• विश्वराज अधिकारी

नेपालमा अति शहरीकरण एक गम्भीर आर्थिक समस्याको रूपमा देखिएको छ । अति शहरीकरणले गर्दा सेवा र वस्तु व्यापरले महŒव पाएको छ, उद्योगले छैन । व्यक्तिहरूका लागि शहर अवसरको केन्द्र हुन पुगेको छ । अर्कोतिर गाउँहरू भने ज्यादै उपेक्षित हुँदै गएका छन् । यो स्थिति तराईभन्दा पहाडमा गम्भीर समस्याको रूपमा देखिएको छ । पहाडका कृषियोग्य भूमिको अधिकतम उपयोग हुन सकेको छैन भने कृषियोग्य नरहेका भूमि पनि कृषियोग्य बनाउन सकिएको छैन । मरुभूमिमा, बालुवामाथि पनि कृषि कार्य गर्न सकिन्छ भन्ने अनेक उदाहरण हामीले अनुसरण गर्न सकेका छैनौं ।

अति शहरीकरणले नेपालमा ल्याएका अनेक किसिमका समस्याबारे चर्चा गरौं ।

अति शहरीकरण एक गम्भीर समस्याको रूपमा काठमाडौंमा बढी देखिएको छ । कसरी ? नेपालभरिकै मानिसले काठमाडौंमा घडेरी खरीद गरेर घर निर्माण गर्ने चाहना राखेका हुन्छन् । र यो चाहना मेचीदेखि महाकाली र हिमालदेखि तराईसम्मका व्यक्तिमा पाइन्छ । अहिलेको स्थिति हेर्ने हो भने नेपालभरिका राम्रो आम्दानी हुने मानिसको घर काठमाडौं छ । राम्रो आम्दानी हुने कर्मचारी, धनी व्यापारी र नेताहरू, यी सबैका घर काठमाडौंमा छन् । उनीहरू नेपालको जुनसुकै भागको भए तापनि बसोवास भने काठमाडौं छ । अझ नेताहरू प्रायः सबैको काठमाडौंमा घर छ । वाम, काङ्ग्रेसी, मधेसी आदि सबै नेताको घर काठमाडौंमा छ । गाउँको विकास गर्ने गफ हाँके तापनि यी नेताहरूको बसोवास काठमाडौं नै हुन्छ ।

काठमाडौंको भूस्थिति कस्तो छ त ? यो असहज किसिमको छ । काठमाडौंमा जुन मात्रामा जग्गाको माग हुन्छ, त्यो मात्रामा जग्गा आपूर्ति गर्ने क्षमता काठमाडौंसँग छैन । काठमाडौं उपत्यकामा भूमि–सीमितता छ । काठमाडौं वरपरका भूमिहरू पहाडी–प्रकृतिको भएकोले त्यहाँ घर बनाउन सजिलो छैन । हुनत धनीहरूले पहाडी भूमि उपयोग गरेर पनि काठमाडौं वरपर घर निर्माण गरेका छन् ।

काठमाडौंमा भूमिको आपूर्ति कम र माग अधिक रहेकोले जग्माको भाउ जहिले पनि उच्च बिन्दुमा रहने गरेको छ । काठमाडौमा कुनै पनि समयमा, कहिले पनि जग्गाको मूल्यमा कमी आएको छैन । हरेक वर्ष जग्गाको मूल्य वृद्धि भएको छ । काठमाडौंको जग्गाको मूल्य प्रत्येक वर्ष बीस, तीस, पचास र कहिले त शतप्रतिशत वृद्धि भएको छ । काठमाडौंमा जग्गा किनबेच अहिले सर्वाधिक मुनाफा हुने जोखिममुक्त व्यापार बन्न पुगेको छ । कतिपय मानिस जग्गा किनबेच गरेर नै करोडपति, अरबपति भएका छन् । तर यसरी हुने जग्गाको खरीद बिक्रीले देशको अर्थतन्त्रलाई फाइदा भने पट्टकै गर्दैन । कसरी ?

कुनै पनि व्यक्तिले लगानी गर्दा जोखिम नहुने र मुनाफा उच्च हुने लगानीको क्षेत्र छनोट गर्छ । यो मानवीय प्रवृत्ति हो । यो कारण व्यक्तिको रोजाइमा काठमाडौंमा जग्गा खरीद गर्नु र बेच्नु, लगानीको लागि आकर्षक हुन पुग्छ किनभने काठमाडौमा आज किनेको जग्गाको मूल्य भोलि वृद्धि हुन्छ । तर काठमाडौं वा नेपालका अन्य शहरमा यसरी जग्गा बढी किनबेच हुने कार्यले अर्थतन्त्रमा ज्यादै नराम्रो असर पार्छ । मानिसले रोजगार वृद्धि हुने, कामदारहरूको लागि आयको बाटो खुल्ने उद्योग एवं व्यापारमा लगानी गर्दैनन् । देशमा उद्योग र व्यापारको तीव्र गतिमा विकास हुन पाउँदैन । नेपालमा अहिले त्यही भइरहेको छ ।

जग्गा खरीद–बिक्रीले केवल सीमित व्यक्तिलाई फाइदा हुन्छ, समग्र अर्थतन्त्रमा भने सकारात्मक असर पर्दैन । पोखरा, विराटनगर, वीरगंज, जनकपुर, नेपालगंजलगायत काठमाडौंमा हुने ठूलो मात्रामा जग्गाको खरीद–बिक्रीले गर्दा राष्ट्रिय पूँजीको ठूलो भाग जग्गा खरीदमा लगानी भएको छ, रोजगार वृद्धि गर्ने उद्योग एवं व्यापार स्थापनामा भएको छैन । नेपाल उद्योगको क्षेत्रमा झन्झन् पछाडि पर्दै गएको छ । नेपाल उद्योगको क्षेत्रमा झन्झन् पछाडि पर्दै गएको उदाहरण तल प्रस्तुत छ–

पत्रिकाहरूमा हालै प्रकाशित समाचार अनुसार चालू आर्थिक वर्ष २०७९–८० को प्रथम दुई महीनाको अवधिमा नेपालको वैदेशिक व्यापार ३ खर्ब रुपियाँ हुन पुगेको छ । तर सर्वाधिक अचम्मको कुरा के छ भने नेपालले जति निर्यात गरेको छ त्यसको कैयौं गुणा बढी आयात गरेको छ । आयातमा ज्यादै अगाडि छ भने निर्यातमा ज्यादै पछाडि । पछाडि पनि लज्जाजनक स्थितिमा पछाडि छ । माथि भनिएको चालू अर्थिक वर्षको दुई महीने अवधि (साउन र भदौ) मा नेपालले २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख रुपियाँ बराबरको आयात गरेको थियो भने मात्र २८ अर्ब ६८ करोड रुपियाँ बराबरको निर्यात गरेको थियो । अर्थात् नेपालले यो अवधिमा जति आयात गरेको छ त्यसको केवल १० प्रतिशत जति मात्र निर्यात गरेको छ । र यो अवधिमा वैदेशिक व्यापार घाटा ९० प्रतिशत जति हुन पुगेको छ । माथि केवल दुई महीनाको स्थिति देखाइए पनि यो स्थिति नेपालको लागि वर्षभरिको नै हो । नेपालले निरन्तर व्यापार घाटा बेहोर्दै आएको छ । विकसित देशहरूमा वैदेशिक व्यापार घाटा ५ देखि १५ प्रतिशतको हाराहारीमा हुन्छ । नेपालको यो स्थिति डरलाग्दो हो ।

नेपालको वैदेशिक व्यापार चिन्ताजनक स्थितिमा पुगेको छ । निर्यात परिमाण बढ्नन सकेको छैन भने आयात परिमाणमा वृद्धि हुँदै गएको छ । नेपालले अहिले भारतबाट ठूलो परिमाणमा आयात गरिरहेको छ भने भारततर्फ हाम्रो निर्यात ज्यादै कम छ । प्रस्ट भन्ने हो भने हामी भारतको एउटा संरक्षित बजार हुन पुगेका छौं । भारतबाट ठूलो परिमाणका सामान खरीद गरेर त्यहाँका व्यापारीहरूलाई धनी पार्ने काम गरिरहेका छौं । विदेशबाट कमाएर ल्याएको पैसाको ठूलो भाग, माथि भनिएको बाटोबाट भारततर्फ गइरहेको छ ।

हामीले अनावश्यक किसिमले घडेरी खरीदमा बढी लगानी गरिरहेका छौं । यो समस्या काठमाडौंमा गम्भीर हुन पुगेको छ । नेपालका अन्य शहरमा पनि यो समस्या भोलि गम्भीर हुन पुग्नेछ । वीरगंज, पोखरा, हेटौंडाजस्ता शहरहरूमा भएको तीव्र शहरीकरणले यस कुराको सङ्केत गरिरहेको छ ।

तीव्र शहरीकरणले गर्दा शहरहरू बढी सुविधायुक्त हुँदा जग्गाको माग बढेको छ । किनबेच पनि बढी भइरहेको छ । अर्थात् लगानीकर्ताहरूले घडेरीमा बढी लगानी गरिहेका छन तर उद्योग र व्यापार स्थापनामा जोड दिइरहेका छैनन् । यस कारणले गर्दा पनि नेपालमा उत्पादन थोरै भइरहेको छ, भएको उत्पादन पनि प्रभावकारी किसिमले विदेशी बजारहरूमा लगेर बिक्री गर्न सकिएको छैन । अनि यी कारणहरूले गर्दा हामी निर्यात कम आयात बढी गर्ने स्थितिमा पुगेका छौं । वैदेशिक व्यापार घाटाको बोझले थिचिएका छौं ।

गाउँतिर बसौं

अब हामीले गाउँतिर बसौं भन्ने अभियान सञ्चालन गर्नुपर्छ । व्यक्ति र परिवारलाई गाउँतिर बस्न प्रेरित गर्नुपर्छ । गाउँमा पनि इन्टरनेट, यातायात, व्यापार जस्ता सुविधा विस्तार गर्नुपर्छ । अहिले नेपालमा गाउँ र शहरबीच जुन ठूलो भिन्नता छ, त्यसलाई कम पार्नुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगारजस्ता आधारभूत आवश्यकता ग्रामीण क्षेत्रमा विस्तार गर्नुपर्छ ।

नेपालमा अति शहरीकरण भयो । अन्य शहरको तुलनामा काठमाडौंमा त झन् अति भयो । अति शहरीकरणले गर्दा काठमाडौंको प्राकृतिक वातावरण पनि दूषित हुन पुगेको छ ।

राष्ट्रिय आर्थिक विकासको दृष्टिकोणले जनसङ्ख्याको वितरण (बसोवास स्थिति) सन्तुलित हुनुपर्छ । विभिन्न स्थानहरू विभिन्न किसिमका प्राकृतिक स्रोत र साधन हुने भएकोले पनि मानिसहरूको बसोवास छरिएको हुनुपर्छ, ज्यादै एकत्रित हुनुहुँदैन । तर दुःखद कुरा, नेपामा बसोवास छरिएको छैन । झन्झन् एकत्रित हुँदै गएको छ । लाग्छ नेपालको कुल जनसङ्ख्याको एक तिहाई जनसङ्ख्या काठमाडौंमा मात्र बसोवास गर्छ ।

नेपालमा अब तीव्र शहरीकरण होइन, तीव्र ग्रामीकरण आवश्यक छ । यस्तो भए मात्र देशभित्र उद्योग एवं व्यापारको विकास गर्न सकिन्छ । आयात कम पार्दै निर्यातको परिमाणमा वृद्धि गर्न सकिन्छ ।

नेपालको अति शहरीकरणको प्रकृति पनि अनौठो छ । केवल काठमाडौंमा बसोवासको चाप उच्च दरमा बढ्दै गएको छ । गाउँहरूमा जनशक्तिको अभाव छ । गाउँमा बस्न मान्छेहरूले रुचाइरहेका छैनन् । किन होला ?

गाउँमा बस्नुभन्दा शहरमा बस्नु ‘सम्मानजनक’ ठानिने हाम्रो आम दृष्टिकोणले गर्दा पनि हामी शहरतिर बस्न जोड दिन्छौं । त्यसका लागि मरिमेट्छौं । काठमाडौंमा घर हुनु गर्वको कुरा हुन आउँछ । बहादुरीको कुरा हुन आउँछ । अब यो मनोविज्ञानालाई बिदा गर्नुपर्छ । ग्रामीण जीवन पनि आनन्ददायी एवं सम्मानजनक हुन्छ भन्ने सोच विकसित हुनुपर्छ । गाउँहरूमा पनि अनेक सुविधा विस्तार गर्नुपर्छ । यस्तो गर्न सके मात्र हामी ठूलो परिमाणमा निर्यात गरेर चुलिंदै गएको वैदेशिक व्यापार घाटा कम पार्ने स्थितिमा पुग्न सक्छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here