भारत, बेङ्गलुरूकी प्रतिमा अदिगाले घरमा नै गोलभेंडाको ७० भन्दा बढी प्रजाति रोपेकी छन् भने पिडालुका आठ, लौकाका २९, अदुवाका पाँच र बेसारका आठ किसिमका प्रजातिका साथै विभिन्न तरकारी रोपेकी छन् ।
उनले घरकै बगैंचाबाट ९० प्रतिशत तरकारीको आवश्यकता पूरा गर्छिन् । आफ्नो परिवारको स्वास्थ्यको लागि उनले नौ वर्ष पहिले घरमा नै तरकारी रोप्न शुरू गरेकी थिइन् । अहिले उनले आलु–प्याजबाहेक सम्पूर्ण किसिमको तरकारी घरकै बगैंचामा रोप्छिन् । उनको तरकारीबारीमा हरेक दिन १५ किसिमका तरकारी फल्छन्, जसलाई फ्रिजमा राखेर लामो समयसम्म उपभोग गर्छिन् ।
यतिधेरै तरकारी रोप्ने उनको घर ठूलो छैन । उनले यी सबै तरकारी नौ सय स्क्वायर फुटको टेरेस गार्डेनमा रोपकी छन् । स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भनिन्, समय र ठाउँको कमी शहरी मान्छेको लागि समस्या हो । तर यदि हामीले सही ढङ्गले योजना बनायौं भने यो गा¥हो छैन । मान्छेहरू मैले तरकारी फलाएको देखेर अचम्म मान्छन् । यतिधेरै तरकारी म कसरी उब्जाउन सक्छु भनेर सोध्छन् र म यसको लागि ठाउँ र समयको चुनावमाथि ध्यान दिन्छु ।
पेशाले शेफ, प्रतिभा टेलिभिजन कार्यक्रममा फ्रिलान्स शेफको रूपमा काम गर्थिन् । तर उनको पतिको स्वास्थ्य अवस्था बिग्रिएपछि उनले घरमैं तरकारी रोप्न थालिन् । सन् २०१६ मा राजेन्द्र हेगडे र डा विश्वनाथको गार्डनिङ वर्कशपमा भाग लिएपछि उनले थुप्रै जानकारी पाइन् । समयसँगै आफ्नो अनुभवबाट उनले तरकारीबारीमा महारथ हासिल गरेकी छन् ।
उनले भनिन्, म सानो छँदा मेरो बुबाले तरकारी रोप्ने गर्नुहुन्थ्यो । विवाहपछि मेरो ससुरालीमा सासूले सजावटी बिरुवा मात्र उब्जाइरहनुभएको थियो । १६ वर्ष पहिले जब हामी राजाजी नगरमा बनेको नयाँ घरमा पुग्यौं, तब मैले अर्नामेन्टल बोट लगाउन शुरू गरें । मेरो पतिको अनुरोधपछि मैले तरकारी रोप्न थालें ।”
उनको पतिलाई हृदयसम्बन्धी रोग थियो । त्यस कारण उनले घरमैं अर्गानिक तरकारी रोप्न थालिन् । अर्गानिक तरकारी खाएर अहिले उनको पति मात्र होइन सम्पूर्ण परिवार निकै स्वस्थ छ । घरको तेस्रो र चौथो तलामा उनले तरकारीबारी बनाएकी छन् र रिसाइकिल कन्टेनर्ससहित ठूला ग्रो ब्याग्सको प्रयोग गरेर उनले थुप्रै तरकारी उब्जाउँछिन् । प्रतिमाका मित्रहरूले उनलाई विदेशबाट बीउ पनि उपलब्ध गराएका छन् । उनको बारीमा थुप्रै एग्जोटिक फल–तरकारी अहिले भेटिन्छन् ।
गत वर्ष उनले आफ्नो बारीबाट २३ किलो बेसार र ३० किलो लौका उत्पादन गरिन् । उनले १० वर्षदेखि घरमैं कम्पोस्ट मल बनाइरहेकी छन् । घरमैं भान्साबाट खेर जाने वस्तुबाट राम्रो खाद बनाउँछिन् र शहरको गौशालाबाट गौमूत्र ल्याएर कीटनाशकको रूपमा प्रयोग गर्छिन् । उनले भनिन्, घरको अमिलो छास आदिको प्रयोग पनि कीटनाशकको रूपमा काम गर्न सकिन्छ ।
उनले आफ्नो सीप मान्छेहरूमा पु¥याउने प्रयास गर्छिन् । उनले थुप्रैलाई तरकारीबाली लगाउन सिकाएकी छन् । उनी भन्छिन्, पहिलोपटक तरकारीबालीको लागि सागपात रोप्नुपर्छ । त्यसपछि मुला, खुर्सानी, गोलभेंडा उब्जाउनुपर्छ ।