मेदवार जित्न सक्ने सम्भावना बढी हुन्छ । हाल कक्षा दशको पाठ्यक्रममा एकाइ ५ अन्तर्गत व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, संवैधानिक निकायहरू, राजनीतिक दलहरू, निर्वाचन प्रक्रिया र निर्वाचनमा नागरिकको भूमिकासम्बन्धी पाठ समावेश गरिएको छ । जस अन्तर्गत विद्यार्थीहरूलाई यी यावत् कुराप्रति जिम्मेवार र सचेत बनाउन सकिन्छ ।

वर्तमान संविधान बनेपछि दोस्रोपटक मङ्सिर ४ गते सङ्घीय संसद् र प्रदेश सभा सदस्यको निर्वाचन हुन गइरहेको राजनीतिक घटनाक्रमसँग सम्बद्ध समाचार प्रयोग गर्न सिकाएर शिक्षकले विद्यार्थीहरूमा सम्प्रेषण सीप राम्रो बनाउन र उनीहरूलाई जागरुक नागरिक बनाउनुको साथै शब्द–भण्डार वृद्धि गर्न र नौलो कुरो सिकाउन सकिन्छ । यसलाई नै आधार बनाएर कैयन प्रकारका गतिविधि गराउन सकिन्छ । जस्तै, नेपालको संविधान २०७२ मा राजनीतिक दलसम्बन्धी के प्रावधान छ ? लोकतन्त्रमा राजनीतिक दलहरूको भूमिका के हुन्छ ? भोट अस्वीकार गर्ने प्रावधान भनेको के हो र हाम्रो सन्दर्भमा यो उपयुक्त छ वा छैन ? विकसित मुलुकको मतपत्र र हाम्रो देशको मतपत्रमा के फरक छ र किन ? मतदानमा खटिने कर्मचारीहरूको काम के हो ? मतदान गर्न अभिभावक र छिमेकीलाई विद्यार्थीहरूले के सल्लाह दिन सक्छ ? भोट हाल्न नजाने अभिभावकलाई कसरी सम्झाउन सकिन्छ ? यस संविधानको मुख्य विशेषताहमध्ये मिश्रित निर्वाचन प्रणाली पनि भएकोले प्रत्यक्ष निर्वाचन र समानुपातिक निर्वाचनमा के फरक छ ? निर्वाचनपूर्व, निर्वाचनको बेला र निर्वाचनपछि मतदाताले गर्ने काम जस्ता कुरा विद्यार्थीहरूलाई पाठ अन्तर्गत नै राम्ररी बुझाउन सकियो भने निर्वाचन सम्बन्धी धेरै समस्याको समाधान आपैंm हुन जान्छ ।

हाल निर्वाचन हुन एक महीनाभन्दा बढी समय बाँकी छ । निर्वाचन नजीकिंदै जाँदा सडकमा वाहनको भीड देखा पर्न थाल्छ । विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू ब्यानरसहित नाराबाजी गर्दै टोलटोलमा घुमिरहेको देखा पर्छन् । स्थानीय र राष्ट्रिय समाचारपत्रसहित एफएम, रेडियो र टेलिभिजनमा विभिन्न प्रकारको सूचना, अन्तर्वार्ता पढ्न, सुन्न र देख्न पाइन्छ । विद्यालयमा पढ्ने, खासगरी सात कक्षा भन्दा माथिका, विद्यार्थीहरू छरछिमेकमा हुने यस प्रकारको हलचलबाट धेरै हदसम्म वाकिफ हुन्छन् । यस कुरोलाई ध्यानमा राखेर हामीले के सोच्नुपर्छ भने कसरी यस घटनाक्रमलाई विद्यार्थीहरू माझ जागरुकता बढाउनको लागि मात्र नभई अवधारणा निर्माण, सीप विकास र सही दृष्टिकोण हासिल गर्न र अन्य उद्देश्यको प्राप्तिमा प्रयोग गर्न सकिन्छ ?

सम्प्रेषण जसमा पढाइ–लेखाइ र बोलाइ सामेल हुन्छ, एउटा महŒवपूर्ण सीप हो । विद्यार्थीहरूलाई नेपालको निर्वाचन प्रणालीबारे उनीहरूसँग भएको जानकारी प्रस्तुत गर्न प्रेरित गर्नुपर्छ र उनीहरूले प्रस्तुत गरेका कुराहरूमा छलफल गराई निर्वाचन सीपबारे दक्ष बनाउन सकिन्छ । यो पूर्णरूपले तथ्यमा आधारित विवरण हुन सक्छ । यसो गर्दा विद्यार्थीहरूमा निर्वाचनसम्बन्धी अवधारणा पनि प्रष्ट हुन्छ । उदाहरणका लागि ‘निर्वाचन क्षेत्र’, ‘दलहरूको घोषणापत्र’, ‘मतपत्र’,  ‘मतदान केन्द्र’, ‘दाबी र विरोध’ जस्ता शब्दमाथि चर्चा हुन सक्छ । सँगसँगै निर्वाचनसँग सम्बन्धित यस प्रकारका शब्दहरूको खोजी गरी सूची तयार गर्न लगाउन सकिन्छ । भाषासँग सम्बन्धित एउटा अर्को अभ्यास के गराउन सकिन्छ भने विद्यार्थीहरूलाई बेग्लाबेग्लै राजनीतिक दृष्टिकोण भएका विभिन्न समाचारपत्रमा दिइएको कुनै एक घटना विशेषको वृत्तान्त वा कुनै राजनीतिक व्यक्तिको शब्दचित्र कटिङ गरेर ल्याउन भन्न सकिन्छ । त्यसपछि बेग्लाबेग्लै विद्यार्थीहरूले ल्याएको वृत्तान्त कक्षामा तुलनात्मक अध्ययन गर्न लगाउन सकिन्छ । केही यस्ता शब्द वा वाक्य छनोट गर्नुपर्छ जसबाट प्रत्येक समाचारपत्र द्वारा त्यस घटना वा राजनीतिक व्यक्तिबारे एउटा विशेष छवि बन्छ जसलाई त्यस समाचारपत्रले समर्थन गरेको प्रतीत हुनेछ । कक्षामा यस सम्बन्धमा हामी जति छलफल गर्छौं, त्यतिकै विद्यार्थीहरू निर्वाचनबारे बुझ्ने हुन्छन् ।

यसैगरी कक्षाको सूचना पाटीमा एउटा कार्टून टाँस्न सकिन्छ । कार्टूृन बनाउने तरीका र त्यसमा दिइएको टिप्पणीमाथि छलफल गर्न सकिन्छ । विभिन्न राजनीतिक दलको विज्ञापन जम्मा गर्न सकिन्छ र त्यसमा भएको प्रभाव पार्ने शब्दलाई रेखाङ्कित गर्न सकिन्छ । तार्किक दृष्टिले त्यसमा देखापर्ने कमी–कमजोरी र तथ्यलाई गलत तरीकाले प्रस्तुत गर्ने उदाहरण बेग्लै निकाल्न सकिन्छ । यसरी विद्यार्थीहरूलाई एउटा असल, इमानदार, राष्ट्रवादी र विकासप्रेमी उम्मेदवार रोज्न प्रेरित गर्न सकिन्छ । एउटा अन्य गतिविधि के गर्न सकिन्छ भने निर्वाचन ताका प्रचलित शब्दलाई रेखाङ्कित गरी त्यस शब्दको उत्पत्ति कसरी भयो भन्ने थाहा लगाउन सकिन्छ । उदाहरणको लागि ‘काउन्ट डाउन’ शब्दको उत्पत्ति अन्तरिक्ष प्रविधिबाट भएको हो । तर यसको लागि शिक्षक र विद्यार्थी दुवैमा अध्ययनप्रति विशेष रुचि हुनुपर्छ । विद्यार्थीहरूलाई आफ्नो क्षेत्रबाट उभिएका सबै उम्मेदवारको चुनाव चिह्न जम्मा गरी त्यसलाई एक–एकगरी सूचनापाटीमा उम्मेदवारको नामसहित प्रदर्शन गर्न लगाउन सकिन्छ र उनीहरूलाई के भन्न सकिन्छ भने चिह्न विशेषलाई हेर्दा उनीहरूको मनमा उठ्ने विचार लेखेर ल्याऊ । केही चुनाव चिह्नमाथि यस प्रकारको गतिविधि गर्न सकिन्छ । यसरी एक–एकगरी सबै विद्यार्थीलाई सबैको सामु त्यसलाई पढेर सुनाउन भन्नुपर्छ । अन्य विद्यार्थीहरूले के अनुमान लगाउनुपर्छ भने यो बयान कुन चुनाव चिह्नसँग सम्बन्धित छ ।

यसपछि निर्वाचन चिह्नमाथि चर्चा गर्न सकिन्छ । एउटा विशेष समूहको लागि यो उपयुक्त छ वा छैन र कम साक्षरता भएको समाजका लागि यसको के महŒव छ ? मिडियामा आउने तथ्यहरूलाई वृत्तचित्र वा स्तम्भचित्रमा देखाउन सकिन्छ । उदाहरणका लागि प्रत्येक प्रदेशमा भएको निर्वाचन क्षेत्रको सङ्ख्या, मतदाता सङ्ख्या, वर्तमान निर्वाचनमा नयाँ मतदाताको अनुपात र विभिन्न क्षेत्रमा महिला मतदाताको सङ्ख्या, महिला उम्मेदवारको सङ्ख्या आदि वृत्तचित्र वा स्तम्भचित्र प्रयोग गरी देखाउन सकिन्छ । संविधानका धाराहरू आफू अनुकूल व्याख्या गर्ने चलन बढ्दै गएको र सत्तामा टिक्ने र खोस्ने काम भइरहेको देखिएकोले निर्वाचनको लागि हुने गठबन्धनबारे पनि चर्चा गर्नुपर्छ । ऐतिहासिक महŒव बोकेका दलहरू पनि किन एक अर्कासँग गठबन्धन गरिरहेका छन् ? राजनीतिक दलको उद्देश्य नै निर्वाचनमा भाग लिनु, जीत हासिल गर्नु र सरकार बनाउनु र दलको सिद्धान्त अनुसार देश हाँक्नु हो भने गठबन्धन गर्दा कुन दलको सिद्धान्त अनुसार देश हाँक्ने ? अर्कोतर्फ एउटा दलको झन्डा बोकेर हिंडेका व्यक्तिहरू अर्को निर्वाचन कार्यालयमा पुग्दा अर्कै दलको वा स्वतन्त्र उम्मेदवार बनेको समाचार हाम्रो व्यवस्थाको सबैभन्दा भद्दा मजाक हो । बाल्यकालदेखि दलगत राजनीतिमा क्रियाशील युवा नेतृत्वलाई किन नेतृत्व गर्न दिंइदैन ? किन उमेर ढलिसकेकाले पदत्याग गर्न चाहँदैनन् ? किन लामो समयसम्म दलमा योगदान दिएका व्यक्ति पनि दलत्याग गरी स्वतन्त्र उम्मेदवार बन्छन् ? के दल भनेको राणा शासन जस्तै पारिवारिक समूह हो भन्ने यावत् प्रश्नहरूबारे विद्यार्थीहरूको धारणा के छ भन्ने छलफल गर्न सकिन्छ ।

यस्ता गतिविधिहरूबाट विद्यार्थीहरूमा कानूनप्रति आदर भाव उत्पन्न गर्न सकिन्छ । लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको भावी नागरिकको रूपमा उनीहरूको दायित्व र लोकतन्त्रलाई जीवित राख्न, जनतालाई सधैंको लागि सार्वभौम बनाउन र भावी खतराबाट देशलाई जोगाउन सतर्क रहने र निर्वाचनको महŒवसँग सम्बन्धित विचार र भावना सञ्चार गर्न सकिन्छ । अहिलेसम्म दलहरूले घोषणापत्र जारी गरेका छैनन् । सङ्घीयतालाई प्रभावकारी बनाउन, प्रदेश तथा स्थानीय तहलाई संविधानले परिकल्पना गरे अनुसार सफल बनाउन कुन दलले नीति ल्याउला भन्ने कुराले नै नेपालको समावेशी विकासको सम्भावना परिभाषित गर्छ र समावेशी सिद्धान्तको आधारमा सबै नागरिकलाई निर्वाचन प्रक्रियामा भाग लिन सघाउन सकिन्छ । महिला, ज्येष्ठ नागरिक, अपाङ्ग र अशक्त मतदातालाई आफूले चाहेको वा रोजेको दलका उम्मेदवारलाई भोट दिने कुरामा सचेत गराउन सकिन्छ । यदि गर्न चाहेमा निर्वाचनबारे कक्षामा धेरै कुराहरू पाठ अन्तर्गत नै सिकाउन सकिन्छ । “सुशासनको प्रस्थानबिन्दु निर्वाचन हो” भन्ने कुरा विद्यार्थीहरूलाई सिकाउन सकियो भने भविष्यको नेपाल सुखी र समृद्ध हुन सक्छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here