काठमाडौं, १८ असार/रासस

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी स्वास्थ्यका मापदण्ड पालना नगर्नुजस्ता कारणले सङ्क्रमण बढेको पाइएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले भारतमा सङ्क्रमण बढेसँगै नेपालमा पनि सङ्क्रमण बढेको बताए । उनका अनुसार ०.५ प्रतिशतसम्म झरेको सङ्क्रमणको दर अहिले छ प्रतिशत पुगेको छ । “भारतमा जुन हिसाबले सङ्क्रमण बढेको थियो । सोही अनुसार नेपालमा अहिले सङ्क्रमण धेरै नै बढेको हुनुपर्ने हो,” उनले भने, “तर नेपालमा भने भारतमा जस्तो बढेको छैन ।”

नेपालमा कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा कम चारजनामा देखिएको थियो । सङ्क्रमण बढ्दा सक्रिय सङ्क्रमित पनि बढिरहेका छन् । अहिले २९७ जना सक्रिय सङ्क्रमित छन् । असार १ गते तीन हजार ९०५ जनाको परीक्षण गर्दा २५ जना सङ्क्रमण भएकामा हिजो असार १७ गते दुई हजार ८१४ जनामा परीक्षण गर्दा दोब्बरमा सङ्क्रमण देखिएको थियो । असार १७ गते ५० जनामा सङ्क्रमण देखिएको छ ।

असार १६ गते ५५ जना, असार १५ गते ६२ जना, असार १४ गते ४४ जना, असार १३ गते ४१ जना, असार १२ गते २९ जना र असार ११ गते २७ जना सङ्क्रमित भएका छन् । अहिले २९१ जना होम आइसोलेशन, छजना संस्थागत आइसोलेशन र तीनजना सघन उपचार कक्ष (आइसियू)मा रहेका छन् ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा सङ्क्रमण बढेका कारणले नेपालमा पनि बढेको जानकारी दिए ।

भारतबाट नेपालमा आउने मानिसमा सङ्क्रमण देखिएको उनको भनाइ छ । “सङ्क्रमण बढे पनि ग्राफमा ठूलो नदेखिएको हो,” उनले भने, “तर हामीले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्दछ ।” उनले अहिले देखिएको सङ्क्रमणमा ओमिक्रोन भेरियन्ट (द्यब्द्ध वा द्यब्छग्) प्रजातिको हो वा होइन भन्नेबारेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अणु वाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययन भइरहेको बताए । “अहिले देखिएका सङ्क्रमणमा ओमिक्रोन भेरियन्ट नयाँ हो वा होइन भनेर हामीले जीन सिक्वेन्सिङ गरिरहेका छौं,” उनले भने, “एक/दुई दिनमा रिपोर्ट आएपछि थाहा हुन्छ ।”

नेपालमा अहिलेसम्म ओमिक्रोनको द्यब्द्द प्रजातिको भेरियन्ट रहेको छ । उनका अनुसार अहिलेका बिरामीमा पहिलेका सङ्क्रमितलाई जस्तै सामान्य लक्षण रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here