राजविराज, ३ भदौ/रासस

सप्तरीमा छुट्टाछुट्टै घटनामा परी आज दुईजनाको मृत्यु भएको छ । सप्तरी, बोदेबरसाइन नगरपालिका–३ मधुवनमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका १८ वर्षीय रामनरेश यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

टेबल पंखा पर्खालमा राखी चलाइरहेको अवस्थामा अचानक उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजमा भर्ना गरे पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ  ।

यस्तै सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ जोगिनियामा मोटरसाइकल दुर्घटनामा परी एकजना महिलाको मृत्यु भएको छ । मोटरसाइकल पछाडि सवार सप्तरी, राजविराज नगरपालिका–९ मलेठ बस्ने विजय मेहताकी ४० वर्षीया पत्नी अनुराधा मेहताको मृत्यु भएको प्रहरी नायब  उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

भारदहबाट राजविराजतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ प७६२ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएका उनको पनि छिन्नमस्ता अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैबीच दुवै ठाउँको घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा दुर्ई बालकको मृत्यु

धनुषाको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुईजना बालकको मृत्यु भएको छ । जनकपुर–ढल्केबर सडक अन्तर्गत धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित सडकमा बसले साइकललाई ठक्कर दिंदा स्थानीय १३ वर्षीय विशाल दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जनकपुरधामबाट नेपालगंजतर्फ जाँदै गरेको ना ५ख १४४१ नम्बरको बसले साइकललाई ठक्कर दिंदा गम्भीर घाइते बालकको जनकपुरधामस्थित जानकी हेल्थकेयरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षत्रीले जानकारी दिए ।

यस्तै धनुषा,धनुषाधाम नगरपालिका–२ मखनपुरस्थित मखनबाबा कुटी पोखरीमा बिहीवार डुबेर स्थानीय भोला मण्डलका चार वर्षीय छोरा अनिशकुमार मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । साथीसँग खेल्दै पोखरीमा नुहाउन गएका बेला डुबेर बालकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक क्षत्रीले बताए । बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here