–धनबहादुर गुरुङ

अन्नपूर्ण (कास्की), १६ भदौ/रासस

प्लास्टिक पेलेर पक्की सडक बनाउन सकिन्छ भन्ने नमूना प्रस्तुत भएको चार वर्षभन्दा बढी भयो। पोखरा महानगरपालिका–१४ अनुपम टोलको एक सय मिटर सडक प्लास्टिकबाट पिच गरेर २०७५ साउन १ गते उक्त कार्यको शुभारम्भ गरिएको हो।

प्लास्टिक सडक सय मिटर मात्र छ। शहरमा जताततै प्लास्टिक छ। शहरको फोहर व्यवस्थापन गर्न नगरपालिकालाई हम्मेहम्मे छ। तर तिनै फालिएका प्लास्टिकबाट पक्की सडक बनाउन सकिन्छ भने नमूना पनि हो यो सडक। चार वर्ष अघि ग्रीन रोड बेस्ट म्यानेजमेन्ट कम्पनीका युवाद्वारा प्लास्टिक पेलेर बाटो कालोपत्र गर्ने प्रविधि भूटानबाट सिकेर पोखरामा प्रयोग गरिएको हो।

कम्पनीबाट मेकानिकल इन्जिनीयर विमल बाँस्तोला र सिभिल इन्जिनीयर राजीव सुवेदी प्लास्टिकबाट सडक पिच गर्ने प्रविधि सिक्न भूटान गएका थिए। त्यहाँ एकहप्ते तालीम लिएर फर्केपछि उक्त सीप नेपालमा प्रयोग गरिएको हो। यसमा उनीहरू सफल भए। यो प्रविधि अरू ठाउँमा पनि विकास गर्न चाहे पनि स्रोतसाधनको कमी यतिखेर समस्याका रूपमा देखिएको छ।

यसका लागि प्लास्टिक टुक्रा पार्नुपर्छ। प्लास्टिक टुक्रा पार्ने काम मेशिनले गर्छ, जुन पाउनै मुश्किल छ। भएका मेशिन बिग्रँदा बनाउन चीन वा भारत पु–याउनुपर्छ। हैरानी खेप्नुभन्दा मेशिन नेपालमैं बनाउनेतर्फ उनीहरूको ध्यान मोडियो। अनुसन्धानकै क्रममा गण्डकी प्रदेशले सञ्चालन गरेको गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान ‘जिपास्ट’ सँग ग्रीन रोड बेस्ट म्यानेजमेन्ट कम्पनीले काम गरेको हो।  “हामीले प्लास्टिक टुक्रा कसरी बनाउने भनेर रिसर्च गरिरहेका थियौ”–इन्जिनीयर विमल बाँस्तोलाले भने–“त्यही क्रममा गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान (जिपास्ट) सित कुरा भयो।” त्यसपछि जिपास्टले सहयोग गरेको उनले बताए।

“अहिले हामीलाई धेरै कुरामा सहज भएको छ”–उनले भने–“प्लास्टिक सडक कार्यक्रम देशैभरि फैलाउने हाम्रो योजना छ, त्यसमा जिपास्टबाट सहयोग पाए सहज हुने थियो।” गण्डकी प्रदेश सरकारले विज्ञान तथा प्रविधि क्षेत्रमा नवीतम सोच राख्नेका लागि जिपास्ट स्थापना गरेको हो।

प्रदेश सरकारले विज्ञान तथा प्रविधि क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने संस्था तथा व्यक्तिलाई सहयोग पु–याउन यसको  स्थापना गरिएको प्रतिष्ठानका प्रमुख ढाका भण्डारीले जानकारी दिए। यो स्थापना भएको २० महीना भयो। “प्रदेशभर विज्ञान तथा प्रविधि क्षेत्रमा क्रिएटिभ रूपमा लाग्नेहरूलाई सहयोग पुग्नेगरी यो प्रतिष्ठानको परिकल्पना अघि बढेको हो”–उनले भने–“स्थापना भएको छोटो समयमा पनि ग्रीन रोड बेस्ट म्यानेजमेन्ट कम्पनीजस्तै अन्य संस्था र व्यक्तिलाई सेवा दिन पाएका छौं।” प्रतिष्ठानले कर्मचारी भर्नादेखि प्रयोगशाला स्थापना, अनुसन्धानकर्ताका लागि फेलोसिप, अनुसन्धानका लागि लागत साझेदारी, वर्कसप, तालीमको काम गरिरहेको उनले जानकारी दिए।

जिपास्ट प्रदेश सरकारको शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय अन्तर्गत सञ्चालित छ। प्रदेशलाई सक्षम बनाउनका लागि प्रतिष्ठानलाई प्रयोग गर्ने मन्त्रालयको योजना छ। यसलाई अझै प्रभावकारी बनाउन यस वर्ष पनि नयाँ योजना बनाएर बजेट छुट्याइएको प्रदेश शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले जानकारी दिए।

 मन्त्री श्रेष्ठले भने–“लुप्त अवस्थामा रहेका चीजको अनुसन्धान गरेर कसरी उत्पादन बढाउने, आयस्रोत बढाएर प्रदेशलाई सक्षम बनाउने कुरा जिपास्टसँग जोडिएको छ।” चालू आर्थिक वर्षमा विनियोजन गरिएको रकमबाट ग्रीन रोड बेस्ट म्यानेजमेन्ट कम्पनीजस्तै विज्ञान तथा प्रविधि क्षेत्रमा नवीनतम सोचका साथ काम गर्ने सङ्घ वा व्यक्तिलाई सहयोग गर्ने जिपास्टको योजना रहेको उनले बताए।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here