- अनन्तकुमार लाल दास
केटाकेटीहरूलाई सही अभिभावकत्व प्रदान गर्नु ठूलो चुनौती बन्दै गइरहेको छ । आधुनिक युगको मान्यता के छ भने केटाकेटीहरूसँग अभिभावकको व्यवहार मित्रवत् हुनुपर्छ अनि मात्र उनीहरूको चौतर्फी विकास सम्भव हुन्छ । तर यस सन्दर्भमा मेरो धारणा केही फरक रहेको छ किनभने साथीहरूसित मनको भावना साटासाट त गर्न सकिन्छ तर कुनै शिक्ष्Fा लिन सकिन्न । यस कारण मेरो विचारले अभिभावकहरू मित्र बन्नुभन्दा उनीहरूका लागि रोल–मोडेल बन्नु उचित हुन्छ किनभने बालबालिकाले आआफ्ना अभिभावकहरूलाई आफ्नो आदर्श मानेर उनीहरूको हरेक क्रियाकलापको सूक्ष्म अनुसरण गरिरहेका हुन्छन् ।
आधुनिक युगमा बालबालिकाको सही रेखदेख गर्न मुश्किल भइरहेको अवस्थामा उनीहरूको सही मार्ग दर्शन गर्नु झन् जटिल बन्दै गएको छ । सही अभिभावकत्व प्रदान गर्नु आज निकै चुनौतीपूर्ण रहेको छ । बदलिंदो सामाजिक परिवेशमा यदि बालबालिकाहरूमाथि समझदारीपूर्वक ध्यान दिइएन भने उनीहरूको मन र मस्तिष्कमा वातावरणको नराम्रो प्रभाव पर्न सक्ने सम्भावना बढी हुन्छ । यस कारण यदि तपाईं एउटा आदर्श अभिभावकको रूपमा आफ्नो सन्तानलाई अनुशासित, जिम्मेवार र सबैको आँखाको नानी बनाउन चाहनुहुन्छ भने तल उल्लिखित सुझाव अँगाल्नु बेस हुनेछ ।
अभिभावकले बाल–मनोविज्ञान बुझेर आफ्ना सन्तानसँग एउटा निश्चित सीमासम्म मित्रवत् व्यवहार पनि गर्नुपर्छ, साथै आफ्नो अभिभावकीय अधिकार अन्तर्गत समय–समयमा दिशानिर्देश पनि दिंदै रहनुपर्छ । सन्तानले गर्ने जुनसुकै काममा गल्ती खोज्नु र उसकोे हरेक क्रियाकलापमा किचकिच गर्ने बानी यदि अभिभावकमा छ भने त्यसलाई त्याग्नु नै बेस हुन्छ । साथीहरूकै अगाडि हप्काउनु भन्दा, एक्लैमा स्नेहपूर्वक सम्झाउनुपर्छ । यस प्रकारको व्यवहारले सन्तानको मनमा अभिभावकप्रति विश्वास उत्पन्न हुन्छ ।
प्रायः के देखिन्छ भने अभिभावकहरू जबर्दस्ती आफ्नो सन्तानलाई आदर्श र शिष्टाचारको कुरो सिकाउने प्रयास गरिराखेका हुन्छन् । के कसैले सोचेको छ यो कुरो उनीहरूले अभिभावकंसँगै सिकेका हुन् ? शोधले के देखाएको छ भने अपवादबाहेक सबैको सन्तान अभिभावककै पदचिह्नमा हिंड्छन् । यस कारण यदि सन्तानमा राम्रो गुण विकसित गर्नुछ भने स्वयं उदाहरण बन्नुपर्छ किनभने उनीहरूको पहिलो पाठशाला घर हो, जहाँ अभिभावक उनका शिक्षक हुन्छन् । सामाजिकता, व्यावहारिकता र नैतिकताको कुरा केटाकेटीहरू घरमैं सिक्छन् । यस कारण अभिभावकले यसको शुरूआत स्वयंबाट गर्नुपर्छ ।
यदि तपाईंको छोरा वा छोरीले कुनै राम्रो काम गरेको छ भने उसको प्रशंसा खुलेर गर्नुहोस् । अभिभावकद्वारा गरिने यस प्रकारको प्रशंसाले उनीहरूको आत्मविश्वास बलियो बन्छ र भविष्यमा पनि सदैव राम्रै गर्न खोज्छ । यसका साथै बाल्यकालदेखि नै आफ्नो सन्तानलाई ‘क्षमा’ र ‘धन्यवाद’ जस्ता शब्द प्रयोग गर्न सिखाउनुपर्छ । घरमा आएका पाहुना, नातागोता वा बुजुर्गहरूको सम्मान गर्न सिकाउनुपर्छ । यदि बाल्यकालदेखि नै राम्रो संस्कारको बीउ छर्न सकियो भने निश्चित नै भविष्यमा ऊ एउटा चरित्रवान् र जागरुक नागरिक बन्छ ।
बालहठ बाल–सुलभ स्वभाव भएको हुनाले कहिलेकाहीं सन्तानले गर्ने जिद्दी पनि स्वीकार गर्नुपर्छ तर उचित समयमा समझदारीका साथ यसबारे उचित सल्लाह दिनुपर्छ । यस प्रकारको व्यवहारले बिस्तारै उसको बानीमा सुधार देखापर्छ । प्रायः अभिभावकहरू बोल्छन् र केटाकेटीहरू सुन्छन् । केटाकेटीहरूलाई पनि बोल्ने मौका दिनुपर्छ र अभिभावकहरूले ध्यान दिई सुन्नुपर्छ । बाल मनोवैज्ञानिकका अनुसार यदि केटाकेटीले आफ्नो भावना व्यक्त गर्ने मौका पाउँछन् भने उनीहरूलाई दिशा निर्देश गर्न अभिभावकहरूलाई नै सजिलो हुन्छ ।
अभिभावकद्वारा गरिने व्यवहारमा एउटा कुरो के देखिएको छ भने उनीहरू जहिले पनि, जसको अगाडि पनि आफ्नो सन्तानको तुलना वा गलतीको बयान गरिरहेका हुन्छन् जो मेरो दृष्टिकोणले सही छैन । यस्ता कुराले गर्दा उनीहरूमा हीन भावना उत्पन्न हुन्छ जसबाट उनीहरूको प्रगतिको मार्ग अवरुद्ध हुन्छ । हरेक बच्चा अरूको तुलनामा भिन्न प्रकृति लिएर जन्मेका हुन्छन् । उनीहरूभित्र रहेका राम्रा गुणलाई अगाडि ल्याउने जिम्मेवारी पूर्णरूपेण अभिभावककै हुन्छ । यस कारण अभिभावकहरूले उनीहरूसँग विचार आदानप्रदान वा खाने सामान साझा गर्ने बानी बसाल्नुपर्छ । यसरी उनीहरूलाई समाजमा घुलमेल गर्न सजिलो हुन्छ ।
बालबालिकामा देखा पर्ने ईष्र्या, द्वेष, नाटकीय बानी आदिमा सुधारका लागि अभिभावकहरू सधैं सतर्क रहनुपर्छ । मेरो नजरमा केटाकेटीहरू घरको वातावरणले बढी प्रभावित हुन्छन्, त्यसैले घरमा स्वयं जिम्मेवार र अनुशासित हुनु आवश्यक छ । अभिभावकहरूले केटाकेटीहरूलाई पारिवारिक वा आपसी झगडाको हिस्सा वा त्यसको कारणको रूपमा प्रस्तुत गर्नहुन्न । प्रायः के देखिएको छ भने अभिभावकहरू आफ्नो अधूरो महŒवाकाङ्क्षा सन्तानको माध्यमबाट पूरा गर्न उनीहरूमाथि दबाब हाल्ने गर्छन् जुन मेरो दृष्टिमा उचित होइन ।
बालबालिकाहरूलाई अनुशासनमा राख्नुपर्छ तर अनुशासनको सिक्रीमा मात्र बाँधेर राखियो भने उनीहरूको चौतर्फी विकास सम्भव हुँदैन । यस कारण केटाकेटी अगाडि एकअर्कालाई गाली दिने, गलत शब्द प्रयोग गर्ने, झूट बोल्ने जस्ता कार्य गर्नुहुँदैन किनभने यसको नराम्रो प्रभाव उनीहरूमाथि पर्छ । यस कारण अभिभावकहरूले सन्तानको दैनिक क्रियाकलापमा आफ्नो दिनचर्याबाट केही समय निकालेर आफूलाई उनीहरूको परिवेशमा समावेश गर्दा बालबालिकाहरूको सम्पूर्ण विकास हुने कुरामा म विश्वस्त छु ।
यस कारण कुनै प्रकारको कार्यक्रम वा पारिवारिक भेला भएमा केटाकेटीहरूलाई अनिवार्य त्यसमा सामेल गराउनुपर्छ । यसबाट उनीहरू सोशल हुनुका साथै आफ्नो परम्परासँग परिचित हुन्छन् र त्यसबाट पनि केही न केही कुरा सिक्छन् । यस्ता अवसरमा कहिलेकाहीं स्वभाववश उनीहरू यस्ता प्रश्न वा जिज्ञासा राख्छन् जो वातावरण अनुरूप नभए तापनि त्यसको जवाफ त्यस बेला अभिभावकहरूले समझदारीपूर्वक दिनुपर्छ र पछि विस्तृत जानकारी गराउनुपर्छ । यसो गर्दा उनीहरू भ्रमित हुने सम्भावना न्यून भएर जान्छ ।
बालबालिकाहरूको विकास क्रममा अभिभावकले ध्यान दिनुपर्ने सबैभन्दा महŒवपूर्ण कुरा के हो भने उनीहरूलाई लापरवाह बन्ने छूट दिनुहुँदैन । उनीहरूलाई चाहिएभन्दा बढी स्वतन्त्रता दिनुहुँदैन । यसका साथै उनीहरूलाई आत्मनिर्भर बनाउनका लागि उनीहरूले गर्न सक्ने ससाना काम आफैं गर्न दिनुपर्छ । यसले गर्दा उनीहरू बाल्यकालदेखि नै जिम्मेवार र आत्मनिर्भर बन्छन् । आफ्नो सन्तानको रुचिबारे जान्ने प्रयास हरेक अभिभावकले गर्नुपर्छ । छिमेकीको बच्चाले के गरिरहेको छ र के गरिरहेको छैन जान्नु आवश्यक छैन । आवश्यकता आफ्नो सन्तान के चाहन्छ बुझ्नु जरूरी हुन्छ । केटाकेटीसँग विद्यालय र त्यहाँको गतिविधिबारे, उनीहरूका साथीबारे सोध्नुपर्छ । अर्थात् उनीहरूसँग कुराकानीको दायरा जति फराकिलो हुन्छ त्यतिकै उनीहरू खुलेर हरेक विषयमा कुरा गर्न थाल्छन् अन्यथा उनीहरू इन्टरनेट र साथीहरूको सहयोग लिन थाल्छन् जुन उनीहरूको लागि सही होइन ।
वर्तमान परिवेशमा जेनरेशन ग्यापको कुरो गर्नु सरासर मूर्खतापूर्ण हुन्छ किनभने हरेकले आफूलाई बदलिने कोशिश गरिराखेका छन् । अभिभावकहरूको सोच पनि युग अनुरूप नै देखिन थालेको छ किनभने संयुक्त परिवार एकल परिवारमा परिणत हुँदै गएको छ । संयुक्त परिवारको अभावमा अभिभावकको जिम्मेवारी पनि सोही अनुरूप बढ्दै गएको छ, साथै के देखिंदै छ भने अभिभावकले आफ्ना सन्तानका लागि बढी समय दिन सकिरहेका छैनन् । जति समय दिइराखिएको छ त्यो पूर्ण सतर्क भावले दिनुपर्छ । यसले पारिवारिक सम्बन्ध बलियो हुन्छ र मानसिकरूपले उनीहरू खुशी हुन्छन् । उनीहरूसँगै बसेर कुनै प्रेरणादायी मूवी वा भिडियो पनि हेर्न सकिन्छ । यस्तो जटिल परिवेशमा बालबालिकाको समुचित विकासको जिम्मेवारी बोकेका अभिभावकहरूले सही मार्ग दर्शनका लागि स्वयं रोल–मोडेल बन्नुपर्छ ।
केटाकेटीहरूको पहिलो पाठशाला घर भएको हुनाले हामी उनीहरूको अगाडि जुन रूपमा प्रस्तुत हुन्छौं त्यही रूप भविष्यमा उनीहरूले पनि धारण गर्छन् । यस कारण उनीहरूको अगाडि सभ्य र राम्रो आचरण प्रदर्शन गर्नुपर्छ । यी कुराहरूलाई ध्यानमा राखी यदि माथि उल्लिखित कुराहरूलाई दैनिक क्रियाकलापमा सामेल गर्न सक्ने हो भने कोही पनि आदर्श आमाबुवा वा सन्तानका लागि रोल मोडेल बन्न सक्छ ।