- अनन्तकुमार लाल दास
चाडपर्व समय–समयमा आएर हाम्रो नीरस जीवनलाई सरस बनाउने काम गर्दछ । केही पर्व ऐतिहासिक हुन्छन् भने केही ऋतुसँग सम्बन्धित त केही राष्ट्रिय चेतना जागृत गर्ने खालका हुन्छन् । विजयादशमी, दुर्गापूजा, दशहरा वा दशैं यस्तो पर्व हो जो ऐतिहासिक, ऋतुसँग सम्बन्धित, राजनैतिक तथा धर्मसँग पनि सम्बन्ध राख्दछ । यो मेचीदेखि महाकालीसम्म र हिमालदेखि तराईसम्म बडो धुमधामका साथ मनाइन्छ । विद्यार्थीहरूले यस चाडको आनन्द उठाउन र त्यसपछि पुनः विद्या आर्जन गर्न लागि थप ऊर्जा हासिल गर्न लामो बिदा पनि
पाउँछन् ।
यो पर्व प्रत्येक वर्ष त्यस बेला प्रारम्भ हुन्छ जब वर्षा ऋतु आफ्नो मेघ सेना सहित बिदा भइसकेको हुन्छ । यस बेला आकाश सफा हुन्छ र नदीहरूको जलस्तर पनि घटिसकेको हुन्छ । हलुको चीसो अनुभूति हुन थाल्छ । वर्षायाममा बन्द भएको व्यापारिक वा धार्मिक यात्रा पुनः प्रारम्भ हुन थाल्छ । यस बेला किसानहरू पनि खेतमा रोपाइँ सकेर घर बसेका हुन्छन् । यस कारण दशैं मात्र चाड नभई धेरै कुराको प्रतीक पनि हो । यो प्रतीक हो सत्य, साहस, निस्स्वार्थ सहयोग, मित्रता, वीरताको जसले बुराईमाथि जीत हासिल गर्न सफल भयो ।
पौराणिक दृटिकोणले यस पर्वको सम्बन्ध रावण वधसँग जोडिएको छ । भनिन्छ आजकै दिन श्रीरामले रावणको वध गरेका थिए । यसको साथै माता भवानीले महिषासुर नामक राक्षसको वध यसै दिन गरेकी दृष्टान्त पनि धार्मिक कथामा उल्लेख गरिएको छ । कथा जे भए तापनि दशैं प्रारम्भ भइसकेको छ । चारैतिर दुर्गा पूजा अन्तरङ्गसम्म फिंजिन थालेको छ । घर–घरमा श्रद्धालुहरूले माता भवानीको आराधना प्रारम्भ गरिसकेका छन् । टोल–टोलमा सामूहिक पूजाको तयारी पनि भइसकेको छ । एसएमएस, इमेल, सञ्चार माध्यम, इन्टरनेट आदि मार्फत शुभकामना आदान प्रदान भइरहेको छ । कतै–कतैबाट महाप्रसादको निमन्त्रण पनि आउन थालेको छ । बजारमा भीड बढेको छ । सडकहरू थरीथरीका सामानले सिंगारिएको छ । यसरी बडा दशैंको अनुभव गर्न थालिएको छ ।
तर पूजाको स्वरूप पनि मौसमजस्तै फेरिएको छ । पूजा अब आडम्बर, विज्ञापन, क्षमता प्रदर्शन बन्न थालेको छ । कुन टोलको कति ठूलो नेटवर्क छ त्यसको प्रदर्शन हुन थालेको छ । अहिले पूजा गर्न जानेहरूको अनुहार र अनुहारको भाव हेर्नुहोस् । त्यसमा के काप्रति ‘भक्ति’ छ स्वयं बुझ्न र देख्न सक्नुहुन्छ । बदलियो धेरै कुरा र फेरियो पूजासँग सम्बन्धित मूल्य र मान्यता । विशाल पण्डाल र फैशन प्रदर्शनको संस्कृतिको रूपमा परिवर्तन हुन थालेको छ दुर्गा पूजा पनि ।
पछिल्ला दिनहरूमा दुर्गा पूजाको अवसरमा कतै रामलीला त कतै भक्ति सङ्गीतको जागरण हुने गर्दथ्यो भने हिजो आज जुवा, ताश र रक्सीमा जागरण हुन थालेको छ । पहिले असत्यमाथि सत्यको जीतको रूपमा, आसुरी शक्तिहरूको नाश होस् भन्ने उद्देश्यले पूजा गरिन्थ्यो भने आज शक्तिको गलत उपयोग, पूजाको निहुँमा चन्दा आतङ्क संस्कृतिको रूपमा विकसित हुन थालेको छ । दशैं पूर्व कार्यालयहरू हाकिमविहीन देखिन्छ भने विद्यालयहरूमा प्रधानाध्यापकको अनुपस्थिति । यसो किन भएको जान्न र बुझ्न खोज्दा श्रद्धा, भक्ति नै सम्झन गा¥हो भयो, गर्ने के भनेर जवाफ आउँछ । पूजा गर्ने, स्वास्थ्य शिविर राख्ने, मेलामा यात्रुहरूलाई सहयोग गर्ने नाममा नानाथरीको धन्धा आजभोलि फस्टाएको देखिन्छ । केही बोल्नु हुँदैन । आयोजकलाई डिस्टर्ब गर्नुहुँदैन । यथाशक्ति तथाभक्ति होइन जथामाग तथा दाम दिनुपर्ने बाध्यता आजभोलि सृजना भएको छ ।
परम्परागतरूपमा दुर्गापूजा समाजमा विद्यमान आसुरी शक्तिलाई परास्त गर्न शक्ति सञ्चय, क्षत्रीयहरूद्वारा शस्त्र सफाइ र पूजा वा परिवारिक उत्थानका लागि गरिएको भाकल पूर्तिका लागि गरिन्थ्यो तर आजभोलि यो निर्बलमाथि आफ्नो शक्ति प्रदर्शन गर्ने, बाहुबल देखाउने रूपमा गरिन थालेको छ । यसैगरी विभिन्न समुदायका मानिस आआफ्नो शक्ति अनुरूप पूजा गर्ने गर्दथे भने आज एक अर्काको देखासिकी गर्न थालेका छन् । यस्तै मौका छोपी व्यापारीहरूले पनि यसलाई आफ्नो व्यापार प्रवद्र्धनको रूप दिएका छन् । एकातिर मँहगी दिनानुदिन बढ्दै गइरहेको छ भने पूजाको बहानामा कृत्रिम अभाव सृजना गरी हरेक सामानको दाम केही न कही बढ्ने गरेको छ । फलस्वरूप पूजाको पारम्परिक स्वरूप पनि छोटिंदै गएको छ ।
बजारमा बढेको भीडभाडले चोरी गर्ने र पाकेटहरूको धन्धा फस्टाएको छ भने पूजाको नाममा चन्दाको धन्धा पनि मौलाएको छ । त्यस्तै विभिन्न भाखाको भक्ति सङ्गीतले यतिखेर बजार गुञ्जमान भएको छ भने पैmशन डिजाइनरहरूद्वारा तयार गरिएका पुरुष र महिलाका लागि खास डिजाइनका कपडाहरूको बाजार पनि फस्टाएको छ । यसैगरी पशुबलि प्रथाको विरोध हुँदाहुँदै पनि हजारौं बोका, परेवा, कुखुरा आदिको बलि यसपटक पनि रोकिने सम्भावना देखिएको छैन ।
हुनेखानेहरूको देखासिकी गर्न बाध्य हाम्रो विकसित संस्कृतिको रूपमा पनि बडादशैंमा नेपालीहरूले ऋण बोक्ने गरेको यथार्थ रहेको छ । देवी दुर्गालाई गृह प्रवेशको निमन्त्रणका लागि घरलाई सजाउने प्रथा पनि आम नेपालीमा रहेको छ । नाता–कुटुम्बसँग मिलन र विभिन्न प्रकारको खाद्य र पेय पदार्थ भ्याइनभ्याई पस्किने आम चलन पनि रहेको छ । दशैंमा शस्त्रका साथै असामयिक दुर्घटनाबाट जोगिन देवी दुर्गाको आशीर्वाद पाउन वाहन र मेशिनरी पूजा गर्ने चलन पनि रहेको छ । दशमीदेखि पूर्णिमासम्म आफूभन्दा ठूलासँग टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने चलन नेपाली मौलिक संस्कृति हो । दशैंको अन्तिम दिन धनकी देवी लक्ष्मीलाई गृहप्रवेशको निमन्त्रणसहित पर्व समापन हुन्छ ।
अर्कोतर्फ समाजमा बढ्दो आसुरी शक्तिबाट उन्मुक्तिका लागि समाजलाई दिशाबोध गर्ने कार्य माड्सापहरूको रहेको हुनाले नै माड्सापहरूलाई सामाजिक अभियन्ता भनिन्छ । एउटा स्वाभिमानी, आत्मविश्वासी र भयमुक्त माड्सापले प्रदान गर्ने ऊर्जा र उसले प्रवाह गर्ने सन्देशको महŒव आकलन गर्न सकिंदैन । तर एउटा आत्महीन, डरपोक र भयाक्रान्त माड्सापले कस्तो शिक्षा देला सबैले बुझ्नुपर्ने हो ।
भनिन्छ विजयादशमी असत्यमाथि सत्यको विजयको पर्व हो । माड्सापहरूले वर्तमानको अँध्यारो बाटो गमन गर्ने कि उज्यालो बाटो रोज्ने स्वयं तय गर्नुपर्छ । हरेक वर्ष दशैंमा सबैभदा बढी मारमा पर्ने निजी क्षेत्रका माड्सापहरू नै हुनेगरेका छन् । कारण के भने निजी विद्यालयहरू कमाइ खाने भाँडो हो भन्ने आम धारणा छ तर विडम्बना के छ भने अभिभावकहरू समयमा शुल्क तिर्दैनन् । धेरै विद्यालयहरूले लाखौं प्रयत्नका बावजूद पनि आफ्ना शिक्षकहरूलाई दशैं खर्च त के, मासिक तलब पनि दिन सकिरहेका छैनन् । ती विद्यालय र ती विद्यालयका माड्सापहरूको मर्का कसले बुझिदिने ? स्वयं अभिभावकहरू पनि आफ्ना विद्यालयका माड्सापहरूले दशैं कसरी मनाइरहेका होलान् भनेर सोच्दैनन् ? यसरी एउटा असन्तुष्ट शिक्षकले कसरी सन्तुष्टि देलान् ?
यसरी बडादशैंले प्राचीन घटनाहरूको सम्झना ताजा पार्ने काम गर्दछ । यस चाडले हामीलाई रामजस्तै पितृभक्त, भ्रातृप्रेमी बन्ने प्रेरणा प्रदान गर्छ भने क्षत्रियजस्तै राष्ट्ररक्षक बन्न सिकाउँछ । सीताको चरित्रले नेपाली महिलाहरूलाई आदर्श नारी बन्ने प्रेरणा प्रदान गर्छ । यस दिनले हामीलाई सिकाउँछ कि रावण जस्तो कर्तव्यविमुख र पापी बन्नुहुन्न । रामजस्तै कर्तव्यपरायण र सबैलाई समान दृष्टिले हेर्ने चरित्र आत्मसात् गर्नुपर्छ । यसबाहेक यस दिनले सबल र सक्षमहरूलाई आआफ्नो समाज र राष्ट्र निर्माणका लागि एकजुट हुने प्रेरणा पनि दिन्छ । यस दिनले विद्यार्थीहरूलाई नयाँ ऊर्जा प्रदान गरी पढाइमा तल्लीन हुने प्रेरणा प्रदान गर्छ । राजनीतिक कर्मीहरूलाई यसले यो सन्देश दिन्छ कि आआफ्नो कर्मक्षेत्रमा गई आम नागरिकलाई देश निर्माणमा एकजुट गराउने अर्थात् यस दिवसले सबैलाई आआफ्नो कर्तव्य निर्वाह इमानदारी साथ गर्ने प्रेरणा प्रदान गर्छ । यसर्थ जहाँ हामी बडादशैंलाई बडो धुमधामका साथ मनाउँछौं त्यहीं यसले दिएको सन्देशलाई नबिर्सेको अवस्थामा यो पर्व हाम्रो एवं राष्ट्र निर्माणमा सहयोगी हुन सक्छ ।
दुर्गापूजाको यो माङ्गलिक बेला आत्ममन्थन गर्ने थलो पनि हो । आफूभित्रको रावणमाथि विजय हासिल गर्ने बेला हो । सत्ययुगमा एउटै रावण थियो, जसमाथि भगवान् रामले विजय हासिल गरेका थिए । तर आज कलयुग छ, जहाँ हरेक घरमा एउटा रावण लुकेको छ । यतिका रावणमाथि विजय पाउनु सजिलो छैन । तर जसरी एउटा दीपकको रोशनी अँध्यारोलाई चिर्न काफी हुन्छ त्यसैगरी एउटा राम्रो सोच भएको व्यक्ति आफूभित्रको रावण वध गर्न काफी हुन्छ । यसर्थ हामीले माड्सापहरूलाई कसरी अभिनन्दन गर्ने ? माड्सापहरू जहाँ अभिनन्दित हुन्छन् त्यहीं ज्ञानको गङ्गा बगिरहेको पाइन्छ । आखिर एउटा कर्मवीर माड्सापको महŒवाकाङ्क्षामा सिङ्गो राष्ट्र लुकेको हुन्छ । त्यसैले विजयादशमीको यस महान् चाडको शुभ उपलक्ष्यमा विद्यालयहरूमा सच्चा माड्सापहरूको वास होस् । उनीप्रति समाजको सार्थक आस जागोस् र ती माड्सापहरूलाई कहीं कतैबाट कुनै प्रकारको त्रास न होस् ।
राष्ट्रिय गौरवको महायात्राका लागि माड्सापहरूको सम्मान नै ठूलो सम्बल हो भन्ने कुरा जबसम्म व्यावहारमा पर्दैन तबसम्म राष्ट्रले त्रासदीबाट उन्मुक्ति पनि पाउँदैन । अन्त्यमा बडादशैंको पावन, पुनीत अवसरमा हरेक नेपालीको घरदैलोमा शान्ति र खुशियालीको दीप प्रज्वलित होस् भनी हार्दिक मङ्गलमय शुभकामना !