प्रस, वीरगंज, १५ भदौ/

वीरगंज महानगरमा रहेका सहकारी संस्थाहरू भाग्ने क्रम फेरि शुरू भएको छ । दुई साताको अन्तरालमा दुईवटा सहकारी संस्था बचतकर्ताहरूको रकम लिएर फरार भएका छन् ।

वीरगंज महानगर–१ स्थित मानव बचत तथा ऋण सहकारी संस्था तथा वीरगंज–६ माईस्थानमा रहेको प्रतीक बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकम लिएर भागेको चर्चा छ । मानव बचत तथा ऋण सहकारी  संस्थाका सञ्चालक १० दिनअघि संस्था बन्द गरेर रातारात फरार भएका हुन् । स्थानीय युवकहरूले सञ्चालन गरेको सो संस्थामा स्थानीय दैनिक ज्याला मजदूरी गर्नेहरूले रकम जम्मा गर्ने गरेको र अहिले बचत रकम नपाएपछि बचतकर्ताहरू बिचल्लीमा परेको बताइएको छ ।

यसैगरी, माईस्थानस्थित प्रतीक बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरू पनि सटर बन्द गरेर फरार रहेको स्थानीयले बताएका छन् । केही दिनअघि सानो पाइला बचत तथा ऋण सहकारी संस्था पनि विवादमा आएको थियो । बचतकर्ताहरूको रकम फिर्ता नगरेको भनेर सो संस्थाविरुद्ध विभिन्न चर्चा चलाइएको थियो । सो सहकारीले प्रतिबचतकर्ता अहिले दैनिक बढीमा बचत रकममध्ये २५ हजार फिर्ता गर्ने भनेको छ र यसको अनुगमन वीरगंज महानगरपालिकाले गर्दैछ ।

स्थानीय पालिका गठनपछि सहकारी संस्थाहरूको अनुगमन, निगरानी अहिले महानगरको जिम्मामा आएको छ । विसं २०७४ पछि स्थानीय तह अन्तर्गत सहकारीको जिम्मेवारी महानगरले पाएको हो । वीरगंज महानगरपालिकाको सहकारी शाखाका सुनील कर्णले महानगरमा अहिले १९७ वटा सहकारी संस्था दर्ता रहेको र सोमध्ये सातवटाविरुद्ध गुनासो आएको बताए ।

उनले छपकैया र माईस्थानका दुईवटा सहकारीले बचतकर्ताको रकम फितर्F नगरेको गुनासो आएको र सातवटाविरुद्ध उजूरीहरू परेको बताए । सहकारी संस्थाहरूले रकम फिर्ता नगरेको हल्लासँगै अहिले भाका पूरा नभएका बचतकर्ताहरू पनि सहकारी संस्थाहरूमा आप्mनो रकम लिन तँछाडमछाड गरिरहेका छन् ।

भाका पुगेकाहरूले रकम माग गर्नु जायज भएपनि भाका नपुगेकाहरूले रकम माग गर्दा सहकारीहरूलाई समस्या भएको छ । 

पर्सा जिल्लामा सहकारीहरू बचतकर्ताको रकम लिएर भाग्ने गरेको घटना नौलो होइन । यसअघि पनि बचतकर्ताहरूको लाखौं–करोडौं रुपैयाँ लिएर सहकारीहरू फरार भइसकेका छन् । अहिले पनि कतिपय सहकारी संस्थाका सञ्चालकहरू फरार छन् । बचतकर्ताहरूको रकम उचित ठाउँमा लगानी गर्ने र सो लगानीबाट उठ्ने ब्याज र बचतकर्तालाई दिने ब्याजबीचको अन्तरबाट सञ्चालित सहकारीहरू जोखिममा छैनन् । तर बचतकर्ताहरूको रकम जथाभावी लगानी गर्ने तथा बचत रकमलाई निजी सम्पत्ति सरह ठान्ने सहकारीहरू जोखिममा पर्दै आएका छन् । सहकारी सञ्चालन गर्दा वित्तीय जानकारी नभएका व्यक्तिहरूको सहभागिता गराइने हुँदा यस प्रकारका घटनाहरू दोहोरिने गरेको सहकारी विज्ञहरू बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here