• अनन्तकुमार लाल दास

 “परिवर्तनि संसारे किं किं न परिवर्तयते” अर्थात् परिवर्तन यस सृष्टिको विशेष नियम हो । यस कारण बददिंदो परिवेश र समय अनुसार शिक्षामा पनि परिवर्तन देखिनु स्वाभाविक हो । पहिले ज्ञानको आदान–प्रदान मौखिकरूपमा श्रुति परम्परामा गुरुकुल पद्धतिबाट हुन्थ्यो । आचार्य यथाक्रम आफ्ना शिष्यहरूलाई वेद, उपनिषद्, युद्धकला आदि विषय अध्यापन गराउँथे र शिष्यहरू पनि त्यस परम्पराको निर्वाह गर्थे तर आज यस प्रकारको शिक्षाको प्रचलन देखा पर्दैन । बदलिंदो परिवेश अनुसार शिक्षामा कैयन परिवर्तन भएको पाइन्छ । जस्तै आज शिक्षकको हातमा अपवादबाहेक ठाउँ छोडेर केही दशक पहिलेजस्तै कालोपाटी र चक आदि नभई आधुनिकतालाई ध्यानमा राखी स्मार्ट कक्षा अनुसार शिक्षा प्रदान गरिरहेका छन् । आज उनीहरू कालोपाटीको साटो सेतो वा स्मार्ट बोर्ड र चकको साटो मार्कर कलम वा डिजिटल कलम प्रयोग गरिरहेका छन् ।

आज शिक्षकले मात्र होइन, विद्यार्थीहरूले पनि आधुनिक इलेक्ट्रोनिक मिडियाको माध्यमले आफ्नो ज्ञान परिष्कृत गरिरहेका छन् । उनीहरू आज पुस्तकीय ज्ञानसम्म मात्र सीमित छैनन् । आजका विद्यार्थीलाई विद्यालयबाहेक कुनै ज्ञान आवश्यक पर्दा विद्यालय गएर शिक्षकलाई सोध्दैनन् । उनीहरू घरमैं बसीबसी गुगलको माध्यमले हरेक प्रकारको ज्ञान आर्जन गरी समयको बचत गर्न सक्षम छन् । यति मात्र कहाँ हो र, आजका शिक्षकहरूमा यदि कुनै प्रकारको विषयगत भ्रम उत्पन्न हुन्छ भने उनीहरू पनि त्यसको समाधानका लागि गुगलको सहारा लिई शिष्यको ज्ञानलाई आधुनिक बनाउन सक्षम देखिएका छन् । आज शिक्षकहरू पनि आधुनिक उपकरणजस्तै ‘पावर प्वाइन्ट’ बाट कक्षामा पढाउने विषयलाई अत्यधिक रोचक, मनोरञ्जक र प्रभावशाली बनाएर विद्यार्थीहरूसँग आनन्दमय वातावरण निर्माण गरी पढाइरहेका पाइन्छन् ।

शिक्षाको बदलिंदो स्वरूपमा धेरै अन्तर पाइन्छ । प्राचीनकालको शिक्षा शिक्षक आधारित थियो, जसमा विद्यार्थीको शङ्का समाधान कक्षामैं शिक्षकद्वारा गरिन्थ्यो । तर आज यदि कुनै विद्यार्थी कक्षामा अनुपस्थित छ भने पनि कक्षामा पढाइएको विषय सोशल मिडियाको कैयन माध्यमजस्तै ह्वाट्स एप, गुगल टीम, जुम एप, स्काइप आदिबाट सजिलै ग्रहण गर्न सक्छन् । यसैगरी प्राचीनकालमा शिक्षाको माध्यम, मात्र श्रवण परम्परा थियो, जसमा कक्षाका सबै विद्यार्थी समानरूपले शिक्षा ग्रहण गर्ने खालका थिएनन् । यस कारण पहिले अत्यन्त कुशाग्र विद्यार्थीले मात्र शतप्रतिशत ज्ञान हासिल गर्दथे तर आज विद्यार्थीको ग्रहण क्षमतालाई ध्यानमा राखेर विषयगत ज्ञान दिइन्छ । अर्कोतिर पहिले शिक्षामा दुई घटक मात्र हुन्थे – गुरु र शिष्य जसमा अभिभावकको अनुपस्थितिबाट विद्यार्थीको वास्तविक मानसिक क्षमताको जानकारी हुँदैनथ्यो । तर भने अभिभावक पनि शिक्षासँग सम्बन्धित भएकाले शिक्षक र अभिभावक दुवै मिलेर सजिलै विद्यार्थीको मानसिक सन्तुलन बुझेर उसलाई सहारा दिन सक्छन् ।

शिक्षाको बदलिंदो स्वरूपमा गुणसँगै केही अवगुणहरू पनि देखा परिरहेको छ । पहिले ‘शिक्षा’ होइन ‘विद्या’ प्रदान गरिन्थ्यो जसको मूल उद्देश्य ‘सा विद्या या विमुक्तये’ अर्थात् जसलाई बुझेर विद्यार्थीहरूलाई आत्मिक आनन्द प्राप्त हुन्थ्यो । पहिले उनीहरूलाई नैतिक मूल्यको पाठ पढाइन्थ्यो–‘मातुमान् पितृमान् आचार्यवान् पुरुषो वेद’ अर्थात् आमा–बुवा र गुरु ईश्वरसमान हुन्छन् तर आधुनिक शिक्षा पद्धतिमा नैतिक मूल्य लुप्त भइसकेको छ । आज सदाचार, सभ्यता, संस्कृति, सद्भाव, सद्गुण आदि कतै देखा पर्दैन किनभने वर्तमान शिक्षाको उद्देश्य –‘सा शिक्षा या नियुक्तये’ अर्थात् शिक्षा त्यो हो, जसले नियुक्ति अर्थात् जागीर दिन्छ । वर्तमानमा शिक्षाद्वारा केटाकेटीहरूलाई मेशिन मानव बनाउने काम भइरहेको छ जसबाट देशमा नैतिक मूल्य एउटा सुन्दर सपनाको रूपमा स्थापित हुँदै गएको छ ।

पहिले र अहिलेको शिक्षामा जमीन आसमानको फरक छ । शिक्षाको वास्तविक अर्थ सिक्नु हुन्छ । नेपालको वर्तमान शिक्षा प्रणाली पनि ब्रिटिश प्रतिरूप हुन थालेको छ । हाल  अध्ययन–अध्यापन मोबाइलबाट भइरहेको छ । सबै जानकारी नेटमा उपलब्ध छ । सबैको लागि शिक्षा अनिवार्य बनाइएको छ । तर शिक्षाको अर्थ परिवर्तन भएको छ । राजनीतिक चलखेलले गर्दा सामुदायिक विद्यालयमा पढाइको स्तर घटेको छ । हिजो आज त्यहाँ पनि निश्शुल्कको साटो अङ्ग्रेजी माध्यमको निहुँमा शुल्क लिने चलन बढेको छ । त्यहाँ नेपाली र अङ्ग्रेजी माध्यममा पढ्ने विद्यार्थीबीच खुलेआम विभेद भइरहेको छ तर सम्बन्धित निकाय मौन छ । यस कारण जागरुक अभिभावक आफ्नो सन्तानलाई सामुदायिक विद्यालयमा पढाउन कदापि इच्छुक
देखिंदैन ।

त्यहीं अर्कोतिर मोटो फीस दिएर आफ्नो सन्तानलाई अभिभावकहरू संस्थागत विद्यालयमा पढाइरहेका छन् । त्यहाँ पनि पढाइको निहुँमा निजी कोचिङमा विद्यार्थीहरूलाई बोलाउने चलन बढ्दै गएको छ । यसरी अभिभावकलाई दोहोरो खर्च बेहोर्नुपरिरहेको छ । के ज्ञान किन्न सकिन्छ ? आज शिक्षा व्यवसायमा परिणत भएको छ । आज शिक्षकहरूमा स्वयं पढ्ने संस्कृतिको अभाव देखा परिरहेको छ । शिक्षाको स्वरूप पूर्णरूपेण परिवर्तन भएको छ । केही ग्रामीण इलाकालाई छोडेर धेरैजसो गाउँमा आज पनि पढाइको अवस्था राम्रो छैन । मानिस जन्मदेखि मृत्युपर्यन्त केही न केही सिकिरहन्छ । विद्यालयको पढाइ त एउटा निश्चित अवधिपछि बन्द हुन्छ तर समाजसँगै हिंड्नको लागि मानिसले हरेक पाइलामा सिक्नुपर्छ । यस कारण शिक्षाको उद्देश्य युवा पुस्तालाई देशको कर्णधार बनाउने हुनुपर्छ ।

शिक्षाको बदलिंदो स्वरूपसँगै यसको गुणस्तरीयतामा पनि तीव्र गतिले ¥हास भइरहेको छ । समाजमा सहिष्णुताको भावना कमजोर हुँदै गएको देखा परिरहेको छ । गुरु–शिष्य सम्बन्धमा ग्रहण लाग्दै गएको छ । भारतीय शिक्षाविद् डा. सर्वपल्ली राधाकृष्णनले भनेका थिए– “मात्र जानकारी दिनु शिक्षा होइन । करुणा, प्रेम र श्रेष्ठ परम्पराको विकास पनि शिक्षाको उद्देश्य हो ।” शिक्षाको दिशामा हाम्रो सोच व्यावसायिक र सङ्कीर्ण हुँदै गएको छ । हामी त्यस शिक्षामाथि मात्र विश्वास गर्छौं जसले हाम्रो लागि सुख–सुविधाको साधन जुटाउन सहयोग गर्दछ । उदाहरणका लागि अहिले प्रचण्ड गर्मी छ तर विद्यालयहरू दिनभरि चलिरहेको छ । महानगरले गर्मी बिदा दिए तापनि धेरैजसो संस्थागत विद्यालयहरू खुलेका छन् किनभने विद्यालय खुलेपछि केही न केही शुल्क आर्जन भइरहन्छ । विद्यार्थीको चिन्ता कसैलाई छैन । गर्मीको प्रभाव विद्यार्थी र शिक्षकमाथि कस्तो परिरहेको छ त्यससँग पनि कसैलाई सरोकार छैन । सूचनाको आधारमा अनुगमन गरिंदैन । भन्नुको अर्थ यस खाले चिन्तनको बेवास्ता गर्दै हामी हिंडिरहेका छौं । वर्तमानमा चाहे त्यो सामुदायिक विद्यालय हुन् वा संस्थागत, सबै धन कमाउने पसल बन्दै गएका छन् र शिक्षाको अर्थ परीक्षा, ग्रेड प्राप्ति, प्रतिस्पर्धा र व्यवसाय हुन गएको छ । देशमा यही हालत प्राविधिक शिक्षाको पनि छ जहाँ गुणस्तरीय शिक्षाको ग्यारेन्टी बेगर निरन्तर क्याम्पसहरू खुलिरहेका छन् ।

आज समाजको हरेक वर्गको दृष्टिमा शिक्षा एउटा सजिलो र राम्रो व्यवसाय हो जसको एकमात्र उद्देश्य मुनाफा कमाउनु हो । तर वर्तमानको आवश्यकता परम्परागत समृद्ध ज्ञानसँगै युक्तिसङ्गत आधुनिक ज्ञान आधारित शिक्षा व्यवस्था हो । देशभक्ति, स्वास्थ्य संरक्षण, सामाजिक संवेदनशीलता र अध्यात्म शिक्षाको भव्य भवनका चार बलिया स्तम्भ हुन् । यी कुरालाई राष्ट्रिय शिक्षा नीतिमा ठाउँ दिएर स्वायत्त शिक्षालाई संवैधानिक स्वरूप प्रदान गर्नुपर्ने आवश्यकता छ । यिनै कुरालाई ध्यानमा राखेर हाम्रो सरकारले यस वर्षदेखि सामाजिक शिक्षालाई मात्र नेपाली भाषामा पढाउने नियम जारी गरेको छ । यसरी शिक्षाको चुनौतीसँग जुध्न सकिन्छ ।

वास्तवमा शिक्षाको बदलिंदो परिवेशमा जहाँ विशेष लाभ हासिल भएको छ, त्यहीं कहीं कतै यसबाट केही हानि भएको पनि देखा पर्छ । यस कारण बदलिंदो परिस्थितिसँगै विद्यार्थीहरूलाई नीतिसम्बन्धी ज्ञान दिनु पनि नितान्त आवश्यक छ, जसबाट उनीहरू देश सुहाउँदो चरित्रवान् र वीर ‘नेपाली मानव’ बनेर विश्वमा आफ्नो देशको नाम रोशन गर्न सकून् । यी सबै आधुनिक र परम्रागत शिक्षाको अन्तर्घुलनबाट मात्र सम्भव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here