• विश्वराज अधिकारी

अन्तर्राष्ट्रिय व्यापारका अनेक सिद्धान्त छन् । त्यसमध्ये एउटा सिद्धान्तले भन्छ कुनै पनि देशले त्यस्ता वस्तुहरू आफ्नो देशभित्र उत्पादन गर्नुपर्छ जुन सस्तोमा उत्पादन गरेर अन्य देशहरूमा महँगोमा बिक्री गर्न सकियोस् । यसैगरी कुनै पनि देशले त्यस्ता वस्तु आयात (खरीद) गर्नुपर्छ जुन आफ्नो देशमा उत्पादन गर्दा महँगो हुन्छ । आफ्नो देशमा उत्पादन गर्दा महँगो पर्ने वस्तु आफैं उत्पादन गर्नुको साटो आयात गर्नुपर्छ । नेपालभित्र बस, ट्रक, कार, मोटरसाइकल आदि उत्पादन गर्दा उत्पादन लागत बढी परेर ती वस्तु महँगो हुने भएकाले नेपालले भारतबाट बस, ट्रक, कार, मोटरसाइकल आयात गर्छ, वर्षौंदेखि गरिरहेको छ । 

आफ्नो देशमा के के वस्तु अन्य मुलुकहरूको तुलनामा सस्तोमा उत्पादन गर्न सकिन्छ त्यो पत्ता लगाउनुपर्छ र ती वस्तुहरूको उत्पादनमा उच्च कुशलता (absolute advantage) हासिल गर्नु पर्छ । अति सस्तोमा उत्पादन गर्नुपर्छ । आफ्नो देशमा उत्पादन गर्दा महँगो हुने वस्तुहरू उत्पादन गर्नुहुँदैन, किनभने ती वस्तुहरू देशभित्रै महँगो छ भने विदेश निर्यात गर्दा झन् महँगो हुन्छ । यस सिद्धान्तलाई अहिले अन्तर्राष्ट्रिय व्यापारमा निकै प्रयोग गरिएको पाइन्छ । अहिले त धनी देशहरूले गरीब मुलुकमा आफ्नै कारखाना सञ्चालन गरेका छन् र त्यहाँ उत्पादित सामानहरू आफ्नो देश ल्याउने गरेका छन्, साथै अन्य देशमा निर्यात पनि गरेका छन् ।

राष्ट्रको अस्तित्व र सुरक्षाका सन्दर्भमा भने अन्तर्राष्ट्रिय व्यापारका सिद्धान्तहरू र मुख्यतः माथि भनिएको सिद्धान्त उपयोगी हुँदैन । राष्ट्रको अस्तित्व जोगाउने र सुरक्षा प्रदान गर्ने रणनीतिक महत्वका उद्योगलाई कुनै पनि राष्ट्रले घाटा खाएर भए पनि स्थापना र सञ्चालन गर्नुपर्छ । माथि भनिएको सिद्धान्तको बेवास्ता गर्नुपर्छ । राष्ट्रको अस्मिताको लागि व्यापार र मुनाफा गौण हो ।

नेपालमा रणनीतिक महत्वका दुई उद्योगहरू छन् । ऊर्जा र अटोमोबिल नेपालका लागि रणनीतिक महत्वका उद्योग हुन् । नेपालको अस्मिताको रक्षा गर्न यी दुई उद्योगको भूमिका महत्वपूर्ण हुन आउँछ । त्यसकारण यी उद्योगहरू नेपालले घाटा खाएर भए पनि स्थापना र सञ्चालन गर्नुपर्छ । अर्थात् यातायायका साधनहरू (ट्रक, कार, बस, जीप आदि) देशभित्रै उत्पादन गर्न नेपालले अटोमोबिल उद्योगमा लगानी गर्नुपर्छ । भारतको भर पर्नुहुँदैन । यदि भोलिका दिनमा भारतले नेपाललाई यातायातका साधन बिक्री नगरे, अन्य देशबाट आयात गरिएका साधनहरू आफ्नो भूमि प्रयोग गरी नेपाल आउन नदिए के गर्ने ? यस्तो स्थिति आएमा नेपालको यातायात व्यवस्था नै धराशायी हुन्छ । नेपाल गतिहीन हुन पुग्छ । कमजोर हुन पुग्छ ।

यसैगरी नेपालले ऊर्जा उद्योगको स्थापनामा पनि जोड दिनुपर्छ । वायुशक्ति, जलविद्युत् शक्ति, पेट्रोलियम शक्ति, सौर्य शक्ति आदि नेपालले आफैं उत्पादन गर्नुपर्छ । यी शक्तिको लागि भारत वा चीनको भर पर्नुहुँदैन । एउटा सुखद कुरा के छ भने नेपालले अहिले राष्ट्रलाई आवश्यक पर्ने जलविद्युत् उत्पादन गरिरहेको छ । सानो परिमाणमा भए पनि भारतलाई जलविद्युत् निर्यात गरिरहेको छ भने बङ्गलादेशतर्फ जलविद्युत् निर्यात गर्ने तयारी गरिरहेको छ ।

अटोमोबिल उद्योग र ऊर्जा उद्योग नेपालका लागि रणनीतिक महत्वका उद्योग किन हुन् ?

आधुनिक बजार व्यवस्थापन अनुसार कुनै पनि देशले आर्थिक विकास गर्नका लागि ऊर्जा र यातायातमा जोड दिनुपर्छ । यी क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्दछ । र यी उद्योगहरू विदेशीहरूको होइन, आफ्नो नियन्त्रणमा राख्नुपर्छ । यी दुई क्षेत्रले आधार–स्तम्भको काम गरेर राष्ट्रको अर्थ व्यवस्थालाई बोकेका हुन्छन् । मुलुकलाई सुरक्षा प्रदान गरेका हुन्छन् । तर नेपालको सन्दर्भमा यी दई उद्योगहरू नेपालको होइन, भारतको नियन्त्रणमा छ । नेपालले भारतबाट अटोमोबिल वा यातायातका साधनहरू निर्विकल्परूपमा आयात गर्नुपरेको छ, खरीद गर्नुपरेको छ । भारतको मुख ताक्नुपरेको छ ।

अनेक उद्योग सञ्चालन गर्नका लागि ऊर्जा अनिवार्य चाहिन्छ । उद्योगको क्षेत्रमा मात्र होइन, पर्यटन, व्यापार आदिको क्षेत्रमा पनि ऊर्जा आवश्यक पर्दछ । यसैगरी उत्पादित सामग्रीहरू अनेक बजार क्षेत्रमा पु¥याउन यातायातका साधन आवश्यक पर्दछ । यातायातका साधन र ऊर्जाविना जीवन धान्न कठिन हुन्छ । खाना पकाउनसमेत हामीलाई ऊर्जा चाहिन्छ ।

जलविद्युत् नेपालले पर्याप्त उत्पादन गरे तापनि पेट्रोलियम पदार्थ र अटोमोबिलका लागि हामी पूर्णतया भारतमा आश्रित हुनुपरेको छ । पेट्रोलियम पदार्थ र अटोमोबिल भारतले नेपालमा आउन नदिएको भोलिपल्टै नेपालमा हाहाकार मच्चिन्छ । नेपालको अर्थतन्त्रमा भुइँचालो आउँछ । यस्तो स्थिति हुन सक्ने हुँदा हामीले जहिले पनि भारतलाई खुशी पार्नुपर्ने समस्या छ, भारतले नेपालप्रति थिचोमिचो गरिरहे पनि । हरदम भारतलाई खुशी राख्नु हाम्रो बाध्यता हुन पुगेको छ । यही हाम्रो कूटनीति वा विदेशनीति हुन पुगेको छ । अर्को शब्दमा भन्ने हो भने भारतसँग हाम्रो सम्बन्ध, ऊर्जा र यातायातका साधनहरूले गर्दा, ‘भारतलाई सदा प्रसन्न राख’ नीतिमा आधारित हुन पुगेको छ ।

अन्तर्राष्ट्रिय राजनीतिमा कुनै पनि बेला जे पनि हुन सक्छ । यो अति गतिशील हुन्छ । सन् २०१४ मा रूसले युक्रेनको भूभाग क्रिमिया, आफ्नो भूभागमा गाभ्ने उद्देश्यका साथ युक्रेन (क्रिमिया) मा हमला गरेको थियो । त्यो हमलालाई युक्रेनले थाम्न सकेन । पछि क्रिमिया युक्रेनबाट छुट्टियो र अहिले एक स्वायत्त क्षेत्रको रूपमा छ । रूसले पुनः युक्रेनमाथि दोस्रो पटक हमला गरेको छ । युक्रेनमाथि रूसले यो हमला गरेको ६ महीनाभन्दा बढी भएको छ । यदि युक्रेनलाई अमेरिका र युरोपका केही देशहरूको हतियार र पैसा सहितको सहयोग नभएको भए युक्रेन भन्ने देशको अस्तित्व उहिले नै समाप्त भइसकेको हुन्थ्यो । युक्रेन, सिक्किम भारतमा विलय भएझै, रूसमा विलय भइसकेको हुन्थ्यो । स्वतन्त्र राष्ट्र सिक्किमलाई सन् १९७३ मा भारतले आफूमा विलय गराएको थियो । एक स्वतन्त्र राष्ट्र सिक्किम, भारतको भूभाग हुन पुगेको थियो ।

पुष्टि त भएको छैन, तर केहीको मत अनुसार युक्रेनले युरोपका केही देशहरूबाट सैन्य बल (लडाकू) पनि प्राप्त गरिरहेको छ । यो कारणले गर्दा युक्रेनको अस्तित्व अहिलेसम्म विश्वको मानचित्रमा कायम छ । मानौं भोलिका दिनमा, भारतले नेपालमाथि हमला गरेमा के होला ? ऊर्जा र अटोमोबिल दुवैको लागि भारतप्रति पूर्ण आश्रित नेपालले के भारतको त्यो हमलालाई एक हप्ता पनि थेग्न सक्ला ? यो एक यक्ष प्रश्न हो ? यो प्रश्नको उत्तर हरेक नेपालीले खोज्न आवश्यक छ ।

इतिहासले भन्छ, जहिले पनि ठूला राष्ट्रले साना राष्ट्रलाई आफूमा विलय गराउने सोचिरहेको हुन्छ, केही अपवाद बाहेक । सन् १९५१ मा चीनले तिब्बत कब्जा गरेको हो । त्यसभन्दा पहिले तिब्बत एक स्वतन्त्र राष्ट्र थियो । इरानमाथि नियन्त्रण कायम गर्न सन् १९८० मा इराकले सैन्य हमला गरेको थियो । इरान–इराक युद्ध लगभग ८ वर्ष चलेको थियो । तर इराक आफ्नो उद्देश्यमा सफल हुन सकेन । इराकले इरानमाथि थिचोमिचो बढाउने कोशिश भने गरेको थियो । कुवेतलाई आफूमा विलय गराउने उद्देश्यका साथ सन् १९९० मा इराकले कुबेतमाथि सैन्य हमला गरेको थियो । विदेशी राष्ट्रहरूले आफ्नो स्वार्थको कारण कुवेतलाई सैन्य सहयोग नगरेको भए अहिले कुवेत इराकको एउटा हिस्सा हुने थियो, सिक्किम र तिब्बत क्रमशः भारत र चीनको हिस्सा भएझैं ।

साना राष्ट्रहरूमाथि ठूला राष्ट्रको गिद्धे दृष्टिका उदाहरण अनेक छन् । मुख्य कुरा के हो भने हामीले नेपालको अस्तित्व कसरी जोगाउने भनी सोच्नुपर्छ । नेपालको स्थिति यस्तै रहेमा भोलि चीनले पनि नेपालमाथि हमला गर्न सक्छ । आफ्ना केही नाका नेपालका लागि नखोलिदिएर चीनले पनि नेपालको विश्वस्त मित्र नभएको सङ्केत दिइरहेको छ ।

माथिका विवरणहरूको आधारमा एउटा कुरा के प्रस्ट भन्न सकिन्छ भने नेपालका लागि ऊर्जा र अटोमोबिल उद्योग रणनीतिक महत्वका उद्योग हुन् । यी उद्योगहरू नेपाल आफैंले स्थापना गर्नुपर्छ । यी उद्योगहरूमा नेपालले पर्याप्त लगानी गर्नुपर्छ । यी उद्योगहरू सके आफ्नै पूँजी र आफ्नै उद्योगपतिहरूको व्यवस्थापनमा सञ्चालन गर्नुपर्छ । यी उद्योगहरूमा विदेशीहरूको नियन्त्रण हुनु हुँदैन, अटोमोबिलको लागि हामी भारतप्रति पूर्ण आश्रित भएझैं ।

सत्ता, शक्ति र कुर्सीका लागि जहिले पनि षड्यन्त्रमा सक्रिय रहने, राष्ट्रका लागि होइन, आफ्नो लागि राजनीति गर्ने, सिद्धान्त होइन, लेनदेनलाई महत्व दिने यी नेताहरूले माथिका कुरा बुझिदिए हुने हो ।

आफ्नो स्वार्थका लागि कहिले झगडा गर्ने, कहिले मिल्ने प्रवृत्तिका वर्तमानका यी नेताहरूले रणनीतिक महत्वका उद्योग स्थापनाको महत्व बुझ्ने आशा गर्न सकिने ठाउँ छैन । यो कारणले पनि आउने चुनावमा पुरानाहरूलाई विस्थापित गर्दै, नयाँ र युवा नेतृत्वको चयन गरेर, ती युवाहरूलाई रणनीतिक महत्वका उद्योग स्थापनाको आवश्यकता बोध गराउन जरूरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here