- सञ्जय मित्र
गत हप्ता एकजना युवकलाई बोलाएँ । युवकको नाम अनिल मल्ली हो । ऊ डोम समुदायबाट यसपटक कक्षा बा¥ह उत्तीर्ण गरेको छ । उसलाई साधारण स्नातक तहमा पढ्नको लागि कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुथियो । उसका कुराहरू सुनें र विकल्पबारे छलफल ग¥यौं । केही सञ्चारमाध्यममा यसबारे खबर प्रकाशन भएपछि चासो बढ्यो । खासै केही गर्नुपरेन । जिल्लाका क्याम्पसहरूमा स्नातक तह पढ्न चाहेमा सम्पूर्ण खर्च बेहोरिदिने मानिस पनि निस्किए । यस खबरलाई पनि सञ्चारमाध्यमले स्थान दिए । यसलाई सञ्चार माध्यमको सफलता मान्न सकिन्छ ।
यस समाचारको केही दिनपछि एकजना अपरिचितले फोन गरे । उनले एकजना पत्रकारको नाम लिंदै भेट्न भनेको बताए । मैले समय दिएँ । ठीक समयमा उनको पुनः फोन आयो । फोनमा अलिक कडापन थियो । स्थानको अलिक दोधार परेको रहेछ । जुन ठाउँमा भनेको थिएँ, त्यही नाम मिल्ने अर्को ठाउँमा पुगेर फोन गरेका रहेछन् । मैले ठाउँ देखाएँ फोनमैं । केही बेरमा आइपुगे । बनावटी नम्रता देखाए र आउनाको प्रयोजन भने । कुरो उही थियो–“म पनि डोम हुँ र मैले पनि बा¥ह कक्षा भर्खर उत्तीर्ण गरेको छु । फलानो सरले भेट्न पठाएका हुन् । सहयोग गरिदिनुप¥यो ।” कुरो सुनेर अलिकति केही गर्न सकिन्छ कि भन्ने मनमा त आयो । उसको गाउँको मुखियाबारे सोधें–तिनीसितको सम्बन्धबारे बुझ्न चाहें । अलिकति पारिवारिक पृष्ठभूमि बुझ्न चाहें । उत्तरमा तिनले छल्ने काम गरिरहेकोजस्तो अनुभूति भयो । सही कुरा बताउन खोजेकोजस्तो लागेन । अनि म प्रयास गर्छु, स्नातकको कक्षा सञ्चालन हुने बेलासम्म कतै कोही भेटिइहाल्छन् कि ? छठभन्दा पहिले स्नातकको कक्षा सञ्चालन हुँदैन, एकपटक छठ लगत्तै सम्पर्क गर्नू ।
यति भनेपछि उनको चित्त बुझेको जस्तो लागेन । त्यहींबाट फोन लगाएर ती पत्रकार साथीलाई फोनमा कुरा गर्दै एकैचोटि मेरो कानमा थमाउन खोजे । नथामूँ साथीको अपमान हुने र थामूँ यिनको चाहना छ कि म कबोल गरिहालूँ– कति र कसरी सहयोग गर्छु । असमञ्जसमा फोन लिएँ र साथीका कुरा सुन्नुभन्दा पहिले तिनीबारे आफूले बुझेको कुरो बताएँ । उनी सहमत भएजस्तो लाग्यो ।
हुन्छ, चिनजान भएपछि अलिक रूखो व्यवहार पनि मीठै लाग्छ र कहिलेकाहीं त साथीबाट समेत रूखो व्यवहारको अपेक्षा गरिन्छ । कहिलेकाहीं त यस्तो पनि हुन्छ कि जब साथीले सामान्य व्यवहार गर्छ तब बढी सचेत हुनुपर्छ । तर सहयोगमा गरिदिनुहोस् भनेर हक वा अधिकारजस्तो ठानेर म सहयोग माग्न आएँ र तपाईंभन्दा ठूलो छु भन्ने किसिमले प्रस्तुत हुने हो भने मनमा अलिक कस्तो त लागिहाल्छ । तर पनि अझै समय छ, म सकारात्मक भएर सहयोग गरिदिने दाताको खोजीमा छु ।
एकजना डोम युवक सरकारी जागीरमा छन् रौतहटमा । अरू कोही सरकारी जागीरमा नभएको बुझिएको छ । यो संयोग नै हो कि अन्य दुईजनाले एक साथ माध्यमिक तह उत्तीर्ण गरेका छन् र स्नातक पढ्ने तथा लोकसेवा आयोगको तयारीको कोचिङ गर्ने सोचाइ दृढतापूर्वक राखेका छन् । ती दुवै युवकले पनि यही स्वीकार गरेका छन् कि जिल्लामा अन्यत्र यति पढेको आफ्नो जातिबारे जानकारी छैन ।
साँच्चै डोम समुदायको अवस्था निकै कमजोर छ । शिक्षाको क्षेत्रमा त अझ कमजोर छ, डोम समुदाय । रौतहटको गरुडामा रहेको सरकारी स्कूलमा एकजना डोम कर्मचारी छिन् । ती कर्मचारीका सन्तान विद्यालयमा पढ्न आउँछन् तर पढ्दापढ्दै हराउँछन् । हराउँछन् भन्नुको अर्थ हो शिक्षामा अगाडि बढ्न सक्दैनन् । ती कर्मचारीले कहिल्यै आफ्नो हातले रजिस्टरमा हाजिरी गरेको देखिंदैन । जहिले पनि अरूलाई मेरो हाजिरी गरिदिनू भनेर आग्रह गरेको सुनिन्छ किनभने तिनलाई लेखपढ गर्न आउँदैन । विडम्बना होइन त ? ती महिला कर्मचारीको घर पनि विद्यालयकै जग्गामा छ । जो विद्यालयमा वर्षौंदेखि कार्यरत भएर घर विद्यालयसँगै टाँसिएको भए तापनि उही निरक्षर ।
माधवनारायण नगरपालिकाको माइधिया डमारमा एउटा हाइस्कूल छ । हाइस्कूलकै छेउमा दुई घर परिवार बसेको छ । दुवै परिवार डोम जातिको हो । त्यही डोम परिवारका एकजना सदस्य हुन् विद्यालयकी कर्मचारी । विद्यालय नजीक रहे पनि ती परिवारका सात सन्तानमध्ये कोही पनि विद्यालयमा पढ्न जाँदैन । विद्यालयमा काम गर्ने कर्मचारीका सन्तान पनि विद्यालयमा नजाने उदाहरण यसै जातिमा देखियो । कारण सोध्दा अचम्मको कुरो निस्कन्छ ।
सात बालबालिकामध्ये कसैसित जन्मदर्ता प्रमाणपत्र छैन । माधवनारायण नगरपालिकाको जुन वडामा यो माइधिया डमार टोल र विद्यालय छ, यस वडामा दोस्रो कार्यकालको लागि निर्वाचित हुने वडाध्यक्ष हुन् रामदेनी मुखिया । डोम परिवारको सधैं आरोप रहेन्छ मुखियाजी कहाँ चार–पाँचपटक पुगिसकें तर जन्मदर्ता बनाइदिंदैनन् ।
हाम्रो कुरो सुन्न आसपासमा अन्य मानिस पनि जम्मा भए । सबैले होमा हो मिलाए । मुखिया रामदेनी कहिल्यै वास्ता गर्दैनन् । जन्मदर्ता नगरिदिंदा पढाइबाट वञ्चित भएकै छन्, साथै सरकारले दिने बालपोषण भत्तालगायत अन्य सुविधाबाट पनि वञ्चित छन् । आठ वर्षको उमेरका बालकको जन्मदर्ता नबन्नुले धेरै कुरो सङ्केत गरेको देखियो ।
अनि मुखियाजीलाई सम्पर्क गर्ने प्रयास गरियो । मुखियाजीका भाइ जो एक वडामा वडा सचिव छन्, तिनले सुनाएको कहानी भने फरक छ ।
त्यो डोम परिवार माधवनारायण नगरपालिकाकै अन्य वडाबाट आएर बसेका हुन् । ती दुई परिवारले बसाइँसराइ गराएका छैनन् । बसाइँसराइ नगराउँदा जन्मदर्ता गराउन कठिन भएको हो । वडामा आउँदा सधैं एउटै सल्लाह दिने गरेको सुनाउँछन्–कि बसाइँसराइ गराउनु प¥यो, अथवा त्यहीं वडामा गएर जन्मदर्ता बनाउनुप¥यो । अथवा बुवा र आमाको नागरिकताको प्रमाणपत्र लिएर त्यहीं वडा कार्यालयमा हिंड्नुप¥यो र म पनि पुगेर सबैको जन्मदर्ता बनाइदिन तथा अन्य सुविधा दिनको लागि सिफारिश गर्छु । यसका लागि सधैं हुन्छ भन्ने तर जान कहिल्यै नमान्ने । घरमा जन्मदर्ता गराउने टोली पुग्दा पनि बुबाआमाले कुनै कागजपत्र नदिने वडाध्यक्षले सुनेका रहेछन् । यस्तो अवस्थामा केही भन्न सजिलो छैन उनले बताए ।
माइधिया डमारमा रहेको विद्यालयका हेड सर राजेश यादवले पनि आफूलाई समस्या राम्ररी थाहा भएको र आफ्नै कर्मचारीका सन्तानलाई विद्यालय भर्ना गर्न नपाएकोमा थकथक लाग्ने गरेको बताउँछन् । जहाँ विद्यालयमा पढाएको सबै कुरा हरेक बालबालिकाले आफ्नै छाप्रोमा बसेर सुनिरहेका हुन्छन्, त्यहीं ती बालबालिका औपचारिकरूपमा पढ्न नआउनु विडम्बनापूर्ण छ । प्रअ यादव भन्छन् – तर पनि नगरपालिकासित समन्वय गरेर पढाइको वातावरण बनाउने प्रयास गर्छु ।
डोम समुदायमा अझै अशिक्षा र अज्ञानताको पहुँच विकराल छ । अझै पनि यस समुदायमा शिक्षाको उज्यालो प्रकाश पुग्न सकेको छैन । शिक्षाको उज्यालो ती छाप्राहरूमा पुग्न नसक्दा अनन्त अन्धकार देखिन्छ । त्यस अन्धकारले कति धेरै बेफाइदा गरेको छ भन्ने कुरो पनि बुझ्न नसकेको अवस्था छ । यस्ता वर्गलाई कम्तीमा शिक्षाको क्षेत्रमा र विस्तृतमा जीवनको हरेक क्षेत्रमा मूलधारमा ल्याउन केही संस्थाहरू कार्यरत छन् । साँच्चै हरेक सरकारले यस वर्गको निम्ति केही गर्नुपर्छ । कतिपय अवस्थाले यो पनि देखिएको छ कि शिक्षाको उज्यालो छर्ने घामलाई केही बाधारूपी तुवाँलोले छेकिरहेको छ । बाधारूपी तुवाँलो हटाउन दृढतापूर्वक सार्थक प्रयासरूपी पारिलो घाम नै चाहिन्छ । यो पारिलो घाम कुनै समय आउला भनेर प्रतीक्षा गर्नुृभन्दा सार्थक प्रयास गर्नु राम्रो हुन्छ । सबैतिर अहिले कम्तीमा शिक्षामा ध्यान गएको देखिएको छ तर वास्तवमा सबैतिरबाट दलितहरूमा शिक्षाको सूर्योदय हुन अझै बाँकी छ ।