–सानेबहादुर नेपाली
तनहुँ, २९ असार/रासस
भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणादायी स्थल घाँसीकुवाको अस्तित्व मासिने खतरामा पुगेको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार भइरहेकोले व्यास–१२ मा रहेको घाँसीकुवा र घाँसीपार्क मासिने अवस्थामा पुगेको हो ।
प्राचीनकालदेखि संरक्षण गरिंदै आएको उक्त ऐतिहासिक सम्पदा सडक विस्तारसँगै हटाउनुपर्ने स्थिति सिर्जना भएकोले संरक्षणका लागि समयमैं ध्यान दिन स्थानीयवासीको माग छ । भानुभक्त मामाघर मानहुँ (हालको व्यास–५) पुगेर पैदल बाटो फर्कने क्रममा घाँसीकुवामा घाँसीसँग भेट भएको थियो । घाँसीले घाँस काटेर आएको आम्दानीबाट कुवा खनाउने विचारबाट भानु प्रेरित भई यस्तो कविता रचना गरेका थिए–
भर्जन्म घाँसतिर मन दिई धन कमायो,
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो,
म भानुभक्त धनी भैकन किन आज यस्तो ।
हाल कुवा रहेको पारीपट्टि पोल्याङ गाउँँमा बस्ने पन्थ थरका ब्राह्मणको बस्ती छ । कुवाको नजीक पन्थ बस्ती रहेकोले पन्थ नै घाँसी भएको अनुमान गर्न सकिने भानु घाँसी स्मारक पार्क संरक्षण समितिका सदस्य प्रेमप्रकाश भट्टराईले बताए ।
पृथ्वी राजमार्ग फराकिलो बनाउने क्रममा कुवापट्टि विस्तार गर्ने ठाउँको सट्टा कुवाको विपरीत बुल्दी खोला किनारको भागलाई उठाएर समथर बनाएर संरक्षण गर्न सकिने विकल्पबारे स्थानीयवासीले सुझाव दिंदै आएका छन् । पृथ्वी राजमार्ग विस्तार गर्ने क्रममा ऐतिहासिक कुवाको अस्तित्व मेटिने हुँदा संरक्षण गर्न आवश्यक पहल गर्नुपर्ने व्यास नगरपालिका–११ पोल्याङ घाँसीकुवा निवासी भोजराज पन्थले बताए । “जिजुबाजेदेखि जोगाउँँदै आएको सम्पदा हो”–उनले भने–“भत्काएर इतिहास मेट्न हुँदैन, संरक्षणमा लाग्नुपर्छ ।”
घाँसीको परिचय भानुभक्तले कतै उल्लेख नगर्दा पहिचानमा कठिनाइ भएको भानु–घाँसी स्मारक पार्क व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज भट्टराई बताउँछन् । हाल घाँसीकुवा रहेको भन्दा २०० मिटर पर उत्तरतिर करीब १०० रोपनी सार्वजनिक जग्गामा स्थानीय बासिन्दाले भानुघाँसी उद्यान बनाउन दिने निर्णयसमेत भएको समितिका सदस्य प्रेम पन्थले जानकारी दिए ।
घाँसीको सम्झना र सम्मानमा तनहुँको एउटा गाविसको नाम नै ‘घाँसीकुवा’ राखिएको थियो । अहिले यो गाविस व्यास नगरपालिकामा समायोजन भई व्यास–१२ कायम भएको छ । सदरमुकाम दमौलीबाट पूर्वतर्फ करीब पाँच किलोमिटरको दूरीमा घाँसीकुवा पर्दछ । कुवा नरहे भानुभक्तको पहिचानमा असर पर्ने र पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न नसकिने घाँसीकुवामा चमेनागृह सञ्चालन गर्दै आएकी लीलावती पन्थले बताइन् ।
उक्त कुवा र उद्यान संरक्षणका लागि तीनवटै तहका सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ । चिनियाँ कम्पनीले पृथ्वी राजमार्ग अन्तर्गतको पोखरा–मुग्लिन सडकलाई तीन चरणमा विस्तार गर्ने क्रममा भित्ता खार्ने र खाल्टो पुर्ने कार्य गरिरहेको छ । चाइना एन्ड कम्युनिकेशनले उक्त सडक तीन चरणमा पूरा हुनेगरी योजना बनाएको छ । आँबुखैरेनीदेखि जामुनेसम्म, जामुनेदेखि पोखरा र आँबुखैरेनीदेखि मुग्लिनसम्म गरी तीन चरणमा सडक फराकिलो गरिरहेको छ ।
मुग्लिनदेखि पोखरासम्म सडक फराकिलो पार्न चिनियाँ कम्पनीले ठेक्का पाएर निर्माण कार्य थालेको छ । सो कम्पनीले सडक फराकिलो गर्न रु ६ अर्ब १४ करोडमा ठेक्का सम्झौता गरेको हो ।