काठमाडौं, ६ भदौ/रासस

केही समयअगाडि साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा एउटा उजूरी प¥यो । पीडित महिलाले आफ्नो अन्तरङ्ग फोटो बाहिर ल्याइदिने धम्की दिएको जनाउँदै उजूरी दर्ता गरेकी थिइन् ।

सामाजिक सञ्जाल फेसबूकमा नक्कली ‘प्रोफाइल’मार्फत ती पीडित महिलालाई साथी बन्न अनुरोध गर्दै ‘फ्रेन्ड रिक्वेस्ट’ आयो । चिनजान नभएको व्यक्तिले पठाएको उक्त रिक्वेस्टलाई महिलाले सहजै स्वीकार गरिन् । उनीहरू फेसबूकमा साथी बने । कुरा हँुदै गएपछि उनीहरू नजीकिंदै गए । सबै कुरा एकअर्कालाई शेयर गर्न थाले । उनीहरू यतिसम्म नजीक भए कि आफ्नो निजी तस्बिर एकअर्कालाई पठाउनेसम्म गर्न थाले ।

योजनाबद्धरूपमा साथी बनेका ती युवकले महिलाको हरेक गतिविधिको ‘स्क्रिन रेकर्ड’ र ‘स्क्रिन सर्ट’ लिएर राखे । केही समयपछि युवकले ती महिलालाई उक्त सबै गतिविधिको आफूसँग रेकर्ड भएको र पैसा नदिए सामाजिक सञ्जालमा हालिदिने बताउँदै धम्काउन थाल्यो । कहिले आफैंले धम्काउने गरे भने कहिले साथीबाट ती महिलालाई भिडियो पठाउँदै धम्काउन थाले ।

अश्लील भिडिओको आडमा ती युवकले पीडित महिलालाई बारम्बार मानसिक यातना दिन थाले । यति गर्दासमेत आर्थिक लाभ लिन नसकेपछि अश्लील भिडिओ महिलाका आफन्तलाई पठाएर यातनालाई पुनः निरन्तरता दिन थाले ।

उक्त घटनापछि पीडित महिलाले दिएको उजूरीमार्फत गत साउन २४ गते साइबर ब्यूरोको टोलीले ललितपुर महालक्ष्मी नगरपालिका–८ बस्ने २४ वर्षीय अमन राजथलालाई पक्राउ ग¥यो । प्रहरीले उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा मुद्दा दायर गरेको छ ।

त्यस्तै, गत भदौ १९ गते नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ टाँकुका २९ वर्षीय मोहन कुँवरलाई पक्राउ ग¥यो ।

नक्कली ‘फेक अकाउन्ट’ बनाएर ‘लाइभ स्ट्रिमिङ’मार्फत आपत्तिजनक अश्लीलता प्रदर्शन गरी महिलालाई मानसिक तनाव, दुःख र हैरानी दिएको आरोपमा उनी पक्राउ परेका हुन् । उनलाई पनि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा प्रहरीले मुद्दा चलाएको छ ।

माथिका उक्त घटना प्रतिनिधि पात्र मात्रै हुन् । सामाजिक सञ्जालका विभिन्न माध्यमको दुरुपयोग गरी महिला र पुरुषमाथि हिंसा हुने क्रम भने रोकिएको छैन, झनै बढ्दै गएको छ । सामाजिक सञ्जालमार्फत गाली गर्ने, अश्लीलता प्रदर्शन गर्ने, ‘बेवसाइट ह्याक’ गर्ने, अनधिकृतरूपमा नग्न तस्बिर पठाउने, विभिन्न प्रलोभनमा पारेर ‘ब्ल्याक मेल’ गर्ने गरेको जनाउँदै अहिले साइबर ब्यूरोमा उजूरी पर्ने सङ्ख्या बढ्दै गएको छ ।

फेसबूक, म्यासेन्जर, भाइबर, आइएमओ, टिकटकलगायतका थुप्रै सामाजिक सञ्जालका माध्यमबाट साइबर अपराध बढेको ब्यूरोको तथ्याङ्कले देखाएको छ । साइबर ब्यूरोको तीन आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने साइबर अपराधमा चिन्ताजनक तस्बिर सामुन्ने आउँछ ।

आर्थिक वर्ष २०७८/७९ मा मात्रै साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा चार हजार ६८६ उजूरी दर्ता भएका थिए । तीमध्ये सबैभन्दा बढी फेसबूक र म्यासेन्जरमार्फत पीडित बनेकाको छ । यो समस्याबाट पीडित भएकाको सङ्ख्या तीन हजार ९५६ रहेको जानकारी साइबर ब्यूरोले उपलब्ध गराएको छ ।

यी दुर्ईपछि सबैभन्दा बढी उजूरी टिकटकबाट पीडित हुनेले दिएका छन् । यसमा उजूरी दिने ३०७ जना छन् । यसैगरी, बैंक तथा वित्तीय संस्थासँग सम्बद्ध उजूरीको सङ्ख्या १२७ रहेको छ । गत आवमा सामाजिक सञ्जालबाट पीडित भएकाको सङ्ख्या चार हजार ६८६ रहेको तथ्याङ्क प्राप्त भएको छ । 

यसैगरी, आव २०७७/७८ मा फेसबूक र म्यासेन्जरबाट पीडित भएर उजूरी दिनेको सङ्ख्या तीन हजार ४५१ रहेको छ । त्यस्तै, टिकटकमा ७०, बैंक तथा वित्तीय संस्था सम्बद्ध उजूरी दिनेको सङ्ख्या ९६ रहेको छ । उक्त आवमा सामाजिक सञ्जालबाट पीडित भएकाको सङ्ख्या तीन हजार ९०६ पुगेको देखियो ।

आव २०७६/७७ मा भने फेसबूक र म्यासेन्जरबाट पीडित भएर उजूरी दिनेको सङ्ख्या दुर्ई हजार २५० रहेको छ । त्यस्तै, टिकटकमा चार, बैंक तथा वित्तीय संस्था सम्बद्ध उजूरी दिनेको सङ्ख्या १५ रहेको छ । उक्त आवमा सामाजिक सञ्जालबाट पीडित भएकाको सङ्ख्या दुर्ई हजार ३०१ पुगेको साइबर ब्यूरोबाट उपलब्ध तथ्याङ्कले देखाएको छ ।

सामाजिक सञ्जालका विभिन्न माध्यमबाट पीडित भएको भन्दै उजूरी परेको आधारमा सो कार्यालयले तीन आवमा २५८ मुद्दा दर्ता गरेको छ । फेसबूक, म्यासेन्जर, भाइबर, आइएमओ, टिकटकलगायतका थुप्रै सामाजिक सञ्जालका माध्यमबाट पीडित बनेको भन्दै प्रहरीमा परेको उजूरीको आधारमा साइबर ब्यूरोले आव २०७८/७९ मा १३२ वटा मुद्दा दर्ता गरेको थियो । त्यस्तै, आव २०७७/७८ मा ७६ र २०७६/७७ मा ५० वटा मुद्दा ब्यूरोले जिल्ला अदालत काठमाडौंमा दर्ता गरेको थियो । 

उक्त तीन आवमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा पक्राउ परेर मुद्दा चलाएको १८४ पुरुष र १६ जना महिला गरी २०० जना रहेका छन् । जसमा क्रमशः आव २०७८/७९ मा ९७ पुरुष र १५ महिला, आव २०७७/७८ मा ५० पुरुष र आर्थिक वर्ष २०७६/७७ मा ३७ पुरुष र एकजना महिला पक्राउ गरेका थिए ।

यसरी तुलनात्मकरूपमा बढेको विद्युतीय अपराधको विषयमा नेपाल प्रहरीको साइबर ब्यूरोका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी पशुपतिकुमार रायले नागरिकमा साइबर अपराधसम्बन्धी चेतनाको स्तर बढ्दै गएकाले पनि उजूरी पर्ने क्रम बढेको हो भने ।

उनका अनुसार अहिले डिजिटल माध्यमको पहुँच हरेक नागरिकसम्म पुगेकाले अपराधको तथ्याङ्क पनि बढेको देखिन्छ । समय अनुसार हरेक नागरिक सामाजिक सञ्जालको पहुँचसँग (फेसबूक, म्यासेन्जर, टिकटक, भाइबर आदि) जोडिंदै गएका छन् । यसरी उक्त माध्यमबाट पीडित बन्नेको सङ्ख्यामा पनि वृद्धि भएको हो ।

उनले सामाजिक सञ्जालका विभिन्न माध्यमको दुरुपयोग गरी आर्थिक लाभ लिने मनसाय राखेर पनि अपराध गर्ने गरेको जानकारी दिए । सूचना अधिकारी रायले भने, “अपराधबाट बच्नका लागि नागरिक आफैं सचेत र चनाखो हुनुपर्छ ।”

साइबर अपराध : फेसबूक ह्याक गर्दै रकम माग्दै

कास्की, ६ भदौ/रासस

पोखरा महानगरपालिका–१ बगरका ‘फ्रेन्सी’ व्यवसायी बलराम आचार्यलाई शनिवार दिउँसो परिचित व्यक्ति रमेश बन्जाराको फेसबूक म्यासेन्जर कल आयो । ती परिचितले सन्चो विसन्चो सोधपूछ गरी नम्बर हराएकाले पुनः मोबाइल नम्बर पठाउन आग्रह गरे ।

यसपछि मोबाइलमा आफूले एउटा लिङ्क पठाएकाले सोको कोड दिन आग्रह गरेपछि व्यवसायी आचार्यले चिनजानको साथीले भनेपछि तुरुन्तै पठाइदिए । कुराकानीकै क्रममा मोबाइल बैंकिङ एप्स छ वा छैन ? ईसेवा चलाउनुहुन्छ कि हुँदैन भनेपछि उनले आफ्नो ईसेवामा हाल पैसा नभएको जवाफ फर्काए ।

सोको एक घण्टापछि आचार्यलाई काठमाडौंका एक साथीले मैले पठाइदिएको रु २५ हजार पाउनुभयो भनेर भन्नासाथ उनी झसङ्ग भए । यसबीचमा आचार्यले कसैसँग पनि पैसा मागेका थिएनन् । साथीले आफ्नो म्यासेन्जरबाट अनुरोध गरेपछि पैसा पठाएको बताएपछि उनी आफूलाई प्रयोग गरेर कसैले साथीलाई ठगेको निचोडमा पुगे ।

मोबाइलमा आएको कोड पठाएलगत्तै आफ्नो फेसबूक नियन्त्रणमा लिएर म्यासेन्जरबाट विभिन्न व्यक्तिसँग पैसा माग गरिएको आचार्यले बताए ।

उनले भने, “मोबाइलमा आएको लिङ्कको कोड दिएलगत्तै मेरो फेसबूक अकाउन्ट ह्याक गरी धेरैजनासँग पैसा मागिएको रहेछ । पछि साथीहरूले फोन गरेर पैसा पठाइदिएको छु भनेपछि मात्र ठगी गरिएको थाहा पाएँ ।” आफन्त तथा चिनजानका व्यक्ति तीनजनाबाट रु ६५ हजार ठगी भएको उजूरी लिएर आचार्य आइतवार जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए ।

उनी मात्र होइन, शनिवार मात्र पोखरामा एकै दिन छजना बढी व्यक्ति फेसबूक आइडी ह्याक गरेर ठगिएको निवेदन लिएर प्रहरीकहाँ पुगेका थिए । पोखरा–१८ सराड्ढोटका सुजन भण्डारीको अवस्था पनि उस्तै थियो । आफ्नो काका नाता पर्ने चेतनाथ भण्डारीको फेसबूक आइडीबाट शनिवार राति ११ बजेतिर ईसेवाको पासवर्ड पठाउन भनेपछि उनले आफ्नै काकाले भनेपछि विश्वास गरेर दिए तर काकाको फेसबूक आइडी ह्याक गरिएको उनले भोलिपल्ट बिहान मात्र थाहा पाए ।

भण्डारीले ईसेवाको पासवर्ड दिएपछि उनको नम्बरमा विभिन्न व्यक्तिबाट रु एक लाख जम्मा भएको र लगत्तै सो रकम अन्यत्र पठाइएको पाइएको छ । आफन्त, चिनेजानेका व्यक्तिबाट फेसबूक म्यासेन्जरमा अनुरोध भएका आधारमा विश्वासमा परेर रकम पठाउने ठगिने क्रम पोखरामा बढेको हो । यसरी ठगिनेमा सर्वसाधारण मात्र होइन, जनप्रतिनिधि, व्यवसायी, सञ्चारकर्मीलगायत समाजका शिक्षित भनिएका व्यक्तिसमेत परेका छन् । विश्वासका आधारमा बुझ्दै नबुझी पैसा दिंदा ठगिने क्रम बढ्दो छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले साइबर अपराधका घटना सचेतनाको अभावमा बढ्दै गएको बताए । प्रविधि र सुविधाको विकाससँगै आर्थिक प्रलोभन र सामाजिक सञ्जालको प्रयोग गरेर ठगी गर्ने क्रम बढेकाले उपहारको प्रलोभनमा खाता नम्बर, नागरिकता नम्बर, जन्ममिति, राहदानी नम्बर वा सवारी चालक अनुमतिपत्रको नम्बरजस्ता विवरण अरूलाई उपलब्ध गराउन नहुने उनको भनाइ छ ।

उनले भने, “फेसबूक ह्याक गरेर साथीभाइलाई पैसा पठाउन भन्ने र सो पैसा अन्यत्र डाइभर्ट गरेर छिमेकी मुलुकलगायतबाट निकाल्ने गरेको पाइएको छ । कसैलाई पैसा पठाउनुभन्दा अघि एकपटक फोन गरेर निश्चित हुनुपर्दछ । फेसबूक, भाइबर, म्यासेन्जरमा आग्रह गरेका आधारमा पैसा दिएका ठगिनुभएको छ ।”

साइबर अपराधका घटनाबाट जोगिन व्यक्ति आफैं सचेत बन्नुपर्ने उनले बताए । प्रनाउ तिवारीले भने, “आफ्ना व्यक्तिगत विवरण, बैंक वित्तीय संस्था र डिजिटल माध्यमका अकाउन्ट र पिन, कोडलगायत विवरण सुरक्षित राख्नुपर्छ ।”

ठगी गर्नेले निरक्षर र ज्याला मजदूरी गर्ने व्यक्तिका विवरणका आधारमा नक्कली बैंक खाता र ईसेवालगायतका आइडी खोल्ने र जो त्यस्ता घटनामा संलग्न हुन सक्दैनन्, उनीहरूका खातामा पैसा गएको देखिने गरेकाले अनुसन्धान जटिल बन्ने गरेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक वर्षमा साइबर अपराधका २९७ उजूरी परेका थिए । यसमा पुरुष १२७ र महिला १७० ठगिएको उजूरी छ । त्यसैगरी, गत साउन महीनामा मात्र २९ वटा उजूरी परेका छन् ।

अनलाइनबाट ठगीका ३३, गाली बेइज्जत र अश्लील कुराका ३८, फेक आइडी ९६ र सामाजिक सञ्जाल ह्याक गरेर ठगी गरिएका १२६ उजूरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here