• कुमार रुपाखेती

अस्ति मन्त्री बस्ने दुईवटा सरकारी क्वार्टरबाट दुईवटा महँगा सामान हराएछ। स्याल कराउनु र कुखुरा हराउनु भनेजस्तै दुई मन्त्री कृषि तथा पशुपक्षी मन्त्री महेन्द्रराय यादव र वनमन्त्री रामसहाय यादवले मन्त्री पद खोसुवामा परेपछि आफ्नो झिटिगुन्डा बोक्दै क्वार्टर खाली गरेका रहेछन्। महेन्द्रराय यादवको क्वार्टरबाट सरकारी लुगाधुने वासिङ मेशिन र रामसहायको सरकारी क्वार्टरबाट प्रिन्टर गायब भएको रहेछ। धन्य दुवै पूर्वमन्त्री इमानदार रहेछन् र सोधखोज गर्दा आफ्ना सहायकहरूले झुक्किएर ती सरकारी सामानहरू आफैंसँग लगेछन् र छिट्टै फिर्ता गर्ने बताएका छन्। भूलचूक लिनेदिने त जुनसुकै पेशामा पनि हुन्छ। तर एकपटक मन्त्रीको स्वाद चाखेका महेन्द्रराय यादव र रामसहाय यादवले झुक्किएर सरकारी सामान बोकेर हिंडेको भन्ने कुरा मलाई अलि हजम भएन। मजस्ता थुप्रैले नियत खराबसमेत देखे। श्रीमद्भागवद्गीतामा एक ठाउँमा यस्तो लेखिएको छ–

प्रकृते क्रिंथमाणानि गुणैः, कर्माणि सर्वशः।

अहङ्कार बिमूढात्मा, कर्ताहमिति मन्थले।।

अर्थात् वास्तवमा सबै कर्म प्रकृतिकै गुणद्वारा गरिन्छन्, तैपनि जसको अन्तःकरण अहङ्कारले मोहित हुन्छ, यस्तो अज्ञानी म नै कर्ता हुँ भन्ने ठान्दछ। कृषिमन्त्री हुँदा महेन्द्रराय यादवको अक्षमताले गर्दा किसानहरूले मल नपाउँदा समयमा रोपनी भएन, करीब–करीब ४० प्रतिशत खेती मलको अभावले बाँझो रह्यो। भनिन्छ, यस वर्ष विगतको वर्षभन्दा ५० प्रतिशत धानखेती कम हुने देखिन्छ। कतिपय मुलुकहरूमा अन्न फलाउने किसानलाई भगवान् भनिन्छ। तर हाम्रा भगवान्हरू सदैव मल, सिंचाइ, उन्नत बीउ र सहुलियतका लागि दरदरको ठोकर खान विवश छन्।

उत्तम खेती मध्यम बान।

निषिद्ध चाकारी भीख निदान।

यस्ता संस्कृतका उखान टुक्का अब किताबमा मात्र सीमित छन्। पहिलेपहिले खेतीयोग्य जमीन प्रशस्त थिए, आर्गेनिक मल हालेर खेती गरिन्थ्यो र भनिन्थ्यो, गोबर, राखी, पाती सडे, फिर खेतीमें दाना पडे, गोबर मैला, नीमकी खली, या से खेती दुना फले। पुरातन कृषि नै हाम्रो आदर्श हो। पुरातन शैलीमा गरिने खेतीलाई प्रोत्साहन गर्न राम्रा किसानहरूलाई भारतमैं १० जनालाई पद्म पुरस्कारले सम्मानित गरियो। हाम्रा किसानहरूको अवस्था त कहाँ राजा भोज कहाँ गङ्गु तेली जस्तै हुन्। हुनत कृषिप्रधान भनिने हाम्रो मुलुकमा १९औं धान दिवस बेसरोकारवालाहरूले बहुरुपिया तालले एक दिन खेतमा गएर मनाएको देख्दा यिनले किसानको हसीमजाक उडाएकोझैं भान हुन्छ। कुनै बखत नेपालमा समेत नौमति बाजा बजाएर असारे भाकामा गीत गाउँदै रोपहरहरूले धान रोपाइँ गर्थे।

भनिन्छ, किसानले मल पाएनन्, अचाक्ली मूल्य तिरी कालोबजारीमा खरीद गरे तर वीरगंज ड्राइपोर्टमा करोडौं डिएपी मल वर्षाले भिजेर बगिरहेको छ। भनिरहनु परोइन, हाम्रोमा कृषि नीति नै गलत छ। नेपाली खेतका आली र बाली सरकारी नीतिले गर्दा ध्वस्त हुँदैछ। नेता, अभिनेताहरू असार १५ मा खेतमा हिलाम्य भई खेतीलाई प्रोत्साहन गर्न होइन बरु हिले फागुको लुफ्त उठाएको देखिन्छ।

पूर्ववनमन्त्री रामसहाय यादवको  क्वार्टर सदैव आफन्तले भरिभराउ र सुसज्जित देखिन्थ्यो। वनमन्त्री हुँदा हरियो वन नेपालको धनलाई उँभो लाउन सिन्कोसम्म भाँचेनन्। क्वार्टरको वासिङ मेशिन र प्रिन्टर बोकेर लानेहरूका खातिर जति कालो मेरो बाउको सालो भनेझैं देखियो। मामुली सामानमा –याल काढ्नेहरूका लागि नगद नारायण त महादेवको तीन नेत्र सरह नै होला। मन्त्री मात्रै किन सबै दलका सांसदहरूको नगद नारायणप्रतिको मोहको पोल पत्रपत्रिकाले उजागर गरेकै छन्। संसद् भवनको हाजिरी रजिस्टरमा झन्डै दुई सयको उपस्थिति देखिए पनि गणपूरक सङ्ख्या नपुगेर संसद् बैठक नै स्थगित हुने गरेको छ। नेपाली संसद्को गणपूरक सङ्ख्या ६३ मात्र हो। सांसदले हाजिरी गरेपछि सवारीभत्ता एक हजार र बैठक भत्ता एक हजार गरी दुई हजार हसुर्छन्। तर बाल्यकालमा हामी स्कूल छाडेर भागेझैं हाजिरी गरेर टाप ठोक्छन्। श्रीलङ्काको हबिगत हाम्रोसामुन्ने छ। राष्ट्रपति र प्रधानमन्त्रीले ज्यान जोगाउन भाग्ने अवस्था छ, विदेश पलायन हुने अवस्था छ। तर हाम्रा मन्त्री, सांसद र सरकार बेखौफ, हरफनमौला पारामा जथाभावी गर्न सक्रिय छन्। अर्थमन्त्री जनार्दन शर्माको कर्तुत हामीले देखिहाल्यौं। राजीनामा दिएपछि सब सामसुम। यस्तो सजिलो तरीकाले जनार्दन शर्मालाई मुक्ति दिन मिल्छ। करको दर अदलबदलमा शेरबहादुर देउवाका छोरा जयवीर देउवाको कम्पनीको नाम पनि आएको छ। कुनै छानबीन भयो त ? जयवीर देउवाको कम्पनीले हामीले बच्चाहरूको डाइपर मात्र मगाउँछौं, सेनिटरी प्याड मगाउँदैनौं भन्ने विज्ञप्ति निकालेर पानीमाथिको ओभानो बन्न खोजेको देखिन्छ।

मुलुकमा महँगीको विकराल रूप छ, सरकारी  प्रशासनयन्त्र मृतप्रायः छ। जनतामा हाहाकार छ, त्राहिमाम छ। तर सरकारी उच्च ओहोदावालहरू अझै पनि मेरो गोरुको बा–है टक्का गर्दैछन्। श्रीलङ्काजस्तो जय क्षयको अवस्था नआओस् भन्ने आमपीडितहरूको बुलन्द आवाज छ।

चाणक्यले एकपटक भनेका थिए– मन्त्री वेश्या यमो ह्याग्निस्तरकरो बालयाचकौ।

परदुःखं न जानन्ति ग्रामकण्टकः।।

मन्त्री, वेश्या, यमराज, अग्नि, चोर, बालक, मगन्ते र गाउँ पिराहा यी आठजनाले अर्काको पीर, मर्का, दुःख, नबुझ्ने हुन्छन्।

त्यस्तै, चाणक्य नीतिमा भनिएको छ– यो धु्रवाणि परित्यज्य अधु्रवं परिषेवते।

धु्रवाणि तस्य नश्यन्ति अधु्रवं नष्टमेव हि।।

अर्थात् सत्यलाई छाडेर जसले असत्यलाई अँगाल्छ, उसको नभएको त छैन नै, तर भएको पनि नासिन्छ।

पाकिस्तानमा जियाउल हकले जुल्फिकार अलि भुट्टोलाई फाँसी लट्काउँदा २०३६ सालमा नेपालमा ठूलो विद्यार्थी आन्दोलन भयो। परिवारवाद र भ्रष्टाचारमा लिप्त श्रीलङ्काको जनताको आक्रोश हामीले प्रत्यक्ष देख्दैछौं। हाम्रFे सरकारमा बस्ने दिग्गजहरूले श्रीलङ्काको राँको यता पनि सल्काउने हुन् कि आगो दन्काउने हुन् तिनै जानून्। श्रीलङ्का र नेपाल जनसङ्ख्या नि उस्ताउस्तै, समस्या पनि एउटै।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here