- सञ्जय मित्र
भोजनसम्बन्धी दुर्ईवटा मान्यता रहेका छन्– शाकाहार र मांसाहार । शाकाहार भोजनलाई सबैले मन पराउँछन् र मांसाहार भोजनलाई धेरै ठाउँमा वर्जित गरिएको हुन्छ ।
मानिस पहिले शाकाहारी थियो कि मांसाहारी भन्ने विषयमा नै विवाद रहेको पाइन्छ । आफ्नै किसिमले तर्कहरू गरिएका छन् ।
कतिपय अवस्थामा शाकाहारी खाना कुन र मांसाहारी खाना कुन भनेर पनि तर्कहरू गरिन्छन् । सामान्यतः कुनै जीवजन्तुको मासुलाई भोजनको रूपमा तयार पारेर खानुलाई मांसाहारी भनिन्छ तर विवादको कुरो अलिकति अन्डामा देखिन्छ । अन्डालाई कतिपय स्थानमा शाकाहार मानिएको पाइन्छ भने कतिपय स्थानमा मांसाहार । जीवबाट उत्पादित भएकोले यसलाई मांसाहार र यो सजीवको हत्या नभएकोले शाकाहार भनी तर्क गरिएको पाइन्छ ।
शाकाहार भोजनको परिभाषा स्थानीय परिवेश र व्यक्ति अनुसार पनि हुन सक्छ । अहिले पनि अधिकांशले मदिरापानलाई आफूले मान्ने शाकाहारी समयमा सेवन गर्दैनन् । अर्थात् कुनै पूजा वा व्रत बसेको दिन मदिरापान गर्दैनन् तर कतिपयले भने मदिरालाई शाकाहार नै मान्छन् । माछा, मासु वा अन्डालाई सितनको रूपमा प्रयोग गर्न वर्जित गर्ने तर मदिरा भने पिउने गर्छन् । यसलाई वैयक्तिक मनोविज्ञानसित पनि जोड्न सकिन्छ ।
धेरै मानिस म्यादी शाकाहारी हुन्छन् । म्यादी शाकाहारी भन्नुको तात्पर्य हो, तोकिएको म्यादभित्र नखाने । जस्तो कि कतिपय मानिस आइतवार वा मङ्गलवार वा बिहीवार मांसाहारी भोजन खाँदैनन् । कोही एकादशी तिथिलाई बार्दछन् । यस्तै, केही चाडपर्वको दिन वा त्यसको अघिपछि पनि खाँदैनन्, जस्तो कि दीपावली, छठ आदि । कोही कुनै एक महीनालाई मान्दछन् । र मलाई के विश्वास छ भने सबैभन्दा बढी मानिस दीपावली र छठ गरी दुर्ई दिन शाकाहारी हुन्छन् । यसैगरी, सबैभन्दा बढी मांसाहारी चाहिं होलीको दिन हुन्छन् । यदि एक महीनालाई शाकाहारी महीनाको रूपमा चयन गर्ने हो भने सम्भवतः साउन नै पर्न आउँछ । सम्भवतः साउन महीनामा शाकाहारी बढी हुनुपर्ने मुख्य कारण धार्मिक विश्वास नै हो । माथिका दृष्टान्तहरूले पनि शाकाहारी दिन वा चाडपर्व धार्मिक कारणले हुने गरेको स्पष्ट पारिसकेका छन् । यसरी शाकाहारी भोजन धार्मिक कारणले बढी हुन्छ भन्ने स्पष्ट छ तर स्वास्थ्य वा स्वादको कारणले पनि मानिसले शाकाहारी भोजन गर्दछन् भन्ने कुरालाई पनि अस्वीकार गर्न सकिन्न ।
साउनको महीनाभर शाकाहारी भोजन गर्नेहरू बढ्छन् । मानिस बढ्दा परिवारको सङ्ख्या पनि बढेको पाइन्छ । धेरै परिवार नै यस्तो देखिएको छ, जसको घरका कुनै पनि सदस्य यस महीनाभर माछा, मासु र अन्डाका साथै जीवजन्य पदार्थको भोजन गर्दैनन् । अझ साउनलाई मान्नेहरूमध्ये केही त यस्ता पनि छन्, जो साउनलाई नामले नै परिभाषित गर्दछन् । अर्थात् साउन महीनालाई तिथि र संवत् दुवैले मान्दछन् । अर्थात् तिथि वा संवत जुनले पहिले साउन शुरू हुन्छ, त्यहींबाट शाकाहारी जीवन शुरू गर्दछन् र जुनले अन्तिममा समाप्त हुन्छ, त्यहाँसम्म शाकाहारी रहिरहन्छन् । यो मुख्यतः नेपालको तराई–मधेसमा हुने गर्दछ । यसरी शाकाहार बस्दा कतिपयले त कुनै कुनै वर्ष एक महीनाको नाउँमा डेढ महीनासम्म शाकाहार जीवन बिताउनुपर्छ ।
म्यादी शाकाहारी भोजन भनेको वास्तवमा निश्चित अवधिको लागि शाकाहारी भोजन गर्ने भनेको हो र अन्य दिनमा उसको अगाडि विकल्प हुन्छ । फलानो दिन मांसाहार भोजन गर्ने नै छु भन्ने हुन्छ भने होलीमा नै हो । दोस्रो विकल्प भनेको नयाँ वर्ष हो । अन्यथा मांसाहार भोजन गर्नेले पनि सामान्यतया हरेक दिन र हरेक छाक मांसाहार नै गर्ने होइन । मांसाहार भोजन गर्नेले पनि शाकाहार भोजन गर्दछन् नै । यसरी के भनिन्छ भने सामान्यतया संसारमा कुनै एक दिन वा औसतमा एक दिन लिने हो भने त्यस दिनको एक छाक मांसाहारभन्दा शाकाहार भोजन गर्नेको सङ्ख्या बढी हुन्छ ।
र हाम्रो लोकजीवनमा यदि वार्षिक वर्तमानलाई हेर्ने हो भने साउन महीनामा शाकाहारी बढी हुन्छन् भन्ने तथ्यको रूपमा केही दृष्टान्तहरू देखिन्छन् । माछामासु पाइने होटलमा बिक्री कम हुन्छ, मासुपसलेले पनि बिक्री धेरै कम भएको बताउँछन् र माछा विक्रेताहरूको पनि भनाइ यही हुन्छ कि बेपार धेरै कम भइसकेको छ । तथा धेरै मानिसले सामाजिक सञ्जालमा नै सोझै शाकाहारी छु भन्छन् । अझ कतिपय यस्ता पनि दुर्लभ मानिस भेटिन्छन्, जसले यो भन्छन् कि म साउन महीनाभर कुनै पनि किसिमको आयातित ड्रिंक्स लिदिनँ । वर्तमान आधुनिक जीवनमा पूर्ण शाकाहार कसरी बस्न सकिन्छ भन्ने अभ्यास गरिरहेको छु ।
आफूमाथि नै प्रयोग आफैंमा एउटा साधना हो । शाकाहार भोजनलाई धेरैले राम्रो मान्ने गरेका छन् । शास्त्रहरूमा त झन् शाकाहार जीवनलाई नै प्रधानता दिइएको पाइन्छ । र साउन महीनामा शाकाहारी धेरै हुनुमा धार्मिक कारण पनि हो । जहिलेदेखि मानिसहरू साउन महीनाभर बाबाधाम जान थालेका हुन्, त्यही समयदेखि साउन महीनालाई नै शाकाहारी महीना मान्नेको सङ्ख्या बढ्दै गएको हो । साउन महीनालाई पवित्र महीनाको रूपमा मानेर पवित्र महीनालाई अझ पवित्र बनाउन शाकाहार भोजनतर्फ मानिस आकर्षित भएका हुन् । साउनमा शाकाहारी हुनेको सङ्ख्या हरेक वर्ष निरन्तर बढिरहेको छ पनि । अर्थात् साउन महीनामा मांसाहार भोजन गर्नेको सङ्ख्यामा कमी आइरहेको छ ।
साउनमा धार्मिक कारणले मानिस बढी शाकाहारी भएका हुन् र धार्मिक विश्वास नै हो बढी शाकाहारको तर स्वास्थ्यको कारण पनि जिम्मेवार देखिन्छ । कतिपय रोगीलाई वा कतिपय औषधि खाइरहेका मानिसलाई चिकित्सकले कहिलेकाहीं खानु वा अलिकति मात्र लिनू भनेका हुन्छन् भने त्यस किसिमका मानिसले निस्सन्देह साउनलाई शाकाहारी महीना मान्छन् । वर्षमा धेरै माछामासु खाइरहनेले पनि माछामासुको धेरै सेवनले पछि स्वास्थ्यलाई नोक्सानी पु¥याउने हुन्छ भन्ने कुरो बुझेर सम्भव भएसम्मको कम गर्ने उपायको रूपमा साउन महीनालाई शाकाहारी महीना बनाउँछन् । यो आत्मनियन्त्रणको महीना पनि बन्न पुग्छ । आत्मनियन्त्रण पनि साधना नै हो ।
शाकाहारी भोजन गर्नेहरूले आफैंसित स्वास्थ्यको कामना गरिरहेका हुन्छन् । शाकाहारी भोजनले स्वाभाविक वृत्ति दिने हुन्छ । मनोवृत्तिमा पर्ने प्रभाव सामान्य हुन्छ । अहिंसात्मक भावको प्रादुर्भाव स्वाभाविकरूपले शाकाहारी भोजनबाट हुने गर्दछ । शाकाहारी भोजनलाई त्यसैले सर्वोत्तम भोजन मानिएको हो । शाकाहारी भोजनको सर्वोच्च आस्था फलाहारलाई मानिन्छ । साधारण भोजनको सर्वोच्च रूप पनि फलाहारलाई मानिन्छ । यद्यपि शाकाहार, फलाहार र मांसाहार जे भएपनि सबैमा मानिसले आफूलाई नियन्त्रण गर्नु नै पर्दछ । भोजनमा सन्तुलन आवश्यक हुन्छ । एकै किसिमको जुनै भोजन पनि एउटा साधना भएपनि मध्यम बाटो भन्नु सामान्य शाकाहारी जीवन र भोजन हो । वर्षमा कम्तीमा एक महीना शाकाहारी भोजन गरेर धेरैले आफ्नो शरीरलाई सन्तुलनमा ल्याउन चाहन्छन् । यो आरोग्य कामनाको स्वद्योतक पनि हो भन्ने बुझ्न सकिन्छ ।