– नारायण ढुङ्गाना

काठमाडौं, २९ साउन/रासस

रूकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तक्सेरामा शनिवार सुरक्षाकर्मी चढेको लु.१झ ६६० नम्बरको जीप सडकबाट झन्डै ८० मिटर तल खसेर दुर्घटनामा हुँदा एकजना प्रहरीको मृत्यु भयो भने केही गम्भीर घाइते भए । 

उनीहरूलाई सरकारले तत्कालै हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि अस्पताल पु¥यायो । भौगोलिक हिसाबले विकट क्षेत्रमा भएको उक्त दुर्घटनापछि तत्काल हेलिकप्टरबाट उद्धार नगरिएको भए अझै केही सुरक्षाकर्मीले ज्यान गुमाउन सक्थे ।

गत असार २१ गते रामेछापको सुनापाती गाउँपालिका–५ स्थित लुभुघाटमा कच्ची सडकको ठूलो घुम्तीमा हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा.३ख ८३९६ नम्बरको यात्रुवाहक मोडिन नपाइ एक्कासि भीरबाट खस्दा १३ जनाले ज्यान गुमाए । त्यस दुर्घटनामा धेरै यात्री गम्भीर घाइते भएका थिए ।

स्थानीयका अनुसार अघिल्लो दिन मात्रै सामान्य कसकास गरेर राखिएको बसको अवस्था राम्ररी जाँच नगराउँदा बस दुर्घटनामा परेको हो । प्रहरीले पनि सवारीसाधनको कमजोर अवस्थाका कारण ब्रेकले काम नगर्दा यात्रीले अकालमैं ज्यान गुमाउन पुगेको प्रारम्भिक निष्कर्ष निकालेको थियो ।

नेपालको भौगोलिक अवस्था, चालकको लापरवाही तथा गाडीको अवस्था राम्रो नहुनु, सवारीसाधनको सङ्ख्या वृद्धि हुनुलगायतका कारणले दुर्घटना बर्सेनि बढिरहेका छन् । प्रहरीमा रहेको अभिलेख विश्लेषण गर्दा पनि दुर्घटना र मृत्यु तथा घाइतेको ग्राफ बढ्दो छ । पछिल्लो १० वर्षको तथ्याङ्क केलाउँदा सवारी दुर्घटना सङ्ख्या झन्डै तेब्बरले बढेको छ । दुर्घटनाबाट मानवीय क्षति (मानिसको मृत्यु) पनि निकै बढेको पाइएको छ ।

दश वर्षअघि (आव २०६८/६९) को तथ्याङ्कमा कुल आठ हजार ९२ दुर्घटना भएका थिए । त्यसमा १४ हजार २८७ सवारीसाधन परेका थिए । दुर्घटनामा एक हजार ८३७ जनाको मृत्यु र चार हजार १९ जना गम्भीर घाइते भएका थिए । ठीक त्यसको १० वर्षपछि आर्थिक वर्ष २०७८/७९ को अभिलेख अनुसार सवारी दुर्घटना ह्वात्तै बढेर २४ हजार ५३८ पुग्यो । उक्त साल ३९ हजार ३७९ सवारीसाधन दुर्घटनामा परे । ती दुर्घटनाबाट कुल दुर्ई हजार ८८३ जनाको मृत्यु भयो भने सात हजार २८२ यात्री गम्भीर घाइते भएका थिए ।

दश वर्षअघिको एक वर्ष र १० वर्षपछिको एक वर्षको तथ्याङ्क हेर्दा दुर्घटना सङ्ख्या १६ हजार ४४६ ले बढ्यो भने मानवीय क्षति एक हजार ४६ ले बढी देखियो । ती दुर्घटनामा संलग्न रहेका सवारीसाधन हेर्दा झन्डै आधा मोटरसाइकल परेको देखिएको छ । आर्थिक वर्ष २०७८/७९ का कुल ३९ हजार ३७९ सवारीसाधन दुर्घटना हुँदा मोटरसाइकल मात्रै १९ हजार ९७४ परेको प्रहरी प्रधान कार्यालयको विवरणमा उल्लेख छ । त्यसपछि दोस्रोमा जीप/कार आठ हजार ९७५, त्यसपछि बस दुई हजार ७८६ र चौथोमा ट्रक/ट्याङ्कर दुर्ई हजार ४७६ दुर्घटना भएको अभिलेख छ ।

दुर्घटनामा परेका सवारीसाधनमध्ये आधा मोटरसाइकल छन् । त्यस कारण यातायातका साधनमा सबैभन्दा बढी जोखिम मोटरसाइकल र त्यसपछि जीप/कार रहेको विवरणले पुष्टि गर्छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह प्रहरीको दुर्घटना न्यूनीकरण अभियानका बीच नै दुर्घटना बढ्दो क्रममा रहेको बताउँछन् ।

प्रहरी प्रधान कार्यालयले हालै गरेको तीन महीनाको तुलनात्मक अध्ययनले झन् बढी दुर्घटना बढेको देखाएको छ । गत वर्ष र अहिलेको वैशाख, जेठ, असार तीन महीनाको तुलनामा यस वर्ष सोही अवधिमा ६३.४२ प्रतिशतले दुर्घटना बढेको छ भने मानिसको मृत्यु ३१.५९ प्रतिशतले वृद्धि भएको छ । उक्त तथ्याङ्कले सवारी दुर्घटनाको स्थिति भयावह हुँदै गएको प्रस्ट हुन्छ ।

विसं २०७२ पछि ह्वात्तै बढ्यो दुर्घटना

प्राप्त विवरणमा विसं २०७२ सालदेखि भने एक्कासि सवारी दुर्घटना र मानवीय क्षतिमा वृद्धि भएको तथ्याङ्कले देखाउँछ । विसं २०७५ सम्म सवारी दुर्घटना सङ्ख्या ११ हजार नाघेको थिएन । त्यसपछि भने दुर्घटना ह्वात्तै बढेको छ । आव २०७६/७७ मा तथ्याङ्क हेर्दा अघिल्लो वर्षको तुलनामा पाँच हजार बढी दुर्घटना भएका छन् । त्यसपछि हरेक आर्थिक वर्ष पाँच हजारकै हाराहारीमा दुर्घटना सङ्ख्यामा वृद्धि भएर दश वर्षको अन्तरालमा तीन गुणाले बढेको पाइएको हो ।

दुर्घटनाको खास कारण के हो, कसरी न्यूनीकरण गर्ने ?

यातायात विज्ञ आशिष गजुरेल नेपालका यातायात विश्वसनीय, आरामदायी र सुरक्षित नभएको दाबी गर्छन् । “सार्वजनिक सवारीमा यात्री कोचाकोच गरेर राखिएको हुन्छ, कमजोर मेशिनरीको प्रयोग हुन्छ, राज्यको योगदान पनि कमजोर छ, निजी क्षेत्रले चाहेका बेला निकाल्ने र थन्क्याउन सक्ने अवस्था छ, अनुगमनको संयन्त्र छैन,” गजुरेलले भने, “त्यस कारण पनि नेपालको यातायात क्षेत्र सुरक्षाका दृष्टिले कमजोर छ ।”

उनका अनुसार नेपालमा सवारीसाधनको सङ्ख्या धेरै छ । उनले भने, “सडकको क्षेत्र साँघुरो छ, त्यसले जाम र दुर्घटना पनि बढाउने गरेको छ, फूटपाथ राम्रो छैन, ज्येष्ठ नागरिक, बालिबालिका, अपाङ्गता भएका व्यक्तिमैत्री सडक पनि छैनन् ।”

सडक पूर्वाधार, सवारीसाधनको अवस्था, कानून र त्यसको कार्यान्वयन, सडक प्रयोगकर्ताको अनुशासन, तत्काल उद्धार र राहतको अवस्था कस्तो छ भन्ने कुराले निर्धारण गर्ने तर नेपालको यातायात क्षेत्र त्यस्तो नहुँदा सुधार गरे मात्रै सुरक्षित सडक बन्न सक्ने उनी बताउँछन् ।

उनी नेपालको राजमार्ग शहरी क्षेत्रबाट लगिनु नै गलत भएको बताउँछन् । त्यसलाई शहरी सडक बनाएर राजमार्ग शहरभन्दा बाहिरबाट लैजानुपर्नेमा उनको जोड छ । ग्रामीण क्षेत्रमा डोजर इन्जिनीयरिङ मात्रै रहेकाले जोखिम बढी छ । सडकमा रेलिङ मात्रै राम्ररी व्यवस्थापन गर्न सकिए धेरै दुर्घटना रोक्न सकिने गजुरेल सुनाउँछन् ।

दुर्घटना कम गराउन राज्यले कम्तीमा वर्षको दुईपटक सवारीसाधनको अवस्था प्रमाणित गर्न लगाउनुपर्ने र कडाइका साथ नियम पालना गराउनुपर्ने उनको सुझाव छ । “हेल्मेट लगाउनु ट्राफिक प्रहरीका लागि हो भन्ने जस्तो भएपछि कसरी दुर्घटना कम हुन्छ ?” उनले प्रश्न गरे ।

यस्तो छ १० वर्षको दुर्घटना र मानवीय क्षति

आर्थिक वर्ष २०७८/७९ को दुर्घटना

आव २०७८/७९ मा कुल २४ हजार ५३८ दुर्घटना भए । ती दुर्घटनामा ३९ हजार ३७९ सवारीसाधन संलग्न रहे । ती दुर्घटनाबाट कुल दुर्ई हजार ८८३ जनाको मृत्यु भएको छ भने सात हजार २८२ जना गम्भीर घाइते भएका छन् ।

आर्थिक वर्ष २०७७/७८

यस आवमा कुल २० हजार ६४० दुर्घटनामा ३३ हजार ९३५ सवारीसाधन परेको पाइएको छ । ती दुर्घटनामा दुर्ई हजार ३०० जनाको मृत्यु भएको छ भने छ हजार ४४८ जना गम्भीर घाइते भएका थिए ।

आर्थिक वर्ष २०७६/७७

यस आवमा कुल १५ हजार ५५९ दुर्घटना भए । त्यसमा २५ हजार ७८८ सवारीसाधन परेका छन् । दुर्घटनामा दुर्ई हजार २८१ जनाको मृत्यु र चार हजार ६१५ जना गम्भीर घाइते भएका थिए ।

आर्थिक वर्ष २०७५/७६

आव २०७५/७६ मा १० हजार ३६० सवारी दुर्घटना भएको तथ्याङ्क छ । त्यसमा २२ हजार ८७ सवारीसाधन परेका पाइएको छ । ती दुर्घटनामा दुर्ई हजार ७८९ जनाको मृत्यु भएको छ । चार हजार ३७६ जना गम्भीर घाइते भएका थिए ।

आर्थिक वर्ष २०७४/७५

यस आवमा कुल १० हजार ९६५ दुर्घटना भए । उक्त दुर्घटनामा १८ हजार ३४ सवारीसाधन परेका र कुल दुई हजार ५४१ जनाको मृत्यु भएको छ । अन्य चार हजार १४१ जना गम्भीर घाइते भएका थिए ।

आर्थिक वर्ष २०७३/७४

यस आवमा कुल १० हजार १७८ दुर्घटना भएकामा १५ हजार ५१५ सवारीसाधन संलग्न थिए । उक्त दुर्घटनामा दुई हजार ३८४ र चार हजार २५० जना गम्भीर घाइते भए ।

आर्थिक वर्ष २०७२/७३

कुल १० हजार १३ दुर्घटना हुँदा त्यसमा १६ हजार ५०२ सवारीसाधन परेका थिए । ती दुर्घटनामा दुई हजार छ जनाको मृत्यु भएको थियो भने चार हजार १८२ जना गम्भीर घाइते भएका थिए ।

आर्थिक वर्ष २०७१/७२

कुल नौ हजार १४५ दुर्घटनामा १४ हजार ८३७ सवारीसाधनमा क्षति भएको थियो । ती दुर्घटनामा दुई हजार चारजनाको मृत्यु भएको र चार हजार ५४ जना गम्भीर घाइते भएका थिए ।

आर्थिक वर्ष २०७०/७१

यस आवमा जम्मा आठ हजार ४०६ दुर्घटना भएका थिए । त्यस दुर्घटनामा १३ हजार ५२९ सवारीसाधन परेका थिए । दुर्घटनामा कुल एक हजार ७८७ जनाको मृत्यु र तीन हजार ५१६ जना गम्भीर घाइते भएका थिए ।

आर्थिक वर्ष २०६९/७०

यस आवमा जम्मा दुर्घटना आठ हजार ४८४ भएका थिए । त्यस दुर्घटनामा १३ हजार ५८२ सवारीसाधन संलग्न भएको पाइए । दुर्घटनामा कुल एक हजार ८१६ जनाको मृत्यु तथा तीन हजार ९८६ जना गम्भीर घाइते भएका थिए ।

आर्थिक वर्ष २०६८/६९

यस आवमा कुल आठ हजार ९२ दुर्घटना भएका थिए । त्यसमा  १४ हजार २८७ सवारीसाधन परेका थिए । दुर्घटनामा एक हजार ८३७ को मृत्यु र चार हजार १९ जना गम्भीर घाइते भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here